एन्फाले उमेर समूहका खेलाडीलाई लक्षित गरेर थालेको यू१६ लिग अनिश्चित बन्दा क्लबहरूको लगानी खेर जाने अवस्था त छ नै, नयाँ खेलाडीले खारिने मौका नपाएर राष्ट्रिय टोलीसम्म पुग्ने ढोकासमेत बन्द हुँदैछ।
काठमाडाैँ– राष्ट्रिय टोलीको जर्सी लगाएको सपना देख्ने सिन्धुपाल्चोकका फुटबल खेलाडी आर्यनकाजी थापा एउटा मौकाको खोजीमा थिए। तर उमेरले भरखरै १३ वर्ष पुगेका उनलाई उक्त सपना पूरा गर्न लामो संघर्ष तय गर्नुपर्ने पक्काजस्तै थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीजस्ता उमेर समूहका खेलाडीलाई लक्षित गरेर फुटबल गतिविधि नगरेको लामै समय भइसकेको थियो। कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयो कि एक हप्ते क्याम्प लगाइन्थ्यो। यसरी छोटो तयारीमा बनाएको टोलीको प्रदर्शन खस्किँदै थियो। यो अवस्थाबाट पार पाउन एन्फाले गएको असार ३० गते यू१६ लिग जन्माएको थियो।
नेपालमै पहिलोपटक सिनियर खेलाडीले खेल्नेजस्तै ६ महिने लिगमा ‘ए’ डिभिजन क्लबबाटै सहभागिता जनाउन पाउने भएपछि सिन्धुपाल्चोक साँगागढी नगरपालिका ठूलो सिरुबारीस्थित थापा गाउँका आर्यनकाजी दंग थिए। उनलाई लागेको थियो, अब त उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्ने सपना साकार हुन्छ। किनभने, यही लिगमार्फत यू१६ लगायत अन्य उमेर समूहको टोलीको छनोट गरिने एन्फाले जनाएको थियो।
तर, उनले सोचेको जस्तो लिग पटक्कै भइदिएन। उनी आबद्ध खुमलटार एफसीले ५ खेल खेलेपछि नै लिग अनिश्चित भइदियो। उनलाई एकाएक चम्किरहेको ‘करिअर’ अन्धकारझैँ लाग्न थाल्यो।
“सबैले पढ्नुपर्छ, खेलेर केही हुँदैन भन्नुहुन्थ्यो। तर बच्चैदेखि फुटबल खेल्न थालेको मलाई राष्ट्रिय जर्सी लगाउने ठूलो धोको थियो। लिग खेल्न पाएपछि एक्साइटमेन्ट बढेको थियो। बीचैमा लिग हुन छाडेपछि करिअर नै रोकिएकोजस्तो भइरहेको छ,” उनले गुनासो पोखे।
घर सिन्धुपाल्चोक भए पनि आर्यन भक्तपुरको गठ्ठाघरमा हुर्किए। साथीहरूसँग त्यहीँ फुटबल सिके। फुटबल नै प्यारो खेल बन्यो। करिब तीन वर्षअघि मात्रै सिन्धुपाल्चोक फर्किएका उनले फुटबल खेल्न भने छाडेनन्। खेतका आली र बारीका कान्लामा फुटबल खेलेरै यू१६ सम्मको यात्रा तय गरे। पाँचमध्ये दुई खेलमा शुरूआती र दुई खेलमा वैकल्पिक रूपमा मैदान उत्रिएका उनले संकटा क्लबविरुद्ध एक गोल पनि गरिसकेका थिए। उनमा गोलको भोक अझै मरिसकेको थिएन। तर एन्फाले लिग नगराउने भएपछि आर्यानको चित्त दुख्यो।
गत साउन ३० गते खुमलटारले मच्छिन्द्र फुटबल क्लबसँग खेल खेलेपछि आर्यनलाई लिग केही समय रोकिने र फेरि गराइने जानकारी गराइयो। अहिले एसईई दिने तरखरमा रहेका उनी त्यति बेला मन अमिलो पार्दै सिन्धुपाल्चोक नै फर्किए।
“मच्छिन्द्रसँग खेलेपछि अब दशैँपछि मात्रै गेम हुन्छ भनेको थियो। त्यसपछि अभ्यास पनि हुन छाड्यो। तर हामीले खेल्न चाहिँ छाडेको थिएनौँ। आफ्नै तरिकाले अभ्यास गरिरहेका थियौँ,” उनले निराश हुँदै भने, “दशैँतिहार सकिएर एसईई पनि आइसक्यो, लिग हुन्छ भन्ने खबर अझै आएन।”
