महेन्द्र राजाको साढुभाइ जय दाइ किक्रेटको आजीवन अध्यक्षजस्तै हुनुहुन्थ्यो। उहाँ राजाको साढुभाइ भएकै कारण अध्यक्षको पद अरूले पाएका थिएनन्। उपाध्यक्षको पदमा करिब १०–१२ वर्ष उहाँसँग मैले काम गरेको थिएँ।
म खेलाडी र खेलकुद संघको सदस्य हुँदाको अनुभव र अनुभूति निकै तीतामीठा छन्।
त्यति बेला खेलाडीहरूलाई कुनै प्रतिस्पर्धामा पठाउन पर्यो भने सरकारको माध्यमबाट खाजा र केही पैसा मात्र प्राप्त हुन्थ्यो। खेलाडीहरूलाई प्रतिस्पर्धाको एक महिना खुवाउने र बाँकी एघार महिना खेलाडीले आफ्नै खर्च गर्नुपर्ने समस्या हाम्रो समयदेखिको नै हो। अहिले नेपालको खेल क्षेत्रले ठूलै फड्को मारेको भएता पनि खेलाडीको अवस्था भने उस्तै देखिन्छ। आर्थिक अभावबाट गुज्रिन परेका गुनासोहरू आज पनि मिडियामा आइरहन्छन्।
जिन्दगीभर ‘खेल खेल’ भनेर लागेको खेलाडीले औषधोपचार गर्नुपर्यो भने उसको हालत खत्तम हुन्थ्यो। परिवारले समेत ‘सधैँ खेलेर हिँडेको हैन, अब कहाँबाट गर्नू?’ भन्नेसम्मको आवाज सुनिन्थ्यो।
एक खेलाडीले खेलेकै भरमा हामीले अर्जेन्टिना चिन्यौँ, ब्राजिल चिन्यौँ। म्याराडोना र पेलेले फुटबल खेलेरै उनीहरूभन्दा कति टाढा रहेको देशलाई हामीमाझ चिनाए। कति देशको नामै सुनिएको छैन। राम्रो खेलाडीले खेलेपछि त्यो देशको नाम सुनिन्छ। देशको नाम संसारमा सुन्न नेटोमा सहमति भएको शक्तिशाली देश चाहिँदैन। क्यामरून कतिले नसुनेको देश हो तर रोजर मिल्लाले फुटबलमा गोल गरेपछि सुनियो र हेर्न थालियो। खेलमा जित्यो भने खेलले नै पर्यटन आगमन बढाउन सकिन्छ।
हाम्रोमा भने खेलाडीलाई लगाउन र खानकै समस्या छ। घरवार, परिवार छाडेर खेलाडीले खेल खेलिरहेको देखेको छु। देशको राष्ट्रिय झन्डा बोकेर विदेशमा हिँड्ने खेलाडीलाई अलिकति व्यवस्था गरेर व्यवस्थित गरिदिन पाए कति खेलाडी हामी पनि खेल्छौँ भनेर आउने थिए होला। वैकुण्ठ मानन्धर सम्झन्छु। कुदेको कुदै गरेर जीवन बिताए। भर्खरै बितेकी उनकी श्रीमतीको उपचारका लागि उनलाई कति संकट पर्यो। यस्तो कथाले खेलाडीलाई खेलमा नलाग्न प्रेरित गर्दछ। खेलाडीको धेरैको व्यथा लेखे कथाजस्तै छ। नलेख्दा व्यथा बनिरहेको छ। समाजलाई थाहै छैन।
हिजोभन्दा आज खेलले गति लिएको छ। आजको दिनमा क्रिक्रेटले राम्रै उचाइ छोएको देखिन्छ। विभिन्न प्रतिस्पर्धाका लागि खेलाडीहरू अन्तर्राष्ट्रिय मैदानमा पुगिरहेका छन्। यसरी खेलाडीहरूलाई मिडियाले पनि प्राथमिकता दिएर देशका हिरोहरुको दर्जामा राख्यो भने चाहिँ हाम्रा खेलाडीहरूले आर्थिक अभाव झेल्नुपर्दैन होला।
म आफै किक्रेट संघमा बसेर काम गरिसकेको मान्छे थिएँ। त्यसैले पनि प्रायः सबै खेलाडीहरूको भावना र त्यसमा भोग्नु परेका भोगाइहरू बुझ्छु।
महेन्द्र राजाको साढुभाइ जय दाइ (स्वर्गीय) किक्रेटको आजीवन अध्यक्षजस्तै हुनुहुन्थ्यो। उहाँ राजाको साढुभाइ भएकै कारण अध्यक्षको पद अरू कसैले पाएका थिएनन्। उपाध्यक्षको पदमा करिब १०–१२ वर्ष उहाँसँग मैले काम गरेको थिएँ। विनय पाण्डेले क्रिकेटको सचिव भएर काम गरेका थिए। उहाँको योगदान पनि ठूलै छ।
जय दाइले आफू बित्नुभन्दा १० दिन अगाडि मात्रै मलाई फोन गर्नुभएको थियो। मैले अहिले मात्रै त्यो फोनको महसुस गरेँ। उहाँको बोली प्रष्ट नभएकाले उहाँले अन्तिम समयमा भनेको कुरा मैले बुझ्नै सकिन। पहिले तिनै जय दाइ डिल्लीबजारको टिमबाट खेल्ने गर्नुहुन्थ्यो। उहाँ जीवनभर अध्यक्ष पदमा रहेर काम गर्ने सौभाग्य पूरा गरेर गत वर्ष बित्नुभयो।
