‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले सल्लाह र अनुमतिबिना चारदिने यात्रासहित काशीमा गिरिको अस्तु विसर्जन गर्ने कार्यक्रम बनाएकोमा उनका श्रीमती र छोरा–बुहारीले आपत्ति जनाएपछि विवाद छताछुल्ल भएको छ।
काठमाडौँ– “प्रदीप दाइको पवित्र अस्तु बन्यो तमासा। बागमतीदेखि बनारससम्मको यात्रा। अस्तुमाथि ‘परिवार’को स्वामित्वको दाबा। कथित परिवार र कथित ‘अनुयायी’बीच झडप। एउटा देशभक्त चिन्तकले मृत्युपछि पनि शान्ति पाएन,” पहिलोचोटि सँगै जेल परेका र अन्तिमसम्मै प्रदीप गिरिको प्रिय रहेका पत्रकार किशोर नेपालले यी शब्द लेख्दै शनिबार टि्वट गरे।
यस्तै, पछिल्ला दशकमा भेटघाट पातलिए पनि एकअर्काप्रति प्रेम र आदरको सम्बन्धमा बाँधिएका लेखक खगेन्द्र संग्रौलाले शुक्रबार टि्वट गरेका थिए, “दिवंगत प्रदीप गिरिको अस्तु विसर्जनको मामिलालाई लिएर परिवारजन र शुभचिन्तक जनमाझ कलह शुरू भएछ। फौजी सलामीको तामसी ठाँटबाटबाट शुरू भएको प्रदीप गिरिको अपमानको शृंखला कहाँ पुगेर टुंगिने हो? हैट्, लाजमर्नु!”
विवादको थालनी
‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले गिरिको दुई दिनपछि हुने वार्षिकीको अवसरमा गरिने कार्यक्रमबारे जानकारी दिन साउन ३२ गते पत्रकार सम्मेलन गर्यो। समितिले गिरिको निधनको एक वर्ष पूरा हुने दिन भदौ २ गतेबाट शुरू हुने गरी काठमाडौँदेखि भारतको काशी (बनारस)सम्म गरिने चारदिने यात्रा तय गरेको जानकारी त्यस अवसरमा दिइयो। त्यसअन्तर्गत प्रदीपबारे ठाउँ–ठाउँमा प्रवचनपछि काशीमा उनको अस्तु सेलाउने कार्यक्रम समावेश थियो। यो जानकारी सार्वजनिक भएलगत्तै उनको परिवारको तर्फबाट श्रीमती भारती सिलवाल गिरि, छोरा सन्तोष गिरि र बुहारी ऊष्मा लामा सिलवाल गिरिले विज्ञप्तिमार्फत ती कार्यक्रमहरूप्रति आपत्ति जनाएपछि विवाद सतहमै छताछुल्ल भएको हो।
त्यस विज्ञप्तिले गिरिलाई स्मरण गर्ने सवालमा उनका शुभचिन्तकहरूमाझ ‘परिवार’ र ‘बाहिरिया’ बीच विवाद रहेको भाष्य पैदा गरेको छ। अहिले सतहमा देखा परे पनि यो विवाद पहिले नै भूसको आगोझैँ भित्रभित्रै सल्किँदै थियो। परिवारमा पनि श्रीमती र छोरा–बुहारी मात्र एकापट्टि देखिएका छन् भने गिरिका सहोदर दाजुभाइ, दिदीबहिनी र तिनका परिवार ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’को समर्थनमा देखिएका छन्।
परिवारजनको अनुमति र सरसल्लाहबिना समितिले तय गरेका कार्यक्रमप्रति असहमति जनाउँदै गिरिका श्रीमती र छोरा–बुहारीले परिवारसँग जोडिएको संवेदनशील विषयमा गैरकानूनी ढंगले अशोभनीय क्रियाकलाप हुन लागेको भन्दै दुःख व्यक्त गरेका छन्। “हामी परिवारजन जीवित हुँदाहुँदै हामीसँग एक वचन सरसल्लाह नगरी र अनुमति नलिई अस्तु विसर्जन गर्ने क्रियाकलाप समाहित गरेकोमा हामी स्तब्ध भएका छौँ,” विज्ञप्तिमा लेखिएको छ।
