पपुलिस्टहरूको राजनीति व्यापारिक पुँजीवादलाई पोषण गर्ने अभियान हो: शंकर पोखरेल

असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरे पनि उनीहरूले समाज परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न नसक्ने पोखरेलकाे दाबी छ।

काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरू भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको आरोप लाएका छन्।

राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडी बढाउन नसक्दाको परिणामस्वरूप केही पपुलिस्टहरू आउन खोजिरहे पनि सबै व्यापारिक पुँजीवादको पक्षपोषक रहेको उनको दाबी छ। यथास्थितिवादलाई पोषण गर्ने बाहेक उनीहरूको अन्य ठोस आधार र धरातल नभएको पोखरेलको भनाइ छ।

“नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन्। न त उनीहरू समाजलाई नीतिगत रूपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडी बढ्न खोजिरहेका छन्,” न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव पोखरेलले भने, “विशुद्ध रूपमा उनीहरू नयाँ र पुरानोको भाष्य खडा गरि समाजलाई दिग्भ्रमित गर्ने कोशिस गरिरहेका छन्।”

महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरे पनि समाज परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न र समाजका समस्यालाई समाधान गर्न नसक्ने दाबी गरे। समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिलाई पनि सही बाटोमा डोर्‍याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको पोखरेलको ठम्याइ छ।

महासचिव पोखरेलले साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङका रूपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति विहीनतातिर लैजाने गरेकोसमेत आरोप लगाए।

“यस्ता गतिविधिलाई अन्त्य गर्न एक्ला एक्लै चुनाव लड्न जरुरी रहेको छ,” उनले भने, “राजनीतिलाई विकृत बनाउन साना दलले खेलिरहेको भूमिकाबाट राजनीतिलाई जोगाउन कांग्रेस नेतृत्व तयार नहुँदा राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद् निर्माण भएको हो।”  

राजनीतिक क्रान्तिका समयमा सबै दलहरू मिलेर अघि बढे जसरी नै समृद्धि र विकासका लागि पनि एक हुन जरुरी रहेको उनले बताए।