अहिले त क्रिकेट संघमा पूरै नयाँ समिति गठन भएको छ। नयाँ समितिले पनि आफ्नै ढङ्गमा काम गरिरहेको छ। नयाँ समितिलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
नेपालले खेलकुदलाई विशेष प्राथमिकतामा राखिरहेको छ र राख्नुपर्ने देखिन्छ। किनकि हाम्रो पहिचान नै बहादुरी हो। खेलले पनि हामीलाई बहादुर बनाइरहेको हुन्छ।
खेलको क्षेत्रमा सम्बन्धित खेलको तालिमदेखि सबै कुरामा खेलकुद संघ र सरकारले ध्यान दिनुपर्छ। खेलाडीको नाडी छामेर मुटुको कुरा बुझनुपर्छ। उनीहरूको हाउभाउ हेरेर अवस्था आकलन गरी सहज वातावरण बनाइदिनुपर्छ।
हाम्रो देश एक त गरिब छ। विकास निर्माणकै काममा देशको बजेट अपुग भएको समयमा खेललाई उकास्न गाह्रो परेको होला। हाम्रो देशमा आवश्यक कुरामा सुविधा नभई अनावश्यकमा धेरै सुविधा दिइएको केसहरू पनि छन्। त्यस्ता अनावश्यक खर्च कटौती गरेर त्यो रकम खेलकुद क्षेत्रमा नै हाल्न पाए खेलकुदले फड्को मार्ने थियो।
अब खेलकुद संघ र सरकारले खेलको विकाससँगै खेलका कारण निम्तिएका जुवा, बाजीहरूलाई पनि निर्मूल पार्नुपर्छ जस्तो मलाई लाग्छ। छिमेकी मुलुक भारतमै पनि खेलको नाममा हुने पैसाको अर्को खेल विख्यात छ। यसरी खेलाडीले नभएर खेलाडीको नाउँमा बाजी राख्नेहरूले चाहिँ राम्रै पैसा कमाएको देखिन्छ। त्यो प्रथा नेपालमा भित्रिन दिनु हुँदैन। बरू खेलकै राम्रो पक्षको भने अनुकरण गरी विकासको पथमा लम्कनु पर्दछ।
विदेशी भूगोलमा हुने खेलमा धेरै प्रायोजकहरूले प्रायोजन गरेकै कारण पनि खेलाडीहरूलाई सहज हुने गर्छ। नेपालको सन्दर्भमा भने आर्थिक मामिलाहरू धेरै कठिन देखिन्छ।
तर पनि तुलनात्मक हिसाबमा हेर्दा अहिले नेपाली खेलाडीहरूलाई नेपाल सरकारले दिने सुविधाको पहुँच धेरै बढिसकेको छ। हाम्रो समयमा भने खेलाडीहरूको अवस्था अत्यन्तै दयनीय थियो। साथै खाने बस्ने कुरा त टाढाको, खेलाडीको क्षमता विकासको लागि तालिम दिनुपर्यो भन्ने सोच्दा तालिम दिने निकायहरूसम्म नभएको अवस्था थियो।
फुटबलको तालिम पनि फुटबल खेल्न जानेका ठूलाले सानालाई सिकाउने रूपमा मात्रै हुन्थे। तालिम दिने मनसायले विभिन्न ठाउँमा पठाउने प्रयाससम्म भएका थिएनन्। साथै खेलाडीहरू अझै सिपालु हुन् भनेर भारततिरको तालिममा पठाउने कामसमेत भएका थिएनन्।
खेलाडीलाई उकास्ने र प्रोत्साहन गर्ने काम खासै भएका थिएनन्। हामी आफै पनि आफ्नै इच्छा शक्तिले मात्रै फुटबल खेल्थ्यौँ। आफ्नो इच्छा शक्तिबाहेक केही पनि अरू ऊर्जा या चुम्बकीय शक्तिले हामीलाई खेलप्रति तानेको थिएन।
त्यतिबेला सरकारसँगै पैसा हुँदैन थियो। त्यसैले खेलाडीलाई दिन सम्भव पनि थिएन। कहिलेकाहीँ अपवादको रूपमा खेलाडीहरूले पैसा त पाउँथे तर त्यो पैसा पाउनु र नपाउनुको मूल्य उत्तिकै हुन्थ्यो। खानेबस्ने सुविधाबाहेक अन्य सुविधा नपाएका खेलाडीहरू जसोतसो देशको लागि खेल्न टिकिरहेका थिए।
हामीलाई खेलको राम्रो स्तर चाहिन्छ तर खेलाडीको लागि सुविधा भने दिनुछैन। हामीलाई आफ्नो लापरबाहीमा राम्रो नतिजाको आश हुन्छ। हामी थोरैमा धेरै खोज्छौं। म चाहन्छु, अब हाम्रो देशले खेलकुदमा पनि राम्रो फड्को मारोस्। गौतम बुद्ध र सगरमाथाको देश भनेझैँ अब खेलाडीको देश भनेर नेपाललाई चिनाउन सकियोस्।
(केही दिनअघि सार्वजनिक भएको वासुदेव प्रधानको आत्मकथा 'मेरो राम कहानी'बाट)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
