नेपाली भाषाको मोह जगाइदिने ध्रुवचन्द्र गौतमलाई एक गुच्छा फूल दिने सोच त्यस दिन ढिलोगरी आएको थियो। फूल त छुट्यो तर यही लेखका माध्यमबाट आफ्नो कृतज्ञता तिनै ‘टाढाका द्रोणाचार्य’लाई समर्पित गर्दैछु।
प्राय: ‘म्युट’ रहने कार्यालयको व्हाट्सएप ग्रुप चेक गर्दै थिएँ। यसमा कार्यालयले चित्त दुखाउन पर्ने केही छैन (व्यावसायिक मर्यादाको चिन्ता भए छुट्टै कुरा), मेरा सामूहिक ग्रुप च्याटहरू सबै म्युट नै रहन्छन्। कार्यालयको ‘ग्रुप अपडेट’ दिनको दुई पटक हेर्छु, मलाई सबैभन्दा प्रिय दिदी–भाइ–दाजु–बहिनी सम्मिलित ‘ग्रुप’बारे त्यति सतर्क छैन बरु।
केही दिनअगाडि बिहान सरसर्ती कार्यालयका सन्देशहरू हेर्दै गर्दा दैनिक अपडेट सूचीमा ‘...गौतमको गीत रेकर्डिङ’ उल्लेख रहेछ। स्क्रोल गर्दै तल गएँ, एक्कासि गौतमको अगाडि ‘ध्रुवचन्द्र लेखिएको थियो कि क्या हो!’ भन्ने सोच आयो। फेरि आफैले ‘हैन, उहाँ किन आउनुहुन्थ्यो र? समाचारकक्षले उहाँको मिजाजलाई के तान्थ्यो?’ भनेर अगाडि बढेँ। फेरि के सोचेर माथिको सूची पुनः हेरेँ– एउटा अपडेटको बुँदा नं. २ मा लेखिएको थियो- आज ध्रुवचन्द्र गौतमको गीत रेकर्ड हुने, १:३० सम्भावित समय।
समाचारकक्ष हो– अन्तर्वार्ता, पड्कास्टलगायत कन्टेन्टका लागि राजनीतिज्ञ, विषयगत विशेषज्ञ, लेखक, पत्रकार, कलाकारको आउजाउ चलिरहन्छ। तर ध्रुवचन्द्र गौतम आउने कुरा मेरो मस्तिष्कले सिधै दर्ता गर्न सकेन र सहकर्मी किरण दहाललाई फोन गरेँ “देवेन्द्रजी (देवेन्द्र भट्टराई)ले भन्नु भएको ध्रुवचन्द्र गौतम भनेको ‘दि ध्रुवचन्द्र गौतम’ हुन् कि त्यही नामधारी अरू कोही?”
“हो दिदी हो, उनै हुन्। हामी अहिले लिन गइरहेका छौँ, आउँदै गर्नू,” किरणले हाँस्दै भने।

घडी हेरेँ। सवा १२ जति बजिरहेको थियो। १६-१७ वर्ष पुरानो डायरी झिकेँ, मेरो अतिप्रिय विशेष डायरी। लगभग १५ मिनटमा तयार भएर हाडीगाउँस्थित कार्यालय पुगेँ। यति चाँडो त म ‘इमर्जेन्सी मिटिङ’मा पनि पुग्दिन थिएँ होला। तर त्यस दिन पुगेँ, किनकि ध्रुवचन्द्र गौतम आइरहेका थिए। तिनै ध्रुवचन्द्र जसले मातृभाषासँग मेरो सम्बन्ध पुनर्स्थापित गरिदिएका थिए।
०००
मेरो प्रारम्भिक शिक्षा– जसलाई पहिले किन्डरगार्टन भनिन्थ्यो, आजकाल मन्टेस्वरी भनिन्छ- औपचारिक रूपमा भएन। मेरा जिजुबाजे (हजुरबुवाका बुवा)ले नै पहिलो अक्षर चिनाउनुभयो। पढ्न र लेख्न सिकाउनुभयो। पहिला नेपाली, त्यसपछि अंग्रेजी, अनि संख्या। मलाई याद त छैन तर भन्नेले भनेका आधारमा ३-४ वर्षको हुँदा म गोरखापत्रको शीर्षक पढेर जिजुबाजेलाई सुनाउँथे रे। उहाँ सँगसँगै श्लोक भट्याउथेँ रे। विभिन्न लोककथा कण्ठस्थ थिए रे।
