म्यानमारले सैन्य ‘कू’पछि भित्र्यायो १ अर्ब डलरको हतियार

म्यानमारमा हतियार पठाउने सूचीको शीर्षस्थानमा रुस, चीन र सिंगापुरका कम्पनी छन्। ‘कू’ गरेर सत्ता हातमा लिएको दुई वर्षमा त्यहाँको सेनाले १ अर्ब डलरभन्दा बढीको हतियार किनेको छ।

म्यानमारको सैनिकले २०२१ फ्रेब्रुअरीमा भएको सैन्य ‘कू’ यता मात्र १ अर्ब डलरको हतियार भित्र्याएको छ। संयुक्त राष्ट्रसंघका एक विज्ञले यसलाई अत्याचार र अपराधका लागि गरिएको प्रयासको प्रमाण भएको बताएका छन्।

अधिकांश हतियार रुस, चीन र सिंगापुरका कम्पनीहरूबाट किनेको पाइएको म्यानमारमा राष्ट्रसंघका मानवअधिकार सम्बन्धी प्रतिनिधि टोम एन्ड्रुउजले न्युयोर्कमा सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ। यस्ता हतियार, हतियार उत्पादनमा प्रयोग हुने प्रविधि र सामग्रीहरू २०२१ फेब्रुअरी १ देखि २०२२ डिसेम्बरबीचमा खरिद गरिएको हो।

“यी हतियार र हतियार उत्पादन गर्ने सामग्रीहरू म्यानमारका सेनालाई निर्बाध रूपमा दिइरहिएको छ, जुन अत्याचारी अपराधहरूका लागि प्रयोग भएको प्रमाणहरू छन्,” प्रतिवेदनमा भनिएको छ।

ताजा खरिद गरिएका १२ हजार ५०० सामग्री वा जहाजमा राखिएका सामग्री म्यानमारको सेनाका लागि भएको जनाइएको छ। “विविध प्रकारका र ठूलो परिणामका सामग्री ‘कू’ भए यता म्यानमारको सेनालाई गइरहेको छ,” प्रतिवेदनमा उल्लेख छ। 

मिलिटरी सेनाले लिइरहेका सामग्रीमा फाइटर जेटदेखि ड्रोन र सञ्चार सामग्री छन्। 

‘कू’ पछि म्यानमार संकटमा फसेको छ। त्यतिबेला त्यहाँ ठूला जनप्रदर्शन भएका थिए। अहिले त्यहाँ विभिन्न जातीय सैन्य संगठनहरू जन्मिएका छन्। म्यानमारको सेना अहिले यी सैन्य संगठनहरूसँगको युद्धमा अल्झिएको छ।