अहिले नेपाली क्रिकेट टिम धानिरहेका सबै खेलाडीको विश्वकप खेल्ने सपना हो। विद्यालय तहदेखि नै विश्वसामु नेपाललाई चिनाउने सपना बोकेको र यूएईविरुद्धको खेलमार्फत पूरा भएको उनीहरू बताउँछन्।
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०१४ मा बांग्लादेशमा पाँचौँ संस्करणको टी२० विश्वकप आयोजना गरेको थियो। सो विश्वकपमा भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित १६ टोली सहभागी थिए। उक्त प्रतियोगिता नेपालका लागि ऐतिहासिक थियो, किनभने नेपालले पहिलोपटक खेल्दै थियो।
प्रतियोगितामा नेपाल, बांग्लादेश, अफगानिस्तान र हङकङ एउटै समूहमा परेको थियो। खेल हेर्न कतिपय समर्थक बांग्लादेश नै पुगेका थिए भने कतिपयले घरबाटै नेपाली टोलीलाई समर्थन गरे। तीमध्ये एक थिए, किक्रेट टिमका हालका कप्तान रोहितकुमार पौडेल।
उनी पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शक्ति गौचन, शरद भेषवाकर र सोमपाल कामीजस्ता देशकै स्टार खेलाडी बल र ब्याट लिएर क्रिजमा उत्रिँदा टेलिभिजनअगाडि बसेर घाँटी नै सुक्ने गरी ‘हुटिङ’ गरिरहेका हुन्थे। नेपालले छक्का हान्दा उनी बेसरी कराउँथे। विकेट जाँदा उनी टाउको समाउँथे। ११ वर्षीय रोहितलाई लाग्थ्यो, नेपाल योभन्दा अगाडि जानैपर्छ।

तर, उक्त प्रतियोगितामा बांग्लादेशसँग ८ विकेटले पराजित हुँदा नेपाल अर्को चरणमा पुग्न सकेन। उक्त पीडा झेल्न नसकेका खेलाडी मैदानमै भावविह्वल देखिए। उक्त दृश्यले टेलिभिजनअगाडि बसेर खेल हेरिरहेका रोहितको आँखा पनि नरसाउने कुरै भएन। यद्यपि, उनमा पारस, ज्ञानेन्द्र र शरदजस्तै स्टार क्रिकेटर बन्ने मोह जाग्यो। उनी पुनः विश्वकप खेल्ने लक्ष्यसाथ काठमाडौँ ओर्लिए।
ब्याट र बल समाएको एक दशकमै उनले छुट्टै पहिचान बनाए। उमेर समूहका प्रतियोगिता खेल्दै आफूले रोल मोडल मानेका खेलाडीसँगै ड्रेसिङ रुम शेयर गरेर अनुभव बटुल्दै आफ्नै कप्तानीमा नेपाललाई एक दशकपछि पुनः त्यही मञ्चमा पुर्याए। शुक्रबार मूलपानी क्रिकेट मैदानमा यूएईलाई ८ विकेटले पराजित गर्दा अविजित ३५ रनको इनिङ्स खेलेका उनी भावुक देखिए।
“सोम (सोमपाल कामी) र विनोद (भण्डारी) दाइबाहेक सबै खेलाडीले त्यही विश्वकप हेरेर क्रिकेट खेल्न शुरू गरेका होलान्। पारस, ज्ञानेन्द्र, शरद र सोमपाल दाइसमेत मेरो रोल मोडल हुनुहुन्थ्यो। पछाडि फर्केर हेर्दा म आफूलाई लक्की फिल गर्छु। म काठमाडौँ आउनु, प्राक्टिस गर्नु, टिममा पर्नु र विश्वकपमा खेल्न पाउनुले यो फिल गरिरहेको छु,” खेलपछि उनले भने।