त्यसपछि नेपाली भाषासँग मेरो शैक्षिक सम्बन्ध टुट्यो। भारतीय विद्यालयमा कक्षा ३ बाट मेरो प्राथमिक शिक्षा शुरू भयो र अंग्रेजी तथा हिन्दी दुई भाषाको औपचारिक पढाइ अघि बढ्यो। घर-समाजमा नेपाली नै प्रयोग हुने हुनाले पाठ्यक्रममा नभएकै कारण बोलीचालीमा असर पर्ने कुरा थिएन तर पढ्न र लेख्न मलाई हिन्दी नै सहज लाग्थ्यो, प्रिय पनि। ‘अंग्रेजी नबोले ५ रुपैयाँ फाइन’को जमानामा हुर्किएका कारण जान्न-बुझ्न परेको अंग्रेजी छँदै थियो।
कालान्तरमा अंग्रेजी मेरो रोजीरोटीको माध्यम बन्यो तर लामो समयसम्म औपचारिक शिक्षासँग जोडिएका कारण हो वा अन्य केही कारणले, हिन्दीसँग लगाव रहिरह्यो, अझै पनि छ।
०००
ठ्याक्कै सम्झना छैन, सन् २०११ तिर जस्तो लाग्छ– त्यति बेला कार्यरत अंग्रेजी पत्रिकाका सहकर्मीको डेस्कमा बाहिरी गाता धुमिलिएको, कतैकतै थोरै च्यात्तिएको किताब सधैँ राखिएको हुन्थ्यो। त्यो किताब देख्थेँ, त्यहीँ हुन्थ्यो, म आफ्नो बाटो लाग्थेँ। एक दिन के लाग्यो ‘यो किताब न यहाँबाट कतै जान्छ, न कसैले कतै लान्छ। पहिलो दिन जुन एन्गलमा देखेँ त्यही एन्गलमा रहिरहेको छ’ भनेर डेस्कको एक छेउबाट अर्को छेउमा सारिदिएँ। फेरि एक छिनपछि के लाग्यो त्यहाँबाट टिपेर पाना पल्टाउन थालेँ। ‘एब्स्ट्र्याक्ट’ चित्र कभरमा भएको किताबको शीर्षक थियो– अलिखित।
एक पाना पढेँ, खासै केही बुझिनँ। यसै पनि कुनै किताब शुरू गर्दा पहिला केही पाना दोहोर्याइतेहर्याइ नपढे किताब ‘गढ्दैन’ मलाई। त्यसअघि मैले नेपालीमा लेखिएका सामग्री पढेको कान्तिपुरमा छापिएका समाचार र विचार थिए होलान्। कथा उपन्यास शून्य। बीपी कोइराला, पारिजातका एकदुई किताब/कथाका नामसम्म थाहा थिए।
अलिखित पढ्दै गएँ, अलिअलि गर्दै रमाइलो लाग्न थाल्यो। जसको किताब थियो, उनीसँग सापटी मागेर घर ल्याएँ। पढेर सक्काएँ। तर पूरा बुझेको थिइनँ।
किताब दोहोर्याएर पढेँ। सुखद आश्चर्य! मैले नेपाली साहित्यलाई कम आँकेको होइन, तर कहिल्यै पढौँ जस्तो लाग्दैन थियो। नेपाली नजानेर ‘कुल’ हुने कुरा पनि होइन, ‘लिङगुइस्टिक प्रिभिलेज’का कारण बोलिचाली स्पष्टै थियो। यो किताब पढ्नु सुखद् संयोग थियो शायद– फुपूको छोरीको सिफारिसमा पढ्न थालेको ‘पीजी वोडहाउस’का कथाझैँ लाग्यो, सामाजिक विषयवस्तु व्याख्या गर्न ‘सटायर’ र बिम्बहरूको प्रयोग मिल्दोजुल्दो।
यही अलिखित मेरो जीवनकै पहिलो नेपाली साहित्य (पढेको) बन्न पुग्यो, आजसम्म सबैभन्दा रुचाएको पनि। साथीहरूको सिफारिस लिएर गौतमका थप एकदुई किताब लिएँ, लेखन जति प्रभावशाली, किताबका शीर्षक उतिकै दमदार– स्व हीरादेवीको खोज, कट्टेल सरको चोटपटक, फूलको आतंक।
अब शुरू भयो अलिअलि गर्दै नेपाली साहित्य पढ्ने क्रम। अलिखितबाट शुरू भएको रुचिले अरू केही लेखकतिर पनि पुर्यायो। बिस्तारै नेपालीमा लेख्न पनि शुरू गरेँ- पहिला व्यक्तिगत ब्लगमा, त्यसपछि ट्विटर र अब यहाँ।
०००
