अनलाइनमार्फत ठगी गर्न वैदेशिक रोजगारमा गएका र उनीहरूका आफन्त प्रयोग भइरहेका छन्। विदेशबाट पठाइएको रकम ‘स्क्यामर’को खातामा जाने र ठगी गरिएको रकम नेपालका आफन्तले पाउने ‘जालो’ बुनिएको छ।
काठमाडौँ– कीर्तिपुरकी २१ वर्षीया चाँदनी (नाम परिवर्तन) एमबीबीएस प्रवेश परीक्षाको तयारीमा थिइन्। गत साउन ९ मा उनले ह्वाट्सएपमा एउटा सन्देश पाइन्। त्यसमा उनलाई फेसबुक मेटाको टिममा ‘अनलाइन असिस्टेन्ट’को रूपमा छानिएको र दैनिक एक घण्टा काम गरी ६३ हजार रूपैयाँसम्म कमाउनसक्ने भनिएको थियो। त्यसका लागि पाँच वटा ‘टास्क’ पूरा गर्नुपर्ने र प्रत्येकको ६३ सय रुपैयाँका दरले पैसा पाउने उल्लेख थियो।
उनलाई जिज्ञाशा बढ्यो र त्यहाँ दिइएको ‘लिंक’ खोलिन्। त्यसपछि ह्वाट्सएपमा ‘म्यासेज’ पठाएर टेलिग्रामको लिंकमा जोडिन भनियो। टेलिग्राममा डियाना नामकी महिला आइन्।
ती महिलाले चाँदनीलाई ‘पोटेटो एप’ डाउनलोड गरेर अर्का एक व्यक्तिसँग जोडिन भनिन्। काम कसरी गर्ने भनेर तिनैले सिकाए। उनलाई व्यावसायिक कम्पनीका सामाजिक सञ्जालका प्रोफाइल ‘स्क्रिन सर्ट’ लिएर पठाउन भनिएको थियो। एनएफटीको लिंक दिएर नाम र पासवर्ड राखी खाता खोल्न पनि भनियो। खाता खोलेबापत ६०० रूपैयाँ हालिदिए।
उनले पाँचमध्ये चार वटा टास्क पूरा गरिन्। पाचौँ पटकमा उनीहरूले १५ सय रुपैयाँ बचतमा राख्न भने। उनले आफ्नो पैसा हाल्न असहज मानिन्। पैसा हाल्न समय लगाएपछि उनलाई अर्काे एक समूहमा जोडिदिए जहाँ ६–७ जना नेपाली थिए। त्यहाँ उनीहरूले आफूले पैसा लगानी गरेर कमाएको स्कृन सर्ट पठाइरहेका थिए। त्यो देखेर उनले पनि पैसा हालिन्। त्यसबापत ६ हजार रूपैयाँ उनको खातामा देखायो।
लोभिएर उनले लगातार पैसा हाल्न थालिन् र त्यसभन्दा बढी फिर्ता आइरह्यो। प्रत्येक पटक पैसा हाल्न लगाउँदा फरक नेपाली खाता दिएको उनी बताउँछिन्। पैसा फिर्ता आइरहेपछि उनले विश्वास गरिन् र ठूलो रकम हालेर झन् धेरै कमाउने विचार गरिन्।
उनले घरपरिवारसँग मागेर ८४ हजार रुपैयाँ लगानी गरिन्। उनको एनएफटी खातामा १ लाख २० हजार रुपैयाँ जम्मा भयो। तर जम्मा भएको पैसा निकाल्न मिलेन। गलत ठाँउमा दाबेको कारण रकम फिर्ता नभएको र थप १ लाख ८० हजार लगाएमा सबै फिर्ता हुने बताइयो। पैसा जम्मा गर्न जम्मा ५ घण्टाको समय दिइयो। उनले घरपरिवार र साथीभाइबाट पैसा मागेर भने जति लगानी गरिन्। तर ढिलो जम्मा गरेको भन्दै फेरि ४ लाख राख्न र सबै पैसा फिर्ता लान भनियो।
