हरेक भूपी जन्मजयन्तीमा उनलाई सम्झनेहरूले रक्सीको सन्दर्भ झिक्छन्। कसैले राजनीतिलाई लिएर आलोचना गर्छन्। तर भूपीको यथार्थ जीवन कमैले देखे र लेखे। यिनै घटनाले चिमोटेपछि कविताले बुवाबारे संस्मरण लेखिन्।
काठमाडौँ– “बुवाको जन्मभूमि मुस्ताङ पुगेको छैन, मैले काम गर्ने एशिया डिभलपमेन्ट बैंक अन्तर्गत नेपालका क्षेत्रीय विमानस्थलको निरीक्षणका लागि जोमसोम वरपर पुगेकी छु। कुन महिना थियो याद छैन। त्यहाँ हिमाल, चट्टानका पहाड, सुक्खा जमिन देख्दा बुवाले भन्नुभएको याद आयो। मुस्ताङमा हरिया धुपीका रुख पाइन्थे रे। बुवाको बाल्यकालमै आमा बितेसँगै मानिसहरू उहाँलाई अनेक लान्छना लगाउँदारहेछन्। अनि, उहाँ एक्लै ती धुपीका रूखमा बसेर रुने गरेको बुवाका कुरा याद आयो। एक्कासि मलाई उकुसमुकुस भयो। विमानस्थल साँघुरो हुन थालेको महसुस गर्न थालेँ। केही घण्टाको जोमसोम विमानस्थलको बसाइपछि हामी फर्कियौँ।”
कविता शेरचनले अनुभूत गरेको उकुसमुकुस हो यो। उनलाई अझै पनि बुवा भूपी शेरचन जन्मिएको मुस्ताङको टुकुचे पुग्ने आँट छैन। मुस्ताङ सम्झँदै बुवासँग जोडिएका यादले उनलाई भावुक बनाइहाल्छ।
मृत्यु भनेको भौतिक अस्तित्व मेटिएर कहिल्यै नफर्किने गरी बिलाइजाने प्रक्रिया हो। लेखक तथा पत्रकार भैरव रिसाल भन्छन्, “जन्म निश्चित छ, तर मृत्यु अनिश्चित र यो स्वभाविक प्रक्रिया हो।”
कसैको मृत्यु त्यतिबेला पीडादायी बन्छ, जब आफ्ना लागि अतिप्रिय हुन्छन्। बुवा भूपीसँगको संस्मरणलाई पुस्तकमा उतार्न थालेपछि कविता पनि त्यस्तै पीडामा परिन्। बुवासँगका सम्झना धुमिल भइरहेका थिए। कलम सर्न सकिरहेको थिएन। अनि संस्मरण कति लामो लेखे पुस्तक बन्ला भनेर गुगलमा खोजिन्। ५५ देखि ६५ हजार अक्षर चाहिने 'जवाफ' फेला पारिन्। आफूले थालेको पुस्तक सकिन्छ वा सकिँदैन आफैँ दोधारमा परिन्।
शुरूमा दिमागमा नमेटिने गरी बसेका सम्झना सर्सर्ती लेखिन्। उनी किशोरावस्थामै पिताको काखबाट टाढिएकी थिइन्। केही घटना अमिट भएर बसेका थिए, बाँकी धमिला। “सम्झना छ, तर धुमिल। यकिन साथ लेख्न सकिने थिएन,” कविताले भनिन्।
धुमिल सम्झनाको लहरालाई थांग्रा दिने बलियो आधार बनिन् उनकी आमा तथा भूपी पत्नी कान्ति शेरचन। कान्तिले सम्झनाको बाकस खोल्न थालेपछि कविताको पुस्तकले आकार लियो। अनि पुस्तकको नाम जुर्यो ‘भूपीः अ डटर्स मोमोर’ अर्थात्, भूपीः एक छोरीको संस्मरण।
‘बुवा रक्सीको कारण बित्नुभएको होइन’
उनले सन् २०१९ डिसेम्बरको अन्त्यमा संस्मरण लेख्ने योजना बनेको थियो। त्यतिबेला कोभिडको कारण ‘वर्क फ्रम होम’ चलिरहेको थियो। इमेलमार्फत उनलाई एक साथीले बुवाबारे छाटो संस्मरण लेख्न अनुरोध गरेका थिए। कामको बीच उनले तत्काल इमेलको प्रतिक्रिया जनाउन पाइनन्। पछि संस्मरण लेख्न नसकेकोमा उनलाई ग्लानी भयो। अनि, बुवाप्रति समर्पित गरेर पुस्तक लेख्ने निधो गरिन्।