लाखौँ लगानी डुब्ला कि भन्ने डर
थ्रीस्टार क्लबका पूर्वअध्यक्ष तथा एन्फा सहायक महासचिव अरुणमान जोशीका अनुसार लिग गराउने तयारी गर्दा १० टोली पुर्याउन निक्कै सकस परेको थियो। शुरूमा ‘ए’ डिभिजनका १४ वटै क्लबलाई अनिवार्य यू१६ लिग खेलाउने एन्फाको योजना थियो। तर हिमालयन शेर्पा, खुमलटार, जावलाखेल, सातदोबाटो र थ्रीस्टारले आफ्नो एकेडेमी नभएको, खर्च गर्न नसक्ने र बच्चाको पढाइ बिग्रिनेलगायत कुरा निकाल्दै लिग खेल्न अस्वीकार गरिदियो। लिगमा १० टोली पुग्न गाह्रो भएको अवस्थामा थ्रीस्टारले खेलाडी जम्मा गरेर लिगमा सहभागिता जनाइदिने वचन दिएको थियो। तर खुमलटारले अन्तिम मिनेटमा सिन्धु एफसीसँग सहकार्य गरेर लिगमा सहभागिता जनाउने पक्का गरेपछि थ्रीस्टार पछाडि हटेको अरुणमान बताउँछन्।
“लिगमा १० टोली नपुग्ने अवस्था देखिएपछि मैले जसरी भए पनि केटाहरू बटुलेर सहभागिता जनाइदिने वचन दिएको थिएँ। तर खुमलटार खेल्ने पक्का भएपछि हामीलाई यसपालि पछाडि हट्नदिनुस् भन्नुभयो, हामी पछाडि हट्याैँ,” उनी भन्छन्।
खुमलटार यसै सिजन ‘बी’ डिभिजनमा झरेको क्लब हो। त्योसँग कुनै एकेडेमी छैन। सिन्धुपाल्चोकको सिन्धु एफसीका कोषाध्यक्ष महेश श्रेष्ठ खुमलटारसँग जोडिएका थिए। खुमलटारलाई ‘ए’ डिभिजनमा उकाल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए। खुमलटारले ‘ए’डिभिजन लिग खेल्दा पनि उनी सोही भूमिकामा टचलाइनमा उभिए। उनले नै आफ्ना क्लबका प्रतिनिधिहरूसँग सहकार्य गरे उपाध्यक्ष सन्दीप खड्काको प्रशिक्षणमा स्थानीय खेलाडी जम्मा गरेर खुमलटारको नाममा टोली बनाएका हुन्।
उनले यसरी जम्मा गरेका खेलाडी सिन्धुपाल्चोकको चौतारा, बाह्रबिसे, लामेसाँघु, खाडीचौर आसपासका छन्। केही सिन्धुपाल्चोकबाहिरका हुन्। उनीहरू लिग हुने दिन मात्रै काठमाडौँ आउने र खेलेर उतै फर्किने गरेका थिए। यसरी लिगका पाँच खेल खेल्दा करिब ५ लाख रुपैयाँ खर्च भएको सन्दीप सुनाउँछन्। तर लिग अनिश्चित हुँदा त्यो लगानी फस्ने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको उनको भनाइ छ।
“हामीले त खुमलटारको नाम लिएर मात्रै खेलेको हौँ नि। सबै खर्च हामीले गरेका छौँ। काठमाडौँ जाने–आउने गर्दा करिब ५ लाख खर्च भइसकेको छ,” उनी भन्छन्, “हामीलाई पहिला दशैँपछि तुरुन्त लिग गर्छाैं भनेर माैखिकरूपमा भन्नुभएको थियो। अहिले एन्फा र खुमलटार दुवैले यसबारे केही जानकारी दिएका छैनन्।”
लिग नै नहुने अवस्था सिर्जना भएपछि अहिले सिन्धु एफसीले सबै खेलाडी फुकुवा गरेको उनी बताउँछन्। एक त आम्दानी नभएको क्लब त्यसैमाथि आर्थिक उपार्जन पनि नहुने भएपछि आफ्नो तरिकाले अभ्यास गर्दैगर्नु भनेर खेलाडी छाडेको उनको भनाइ छ। “हामीले खेलाडीलाई प्रशिक्षण दिएर पनि के गर्नु! लिग कहिले हुन्छ भन्ने अत्तोपत्तो केही छैन। दिनहुँ खर्च बढ्ने देखिएपछि छाडिदिएका हौँ,” उनले भने।