विदेशिएका साथी र आफन्तबाट ऋण लिएर उनले त्यो पैसा पनि जम्मा गरिन्। अझै पैसा फिर्ता भएन। बरु ७ लाख रूपैयाँ जम्मा गर्नुपर्ने र अन्तिम टास्क पूरा गरेपछि मात्रै फिर्ता लान मिल्ने अन्यथा सबै रकम गुम्ने बताइयो।
चाँदनीले आफ्नो पैसा फिर्ता गर्न अनुनयविनय गरिन्। “यसरी पैसा दिनुपर्नेमा नतासा नाम गरेकी महिला र म थियौँ। नतासाले सजिलै पैसा पठाइरहेकी थिई। ४ लाखपछि उसले १५ मिनेटभित्रै ८ लाख पठाएर सबै पैसा निकालिसकेको भनेर म्यासेज र स्कृन सर्ट शेयर भयो, जुन सम्भव थिएन” उनी भन्छिन्, “त्यो केटीसँग प्राइभेटमा कुरा गर्न नमिल्ने बताए। त्यो उनीहरूकै मान्छे भएको र म ठगिइरहेको पत्तो पाइसकेको थिएँ।”
घरमा समस्या सुनाइन् र सल्लाहमै उनले साउन १७ गते साइबर ब्युरोमा निवेदन दिइन्। त्यहाँ अनुसन्धान हुन लामो समय लाग्ने भनेपछि उनी काठमाडौँ प्रहरी परिसर भद्रकालीमा निवेदन दिएकी छन्। रकम जम्मा गर्न भनिएका खातावालहरूसहित आठ जना पीडित छन्। सानो रकम भएका चार जनाको मिलापत्र भइसकेको र अन्य चार जनाको अनुसन्धान भइरहेको परिसरअन्तर्गत साइबर क्राइम अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रतीक सिंह बताउँछन्।

यस्तै, अनलाइन जागिरको नाममा ठगीमा परेका अर्का व्यक्ति १९ वर्षीय निकेश (नाम परिवर्तन) हुन्। उनी कक्षा १२ को परीक्षापछि सिम्याट तयारीको योजनामा थिए। उनले गुगलमा ‘जेन्टस फर योर फ्युचर’ एपको बारम्बार विज्ञापन आइरहेको देखे। जिज्ञाशा लागेर प्लेस्टोरबाटै एप डाउनलोड गरे।
त्यहाँ काठमाडौँ उपत्यकाभित्रका विद्यार्थीलाई सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत कामको अवसर दिइएको थाहा पाए। अध्ययनका लागि पनि मद्दत हुने आशाले उनी जोडिए। “अहिलेको ट्रेन्ड नै छ नि, घरमै बसेर अनलाइन जब गरी पैसा कमाउने। मैले पनि व्यवहारिक शिक्षा लिन सकिन्छ र पकेट मनी पनि हुन्छ भन्ने सोचेर शुरू गरेँ,” उनी भन्छन्।
निकेशलाई पनि ह्वाट्एपमा म्यासेज पठाएर काम गर्न टेलिग्राम चाहिने बताइयो। टेलिग्राम डाउनलोड गरेर उनी आठ जना सदस्य रहेको ‘एलो कम्पनी’ नामको समूहमा जोडिए। उनलाई ‘एलो वर्क म्यानेजर’ नाममा देखा पर्नेले कामबारे बताए। उनले आफ्नो बैंक खातामा आएको रकम उनीहरूले भनेको बैंक खातामा पठाउनुपर्ने थियो। प्रत्येक पटक आएको रकमको २ प्रतिशत उनले पाउने थिए।
