उतिखेरका भारतीय प्रम जवाहरलाल नेहरू आफ्नो अडानमा दृढ भए। उनले भने, ‘सरकारले नै यस्तो अवसरमा बिदा दियो भने अन्धविश्वासले राष्ट्रिय मान्यता प्राप्त प्राप्त गर्नेछ।’
सन् १९६२ को ‘अष्ट ग्रह संयोग’ (सूर्य, चन्द्रमा, पृथ्वी, बुध, शुक्र, मंगल, वृहस्पति र शनि निकट भएको अवस्था)को साक्षीसँगै यससँग सम्बन्धित सामूहिक सन्त्रासको साक्षी थियो लेखक। फेब्रुअरी ५ को ‘डि-डे’ (अन्तिम दिन/निर्णयको दिन)भन्दा धेरै अघिदेखि, संसार सकिँदैछ भन्ने त्रासमा परेका व्यक्ति र परिवारले आ–आफ्ना गुरु/पुरोहितलाई दान दिँदै, हवन (अग्निपूजा) र पूजा/उपासना गराउन थाले। (सबै ग्रह तथा तारा निकट आइपुग्ने या एकै रेखामा पर्ने विषयलाई यहाँ अष्ट ग्रह संयोग भनिएको हो। सं.)
अन्तिम ठानिएको ५ तारिखको मध्याह्नदेखि (अपराह्न ५:३८ बजे संसार अन्त्य हुने समयको ६ घण्टाअघि) कैयौँ परिवार खानेकुरा र पानीका भाँडा बोकी पार्क तथा खुला ठाउँमा भेला हुन थाले। दिल्लीका सरकारी बस खाली भए, बजार बन्द भए, सडक सुनसान भए र निजी कार्यालयमा मान्छेको चाप एकदमै कम भयो। तर सरकारी तथा अधीनस्थ कार्यालय लगभग सामान्य रूपमै सञ्चालन भए।
सरकारमा रहेकै केही व्यक्तिले यो अन्धविश्वासको मामलामा सम्झौता गर्नसमेत खोजेका थिए। आखिर धेरै नागरिक प्रभावित भएका थिए, त्यसो हुँदा सरकारी कार्यालयलाई दिउँसो बन्द गर्ने छुटचाहिँ दिइयो। तर, प्रधानमन्त्री जवाहरलाल नेहरू आफ्नो अडानमा दृढ भए। उनले भने, ‘यदि सरकारले नै बिदा दियो भने अन्धविश्वासले राष्ट्रिय मान्यता प्राप्त गर्नेछ।’
त्यसैले सरकारी कार्यालय प्राय: पूर्ण उपस्थितिमा सञ्चालन भए। पछि, भारतको उत्तर प्रदेशको कानपुरमा झन्डै तीन लाख मानिस सहभागी एक सभालाई सम्बोधन गर्दै नेहरूले जनतालाई वैज्ञानिक सोच विकास गर्न आह्वान गरे। ‘निरर्थक कुरालाई स्वीकार गर्न सकिँदैन,’ उनले भने।
ग्रहणको समयमा धेरै मान्छेले गंगामा डुबुल्की मारिरहेको विषयलाई उनले हास्यास्पद भने। अन्धविश्वास आखिर डरमा आधारित हुन्छ र त्यसलाई मेटाउन गाह्रो हुन्छ। तर यो प्रथा आज पनि जारी छ।
‘पण्डित/बाबाजीलाई जसले बढी चाँदी दिए, तिनले आफू विपत्तिबाट बच्ने बढी सम्भावना रहेको भन्ठाने, तर पण्डित/बाबाजीकै अभाव भयो,’ नेहरूले व्यंग्य गरे, ‘...र आतंकित मानिसले स्थानीय मदिरा किनबेचमा समेत रोक लगाए, जसका कारण बिक्रीमा ५० प्रतिशत गिरावट आयो।”
नेहरूले कुनै अतिशयोक्तिपूर्ण कुरा गरेका थिएनन्। मानिसको डर, चिन्ता र अत्तालिएको व्यवहारको साक्षी थियो लेखक।
मिडिया र धेरैजसोको मुख-कान हुँदै धेरै मानिसबीच पुगेको थियो ज्योतिषीले फैलाएको त्रास। प्रलयको भविष्यवाणी पक्कै १९६२ फेब्रुअरी ५ बेलुकी ५:३८ बजे घटित हुनेछ भन्नेमा स्थानीयले साँच्चै विश्वास गरेका थिए।