लिगमा १० टोली सहभागी भए पनि नेपाल पुलिस, एपीएफ, खुमलटार र चर्च ब्वाइजले मात्रै समान पाँच खेल खेलेका छन्। मच्छिन्द्र, संकटा, आर्मी , फ्रेन्ड्स र मनाङले ४/४ खेल खेलेका छन्। न्युरोड टिम (एनआरटी)ले भने खेलाडीको उमेर विवादका कारण दुई खेल बहिस्कार गरेको थियो। सन्दीप अनौपचारिक कुरा गर्दा ‘ए’ डिभिजन लिगका क्लबहरूले यू१६ खेल्न अस्वीकार गरेको गुनासो गर्छन्।
“लिग भएको छैन, बच्चाको भविष्य बिग्रिएको छ। सबै क्लबले एकजुट भएर आवाज उठाउनुपर्ने हो। तर उनीहरूले ‘ए’ डिभिजनलाई महत्त्वमा राखेका छौँ भन्ने गरेका छन्। त्यसैले अब लिग हुन्छ भन्नेमा शंका छ,” उनी भन्छन्।
‘ए’ डिभिजन लिग क्लब संकटका अध्यक्ष इन्द्रमान तुलाधर आफूहरू रोकिएको लिग हुनुपर्ने पक्षमा रहेको बताउँछन्। आफूले उमेर समूहको फुटबल सुधार गर्न नै साढे दुई वर्षदेखि नेक्सस स्कुलसँग सहकार्य गरेर अगाडि बढेको, तर अहिले लिग पनि नहुने भएको कारण एकेडेमी सञ्चालन गर्न आफूहरूलाई गाह्रो भएको उनले सुनाए।
“एन्फाले एकेडेमीको पैसासमेत तिर्न सकेको छैन। त्यसैले बच्चाहरू पनि निकालिदिएको छ। हामीलाई लिग तयारीबापत भनेर २ लाख रुपैयाँ दिएको थियो। २ लाख प्रशिक्षकमै खर्च भयो। हामीलाई ४ लाख त घाटा नै छ। यस्तो अवस्थामा एकेडेमी कसरी सञ्चालन गर्नु?,” उनी प्रश्न गर्छन्।
एन्फाले लिग खेलाउँछ नै भनेर आफूहरूले वर्षको ५ लाखभन्दा बढी खर्च गरेको तुलाधर सुनाउँछन्। उनका अनुसार संकटाले एकेडेमी सञ्चालन गर्न दुई प्रशिक्षक राखेको छ। प्रशिक्षणमा चाहिने सम्पूर्ण सामग्रीमा संकटा आफैँले लगानी गरेको छ। अहिले आफूहरूले नाफा घाटाभन्दा पनि खेलाडीको भविष्य हेरेको उनी बताउँछन्।
“खेलाडीको एसईई आइसक्यो। यस्तो अवस्थामा हप्ताको दुई दिन लगाएर भए पनि लिग सकिदेऊ भनेर एन्फालाई भनेको भन्यै छौँ। तर, त्यताबाट केही रेस्पोन्स आउँदैन,” उनी भन्छन्, “त्यही खेलाडी ए डिभिजनमा आउला, राष्ट्रिय टोलीमा आउला भनेर ठूलो आशा राखेका छौँ। तर, एन्फाको मौनताले त्यो आशा निराशामा परिणत हुन्छ कि झैँ लाग्न थालेको छ।”
मच्छिन्द्रका व्यवस्थापकसमेत रहिसकेका अनिल श्रेष्ठ आफूहरूले क्यालेन्डरअनुसार नै फुटबल गराउन बारम्बार भन्दा पनि एन्फाका पदाधिकारीले अटेर गरेको आरोप लगाउँछन्। उमेर समूहमा कुनै बेला अब्बल रहेको नेपाली टोलीलाई अहिलेदेखि नै तयार बनाउन आवश्यक रहे पनि एन्फाले लिगसमेत रोकेर बेवास्ता गरेको उनको भनाइ छ।
“साफको लागि अहिलेदेखि नै खेलाडीलाई तयार गर्नुपर्यो, बोलाउनुपर्यो। यसैका लागि लिग त बनाउनुपर्यो नि। मैले पहिलादेखि नै भनिरहेको छु। सधैँ मिटिङ बोलाउँछु बोलाउँछु भन्छ, तर खै कहिल्यै बोलाउँदैन,” उनी भन्छन्, “यत्रो लगानी गरेको छ। यो सबै एन्फाको लागि हो, देशको लागि हो भनेरसमेत पदमा बस्नेले सोच्दैनन्।”
राष्ट्रिय टोलीमा असर पर्ने खतरा