यद्यपि, संस्मरण लेख्नुको अभिप्राय यति मात्र थिएन। हरेक भूपी जन्मजयन्तीमा आउने संस्मरण र लेखले कवितालाई पीडा दिन्थ्यो। “हरेक वर्ष क्रिस्मसमा बुवाको जन्मजयन्ती पर्थ्यो,” उनी भन्छिन्, “त्यतिबेला प्रकाशित हुने लेखमा उहाँलाई सम्झिनेले राम्रै प्रसंग झिके पनि कतै न कतै बुवाको पिउने बानी घुसेकै हुन्थ्यो।”
भूपीले केही हदसम्म आफ्नो पीडा भुलाउन वा परिवारप्रतिको विद्राहको लागि पिउने गरे पनि जीवनको मूल्यांकन नै रक्सीलाई बनाउनु दुखद् भएको उनी बताउँछिन्।
भूपीबारे लेखिएका अधिकांश लेखमा उनलाई पियक्कड मात्र होइन, राजनीतिमा अवसरवादीको आरोप पनि लगाइन्छ। यी र यस्ता धेरै नकारात्मक बिम्बले भूपीलाई चिनाउँदा कवितालाई नमिठो गरी चिमोट्थ्यो। यस्ता बिम्ब चिर्न पनि पुस्तक लेख्नु परेको कविता बताउँछिन्। “हो, मेरो अभिप्राय त्यही नै हो। तर मैले बुबाको ह्वाइटवासिङ गर्न खोजेको होइन। बुवाको राम्रो मात्र भन्न खोजेको होइन। उहाँमा समस्या थियो। यद्यपि, यति नै मात्र उहाँको परिचय थिएन। उहाँको मृत्युको कारणसमेत भनेर जे किटान गरिन्छ, त्यो होइन। यो पुस्तकले ती विषयलाई समेटेको छ,” उनी भन्छिन्।
पुस्तकमा उल्लेख भएअनुसार भूपीले जीवनकालको उत्तरार्धमा रक्सी मात्र नभई चुरोटसमेत छोडेका थिए। उनको मृत्युको कारण मद्यपान र धुम्रपान नभई जटिल स्वास्थ्य समस्या थियो। उनी मधुमेह, अनिद्रा, दमलगायत रोगबाट पीडित थिए। यी तथ्य जुटाउन उनले भूपीका नजिकका साथीभाइसँग पनि कुराकानी गरेकी थिइन्।
जयदेव भट्टराईले ‘भूपी एक दृष्टिमा’ खण्डमा मानिसहरूले उनलाई पिउने बानीको विषयमा मात्र केन्द्रित गरेको भन्दै नैराश्य प्रकट गरेका छन्। कामभन्दा पिउने बानीलाई चर्चा गर्नु उनलाई कमजोर बनाउने माध्यम बनेको भट्टराइको लेखमा उल्लेख छ।
साहित्यदेखि कला क्षेत्रमा रक्सीलाई धेरैले ‘रोमान्टिसाइज’ गरेको कविता बताउँछिन्। यो विश्वव्यापी प्रवृत्ति भएको उनको बुझाइ छ। धेरै लेखक, कलाकारले रक्सी, चुरोटसँगको आफ्नो लगाव लेखेका पनि छन्। उनको पुस्तकको एक अंशमा लेखिएको छ, “एन अल्कोहोलिक मेक्स अ स्याड बट अट्र्याक्टिभ स्टेरियोटाइप।”
तर कलाकारको परिभाषा यतिमै सीमित राख्न नहुने उनको तर्क छ।
असंवेदनशील समाज, संवेदनशील कवि
कोही पनि व्यक्तिप्रति लगाइने लान्छना परिवारबाटै शुरू हुने कविताको भनाइ छ। पाँच वर्षको कलिलो उमेरमा आमा गुमाएका भूपीलाई उनका बुवाले नै ‘आमा टोकुवा’, ‘मुल परेको’ भनेर आरोप लगाउँथे। परिवार हुँदै समाजसम्म उनले यो लान्छना भोग्नु परेको थियो। त्यही पीडाले उनी थाक खोलाका धुपीको रूखका फेदमा बसेर एक्लै रुने गर्थे।
टुकुचे गाउँको वरपर थियो थुप्रै सल्ला र धुपी
तिनै दिन धुपीको छाँयामा पल्टी रुन थाल्यो कहीँकतै भूपी
डरले काम्थ्यो, कैले दाँत छाम्थ्यो, सोच्थ्यो यस्ता दाँतले
कसरी मैले, पाँच वर्ष पहिले, टोके हुँला आमालाई किन कुन आँटले?
