भारतको कोलकातास्थित एक मेडिकल कलेजमा हालै एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भयो। उक्त घटनापछि चर्किएको विरोध प्रदर्शनमा जोडिएको अभियान ‘रिक्लेम द नाइट’ के हो?
भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित एक मेडिकल कलेजमा हालै एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भयो। अगस्ट ९मा घटेको घटनाको विरोधमा लगत्तै बंगालसहित विभिन्न राज्यमा आन्दोलन चर्कियो। स्वास्थ्यकर्मी, र विशेषगरी महिला सुरक्षाका लागि लगातार प्रदर्शन भइरहेका छन्। प्रदर्शनका यी शृंखलामा जोडिन पुगेको अर्को ‘आन्दोलन’ हो– रिक्लेम द नाइट!
भारतभर ७८औँ स्वतन्त्रता दिवस धुमधामका साथ चलिरहँदा कोलकातालगायत बंगालका धेरै शहरमा ‘रिक्लेम द नाइट’को नारा गुन्जिरहेको थियो। स्वतन्त्रता दिवसअघिको मध्यरातमा, मुलत: रात्रिकालीन स्वतन्त्रता र सुरक्षाको माग गर्दै महिलाहरूले प्रदर्शन गरेका थिए। घटना लगत्तै राज्य सरकारको, खासगरी प्रहरी प्रशासनको अक्षमतामाथि प्रश्न उठाउँदै प्रदर्शन शुरू भएका थिए। तर, आर.जी कर मेडिकल कलेजका प्रिन्सिपल डा सन्दीप घोषको विवादास्पद बयानपश्चात महिलाहरूले उक्त सडक आन्दोलनको आह्वान गरेका थिए। डा घोषले घटनाको दोष मृतक महिलामाथि थोपर्दै 'सभाहलमा राति एक्लै जानु उनको गैरजिम्मेवार हरकत थियो' भन्ने बयानबाजी गरेलगत्तै प्रदर्शनकारी उद्देलित भएका थिए।
'द नाइट इज आवर्स' (रात हाम्रो हो) भन्ने नाराका साथ आह्वान गरिएको कार्यक्रमले महिलालाई आशा र प्रतिरोधको प्रतीकस्वरूप मैनबत्ती र शंख बोकेर आउन प्रोत्साहन गरेको थियो। पश्चिम बंगालमा मात्र चार दर्जनभन्दा बढी स्थानमा प्रदर्शनको योजना गरिएको थियो, जुन दिल्ली, मुम्बई, बेंगलुरुलगायत शहरमा पनि विस्तरित भएको थियो।
‘रिक्लेम द नाइट’ नामक महिलामुक्तिसँग जोडिएको आन्दोलन सन् १९७७ मा बेलायतको लीड्स शहरबाट शुरू भएको थियो। त्यसबेला एक महिलाको हत्यापछि बेलायतभर विरोध प्रदर्शन भएका थिए। प्रहरीले महिलालाई साँझ परेपछि घरबाट ननिस्किनु भन्ने सल्लाह दिएपछि महिलाहरूले अपमानित महसुस गर्दै सो वक्तव्यको विरोधमा ‘रिक्लेम द नाइट’को आह्वान गरेका थिए। यो आन्दोलन ८०को दशकको 'ज्याक द रिप्पर' नामक सिरियल किलरको आतंकपछि बेलायतभर सन् १९९० सम्म चलिरह्यो। तत्पश्चात हरेक साल यो संगठित समूहले महिलामाथि हुने यौनहिंसा र अन्य अत्याचारका विरुद्ध राष्ट्रिय स्तरमा प्रदर्शन गर्दै आएको छ।