मृत व्यक्तिको सम्बन्धित परिवारसँग गाँसिएको अस्तु विसर्जन कुनै पनि अमुक व्यक्ति वा संघसंस्थाले बिनास्वीकृति गर्नुलाई हिन्दु परम्परा र कानून दुवैले ग्राह्यता नदिने दाबी विज्ञप्तिमा गरिएको छ। “अस्तु विसर्जन नगर्न हामीले कैयौँ पटक मौखिक आग्रह र लिखित रूपमा समेत अनुरोध गर्दागर्दै पनि सो समितिका नायक कञ्चन झा, रामपल्टन शाह र त्यस समितिसँग संलग्न व्यक्तिहरूले हाम्रो आग्रहलाई लतारेर अस्तुको राजनीति गरिरहेका छन्,” परिवारको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।
अस्तु विसर्जनको बहानामा समितिका मानिसहरूले चन्दा उठाइरहेको र यो काम परिवारका लागि एकदमै लज्जास्पद विषय भएको जनाउँदै गिरिका पत्नी, छोरा–बुहारीले यस कार्यमा आफूहरूको सहमति र संलग्नता दुवै नरहेको स्पष्ट पारेका छन्।
त्यस्तो असहमति सार्वजनिक भएपछि भदौ १ गते नै आयोजक समूहले विज्ञप्तिमार्फत स्पष्टीकरण दिँदै गिरिका परिवारजनले झूट बोलेको आरोप लगाएको छ। “प्रदीप गिरिज्यूकी श्रीमती, छोरा र बुहारीले हामीमाथि लगाएका आरोप र बुनिएका कथा सबै मिथ्या हुन्। त्यसलाई हामी पूर्णरूपमा खारेज गर्छौं,” आयोजक समूहको विज्ञप्तिमा लेखिएको छ।
गिरिको परिवारलाई कार्यक्रमबारे जानकारी थिएन भन्ने कुरा सत्य नभए पनि उनीहरूको निर्णय अन्तिम हुने गरी भने नसोधेको आयोजक समूहका अगुवा कञ्चन झाले बताएका छन्। “जीवित छँदा प्रदीप दाइ सधैँ उहाँहरूको बेवास्तामा परिरहनुभयो। अन्तिम अवस्थामा पुगेपछि मात्रै उहाँहरूले चासो लिन थाल्नुभएको थियो,” उनी भन्छन्, “त्यतिखेर दाइसँग हामीहरू नै थियौँ। दाइलाई गाह्रो हुँदा परिवारको कर्तव्य निर्वाह नगरेकाले हामीले पनि उहाँहरूलाई सोध्नुपर्ने कर्तव्य ठानेनौँ। प्रदीप दाइको भाइखलक, बुद्धिजीवी र शुभेच्छुकहरूको सल्लाह–सुझावअनुसार कार्यक्रम सफल बनाउने संकल्प बोकेर अघि बढ्ने निर्णय गरेका हौँ।”
गिरिका छोरा सन्तोष भने आफूलाई आयोजक समूहबाट कार्यक्रमबारे कुनै जानकारी र खबर नआएको बताउँछन्। कार्यक्रम तय भइसकेपछि मात्रै आफूहरूले बाहिरबाट थाहा पाएको सन्तोषले उकालोसँग बताए। “हामीलाई कसैले जानकारी नै गराएन। मलाई कसैले फोन गरेको छैन। त्यसमाथि अस्तु विसर्जनको जिम्मा मेरो हो। उहाँहरू को हो बुबाको अस्तु विसर्जन गर्ने?, सन्तोष भन्छन्, “अहिलेसम्म वस्तुमा राजनीति भएको देखेको थिएँ तर अस्तुमा देखेको थिइनँ। बुवा बिरामी भएको बेला साथमा हामी थिएनौँ भने अरू को थियो त?”
