रोल्वालिङमा आएको बाढीले च्छो रोल्पा हिमताल जाने पदमार्ग मात्र बिगारेन, चार वटा झोलुङ्गे पुलसमेत बगाइदियो। बेदिङ र ना गाउँसँग ४५ दिनसम्म सम्पर्कविच्छेद भएपछि हेलिकोप्टरबाट खाद्यान्न पठाइएको थियो।
दोलखा– गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाछिरी शेर्पा ९२ वर्षका भए। थाहा पाउने भएदेखि बेदिङमा पहिलो पटक उनले यो वर्ष ठूलो वर्षा सामना गरे।
बेदिङको बस्ती ३७ सय ७ मिटर उचाइमा छ। हिउँदमा यहाँ हिउँपर्छ। “तर म जान्ने भएदेखि बर्खामा यति ठूलो पानी परेको जानेकै थिइनँ। पानी त पर्थ्यो, भलबाढी आउने गरी परेको थाहा छैन,” निमाछिरी भन्छन्।
गौरीशंकर गाउँपालिकाको ३५ सय मिटरभन्दा माथिको क्षेत्रमा गत असार २१ गते अस्वाभाविक वर्षा भयो। जसकारण गौरीशंकर गाउँपालिकाका उच्च हिमाली बस्तीले पहिलो पटक बाढी र पहिरोको सामना गर्नुपर्यो।
रोल्वालिङ खोलामा हिमालका उच्च भागबाट आएको ठूलो बाढीले तल्लो क्षेत्रमा धेरै क्षति पुर्याएको गौरीशंकर गाउँपालिका–९ ना गाउँका दाबाछिरी शेर्पा बताउँछन्। “वर्षा हिमालका टाकुरासम्म भयो, जसले माथिबाट गेग्य्रानसहित ठूलो बाढी ल्यायो। हिमालका टाकुराबाट आउने बाढी रोल्वालिङ खोलामा झरेपछि त्यसले दायाँ बायाँ कटान गर्यो।”
उनका अनुसार हुमगुल्जु खोला, महादेव खोला, तान्ङि खोला, राङचुङमापारिको खोला रोल्वालिङमा मिसिन्छ। ती खोलाको बाढी सोहोरिएर रोल्वालिङमा मिसिएको उनी बताउँछन्। “माथि हिउँ पग्लेर स–साना पोखरी बनेका थिए। ठूलो पानी परेपछि ती पोखरी पनि सबै फुटे, अनि ठूलो बाढी आयो,” उनी भन्छन्, “ती ठाउँमा म आफै पुगेर पोखरी दखेको छु। पहिला हिउँले ढाकिने पाखामा ढुंगा मात्रै छ। त्यसको तलतिर पोखरी थिए, ती पनि फुटे।”
गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पा रोल्वालिङ खोलामा पछिल्लो १०० वर्षयता त्यति ठूलो बाढी आएको जानकारी नभएको बताउँछन्। रोल्वालिङ खोलाको मुहान च्छो रोल्पा हिमताल हो। त्यहाँबाट चार किमि तल ४१ सय ८० मिटर उचाइमा रहेको ना गाउँदेखि तल करिब २७ सय मिटर उचाइको क्याल्चेसम्मै रोल्वालिङले दायाँबायाँ ठूलो कटान गरेको छ। यो खोलाको माथिल्लो भागमा हिमालको टाकुराबाट गेग्य्रान बग्दै आएर मिसिएको प्रष्टै देखिन्छ।

रोल्वालिङमा आएको बाढीले विभिन्न ठाउँका चार वटा पुल पनि बगाएको छ। बेदिङ, थाङदिनलगायत गाउँमा असारदेखि बिजुली बत्ती छैन। ती ठाउँमा सिमिगाउँ हुँदै बिजुली लगिएको थियो। बिजुलीका पोल सबै बाढी र पहिरोले बगाइदिएपछि चार महिनादेखि ती गाउँ अन्धकारमा छन्।
उच्च हिमाली क्षेत्रमा यति ठूलो विनास ल्याउने गरी कति ठूलो वर्षा भयो भन्ने यकिन विवरण जल तथा मौसम विज्ञान विभागसँग छैन। विभागकी सिनियर मेटेरियोलोजिस्ट विभूति पोखरेल दोलखाको बेदिङ र च्छो रोल्पामा वर्षा मापन केन्द्र भए पनि त्यहाँको विवरण विभागसँग नभएको बताउँछिन्।