एउटा बैंक खाताबाट अर्काेमा पैसा पठाउने सहज काम भएपछि निकेश लोभिए। उनीहरूले सामाग्री बिक्री गरेको रकम लिन खातावाला आवश्यक परेको बताए। “उनीहरूको अफिस अमेरिकाको न्युयोर्कमा रहेको र यताबाट बिक्री गरेको सामानको पैसा पठाउन खातावाला मान्छे आवश्यक परेको बताएका थिए। मैले मेरो खातामा आएको रकम उनीहरूले पठाएको क्युआर वा खातामा पठाउनुपर्ने थियो,” उनी भन्छन्।
दुई दिनपछि उनको अन्तरवार्ता लिइयो। त्यसको दुई दिनपछि काम शुरू गर्न भनियो। तर बैंक खातामा (ट्रान्जेक्सन लिमिट) का कारण दैनिक १० पटकभन्दा धेरै पठाउन नमिल्ने थियो। उनीहरूले उक्त लिमिट हटाउन भने। त्यसपछि उनलाई शंका लाग्यो र परिवारका सदस्यलाई आफ्नो कामबारे बताए।
परिवारको सल्लाहमा उनले त्यो काम गर्न छोडे। उनले कार्यालयको नाम, कामको आधिकारिकता र कागजात पठाउन भने तर कागजात पठाउन समय लाग्ने उत्तर पाए। लामो समयसम्म कागजात नआएपछि उनले आफू ‘स्क्याम’मा परेको भन्दै साइबर ब्युरोमा निवेदन दिए।
गोरखा घर भई काठमाडौँ बस्ने २८ वर्षीय ज्याक (नाम परिवर्तन) पनि अनलाइन ठगीका पीडित हुन्। उनले फेसबुकमार्फत विज्ञापन देखेर आम्दानीका लागि टेलिग्राममा विभिन्न टास्क पूरा गरे। तर उनले आफूले जम्मा गरेको रकमसमेत फिर्ता पाएनन्।
विभिन्न चरणमा उनले लगाएको ६ लाख ३१ हजार ३८३ रूपैयाँ फिर्ता हुन बाँकी छ। पैसा फिर्ता पाउने आशामा उनले साइबर ब्युरोमा उजुरी दिएका छन्। तर कहिलेसम्म फिर्ता हुने भन्ने अत्तोपत्तो नभएको उनी बताउँछन्।
यसरी थापिन्छ ठगीको जालो
‘अनलाइन जब गर्न चाहनुहुन्छ?’, ‘के तपाईं पार्टटाइम जबको खोजीमा हुनुहुन्छ?’, ‘घरमै बसीबसी पैसा कमाउनुहोस्’, ‘गृहणीका लागि आर्कषक जागिर’, ‘सिक्दै, कमाउँदै’ जस्ता विज्ञापन सामाजिक सञ्जालमा राखिन्छ। यस्ता विज्ञापन नेपाली र अंग्रेजीमा दुवैमा हुन्छ। थोरै समयमा धेरै पैसा कमाइने भनेर राखिएका विज्ञापनले सञ्जाल प्रयोगकर्ता आकर्षित हुन्छन्। यस्ता विज्ञापनकर्तालाई म्यासेज पठाउन सकिन्छ।
प्रयोगकर्ताले पठाएको म्यासेजको जवाफ ह्वाट्सएपमा आउँछ। त्यहाँ अनलाइन टास्क गराइन्छ र विभिन्न सामग्री किन्न लगाउने वा पैसा लगानी गर्न लगाउने गरिन्छ। सामग्री किनेबापत ५ प्रतिशतसम्म पैसा फिर्ता हुने वा लगानीको २ देखी १० प्रतिशतसम्म फिर्ता हुने भनिन्छ। इच्छाएका व्यक्ति टेलिग्रामको लिंकमा जान भनिन्छ।
उक्त लिंकमा एक व्यक्ति हुन्छन् जसले सोधपुछ गर्छन्। अधिकांश अंग्रेजी भाषा प्रयोग हुन्छ। ‘स्क्यामर’ले सबैभन्दा पहिले निवेदकको व्यक्तिगत जानकारी राख्छ। अन्तरवार्तामा वास्तविक कार्यलयझैँ गरी प्रस्तुत हुन्छन्।