‘प्रदीप दाइ कसैको निजी होइन, सबैको साझा हुनुहुन्थ्यो’
आयोजक समूहले गिरि जीवित छँदा सबैका साझा व्यक्ति भएकाले उनको अस्तुमा परिवारको मात्र नभई सबैको हक लाग्ने बुझेर आफूहरूले कार्यक्रम तय गरेको दाबी गरेको छ। सो समूहका अर्का अगुवा रामपल्टन साह भन्छन्, “उहाँ कुनै परिवार विशेषको सम्पत्ति हुनुहुन्थेन। समाजको एउटा धरोहर हुनुहुन्थ्यो। त्यसैले नेपाललगायत भारतका नदीहरूमा अस्तु विसर्जनको कार्यक्रम राखेका हौँ।”
साहका अनुसार १३ दिने काजक्रियाका बेला पनि परिवारकै सल्लाहमा उनले नै भारतको सिमरिया घाटमा अस्तु विसर्जन गरेका थिए। “अझै तीन वटा अस्तु सिरहामै छन् तिनलाई पनि अगामी दिनमा हामी विभिन्न ठाउँमा विसर्जन गर्नेछौँ। केही दिन अघिसम्म उहाँहरू समर्थनमै हुनुहुन्थ्यो तर कार्यक्रमको दुई दिन अगाडि मात्र अचानक के भयो केही बुझ्न सकेका छैनौँ,” साहले भने।
“प्रदीप दाइ दुई वर्ष बिमार भएको बेला भाउजू एकपटक पनि भेट्न आउनुभएन, तर पनि उहाँले कहिल्यै केही भन्नुभएन,” साह भन्छन्, “तर जब उहाँ अर्धचेत अवस्थामा पुग्नुभयो अनि उहाँहरू नजिक हुन थाल्नुभयो। गाउँमा भएको जग्गा पनि आफ्नो नाममा सार्नुभयो। अहिले के कारणले आपत्ति जनाउनुभयो त्यो उहाँलाई नै थाहा होला।”
श्रीमती र छोरा–बुहारीले आपत्ति जनाए पनि गिरिका भाइ शेखर भने अस्तु विसर्जन गर्ने यात्रामा आफ्नो समर्थन रहेको बताउँछन्। “विज्ञप्तिमा परिवारको आपत्ति छ भनेर लेखिएको रहेछ। परिवार भनेको श्रीमती मात्रै हो भने मेरो भन्नु केही छैन। तर म पनि त उहाँको सहोदर भाइ हुँ नि,” शेखर भन्छन्, “अहिले जीवितै रहेका हामी तीन भाइबहिनीको यो यात्रामा पूरापूर समर्थन छ।” शुभेच्छुक धेरै भएका प्रदीपजस्ता व्यक्तित्वको अस्तुको स्वामित्व परिवारजनमा मात्र सीमित नहुने उनले बताए।
गिरिका छोरा सन्तोष भने आफ्नो बुवा सबैको साझा भए पनि अस्तु सबैको नहुने बताउँछन्। “बुवा चर्चित हुनुहुन्थ्यो, उहाँको हामीबाहेक पनि ठूलो परिवार थियो, त्यो हामी पनि मान्छौँ। यसको अर्थ सबैले उहाँको अस्तु विसर्जन गर्दै हिँड्न मिल्छ भन्ने हो र?” उनी प्रश्न गर्छन्, “उहाँजस्तो मान्छेको अस्तुमाथि घृणित कार्य हुँदा हामी लज्जित महसुस गर्दै छौँ। मूल कुरा त उहाँहरूसँग अस्तु नै छैन। भए पनि शान्तिपूर्वक गरे हुँदैनथ्यो? यो तामझामको के जरुरत थियो?”
गिरिको निधनलगत्तै आश्रमको जग्गा नामसारी
क्यान्सरका कारण भारतमा एक वर्षभन्दा लामो समय उपचार चल्दा प्रदीपलाई भेट्न उनकी श्रीमती भारती एक पटक पनि अस्पताल नपुगेको उनका शुभचिन्तकहरूको आरोप छ। दिल्लीमा केमोथेरापीको चक्र पूरा गरी रेडियसनथेरापी लिन मुम्बई जानुअघि केही दिन काठमाडौँमै आराम गर्दा पनि प्रदीपलाई भारतीले नभेटेको अस्तु विसर्जनमा लागिपरेको समूहका रामपल्टन साह बताउँछन्।
उनका अनुसार क्यान्सर फैलिएको फेला परेपछि मुम्बईबाट काठमाडौँ ल्याई ललितपुरको मेडिसिटी अस्पतालमा राखिएका बेला मात्र श्रीमती भारती पुगेकी थिइन्। त्यतिबेला गिरि मृत्युको नजिक पुगिसकेका थिए। प्रदीपको देहान्त भएको ४० दिन नबित्दै सिरहाको बस्तीपुरस्थित आश्रमको १७ बिघा जग्गामध्ये प्रदीपको नाममा रहेको पाँच बिघा भारतीले आफ्नो नाममा सारेको साहले बताए। उनका अनुसार आश्रमको केही जग्गा गिरिले आफू जीवित छँदैमा सामाजिक संस्थालाई पास गरेर दिएका थिए भने केही प्रदीपका बहिनी र भाइहरूको नाममा छ।
बस्तीपुरस्थित आश्रममा गिरिले सीप विकासको तालिम, अध्ययन–अध्यापन र अनाथहरूलाई बसोबासको बन्दोबस्त मिलाएका थिए। ‘स्वराज ट्रस्ट’, ‘दलित जनकल्याण’ लगायतका संस्थाहरू आश्रमभित्रै सञ्चालित थिए। ती सबैका गतिविधिहरू अहिले रोकिएका छन्। “भाउजूले जग्गा नामसारी गरेदेखि समस्या हुन थालेको छ। आश्रमका १२ वटा गाईभैँसी पनि उहाँले बेचिदिनुभयो। आँपको रूखबाट बर्सेनि करिब डेढ लाख आम्दानी हुन्थ्यो, त्यो पनि उहाँले आफैँ राख्न थाल्नुभयो,” गिरिको सहयोगी भएर लामो समय साथ दिएका साहले उकालोसँग भने।
श्रीमान् बितेपछि सम्पत्ति स्वतः श्रीमतीको नाममा जाने कानूनी व्यवस्था नै भएकाले यो कुनै मुद्दा नभएको गिरिका छोरा सन्तोष बताउँछन्। “त्यो जग्गा मेरो बुवाको थियो जुन उहाँ बितेपछि ममीको नाममा आयो। यसमा अरूको के टाउको दुखाइ भयो?” उनी भन्छन्।
कस्तो आश्रम बनाउन चाहन्थे गिरि?