‘सात ग्रहहरूको संयोगले महाभारत युद्ध ल्याएका हुनाले आठ ग्रहको एकाकारले कस्तोसम्म भयानक प्रकोप ल्याउला?’ भन्ने ज्योतिषीको तर्क थियो।
हाम्रा लागि भने सो घटना दुर्लभ अवसर थियो, जतिखेर सूर्य, चन्द्र, पृथ्वी, बुध, शुक्र, मंगल, वृहस्पति र शनि एक पंक्तिमा रहन आएका थिए। खाली सडकमा चलेका लगभग खाली सार्वजनिक बसमा यात्रा, बन्द बजार र घाट, मैदान र मन्दिरमा पुगेर भीडको त्रस्त व्यवहार हेर्ने एक अवसर थियो। एक हप्ताअघि नै रामलीला मैदानमा यज्ञ, हवन र वैदिक मन्त्रको उच्चारण थालिएको थियो।
स्वयंसेवकले आगन्तुकलाई रातो कपडा बेरिएको पित्तलको कलशमा बाबा-साधुसन्तका लागि भेटी चढाउन निर्देशन गरे। भीडले श्रद्धापूर्वक आज्ञा पालन गरे। साधुसन्त र बाबालाई भेटी, पैसा चढाएर मन्त्र र जप गरेपछि विपत्तिले ल्याउने कठोरता कम हुन्छ भन्ने भीडका अधिकांशलाई वास्तवमै विश्वास थियो।
ज्योतिषीले पनि दानदक्षिणालाई नै उपायका रूपमा सुझाएका थिए। यमुनाको घाट उतिखेर स्वच्छ पानी बग्ने अत्यधिक जीवन्त नदी थियो (जहाँ अहिले भारतको ठूलो कुम्भ मेला चल्दैछ), त्यहाँ मान्छेहरू नुहाउनका लागि एकीकृत भए।
कनट प्लेस (राजीव चोक) को हनुमान मन्दिर र बिरला मन्दिरजस्ता ठूला मठमन्दिर उतिखेर ‘पर्यटक गाइड बुक’मा उल्लेख हुने महत्त्वपूर्ण स्थान थिए। त्यहाँ पनि उल्लेख्य संख्यामा मान्छेहरू सान्त्वना प्राप्तिका लागि पुगिरहेकै थिए। जवाहरलाल नेहरूले भनेझैँ वास्तवमै साधुसन्त र बाबाको कमी भएको थियो। (धेरैले साधुसन्त खोजेपछि भाग नपुग्नु स्वाभाविक थियो।)
‘विपत्ति आउने बेला’को समय थाहा नभएर होला, डुलाएर सामान बेच्ने व्यक्तिहरूले साँझको ५:३८ बजेसम्म पनि राम्ररी व्यापार गरिरहेका थिए।
त्यो ‘त्रासको क्षण' आउनुअघि, परिवारका महिला, वृद्ध र बालबच्चा घरबाट खानेकुरा र पानी लिएर मन्दिर, बगैँचा र सडकतर्फ जान थाले। प्लास्टिकको बोतलको प्रयोग अझै नभइसकेको त्यस समय पानीका लागि मान्छेहरूले सुराही (माटोको भाँडो) बोकेका देखिन्थे। मन्त्रोच्चारण, वनजंगल र चराको प्राकृतिक आवाज सम्मिलित हुँदै गर्दा त्यो अन्तिम म्याद नजिकिँदै गयो। तर केही पनि भएन। मान्छेहरूले शान्तिको श्वास फेरे। सूर्यास्तपछि मानिसहरू घर फर्कन थाले।
ज्योतिषीहरू सधैँ विजेता ठहर्छन्। आफ्नो पूर्वानुमान फेल भए पनि ज्योतिषीहरू कहिल्यै आफ्नो असफलता/असक्षमता स्विकार्दैनन्। एक हप्तापछि तिनीमध्ये केहीले ‘मान्छेहरूका सत्कर्मका कारण कहालीलाग्दो विपत्ति टर्यो’ भन्नथाले। यसका अलावा, भारतमा चिनियाँ घुसपैठ, पाकिस्तानसँगको युद्ध, लालबहादुर शास्त्रीको मृत्यु:, क्यूबाली मिसाइल संकटलगायत विषयलाई 'अस्टाग्रह'ले ल्याएको विपत्तिका रूपमा हेरियो।