तीनचोटि छनोट खेलेर प्राप्त गरेको सफलता
सन् २०१४ मा विश्वकप खेलेपछि नेपालले तीन पटक छनोट खेल्यो। तर, उकालो चढ्नुपर्ने क्रिकेट ओरालोतर्फ लाग्यो। सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा ग्लोबल छनोटमा ६ खेल खेलेको नेपालले अमेरिकाबाहेक अन्य टोलीलाई पराजित गर्नै सकेन। त्यसको चार वर्षपछि पनि नेपालको प्रदर्शन उस्तै दयनीय रह्यो। सिंगापुर र कतारसँग ८२ र ४ विकेटले पराजित हुँदै नेपाल एशियाली क्षेत्रमै रोकियो।
सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको विश्वकप ग्लोबल छनोटमा नेपाल सेमिफाइनलसम्म पुग्यो। तर, दुईपटक विश्वकप खेलिसकेको यूएईसँग नेपाल ७८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट वञ्चित भयो। नेपाली टोलीको यो दूरदर्शाको साक्षी दुईपटक रोहित पनि नबनेका होइन। उनीसँगै आशिफ सेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल र सोमपाल कामीजस्ता फरक पुस्ताले पनि त्यस पीडाको अनुभव गरिसकेका छन्।
तर, असफलताबाट पाठ सिक्नुपर्छ भन्ने शिक्षा लिएकोले अहिले सफलता हात परेको उनी बताउँछन्। “पास्टको कुरा सच्याउन मिल्ने होइन, हामीले फ्यूचरलाई हेर्ने हो। त्यसैले यसपटक त्यस गल्तीलाई सच्याउँदै विश्वकपमा जसरी पनि पुग्नुपर्छ भनेर सबैले लक्ष्य राखेका थियौँ। त्यो अहिले पूरा भएको छ,” उनी भन्छन्।
नेपाल दोस्रो पटक विश्वकपमा पुग्दाको माहौल अर्कै थियो। मुख्य प्रशिक्षक मोन्टी देसाई मात्रै होइन खेलाडी अविनाश बोहोरासमेत भावुक देखिन्थे। त्यही भावुक हुने भीडमा थिए, सोमपाल कामी पनि। उनी सम्भवतः दुवै पटक टी२० विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने छन्। उनको अहिलेको लयले पनि त्यही देखाइरहेको छ।
बलिङबाट मात्रै होइन ब्याटिङबाट पनि महत्त्वपूर्ण योगदान दिन सक्ने क्षमता राख्ने सोमपाल यस पटकको विश्वकप छनोटमा आफूले खुबै ‘इन्जोय’ गरेको बताउँछन्।
“लास्ट टाइम विश्वकप छनोट हुँदाको जर्नीमा इन्जोय गरेको थिइनँ। त्यतिखेर सानै थिएँ। दाइहरूको अगाडि खुल्न मिल्दैन। अहिले भाइहरू छन्, उनीहरूको अगाडि त खुल्न सक्छु नि। तर, अहिले एकदमै खुशी लागेको छ। करण, अविनाश र म रुममा बस्दा विश्वकप जसरी पनि खेल्नुपर्छ भन्ने गोल बोकेका थियौँ, त्यो अर्चिभ पूरा भएको छ,” उनी भन्छन्।

घरेलु मैदानले दिलाएको सफलता
नेपाली टोलीका लागि यो वर्ष निकै फलदायी रह्यो। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतका तीन सिरिजका आठ खेलमा अपराजित रहेको नेपालले उक्त लय एसीसी प्रिमियर कपमा समेत दोहर्यायो। उक्त प्रतियोगितामा पनि अपराजित रहँदै नेपालले उपाधि जितेर २१ वर्षपछि एशिया कपमा पुगेको थियो। उक्त लय नेपालले मूलपानी र कीर्तिपुरमा भएको त्रिकोणात्मक (नेपाल, हङकङ र यूएईसम्मिलित) टी२०आई सिरिजको फाइनलसम्म कायम राख्यो।
यद्यपि, फाइनलमा भने यूएईसँग नेपाल ५ विकेटले पराजित भयो। त्यसयता नेपाली टोली विश्वकप छनोटमा ओमानसँग मात्रै पराजित भयो। नेपाली टोलीका ओपनर आशिफ सेख घरेलु मैदानमा प्रतियोगिता आयोजना हुनुले पनि विश्वकपमा पुग्न सफल भएको बताउँछन्।
“विश्वकप छनोट नेपालमै हुनेछ भन्ने थाहा पाएसँगै कन्फिडेन्स बढेको थियो। क्राउड बीचमा खेल्न पाउँदा बेनिफिट हुन्थ्यो। जसरी हामीले ६/७ महिनामा क्रिकेट खेलिरहेका थियौँ त्यसले पनि कन्फिडेन्स दिलाएको थियो,” उनी भन्छन्।
अहिले नेपाली क्रिकेट टिम धानिरहेका सबै खेलाडीको विश्वकप खेल्ने सपना हो। विद्यालय तहदेखि नै विश्वसामु नेपाललाई चिनाउने सपना बोकेको र यूएईविरुद्धको खेलमार्फत पूरा भएको आशिफ बताउँछन्।
अब नेपालले पुनः विश्वकपमा फर्किँदा आफूभन्दा माथिल्लो वरीयतामा रहेका टोलीसँग खेल्ने छन्। सन् २०२४ को ४ देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा २० टोली सहभागी हुने छ। विश्वकपमा नेपालले समूह चरणमा चार खेल खेल्ने छ। समूह चरणमा शीर्ष दुईमा रहने टोली सुपर ८ मा पुग्ने छन्।
विश्वकप छनोटमा दोस्रो सर्वाधिक रनकर्ता (एक अर्धशतकसहित १२८ रन) रहेका आशिफबाट टोलीले यस्तै लयको आस गर्ने छ। त्यसैले उनी आफ्नो व्यक्तिगत कुनै लक्ष्य नरहेको सुनाउँछन्। टोलीका लागि खेल्ने बताउने उनी जुन ठाउँमा आफ्नो आवश्यक पर्छ त्यहीअनुसार आफू खेल्ने बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