उनीहरू छनोट भएको जानकारी दिएपछि विभिन्न टास्क गराएर अंक बढेसँगै रकम पनि बढ्दै जाने व्यवस्था गरिन्छ। विश्वास दिलाउन शुरूमा दुईदेखि तीन वटा टास्कको अतिरिक्त रकम फिर्तासमेत हुन्छ। जब लगानी बढ्दै जान्छ, विभिन्न बहानामा थप रकम लगाउन लगाइन्छ तर पैसा निकाल्न नमिल्ने बनाइन्छ। ठूलो रकम लगानी गरिसकेकाहरू आफ्नो पैसा डुब्ने डर र अझ कमाउने आशामा थप रकम लगानी गर्न बाध्य हुन्छन्। उनीहरू अरू रकम तिर्न नसक्ने अवस्थामा पुगेपछि मात्र प्रहरी कार्यालय पुग्छन्।
अनलाइन जागिरका नाममा पनि ठगी बढिरहेको छ। उनीहरूको बैंक खातामा आएको रकम स्क्यामरले तोकेको अर्काे खातामा पठाएर प्रत्येक गतिविधिको स्कृन सर्ट पठाउनुपर्छ। लगानीकर्ताले गरेको लगानी उनीहरूले अन्य खातामा पठाइरहेका हुन्छन् तर यसबारे जानकार हुँदैनन्।
खातामा पैसा आएको तेस्रो व्यक्तिका आफन्त विदेशमा हुन्छन्। उनीहरूले विदेशमा रहेका आफन्तले पैसा पठाएको ठान्छन्। तर उनीहरूले पाएको रकम लगानीकर्ताको हुन्छ भने विदेशबाट आफन्तले पठाएको रकम स्क्यामरको खातामा जान्छ।
विदेशमा रहेका आफन्तले पैसा पठाउन गैरकानूनी बाटो अपनाउने र साथीभाइलाई सजिलै विश्वास गर्नाले यस प्रकारको गतिविधिलाई सहयोग भइरहेको साइबर क्राइम अनुसन्धान अधिकृत सिंह बताउँछन्। “गैरकानूनी मानिने हुन्डीमार्फत पठाएको रकम आपराधिक व्यक्तिको हातमा पुग्छ। यता ठगिएको रकम विदेशमा रहेका व्यक्तिको आफन्तको खातामा जान्छ। उनीहरूले आफन्तले विदेशबाट पठाएको ठान्ने हुँदा अपराधि बच्न सहज हुन्छ,” सिंह भन्छन्।
विदेशमा रहेका कतिपयले नेपालमै भएका आफ्नो मान्छेले आफन्तलाई पैसा दिने भन्दै विदेशी रकम उतै आफूलाई दिन भन्छन्। सजिलो भएकाले उनीहरूले पनि उक्त उपाय अपनाउँछन्। यता नेपालमा रहेका व्यक्तिको खातामा ठगिएको रकम जान्छ। यसरी सबैलाई प्रयोग गरेर अपराधी जोगिइरहेको सिंहको भनाइ छ।
उजुरीका चाङ, समाधान मिलापत्र
विद्युतीय माध्यमबाट ठगीमा परेर प्रहरीमा जाहेरी गर्नेको संख्या धेरै छ। साइबर ब्युरोमा महिनामै २०० भन्दा बढी पीडित आउने गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी बताउँछन्। चालु आर्थिक वर्षको डेढ महिनामा ३५० भन्दा धेरै निवेदन परिसकेका छन्। अवस्थीका अनुसार यस्ता घटनामा प्रमुख अपराधीसम्म पुग्नै समस्या हुने गरेको छ। टेलिग्राम एपको माध्यमबाट ठगिने हुँदा संलग्नको आवश्यक जानकारीसमेत लिन असहज छ।
