मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्ति उपचारका लागि मनोचिकित्सक या मनोवैज्ञानिक परामर्शदाताकहाँ पुग्छन्। तर त्यस्ता कतिपय विशेषज्ञको अव्यावसायिक अभ्यास र गलत व्यवहारले बिरामीलाई थप पीडा दिइरहेको छ।
काठमाडौँ– बिना चापागाईं (२६) व्यक्तिगत समस्याका कारण तनावबाट गुज्रिरहेकी थिइन्। पहिलेको जस्तो दैनिक काम गर्न उनलाई समस्या हुन थाल्यो। एक मित्रको सुझावमा उनले मनोवैज्ञानिक परामर्श लिने निर्णय गरिन्। उनले विशेषज्ञसँग भेट्न एक हप्ताअघि समय लिइन्। पहिलो काउन्सिलिङ सत्रमा नै उनलाई काउन्सिलरको व्यवहार मन परेन।
त्यही पनि उनले अन्तिम एक पटक आफ्नो लागि जाने योजना बनाइन्। दुई हप्ता पछिको दोस्रो सत्रमा पनि विशेषज्ञको व्यवहार उस्तै थियो। मनोवैज्ञानिक परामर्श आफूले सोचेको भन्दा विपरीत भएको उनको अनुभव छ।
“कुनै विषयमा कुरा गर्दा कहिलेकाहीँ समय अलि बढी लाग्थ्यो। ४५ मिनेट कट्नेबित्तिकै काउन्सिलरले बारबार घडी हेर्नुहुन्थ्यो। मलाई मेरो कुरा नसुनेको महसुस भयो,” उनले भनिन्, “अनुकूल हुन खोज्नुभएको होला, तर मलाई उहाँका केही हाउभाउले असहज महसुस भयो। उहाँले दुवै पटकको काउन्सिलिङमा आफ्नो विचार ममाथि थोपर्न खोज्नुभयोे। त्यसैले म त्यहाँ जानै छाडेँ।”
चापागाईं जस्तै परिस्थितिबाट गुज्रिएका अरू पनि छन्।
देव शर्मा (२८)को मनमा अनेकौँ कुरा खेलेर हस्तक्षेपकारी विचारहरू आउन थाले। त्यसको हल खोज्दै उनी एक वर्षअघि अस्पताल पुगे। उनीमा गम्भीर चिन्ता (सिभियर एङ्जाइटी) भएको पत्ता लाग्यो। काउन्सिलिङका साथै औषधि पनि लिनुपर्ने भयो। तर उपचार शुरू गरेको तीन महिना बितिसक्दा पनि उनको अवस्थामा सकारात्मक परिवर्तन आएन। काउन्सिलर आफूले चाहेको भन्दा भिन्न पाएको उनले बताए।
“काउन्सिलरसँग राम्रो सुन्ने क्षमता हुनुपर्छ भनेर इन्टरनेटमा पढेको थिएँ। काउन्सिलिङ गर्न जाँदा उल्टो हुन पुग्यो। मेरो कुरा सुन्नुभएको हो कि होइन, मैले अझैसम्म थाहा पाउन सकिनँ,” उनले भने, “उहाँ धेरै सुझाव दिनुहुन्थ्यो जबकि मलाई सुनिदिए मात्र पुग्थ्यो। त्यसमाथि ४० मिनेट पुग्नेबित्तिकै मेरो कुरा नसकिए पनि सेसन सकिन्थ्यो। केही पनि सुधार नभएको महसुस भएपछि घरमा परिवारलाई भनेर अर्को विशेषज्ञसँग काउन्सिलिङ गर्न गएँ।”
त्यसैगरी, २१ वर्षीया सीता (नाम परिवर्तन) डिप्रेसनबाट पीडित थिइन्। स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी काउन्सिलिङ गर्न मनोवैज्ञानिककहाँ धाउने गर्थिन्। काउन्सिलरको रुखो बोली र व्यवहारले गर्दा उनी त्यहाँ छाडेर अर्को ठाउँमा गइन्। उनले नयाँ ठाउँमा दोस्रो सत्रसम्म परामर्श जारी राखिन्।
तर काउन्सिलरले समय नदिएर आफ्नो कुरा राम्ररी नसुनेपछि अरूको बोझ रहेछु जस्तो महसुस भएको उनले बताइन्। मानसिक स्वास्थ्य महत्वपूर्ण भए पनि मनोवैज्ञानिकलाई विश्वास गर्ने सन्दर्भमा अन्योल भएको उनको अनुभव छ।
“काउन्सिलरमा इमानदारीपूर्वक सुन्न सक्ने क्षमता हुनुपर्छ। कसरी क्लाएन्टसँग बोल्ने, व्यवहार गर्ने पनि थाहा हुनुपर्छ। मनोविज्ञान विषय पढेर मात्र हुँदैन,” उनले भनिन्, “काउन्सिलिङमा जाँदा उल्टै अर्को तनाव थपिन्छ भन्ने महसुस हुन थालेको छ। कहाँ जाने कहाँ नजाने छुट्याउन गाह्रो छ।”
मानसिक समस्याका लागि उपयुक्त विशेषज्ञ छनोट गर्न कठिनाइ भएको यस्ता समस्यामा परेकाहरू बताउँछन्। गलत अभ्यास गर्नेहरूबाट आफूलाई कसरी भिन्न पार्ने भन्नेमा मनोवैज्ञानिक परामर्श दिइरहेकाहरू पनि उत्तिकै अन्योलमा छन्।