“त्यहाँ कति वर्षा भएर त्यति ठूलो बाढी आयो, त्यसका लागि विभागसँग तथ्यांक नै छैन,” उनी भन्छिन्, “केही स्थानमा स्वचालित र मानवयन्त्र स्टेसन भए पनि प्राविधिक खराबीका कारण डेटा नै उपलब्ध छैन।”
बग्यो १३ किमि पदमार्ग
च्छो रोल्पा नेपालको चलनचल्तीको पदमार्ग हो। यो पदमार्गमा बर्सेनि सयौँ पर्यटक च्छो रोल्पा हिमताल तथा दूधकुण्डसम्म पुग्छन्। त्यसबाहेक दोलखा र सोलुखुम्बुको बीचमा पर्ने टासीलाप्चा पास गर्ने पर्यटक पनि यहाँबाट आवतजावत गर्छन्। यो पदमार्गमा यस वर्षको बाढीले ठूलो क्षति पुर्याएको छ।
गौरीशंकर गाउँपालिका कार्यालयका अनुसार बाढीले १३ किमि पदमार्ग बगाएको छ। त्यसबाहेक क्याल्चे नजिक केही घर तथा होटल पनि बाढीले बगायो। उक्त बाढीमा परी एक महिलाको मृत्यु भएको ना गाउँका स्थानीय दाबाछिरी बताउँछन्।

गौरीशंकर गाउँपालिका कार्यालयका अनुसार बाढीले बाटो बगाएपछि बेदिङ र ना गाउँका मानिसका लागि आवतजावत रोकिएको थियो। ना गाउँका दाबाछिरीका अनुसार ४५ दिनसम्म आवतजावत रोकिएपछि हेलिकोप्टरबाट चामलसहितका खाद्यान्न लगिएको थियो।
उच्च हिमाली क्षेत्रमा पर्ने बेदिङ र नासम्म पुग्न सिँगटी–लामाबगर सडकखण्डमा पर्ने छेतछेतबाट दुईदेखि तीन दिन हिँड्नुपर्छ। उक्त गाउँमा अन्न, तरकारी तथा अन्य अत्यावश्यक सामग्री भरियाले बोकेर पुर्याउँछन्।
गाउँपालिकाका अनुसार बाढीले भत्काएको १३ किमि सडक मर्मतका लागि दैनिक ३० जना मजदुरलाई ४५ दिन लागेको थियो। अहिले क्याल्चेभन्दा माथि ना गाउँसम्म बाढीले बगाएको पुरानो बाटोको साटो नयाँ बाटो खनिएको छ। तर उक्त बाटो पदयात्रीका लागि अप्ठ्यारो छ। पदमार्ग सहज नहुँदा पर्यटकको समयसमेत लम्बिएको छ।
पर्यटन हराउने चिन्ता
गौरीशंकर गाउँपालिका–९ का दिलबहादुर मगर (५२) पर्यटकका भारी बोकेर उच्च हिमाली क्षेत्र धेरै पटक पार भएका छन्। १६ वर्षको उमेरदेखि भारी बोकेर ५७ सय मिटर उचाइको टासीलाप्चा पास पार गरेका उनी अहिले पनि यही पेसामा छन्। पर्यटकीय सिजन शुरू हुनासाथ पर्यटकको भारी बोकेर प्राप्त हुने पैसा नै उनको आम्दानीको मुख्य स्रोत हो।
तर दिलबहादुरलाई अचेल हिमालमा हिउँ हराएर पर्यटक नै आएनन् भने कसरी परिवार पाल्ने भन्ने चिन्ता छ। सगरमाथा र दोलखाको सीमाना टासीलाप्चा पास गर्दा पहिला हिउँ नै हिउँ भएको ठाउँमा अहिले हिउँ कम हुँदै गएको उनी बताउँछन्।
टासीलाप्चा पास गर्न च्छो रोल्पा हिमतालको छेउ हुँदै जानुपर्छ। दिलबहादुरका अनुसार उक्त ठाउँमा पहिला हिँड्ने बाटो राम्रो थियो। तर च्छो रोल्पाले आफ्नो आकार बढाउँदै लगेपछि ताल छेउको बाटो तालमै मिसियो। “यस्तै हो भने १० वर्षपछि बाटो नै हराउँछ,” उनी भन्छन्, “बाटो नै हराएपछि कहाँबाट हिँड्ने! अनि पर्यटक पनि किन आउलान् र!”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
