सहभागीले शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षा, अभिभावक शिक्षा, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिएका छन्।
खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ। नगरभित्रका राजनीतिक दल, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो।
पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। “सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ। उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षक छन्,” उनले भने, “तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ। कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ। तहअनुसार विद्यार्थीको क्षमता विकास हुन सकेको छैन।”
बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने उनले सुनाए। “यिनै समस्या हल गर्ने प्रयासस्वरुप शैक्षिक बहस अन्तरक्रियात्मक कार्यक्रम शुरू गरिएको हो,” उनले भने।
बसाइँसराइ, निजी स्कुल, जन्मदर रोकथाम, वैदेशिक रोजगारलगायतका कारण सामुदायिक विद्यालय रित्तिँदै गएको नगरपालिकाको बुझाइ छ। “न काखमा बच्चा छ न कोखमा। पाँच–सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ। शैक्षिक गुणस्तर सुधारका कारण खोज्न थालेका छौँ,” नगरप्रमुख भट्टराईले भने।
नगरपालिकाले सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव संकलन गरेको छ। कार्यक्रममा सहभागी अधिकांशले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन्। केहीले गाउँलाई बस्न लायक बनाइनुपर्ने सुझाव दिएको नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसीले बताए।
यस्तै शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव आएको छ। सुझावका आधारमा प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल र प्राविधिक सहायक केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ।
समितिले पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने नगरप्रमुख भट्टराईले बताए। “प्राप्त राय सुझाव संकलन गरेर कार्यान्वयनमा जान्छौँ। समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव संकलन गरिन्छ,” उनले भने, “सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ।”
१५ वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढीका विद्यालयमा विद्यार्थी घटेका छन्। कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी देखिन थालेको छ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने यसअघि नै प्रतिबद्धता जनाएका थिए। मावि, निमावि र आविका विव्यस अध्यक्षले १५ तथा प्रअले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका थिए। तर, सुधार हुन सकेन।
वर्तमान जनप्रतिनिधि निर्वाचित भए लगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि प्रभावकारी कार्यान्वयन भएको छैन। यो नगरपालिकामा ९३ सामुदायिक विद्यालय सञ्चालनमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