(संस्मरणमा राखिएको भूपीको कविता)
त्यही एक्लोपनको पीडा कालान्तरमा उनको काव्यिक यात्राको स्रोत बन्यो। “बुबाले भन्नुहुन्थ्यो, जसरी हिमाल नपग्लिकन खोला बन्छ, त्यसरी कविको मन पग्लिएपछि मात्र कविता बन्छ,” उनी भन्छिन्, “बाल्यकालमा भोगेको पीडा, अनभुवले नै कवित्वको बीज रोपेको बुवा बताउनुहुन्थ्यो।”
बाल्यकालमा आमा नहुँदा भूपीको हिमचिम घरमा काम गर्ने कामदारहरूसँग थियो। उनी आफ्ना भावना तिनै कामदारहरूसँग साट्थे। “सोही कारण पनि उहाँ त्यो वर्गसँग नजिक हुनुहुन्थ्यो,” कविता भन्छिन्, “बाल्यकालमा आमाको ममताको शून्यता थियो। बनारस अध्ययन रहँदा अवचेतन रूपमा रहेको निम्न वर्गप्रतिको सहानुभूति उर्लिएको हुनुपर्छ।”
आफू सम्पन्न परिवारमा जन्मिएर पनि भूपीले दुःखी र गरिबको पीडा बुझेको र सहानुभूति देखाएको कविता बताउँछिन्। वास्तवमा भूपी दुःखी र गरिबका पक्षमा लेख्ने कवि थिए। समाजको असंवेदनाले गर्दा कष्ट खेपिरहेका मान्छेहरूको संवेदनशील विषय भूपीको कवितामा पाइने उनको भनाइ छ।
व्यवहार र कविताका दुई भिन्न भूपी
कविताका लागि उनका बुवा सदैव मृदुभाषी, विनम्र र सबैलाई माया गर्ने खालका थिए। पुस्तक लेखनीको क्रममा उनका संगतीसँगको कुराकानीमा पनि कविताले त्यस्तै भूपी पाइन्। “जब पहिलोपटक घुम्ने मेचमाथिको अन्धो मान्छे पढेँ, तब मलाई मैले देखेको बुवा उहाँ हो र भन्ने लाग्यो,” कविता भन्छिन्, “उहाँका शुरूआती कवितामा पाइने आक्रोश देख्दा मैले देखेको नरम, मृदभाषी मेरो बुवाभन्दा फरक पाएँ।”
बाल्यकालको एउटा घटना कवितालई अझै याद छ। उनका भाइ भूपेशले एक दिन कोठामा परेवा थुनेर मार्न खोज्दा भूपी ठ्याक्कै आइपुगे। त्यो देखेर कहिले आफ्नो सन्तानलाई गाली नगरेका भूपी एक्कासि चिच्याए। कविता र भूपेश दुवै डराए। यद्यपि, केही समयपछि नै दुवै जनालाई अँगालो हालेर रोएको कविताले पुस्तकमा उल्लेख गरेकी छन्।
त्यति दयालु भूपीले ‘... बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ कविता लेखेको थाहा पाउँदा कविता अहिले पनि फरक अनुभूति गर्छिन्। अझ कम्युनिष्ट हुँदाको शुरूआती दिनमा उनका कविता ‘उग्र’ भएको उनको मूल्यांकन छ।
पछिल्लो समयका कवितामा भने आक्रोशलाई भूपीले व्यंग्यात्मक स्वरूपमा लगेका छन्। सर्पको खोजी, मेरो चोक, हामीलगायत कवितामा भूपीको लेखन शैली फेरिएको छ। सोही कारण पनि बुवालाई दुई भिन्न छविमा देखेको उनी बताउँछिन्।
यद्यपि, १८ वर्षसम्म उनले आफ्ना बुबाका कुनै पुस्तक, कविता नपढेको उनको भनाइ छ। “पहिले मलाई उहाँको मेरो चोक कविता मन पर्थ्यो। काठमाडौँका चोकसँग हाकाहाकी मिल्ने र बुझ्न पनि सहज हुँदा मन परेको थियो,” उनी भन्छिन्।
अहिले भने उनलाई 'हामी' कविता मन पर्छ। सामाजिक न्याय र राजनीतिक परिस्थिति बुझेपछि सोच परिवर्तन भएको पनि उनी बताउँछिन्।
कृतिमा छुटेका भूपी
कविताले लेखेको यो पहिलो पुस्तक हो। यो संस्मरणमा अझै केही छुटेको अनुभूतिले उनलाई चिमोटिरहेको छ। उनी भन्छिन्, “हामीले एउटा मुक्तकको संग्रह भेटेका छौँ। टाइप भएको मुक्तक भेटिएको छ। तर त्यो उहाँकै हो वा अन्य कसैको हो भन्ने बुझ्न बाँकी छ।”
भाइ भूपेशले पनि भूपीका पुराना लेखको संग्रहमा काम गरिरहेको कविताले बताइन्। उनका अनुसार, भूपीलाई मुक्तक लेख्ने रहर थियो। कुनै पनि लेख, कविता पहिला हातले लेख्ने र टाइप गर्न लगाउने उनको बानी थियो। तर उक्त मुक्तक संग्रहको हस्तलिखित कपी भेटिएको छैन।
त्यसैले मुक्तक बुबा भूपीको थियो या प्रज्ञा प्रतिष्ठानको ‘कविता’ पत्रिका सम्पादक रहेका उनलाई अरू कसैले टाइप गरेर दिएको थियो भन्ने यकिन नभएको कविताको भनाइ छ।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