पछिल्लो समय राष्ट्रिय टोलीबाट खेलिसकेकासहित पाँच दर्जनभन्दा बढी खेलाडी फुटबलमा भविष्य नदेखेको भन्दै विदेश पलायन भइसकेका छन्। राष्ट्रिय टोलीलाई हाँक्ने खेलाडी ठूलो संख्यामा विदेश पलायन हुँदा टिम निर्माण गर्दा धेरै अफ्ठेरो हुने गरेको मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनिसले यमनसँगको विश्वकप छनोट खेल खेल्दा नै सुनाएका थिए। त्यसैले एन्फाले उमेर समूहको फुटबलमा यमनले झैँ लगानी गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय टोलीका पूर्वडिफेन्डर विक्रम लामा पनि एनिसको भनाइमा सहमति जनाउँछन्। अहिलेको स्थितिमा भइरहेको उमेर समूहको लिग रोक्दा ढिलो चाँडो राष्ट्रिय टोलीमै असर गर्ने उनको भनाइ छ। “उमेर समूहको फुटबलको काम, एकेडेमीमा चासो र प्रतियोगिता नै नहुने हो भने ढिलो चाँडो असर माथिल्लो लेभलमै पर्ने हो। एकेडेमीको काम र अवधारण नहुने हो भने म्यासिभ टोलीलाई मात्रै नभएर नेपाली फुटबललाई नै असर पर्ने हो,” उनी भन्छन्।
एन्फाले अहिले काठमाडौँलाई मात्रै लक्षित नगरी यस्ता लिग बाहिर पनि गर्न ढिला भएको उनी सुनाउँछन्। फुटबलको संरचनामा काम गरे यसले उमेर समूह हुँदै राष्ट्रिय टोलीलाई बलियो बनाउने उनको भनाइ छ। त्यसैले यस्ता लिगलाई बहाना बनाएर रोक्नुभन्दा योजना बनाएर यथाशीध्र शुरू गर्नुपर्ने उनको तर्क छ।
“कुनै काम गर्नुछ भने मिनिमाइज गरेर ३०/४० रुपैयाँमा पनि गर्न सकिन्छ नि। दुनियाँ गरेर ठूलो खर्च गर्नुपर्छ भन्ने पनि छैन। स्कुल-स्कुलबीच प्रतियोगिता गराऔँ, अभ्यास गर्ने वातावरण बनाऔँ र भइरहेको लिगलाई व्यवस्थित गरौँ। यति गरे राष्ट्रिय टोलीलाई निकै सहयोग पुग्छ,” उनी भन्छन्।
चाँडै शुरू गर्छाैं: एन्फा
एन्फा महासचिव किरण राई एन्फाले गर्नुपर्ने काम गरिरहेको बताउँछन्। केही कारणले रोकिएको लिग पुनः सञ्चालन गर्न आफूले तयारी गरिरहेको उनको भनाइ छ। यसका लागि छिट्टै क्लबहरूसँग बैठक बस्ने उनको भनाइ छ।
“क्लबहरूले फुटबल र देशका लागि लगानी गरिरहेका छन्, उहाँहरूलाई रेस्पेक्ट गर्नुपर्छ। साह्रोगाह्रो त हुन्छ, के कुरामा सजिलो छ र? तर, उहाँहरूले गरिरहनुभएको कामको उच्च मूल्यांकन गरेका छौँ। चाँडै यू१६ मात्रै होइन अरू लिग पनि सञ्चालन गर्छाैं,” उनी भन्छन्। अहिले एन्फाले आफ्नो प्राविधिक सहयोगमा नेपाल सुपर लिग (एनएसएल) गराइरहेको छ। यो लिग पुस १४ गतेसम्म सञ्चालन हुने छ। राईका अनुसार त्यसपछि ‘बी’ र ‘सी’ डिभिजन लिग आयोजना हुनेछन्।
‘सी’ डिभिजन लिग फागुन १५ गतेदेखि हुने तय भइसकेको छ। ‘बी’ डिभिजन भने अर्को साता बस्ने बैठकले नयाँ मिति तय गर्ने छ। यस्तो अवस्थामा यू१६ लिग पनि गर्ने उनी दाबी गर्न छाड्दैनन्।
“गर्छाैं, गरिरहेका छौँ। एनएसएलमा आयोजक अर्कै भए पनि एन्फाको सहभागिता छ। सबै कुरालाई मिलाएर हाम्रो लिग पनि आयोजना गर्छाैं। नगर्ने भन्ने कुरा हुँदैन,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
