मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।
काठमाडौँ– चार साताअघि विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडीआईका चार शृंखलाको १२ खेल खेल्न बाँकी छँदा नेपाली क्रिकेटका लागि परिस्थिति प्रतिकूल देखिन्थ्यो। ६ शृंखलाका कूल २४ खेल खेलेको नेपाल जम्मा आठ खेलमा मात्रै विजयी भएको थियो। एक खेल भने वर्षाको कारण रद्द हुँदा नेपाल १७ अंककासाथ तालिकाको छैटौँ स्थानमा खुम्चिएको थियो।
आगामी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउन मात्रै होइन, सन् २०१८ मार्च १५ (२०७४ चैत १)मा पाएको ओडीआई मान्यता कायम राख्न पनि नेपाललाई बाँकी खेलमा जित आवश्यक थियो। यस्तो अवस्थामा धेरै क्रिकेट समर्थकहरूको आगामी नतिजाबारे शंका थियो। शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउनु त परको कुरा, एक स्थान सुधार गर्दै पाएको ओडीआई मान्यता जगाउनै मुस्किल पर्ने उनीहरूको तर्क हुन्थ्यो।
पारस खड्काको संन्याससँगै टोलीमा देखिएको गुट-उपगुट, नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको अन्तर्द्वन्द्व, बारम्बार प्रशिक्षक तथा कप्तानको परिवर्तनले लिग–२ को नतिजा खलबलियो। प्रशिक्षक डेभ वाट्मोरको पालोमा सुधार भएको ब्याटिङ पुबुदु दासानायके र मनोज प्रभाकरको हातमा पुग्दा नाजुक अवस्थामा पुग्यो। उतारचढावपूर्ण घटनाक्रमलाई नियालिरहेका समर्थकले बाँकी खेलको नतिजाबारे शंका गर्नु कुनै नौलो कुरा थिएन। यस्तो संक्रमणकालीन अवस्थामा नेपाली टिम सम्हाल्ने जिम्मेवारी पाएका थिए, भारतीय प्रशिक्षक मोन्टी देसाईले।

नियुक्ति पाउनुभन्दा एक हप्ताअगाडि नै खेलाडीहरूको कमजोरी तथा विशेषता बुझेर सञ्चारकर्मीसामु उभिएका देसाईले आफ्नो लक्ष्य ओडीआई मान्यता जोगाउने, एशिया कप र विश्वकपमा पुर्याउने रहेको बताएका थिए। उनले भनेका थिए, “असम्भव छैन। बाँकी सबै खेल फाइनलसरह हुन्। हामीमा आत्मविश्वास छ, जितेर देखाउँछौँ।”
उनी २७ दिनपछि पुनः सञ्चारकर्मीसामु उपस्थित हुँदा नेपालले दुई खेलअगावै अर्को चार वर्षका लागि ओडीआई मान्यता जोगाइसकेको थियो। आइतबार घरेलु मैदानमा सम्पन्न यूएईविरुद्धको खेलमा १७७ रनको फराकिलो जित हात पार्दै चार वर्षका लागि नेपालले ओडीआई मान्यता ‘रिटेन’ गरेको हो।
यूएईसँगको जितसँगै नेपाल अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। एक स्थान झरेको अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ। ३४ खेल खेलेको यूएईको भने ३१ अंक मात्र छ। यूएईले बाँकी सबै खेल जिते पनि नेपाललाई उछिन्न सक्ने छैन। नेपालको ओडीआई मान्यता अब सन् २०२७ सम्म कायम रहने छ। योसँगै नेपालले शीर्ष तीनमा रहेर सिधै विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ।

ओडीआई मान्यता प्राप्त गरेपछि प्रशिक्षक देसाईले जित्न केही कठिन निर्णय गर्नुपरेको स्मरण गर्दै आफूले बनाएका हरेक रणनीति सफल भएको बताए।
“हाम्रो ड्रेसिङ रुम ह्याप्पी छ। सबैले सहज वातावरण बनाएका छन्। कसैसँग रिसराग छैन,” उनी भन्छन्, “मेरो हरेक रणनीति पनि सफल हुने गरेको छ। खेलाडीलाई दिइएको भूमिकालाई पनि राम्रोसँग निभाएका छन्।”
देसाईले उल्टाएको क्रिकेट
ब्याटिङ प्रशिक्षकको छवि बनाएका देसाई आफ्नै राष्ट्र भारतका मनोजलाई प्रतिस्थापन गर्दै नेपाल क्रिकेटमा भित्रिएका हुन्। मनोज प्रभाकरले नामिबियामा आयोजित लिग–२ अन्तर्गतका चार खेलमा नेपाललाई अंक दिलाउन नसकेपछि क्यानले मंसिर २५ गते मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो।
त्यसपछि रिक्त रहेको पदमा क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हालिसकेका देसाईलाई क्यानले भित्र्याएको हो। भारतका लागि एक टेस्ट र एक ओडीआई खेलेका उनले २५ वर्षको उमेरमा संन्यास लिएका थिए। यद्यपि, विभिन्न राष्ट्रिय प्रतियोगिता खेलेका देसाईको मूल विशेषता नै ब्याटिङमा सुधार गर्ने मानिन्छ।