तर, गंगेश्वरानन्दजी महाराज नामका एक धार्मिक पुरुषले अस्टाग्रह सबै दयालु देवता भएकाले भक्तलाई तिनले हानि नपुर्याउने बताए। तथापि, उनले पनि मानिसहरूलाई प्रार्थना गर्न, मन्त्र जप्न र आफूले मन पराएको इष्ट देवताको नाम लेख्न भने आह्वान गरे।
पश्चिममा पनि उस्तै वैज्ञानिक समझ
क्यालिफोर्नियाका ग्रिफिथ वेधशालाका खगोलशास्त्री रबर्ट रिचर्डसन उतिखेरको सामूहिक सन्त्रासलाई यसरी व्यक्त गरेका थिए– त्यस दिन दुई बजेसम्म, वेधशाला हुँदै अघि जाने सडकमा झन्डै साढे दुई किलोमिटर लामो गाडीको ठूलो लाम भइसकेको थियो। एक महिला यति चिच्याएर रोइरहेकी थिइन् कि उनले के भनिन् भनेर बुझ्नै कठिन थियो। उनी झन्डै बेहोस हुन लागिरहेकी थिइन्। रुँदै गर्दा उनी भनिरहेकी थिइन्, ‘यसरी रुनु बेवकुफी हो, तर म आफूलाई रोक्न सकिरहेकी छैन।’
वैज्ञानिक लेखक केरोलीन ग्रामलिङले भनिन्, ‘संसारका अन्य ठाउँमा अरू मान्छेले झनै कडा प्रतिक्रिया देखाए। अमेरिकामा बमबाट बच्न बनाएका सुरक्षित आश्रयहरू भरिए र भारतको बम्बई (अहिले मुम्बई) मा लाखौँ मान्छेहरूको उपस्थितिमा निरन्तर प्रार्थना भए। विश्वासी (क्रिश्चियन) हरूको एउटा समूह ठूलो समूहमा एरिजोनाको क्लिटर शहर गए। उनीहरूलाई विश्वास थियो कि सो महाविपत्तिमा बच्नका लागि संसारका केबल १२ सुरक्षित स्थानमध्ये क्लिटर एक थियो।’
पश्चिममा अरू खालका परम्परावादीहरू छन्, जो जर्मनीको सामूहिक नरसंहार (होलोकस्ट) मा पनि अष्ट ग्रहलाई कारक मान्छन्। आठ ग्रहको संयोगले विद्यमान गुरुत्वाकर्षण-व्यवस्थालाई अस्थिर बनाउन सक्ने उनीहरूको तर्क रहन्छ। चन्द्रमाको गतिले मात्रै समेत समुद्रमा छाल ल्याउँछ भने आठ या सात ग्रहको संयोगले कस्तो विनाशकारी प्रभाव पार्न सक्ला भनेर उनीहरू तर्क(!) गर्छन्।
वैज्ञानिकहरू यस्तो तर्कसँग असहमति राख्छन्। ‘सबै ग्रहहरू एकदम ठीकसँग एक अर्कोसँग मिलेर एकाकार भए तिनको गुरुत्वाकर्षणले...एक मिलिमिटरलाई २५ भाग लगाउँदा, त्यसको एक अंश मात्र महासागरको छाल बढाउनेछ,’ वैज्ञानिकहरू भन्छन्।
तर इतिहास यस्तै प्रकारका प्रलयको भविष्यवाणीबाट भरिपूर्ण छ। सात, आठ या नौ ग्रहको संयोग विगतमा धेरै पटक भएका छन्। २०२२ मा नै जुन र डिसेम्बरमा दुई अष्ट ग्रह संयोग हुन पुग्यो।
तर यीमध्ये कुनै पनि संयोगले नरसंहार वा सानो भूकम्प निम्त्याएनन्। अन्य सामान्य दिनझैँ रहे यी दिन। यति सामान्य विषयको बुझाइको कमीलाई जवाहरलाल नेहरूले वैज्ञानिक दृष्टिकोणको अभाव भन्दै व्याख्या गरेका थिए।
पछिल्ला शताब्दीतिर ग्रहको ‘परेड’बारे विचार गर्दा तिनले नरसंहारजस्ता ठूला घटना त के, महासागरमा साना छाल पनि ल्याउन सकेनन्।