अहिलेसम्म मसँग ‘अथर साइन्ड कपी’बाहेक कुनै सेलेब्रिटीको अटोग्राफ छैन। नचाहिएर हैन, नजुरेर। शाहरुख खानले अटोग्राफ दिने मौका जुर्यो भने मैले नचाहेर हुन्छ! त्यस्तै, जसको उपन्यास पढेका कारण अलिकति गनथन लेख्न सक्ने क्षमता विकसित हुँदै छ, तिनै गुरुलाई भेट्ने संयोग जुर्दा अटोग्राफ नलिई बस्ने कुरा भएन। यहीँ ‘एन्ट्री’ हुन्छ मेरो विशेष डायरीको।
माथि उल्लेख गरेझैँ व्हाट्सएपमा सन्देश देखेदेखि अफिस पुग्नेसम्मको कामका लागि लगभग १५ मिनट लाग्यो। पुग्नेबित्तिकै डायरीमा नलेखिएको पाना खोजेर हस्ताक्षरका लागि तयार राखेँ। यही दौरान हामी कार्यालयमा उपस्थित केही उनकै कृतिहरूको चर्चा गर्दै थियौँ। मैले आफूले पढेबाहेक अरू रचनाबारे जान्ने मौका पाएँ।
यो पनि: जुन गीत नारायण गोपालले गाउन लगेका थिए... (भिडियोसहित)
एक छिनपछि ढोकाबाहिर चहलपहल भयो। आँखा त्यतै सोझिए। चारपाँच जनाको समूह भित्र छिर्यो– कतै बीचमा थिए खैरो कोट पाइन्टमा ठाँटिएका ध्रुवचन्द्र, जसलाई मैले अहिलेसम्म फोटो र भिडियोमा मात्र देखेकी थिएँ।
म भएँ स्टारस्ट्रक! शायद जीवनमा पहिलोपटक, किनकि अरू कलाकार, लेखक वा व्यक्तित्व जसको म भारी प्रशंसक हुँ, उनीहरूलाई भेट्ने मौका जुरेकै छैन। सहकर्मी प्रकाश गुरगाईंका अनुसार गौतमका चार दर्जनभन्दा धेरै कृति प्रकाशित छन्। मैले पढेको छु आधा दर्जन मात्र! लेखकको यतिउति कृति नपढेसम्म ‘फ्यान’ हुने मापदण्ड नपुग्ने बुँदा संविधानमा छैन क्यार! प्रभाव त मानिसको एक शब्दले त पार्छ, यहाँ त खजानाकै कुरा छ। त्यसैले निःसङ्कोच आफूलाई फ्यानको दर्जा दिएँ।

सबै जनासँग औपचारिक भलाकुसारी गरेर ध्रुवचन्द्र स्टुडियोतिर लागे। रेकर्डिङ शुरू हुन लागेको थियो, म पछिपछि लागेँ। डायरी लिएर एक पानामा अटोग्राफ लिएँ। उनले हाँस्दै हस्ताक्षर कोरिदिए। फेरि अर्को पाना अगाडि सारेँ। फेरि हाँसेरै लेखिदिए, झिँजो नमानी।
रेकर्डिङपछि मिटिङरुममा केहीबेर भलाकुसारी चल्यो। यति दिग्गज ‘लेजेन्ड’ लेखक कति सरल। सोचेँ, मसँग यस्तो लेखनकला हुँदो हो त मेरो अहंले मान्छे देख्दैन थियो होला। उनको लेखन जस्तो, हाउभाउ बोलिचाली उस्तै मिजासिलो। वार्तालापका क्रममा एक वाक्यमा एक हाँसो अनिवार्य झैँ। कति कुरा त बुझिनँ, त्यै पनि म हाँसे, किनकि ध्रुवचन्द्र गौतम हासे।
खासै आफ्नो भावना अभिव्यक्त गरिहाल्ने मान्छे त होइन, यसोउसो गरेर उनी निस्किने बेलासम्म उनको कलाको मेरो अस्तित्वमा परेको प्रभावको विस्तार लगाएँ। गौतमले निकै विनम्रतापूर्वक सुनेँ, केही कुरा गरेँ। म कृतज्ञ भएँ।
सही समयमा ग्रुप मेसेज हेर्नु संयोगवश अनपेक्षित स्मरणीय भेटमा बदलियो। त्यस दिनदेखि ग्रुप म्युट छैन, खैर हालसम्म।
मलाई कुनै एक भाषाप्रति जोडिदिने ध्रुवचन्द्र गौतमलाई एक गुच्छा फूल दिने सोच त्यस दिन ढिलोगरी आएको थियो। फूल त छुट्यो, तर यही लेखका माध्यमबाट आफ्नो कृतज्ञता तिनै ‘टाढाका द्रोणाचार्य’लाई समर्पित गर्दैछु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