विभिन्न नक्कली वेबसाइट बनाएर पनि यस्ता गतिविधि भइरहेका छन्। यसमा प्रयोग हुने खाता सबै नेपालीका छन्। त्यसैले लगानी गर्नेदेखि अरूको खातामा पैसा पठाउने र पाउनेसम्म पीडित भइरहेको अवस्थी बताउँछन्। “जसका विरुद्ध निवेदन आउँछ उ पनि ठगिएको हुन्छ। प्रहरी हत्तपत्त वास्तविक अपराधीसम्म पुग्न सक्दैन। त्यसैले धेरैजसो खातावालाहरूसँग मिलापत्र गराउने काम मात्र भइरहेको छ,” अवस्थी भन्छन्।
साइबर ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा परेका नौ हजार निवेदनमध्ये १८ सय १३ वटा निवेदन विद्युतीय माध्यमबाट हुने ठगीका छन्। यीमध्ये १३ सय ८३ वटाको समाधान गरिएको र बाँकीमा अनुसन्धान भइरहेको अवस्थी बताउँछन्। यस्तै, आव २०८०/८१ मा विद्युतीय ठगीसम्बन्धी उजुरी चार हजार ११२ वटा परेका छन्। यीमध्ये १७ सय ५७ वटाको समाधान भएको र बाँकी दुई हजार ३१५ वटा निवेदनमा अनुसन्धान भइरहेको छ।
यता, प्रहरी परिसरमा पनि यस्ता ठगीका निवेदन पर्ने गरेका छन्। परिसर अन्तर्गतको साइबर क्राइम अनुसन्धान अधिकृत सिंहका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५३१ निवेदन परेका थिए। चालु आर्थिक वर्ष भदौ १६ गतेसम्ममा अनलाइन ठगीका १२९ निवेदन दर्ता भएका छन्।
परिसरले पनि अधिकांशमा मिलापत्र गर्ने गरेको सिंह बताउँछन्। “परिसरमा आएका निवेदनमध्ये ९० प्रतिशत अनलाइन ठगीसम्बन्धी छन्। मुख्य अपराधी भेट्न सम्भव छैन। त्यसैले अनुसन्धानसँगै सकेसम्म मिलापत्र गरेर पठाउने गरेका छौँ,” उनी भन्छन्।
सिंहका अनुसार यसरी ठगीमा पर्नेहरू अधिकांश १८ देखि ४० वर्ष उमेर समूहका छन्। सर्वसाधारणमा जनचेतना नहुँदा यस्तो घटना हुने गरेको उनी बताउँछन्। “यसमा सबै प्रकारका मानिस परेका छन्। तर ९० प्रतिशत युवा नै छन् जो विद्यार्थी वा पेसा गरिरहेका छन्,” उनी भन्छन्, “सर्जन डाक्टरदेखि प्रोफेसर र सरकारी वकिलसमेत ठगीमा परेको भनेर निवेदन आएको छ।”
लगानीकर्ताहरू कामकाजी र विद्यार्थी धेरै छन् भने रकम खातामा पठाउने धेरै गृहणीहरू छन्। कामकाजी र गृहणी सजिलै पैसा कमाउन सकिने तथा विद्यार्थी अध्ययनसँगै आफ्नो खर्च जुटाउने प्रलोभनमा पर्ने गरेको अवस्थीको भनाइ छ। १ लाखभन्दा कम रकम फिर्ता नहुनेको उजुरी कम मात्र आएको उनी बताउँछन्। धेरै चाहिँ १ लाखदेखि १५ लाखसम्म पैसा डुबेको उजुरी परेका छन्। झन्डै ४८ लाख रूपैयाँसम्म पैसा फिर्ता नभएको उजुरी पनि परेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