बस्तीपुरको करिब १७ बिघा पर्ती जग्गामा गिरिले २०४८ सालतिरै आश्रम शुरू गरेका थिए जुन उनको पैतृक घरबाट झन्डै एक किलोमिटरको दूरीमा छ। त्यो जग्गा भदैया, पिडरबनी, बस्तीपुर, लक्ष्मीनियाँ लगायतका बस्तीमा पालिएका बस्तुभाउको चरनस्थल थियो। वृक्षारोपण गरिसकेपछि मात्रै आश्रमले मूर्तरूप लिएको उनीसँग नियमित उठबसमा रहने बस्तीपुरकै कुमोदरञ्जन बराल बताउँछन्।
“आश्रममा जस्तापाताले छाएको तीन कोठाको पहिलो घर निर्माण भयो। त्यसैको एउटा कोठामा पुस्तकालय राखियो,” बराल भन्छन्, “त्यही घरमा किसुनजी (पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई) आएर धेरै दिनसम्म बस्नुभयो। पछि घेराबारसहित जस्तापाताका थप घरहरू बने। आश्रमको रूप लिन थालेपछि त्यसलाई ‘सेवा आश्रम’ र ‘गान्धी आश्रम’ पनि भन्न थालियो।”
आश्रममा रहँदा गिरि जनजीविकाका विभिन्न सवालबारे चिन्तन गर्थे। बरालका अनुसार त्यहाँ बौद्धिक र राजनीतिक मन्थन हुन्थ्यो जसमा गिरिले सधैँ पृथक् धारणा राख्ने गर्थे। “प्रदीप दाजु जहिले पनि जनतामा आत्मविश्वास नआउन्जेल, यो सरकार र राज्य हाम्रो हो भन्ने बोध नहुन्जेल व्यवस्थामा परिवर्तन आउँदैन भन्नुहुन्थ्यो,” बराल भन्छन्, “आश्रममा भेटघाटसँगै राजनीतिक गफगाफ पनि चलिरहन्थ्यो। उहाँको आश्रम चिन्तन गर्ने चौतारी जस्तै थियो।”
बरालले बताएअनुसार खासमा गिरि त्यहाँ समाजवादी विश्वविद्यालय खडा गर्न चाहन्थे जहाँ सबैलाई समान रूपमा हेरियोस् भन्ने उनको चाहना थियो। गिरि बेलाबेला आफ्ना सहयोगी र सहयात्रीहरूलाई कर्मचारी र मजदुरबीचको फरक देखाउन खोज्थे।
“उहाँले एकपटक आश्रमको केही जग्गा मजस्तालाई खेती गर्न दिनुभयो र केही जग्गा त्यहाँकै मजदुरहरूलाई दिनुभयो। हामी सधैँ घाटामा हुन्थ्यौँ तर मजदुरी गर्नेहरू सधैँ नाफामा,” बराल भन्छन्, “यही कुरा कम्युनिस्टहरूलाई पनि बुझाउन उहाँ चाहनुहुन्थ्यो। जबसम्म कुनै काममा आफ्नो श्रम लाग्दैन तबसम्म सफलता मिल्दैन। नेपालमा पनि यस्तै नगर्ने हो भने देश झन्–झन् कंगाल हुँदै जान्छ भन्ने उहाँको मान्यता थियो। आश्रममार्फत यही कुरा सिकाउने उहाँको चाहना थियो।”
प्रदीपका सहयोगी साह आश्रमबारे उनको परिकल्पना हरहालमा साकार पार्ने दृढता व्यक्त गर्छन्। उनी भन्छन्, “मलाई अझै पनि विश्वास छ, भाउजूले नामसारी गरेको जग्गा बेच्नुहुन्न। अहिले कसको दबाब र प्रभावमा उहाँले यस्तो गरिरहनुभएको छ थाहा भएन। तर ढिलोचाँडो हामी सबै मिलेर प्रदीप गिरिजीको सपना साकार पारेरै छाड्छौँ जसमा भाउजूको पनि पूरा सहयोग रहनेमा विश्वस्त छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