सात ग्रहको दुर्लभ संयोग – शुक्र, मंगल, बृहस्पति, शनि, युरेनस, नेप्च्यून र बुध – यस वर्षको जनवरीमा पनि भएको थियो। तर, १९६२ को अष्ट ग्रह योगको विपरीत, प्रलयवादीले यस वर्ष कुनै भूकम्प वा काल्पनिक महाविपत्तिको भविष्यवाणी गरेनन्।
‘२०१२’ चलचित्र र त्यसमा प्राप्त प्रतिक्रियाले स्पष्ट रूपमा त्यस खालको त्रासलाई देखाउँछ। पाँच ग्रह परस्पर नजिक भएको अवस्था देखाइएको छ फिल्ममा, जसका कारण सौर्य ज्वाला, न्युट्रिनो, भूकम्प, ज्वालामुखी, बाढी र ध्रुवको स्थानान्तरणका कारण महासागरले विश्वका उच्च पर्वतलाई पखालेको, शहर समुन्द्रमा खसेको र त्यसका कारण सिर्जित सामूहिक चिच्याहट/दशा र पूर्ण विनाश देखाइएको छ। यो सबै ‘माया सभ्यता’ले हजारौँ वर्ष पहिले भविष्यवाणी गरेको भनिएको थियो।
प्रथम विश्वयुद्धको अन्त्यपछि सन् १९१९ मा यस्तै खालको प्रलयको भविष्यवाणी गरियो। त्यतिखेर संसार युद्धको विनाशबाट सामान्य जीवनमा फर्कन संघर्ष गरिरहेको थियो। सूर्यसँग जब सात ग्रह निकट भए, पश्चिमी-ज्योतिषीले विश्वको अन्त्यको भविष्यवाणी गरे। सन् १९१९ डिसेम्बर १७ को बिहान ८:३१ बजेसम्म मान्छेहरू त्रस्त हुँदै आफू र परिवारसँगै पृथ्वीको विनाश पर्खिए, तर केही पनि भएन।
युरोप र अमेरिका नै विपत्तिको केन्द्रबिन्दु हुने ठानियो र मान्छेहरू त्यसको प्रतीक्षा गरिरहे। फ्रान्सको पेरिसमा त्यस्तो अफवाहलाई विश्वास गर्ने मानिसहरू चर्चका अगाडि एकीकृत भएर प्रार्थना गर्न लागे। क्यानडाको भ्यांकुभर आइल्यान्ड र ओशकोशमा मान्छेहरू जाँड खाँदै आफ्नो जिन्दगीको अन्तिम क्षणको त्रास भुल्ने प्रयत्न गर्न थाले।
इंग्ल्यान्डदेखि फ्रान्ससम्म मान्छेहरू भेला भए, प्रार्थना गरे, चिच्याए र आँखा च्यातेर आकाशतिर हेर्दै संसारको नाटकीय अन्त्य पर्खिरहे, तर केही पनि भएन।
आखिर, सबैले राहतको शास फेरे। नभएको त्यस घटनालाई लिएर १८ डिसेम्बरका दिन समाचारपत्रले मजाक उडाए। ‘हामी अझै जिउँदै छौं,’ शीर्षकमा आइओवाको 'द लियोन जर्नल-रिपोर्टर'ले समाचार लेख्यो।
अमेरिकाको 'मिलराइट्स'कै उदाहरण लिऊँ। यो एक क्रिश्चियन धार्मिक सम्प्रदाय थियो। यिनीलाई सन् १८८४ भित्र प्रलय हुनेछ भन्नेमा पक्का विश्वास थियो, तर केही पनि भएन। त्यो विपत्तिलाई पछिसम्म पनि ‘महान् निराशा’का रूपमा चिनिन्थ्यो।
‘हजारौँ मानिसहरू अल्बानीको बाहिरको पहाडमा गए। त्यहाँ पुगेर सुतेपछि भोलिपल्ट उठ्दा सिधै स्वर्गको राज्यमा पुग्ने उनीहरूको विश्वास थियो। तर बिहान उठ्दासमेत तिनी अल्बानीमै थिए,’ न्यू जर्सीको केन विश्वविद्यालयका विज्ञान इतिहासकार ब्रेन रेगेल भन्छन्।
रेगेलका अनुसार अधिकांश यस्ता फोकटका प्रलयको भविष्यवाणी धार्मिक समूहबाट हुने गर्छन्।
(द वाइरडटआएएनको सामग्रीको उकालोको भावानुवाद। पी. रमण भारतका अनुभवी पत्रकार हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