मनोवैज्ञानिक अनिता प्रजापति विगत नौ वर्षदेखि सेवा दिँदै आएकी छन्। बजारमा अव्यावसायिक अभ्यास गर्ने व्यक्ति बढेकोमा उनी दुःखी छिन्। “आफूलाई मनोवैज्ञानिक भनेर चिनाउने धेरै छन्। तर सबैमा त्यही अनुसारको सीप भने छैन। गलत अभ्यास गरिदिनाले मानिसको मानसिक स्वास्थ्यमा हानी पुर्याउनुका साथै हाम्रो पेसाप्रति पनि नकरात्मक भावना विकास हुनसक्छ,” उनी भन्छिन्।
गलत अभ्यास हटाउन मनोविद्को शिक्षण शैलीमा नै परिवर्तन ल्याउनुपर्ने उनको सुझाव छ। “हाम्रो शिक्षा प्रणालीमा व्यावहारिक ज्ञानको अझै कमी छ। विभिन्न तालिमहरू पाठ्यक्रमभित्र समावेश गरिनुपर्छ। यसो गर्नाले शिक्षित र दक्ष जनशक्ति तयार हुन्छन्,” उनले भनिन्, “इजाजतपत्र पाउनको लागि मान्छेले घोकिहाल्छन्। त्यसैले शैक्षिक योग्यता र प्रयोगात्मक ज्ञानसँगै व्यावहारिक दक्षताका आधारमा इजाजतपत्र दिने व्यवस्था गर्नुपर्छ।”
डा. मीता राणा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्लिनिकल साइकोलोजिस्टका रूपमा कार्यरत छिन्। उनी २० वर्षदेखि यस क्षेत्रमा सक्रिय छिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमफिल गरेका ४० देखि ४२ जना मात्र इजाजतपत्र प्राप्त क्लिनिकल साइकोलोजिस्ट रहेको उनले बताइन्। मनोविज्ञान क्षेत्रमा हुने त्रुटि न्यूनीकरणका लागि आफूसँगै अन्य पेसाकर्मीहरूले पनि चासो दिएर सरकारसँग समन्वय गरिरहेको जानकारी उनले दिइन्।
आम नागरिकको मानसिक स्वास्थ्यसँग जोडिएको मनोपरामर्श सेवाको मापदण्डसहित प्रभावकारी नियमनको व्यवस्था सरकारले मिलाउनुपर्ने उपचार खोज्न जाँदा झन् बढी पीडादायी अनुभव लिएर फर्केकाहरूको माग छ। यसबारे सरकारको धारण बुझ्न हामीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सम्पर्क गरेका थियौँ। प्रश्न राख्नासाथ आक्रोशित सुनिएका उनले प्रवक्तालाई सम्पर्क गर्न भने। “म कार्यक्रममा छु। मेरो नम्बर सजिलै पाइयो भन्दैमा मलाई कल गर्ने होइन। मैले तपाईंलाई जवाफ दिनु पर्दैन। प्रवक्तालाई सम्पर्क गर्नुस्,” उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आफू धुलिखेलमा भएको भन्दै यसबारे जान्नका लागि स्वास्थ्य सेवा विभागमा सम्पर्क गर्न भने।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महमशाखा अन्तर्गत एनसीडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख सिनियर कन्सल्टेन्ट मेडिकल जनरलिस्ट पोमावती थापाले निजी क्षेत्रमा भइरहेका गलत अभ्यास पत्ता लगाउन गाह्रो भएको बताइन्।
मनोविज्ञान वा सामाजिक कार्यमा स्नातक गरेर ६ महिना मनोसामाजिक परामर्श तालिम लिएपछि मात्र सरकारी क्षेत्रमा यस विषयको अभ्यास गर्न पाइने प्रचलन छ। साथै स्टाफ नर्स, हेल्थ असिस्टेन्ट वा शिक्षाशास्त्र संकायबाट स्वास्थ्य विषयमा स्नातक गरेका व्यक्तिले पनि ६ महिनाको परामर्श तालिमपछि अभ्यास गर्न पाउँछन्।
“यसरी तोकिएको न्यूनतम योग्यता पूरा गरेका व्यक्ति मात्र पेसामा सक्रिय भएकाले सरकारी क्षेत्रमा भएका गलत अभ्यास पत्ता लगाउन सकिन्छ,” उनले भनिन्, “निजी क्षेत्रमा काउन्सिलर भएर काम गर्ने धेरै छन्। अहिलेको अवस्थामा गलत अभ्यास कसले कहाँ गरिरहेको छ भनेर पत्ता लगाउन पनि गाह्रो छ। त्यसैले हामी आफै सचेत हुनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
