बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आइजीपीबारे निर्णय गरेको हो।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उनको ब्याचका सबै एआईजी शनिबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन्।

कुँवर एक साताअघि एआईजीमा बढुवा भएका थिए। उनीसँगै एआईजीमा बढुवा भएका समान ब्याची श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, किरण बज्राचार्य र पछिल्लो ब्याचका दीपक थापा पनि आईजीपीको प्रतिस्पर्धामा थिए। सरकारले भने कुँवरलाई प्रहरी नेतृत्व सुम्पने निर्णय गरेको हो।