नेपाली क्रिकेटसँग परिचित देसाईले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप पहिलोपटक खेल्दा ब्याटिङ प्रशिक्षकका रूपमा काम गरेका थिए। यस्तै, सन् २०१७ मा यू–१९ एशिया कपमा नेपालले भारतमाथि ऐतिहासिक १९ रनको जित हात पार्दा ब्याटिङ प्रशिक्षकमा देसाई नै थिए।
त्यसअघि उनले सन् २००८ मा आयोजना भएको पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा देसाईले सहायक प्रशिक्षकका रूपमा राजस्थान रोयल्सको जिम्मेवारी सम्हालेका थिए। उक्त वर्ष राजस्थानले उपाधि रक्षा गर्यो। राजस्थानमा सन् २०१५ सम्म रहेका देसाई ०१६/०१७ मा गुजरात लायन्सको पर्फर्मेन्स प्रशिक्षक रहे। त्यसपछि उनी अफगानिस्तान पुगे।
अफगानिस्तानमा सन् २०१८ को एकदिवसीय विश्वकपमा छनोट हुँदा उनी नै ब्याटिङ प्रशिक्षक थिए। अफगानिस्तानले फाइनलमा वेस्ट इन्डिजलाई ७ विकेटले हराउँदै उपाधि जितेपछि उनी यूएई लागे। करिब एक वर्ष यूएईको ब्याटिङ प्रशिक्षक रहेका उनी त्यसपछि क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भए। उनी एक वर्ष क्यानडाको मुख्य प्रशिक्षकको भूमिकामा रहे। त्यस्तै, उनले गत डिसेम्बरसम्म वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षण सम्हालेका थिए।
त्यसयता खालीजस्तै रहेका उनलाई क्यानले ओडीआई मान्यता जोगाउने र ओरालो लागेको क्रिकेट उकास्ने जिम्मेवारी दिएको थियो। दुई वर्षको सम्झौता गर्दै उनी काठमाडौँ ओर्लिनुअघि सात राष्ट्र सम्मिलित लिग–२ मा नेपालले अमेरिकालाई तीन र ओमान तथा पपुवा न्यू गिनीलाई दुई/दुई पटक पराजित गरेको थियो। यस्तै, स्कटल्यान्डसँग भएको दुई खेलमध्ये एकमा मात्रै नेपालले जित हात पार्न सकेको थियो। यूएई र नामिबियाविरुद्ध भने नेपाल जितविहीन थियो।

तर, फागुन पहिलोदेखि दोस्रो सातासम्म त्रिवि क्रिकेट मैदानमा आयोजना भएको खेलमा नेपालले नामिबिया (२ र ३ विकेट) र लिग–२ को उपाधि जितेको स्कटल्यान्डलाई (२ र ३ विकेटले) हराउँदै नेपालले पहिलोपटक शृंखला ‘क्लिन स्विप’ गर्यो। त्यसलगत्तै यूएई भ्रमणमा निस्किएको नेपालले घरेलु टोली (४२ रन) र पपुवा न्यू गिनीलाई (३ विकेट र ५२ रनले पराजित) गर्दै चार खेलमध्ये तीनमा जित हात पार्दै ओडीआई मान्यता कायम राख्ने सम्भावना कायमै राख्यो।
बिहीबार त्रिविमा सम्पन्न खेलमा पपुवा न्यू गिनीलाई ५२ रनले पराजित गर्दै नेपालले १८ मध्ये महत्त्वपूर्ण १६ अंक जोड्दै दुई खेलअगावै ओडीआई मान्यता ‘रिटेन’ गर्ने अवसर कायम राखेको थियो।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा खेलाडीमा प्रशिक्षकले आत्मविश्वास बढाउँदा सफलता मिलेको बताउँछन्। “पछिल्लो समय हामी ब्याटिङमा संघर्ष गरिरहेका थियौँ। तर, अहिले २५० माथिको स्कोर बन्न थालेको छ, सजिलै चेज हुन्छ,” उनी भन्छन्, “अहिले टोलीमा म्यानेजमेन्ट राम्रो छ। खेलाडीमा पनि गर्न सक्छु है भन्ने आत्मविश्वास भरिएको छ।”
उनले भने जस्तै नेपालले पछिल्ला १० मध्ये आठ खेलमा दुई सयमाथि रन बनाएको छ। ओपनरद्वय कुशल भुर्तेल र आरिफ शेख तथा कप्तान रोहितकुमार पौडेलले करिअरमै पहिलोपटक ओडीआईमा शतक प्रहार गरेका छन्। यता, राष्ट्रिय टोलीबाट हराएका मध्यक्रमका कुशल मल्लले सानदार कमब्याक गरेका छन्। उनले पछिल्ला १० मध्ये ३ खेलमा अर्धशतक प्रहार गरिसकेका छन्। यता, भीम सार्कीले पछिल्ला तीन खेलमा खेलमा १४३ रन बनाइसकेका छन्। देसाई प्रशिक्षण थालेपछि पछिल्ला १० खेलमध्ये नौ खेलमा जित हात पारेको छ।

नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरी ब्याटिङ 'पोटेन्सियल' भएर पनि यसअघि खेलाडीले त्यो देखाउन नसेको बताउँछन्। तर, देसाई नियुक्त भएपछि त्यसमा काम गरेको उनको भनाइ छ। “प्रशिक्षकले भनिरहनु नै हुन्छ तिमीहरूमा प्रतिभा छ भनेर। नामिबियाविरुद्ध २८५ रन चेज गरेपछि प्रशिक्षकले भनेको कुरा हो रहेछ भनेर केटाहरूमा आत्मविश्वास भरिएको छ,” उनी भन्छन्, “त्यसपछि ‘ब्याक टु ब्याक’ ठूलो स्कोर चेज गरेका छौँ। हामीमा आत्मविश्वास भरिएको छ।”
कप्तान रोहितले दुई तीन महिना अघिभन्दा अहिलेको अवस्था फरक रहेको बताए। उनले प्रशिक्षक देसाईले स्वतन्त्र रूपमा छाडेका कारण ब्याटिङमा सुधार आएको बताए। “जसले राम्रो प्रदर्शन गरे पनि सबै खेलाडी खुशी हुन्छन्। भित्र त्यस्तो केही प्रेसर छैन। हामीलाई फ्रिडम दिनुभएको,” उनले भने, “ब्याटिङमा फोकस गर भन्नुहुन्छ। हामी त्यही गरिरहेका छौँ।”
दुई खेल महत्त्वपूर्ण
बाँकी दुई खेलमा जित हासिल गरे तेस्रो स्थानमा रहँदै नेपालले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने छ। तेस्रो स्थानमा रहेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। अंक तालिकामा तेस्रो स्थान हासिल गर्ने टिमले आगामी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने छ।

नेपालले यही शृंखलामा बाँकी दुई खेल पपुवा न्यू गिनी र यूएईविरुद्ध खेल्नेछ। पपुवा न्यू गिनीविरुद्ध सोमबार खेल हुनेछ भने अन्तिम खेल यूएईविरुद्ध बिहीबार हुनेछ। लिग–२ का ३६ वटै खेल खेलेको स्कटल्यान्डको ५०, ओमानको ४४ र नामिबियाको ३९ अंक छ। उनीहरू अंक तालिकामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।
आईसीसीको नियमअनुसार लिग–२ को शीर्ष तीनमा नरहने पपुवा न्यू गिनीसहित यूएई, अमेरिका र अर्को एक टोलीले विश्वकप छनोटको क्वालिफायर प्ले अफ खेल्ने छन्। यसअघि नै आईसीसी च्यालेन्ज लिगको समूह ‘ए’ बाट क्यानडा र समूह ‘सी’बाट जर्सी विश्वकप क्वालिफायर प्लेअफ खेल्ने निश्चित भइसकेका छन्।
कप्तान रोहितले सोमबार पपुवा न्यू गिनीविरुद्धको जित निकाल्ने लक्ष्य रहेको बताए। भोलिको खेलमा सुखद नतिजा आए अन्तिम खेल फाइनल मानेर खेल्ने बताए। “भोलि पपुवा न्यू गिनीविरुद्ध खेल छ। हेरौँ के हुन्छ। त्यसमा राम्रो नतिजा निस्किए अन्तिम खेल फाइनल ठानेर खेल्छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