यद्यपि ‘रिक्लेम द नाइट’आफैँले सन् १९७०को दशकताका संयुक्त राज्य अमेरिका र जर्मनीमा भएका महिला सुरक्षा सम्बन्धित 'टेक ब्याक द नाइट' (रात फिर्ता लेऊ) प्रदर्शनबाट प्रेरणा लिएको थियो। हालका दशकको कुरा गर्दा लीड्स समूहले नै सन् २०२१मा एक महिलाको हत्याको विरोधमा प्रदर्शन आह्वान गरेको थियो। स्थानीय प्रहरीको चेतावनीपछि सडकमा प्रदर्शनी रोकियो, तर सोही कार्यक्रमपछि अनलाइन सन्चालन गरिएको थियो, जसमा २८ हजारभन्दा धेरै सहभागी थिए। कार्यक्रम फेसबुक, ट्विटर र इन्स्टाग्राममा प्रत्यक्ष प्रसारण भएको थियो।
भारतबाहेक संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र स्लोभेनियामा पनि ‘रिक्लेम द नाइट’ प्रदर्शन भएका छन्।
कोलकातामा पहिले वाम विद्यार्थी संगठनले आयोजना गरेका विरोध र्याली अहिले पश्चिम बंगाल हुँदै भारतका विभिन्न शहरमा फैलिएका छन्। अहिले हजारौँ भारतीय नागरिक यस आन्दोलनमा जोडिएका छन्, र सेलिब्रिटीहरूले पनि सामाजिक सन्जालबाट ‘रिक्लेम द नाइट’प्रति ऐक्यबद्धता जनाइ रहेको देखिन्छ।
अधिकांश स्थानमा शान्तिपूर्ण प्रदर्शन भए पनि बुधबार एउटा समूहले एक्कासि जारी प्रदर्शनमा मिस्सिएर घटना भएको मेडिकल कलेजमा तोडफोड गर्दा झडप भएको थियो।
के भएको थियो कोलकातामा?
गत शुक्रबार, कोलकातास्थित उक्त सरकारी शिक्षण अस्पातलमा ३१ वर्षीया ट्रेनी डाक्टरको मृत शरीर घाउ–चोट लागेको अवस्थामा फेला परेको थियो। पीडित रेसिडेन्ट डाक्टर अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएकी थिइन्। मृतकका आफन्तलाई शुरूमा अस्पतालका अधिकारीले 'आत्महत्या गरेको' भनेर घटना दबाउन खोजेका थिए। तर मृतकको अटोप्सीले उनको बलात्कारपछि हत्या भएको पुष्टि गरेको थियो।

अनुसन्धानको सिलसिलामा घटनामा संलग्न एक अस्पताल स्वयंसेवी कार्यकर्ता पक्राउ परेका छन्। घटनापछि शिक्षण अस्पतालका प्रिन्सिपल सन्दीप घोषको राजीनामा लिए लगत्तै राज्य सरकारले उनको अर्को संस्थामा पुनर्नियुक्ति गरेको बारे पनि विरोध भइरहेको छ। उच्च अदालतले पश्चिम बंगाल सरकारसँग यस मामिलामा स्पष्टीकरणसहित अनुसन्धानको रिपोर्ट पेश गर्न माग गरेको छ।
अस्पतालको घटना लुकाउने प्रयास र राज्यको सुरक्षा निकायहरूको कमजोरी औँल्याउँदै सोमबार रेसिडेन्ट चिकित्सक संघले वैकल्पिक सेवाहरू राष्ट्रव्यापी बन्द गर्ने घोषणा गर्यो। त्यसपश्चात पीडितलाई न्याय, स्वास्थ्यकर्मी र महिला सुरक्षाको माग गर्दै भारतका विभिन्न शहरमा दैनिक अभियान चलिरहेका छन्।
मंगलबार उच्च अदालतले राज्य प्रहरीले अनुसन्धान गरिरहेको केसको जिम्मा केन्द्रीय अनुसन्धान विभाग (सीबीआई)लाई हस्तान्तरण गरेको थियो।
एकतर्फ नागरिक र नागरिक समाज न्यायका र महिला सुरक्षाका लागि निरन्तर लागि रहेका छन् भने अर्कोतर्फ भारतीय राजनितिज्ञहरूले यस्तो संवेदनशील मुद्दामा पनि 'पक्ष–विपक्ष'को राजनीति गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
