मार्क्सवाद अझै जिउँदै छ

मार्क्स अर्थव्यवस्था, राजनीति र समाज नीतिमा व्यापक परिवर्तन चाहन्थे। अर्थनीतिको ढाँचा मुनाफाको आधारमा नभएर मानवीय विकास र संवेदनाअनुसार तय गरिनुपर्दछ भन्ने चाहन्थे।

विश्वका विभिन्न संस्था र व्यक्तिले शुक्रबार (मार्च १४) मा दार्शनिक कार्ल मार्क्सलाई उनको जन्मस्मृति दिवसको सन्दर्भमा सम्झिए। कार्ल मार्क्स (सन् १८१८-१८८३)को समय औद्योगिक क्रान्तिको थियो। सामन्तवादलाई पुँजीवादले विस्थापित गर्दै गएको थियो र सामन्तवादी सत्ता पुँजीवादको हातमा गइरहेको थियो। त्यो पुँजीवादको आरम्भिककाल थियो।

फ्रान्सेली क्रान्तिपछि नयाँ राजनीतिक प्रक्रियाको थालनी भयो। यसपछि सम्पूर्ण संसारमा उपनिवेशवादले आफ्नो सत्ता कायम गर्न थाल्यो। अर्कोतिर विज्ञान प्रविधिले पनि तीव्र रूपमा प्रगति गरिरहेको थियो। मार्क्सको समयसम्म बाफ इन्जिन धेरै विकसित भइसकेको थियो। यसबाट ठूला–ठूला कारखाना चल्न लागेका थिए र औद्योगिक मजदुरको एउटा नयाँ वर्ग अस्तित्वमा आएको थियो। बिजुलीको आविष्कारपछि औद्योगिकीकरणको आधुनिक विकास भयो। त्यो समय विज्ञानको अभूतपूर्व प्रगतिको समय थियो। यसपछि सम्पूर्ण संसार विज्ञानको पकडमा रहने अनुमान गर्न लागिएको थियो।

यसपछि कतिपय कुरा बुझाउन वैज्ञानिक पदावली प्रयोग गर्ने प्रचलन शुरू भयो। औद्योगिक क्रान्तिपछि नयाँ प्रविधि अस्तित्वमा आए। त्यसबाट पहिले युरोप र पछि सम्पूर्ण संसारमा नयाँ प्रकारका समाज बन्ने क्रम शुरू भयो। त्यसयता अहिलेसम्म विभिन्न समाजको वर्ग संरचना,  पुँजीवादको स्वरूप र संसारमा विद्यमान प्रविधिमा धेरै परिवर्तन भइसकेको छ। 

मार्क्सले सामन्तवादी सत्ता भत्काउन पुँजीवादको प्रगतिशील भूमिकाको खोज गरे र त्यसको लालच र शोषण पनि पत्ता लगाए। उनले ऐतिहासिक परिवर्तनको क्रममा मानिसले आफूसँग भएको मूल्यवान् चिज कसरी गुमायो भन्ने कुरा पनि पत्ता लगाए। किसान र श्रमिकबाट कारखाना मजदुर बन्ने प्रक्रियामा मानिसको प्रकृति र आफूसँगको सम्बन्ध टुट्यो र त्यो एक विशाल पुँजीवादी प्रणालीको एउटा सानो हिस्सा बनेर रह्यो।

मार्क्सले पुँजीवादी शोषणबाट मुक्तिका लागि क्रान्तिकारी संघर्षको हतियार तयार गर्ने काम गरे। मार्क्सका अनुसार इतिहासको पनि वैज्ञानिक नियम हुन्छ। त्यसलाई बुझेपछि मात्र इतिहास बुझ्न र बदल्न सकिन्छ। यिनै नियमअन्तर्गत विगत र वर्तमान बुझ्न सकिन्छ र भविष्यको पनि निर्धारण गर्न सकिन्छ। मार्क्सका अनुसार आजसम्म गरिएको संसारलाई बुझ्ने प्रयास पूर्ण रूपले वैज्ञानिक थिएन, त्यस कारण ती सम्पूर्ण विचारधारा छद्म–चेतना थिए। उनका अनुसार संसारको वैज्ञानिक नक्सा सामुन्ने आएपछि संसारलाई बुझ्ने काम सकिन्छ र त्यसलाई बदल्ने काम अगाडि आउँछ। 

मार्क्सले एकसाथ दर्शन, राजनीति, अर्थशास्त्र, इतिहास, धर्म, आदि धेरै विधामा अनुसन्धान गरे। समाजमा उत्पीडित वर्गको कल्याणका लागि विशेष परिस्थितिमा बाँकी सबै उपाय असफल सिद्ध भएपछि बुर्जुवा वर्गलाई सत्ताच्युत गर्न क्रान्तिकारी वर्ग युद्ध गर्नुपर्नेमा जोड दिए। मार्क्सको रचनात्मक योगदान केबल प्राज्ञिक चिन्तन र लेखनमा मात्र सीमित थिएन। उनको लेखनमा संघर्षको ज्वाला थियो।

मार्क्सले द्वन्द्ववादलाई भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गरी सत्य र असत्यको भौतिकीकरण गरिदिए। मार्क्सको दर्शनमा श्रमिक वर्ग सत्यको पर्याय हुन्, जसले आफ्नो श्रम कौशलको आधारमा उत्पादन कार्यमा प्रमुख भूमिका निभाउँछन्, उनीहरू सही अर्थमा उत्पादक हुन्। पुँजीपति वर्ग असत्यका प्रतीक हुन्। उनीहरू अरूको श्रमलाई आफ्नो बताएर नाफाको अधिकांश हिस्सा आफै हडप्छन्। यसबाट धनी लगातार धनी र गरिब लगातार अझ गरिब बन्दै जान्छन्। यसको परिणाम स्वरूपमा समाजमा अस्थिरता र असमानता बढिरहन्छ।

मार्क्सका अनुसार शोषणबाट मुक्तिको एक मात्र उपाय श्रमिक वर्ग संगठित भएर स्वार्थी पुँजीपतिविरुद्ध संघर्षको घोषणा गर्नु हो। मार्क्सको समयमा युरोपका देशहरूमा जनवादी आन्दोलन अगाडि बढिरहेको थियो। यही अवस्थामा मार्क्सका विचारहरूले जनतालाई उत्प्रेरित गर्‍यो। त्यसपछि औद्योगिकीकरण हुँदै गएका ठाउँमा र सामन्त तथा जागिरदारी प्रथा कायम भएका ठाउँमा श्रमिक वर्ग मार्क्सवादी विचारअनुरूप संगठित हुँदै गए। 

मार्क्सवादी दर्शनलाई द्वन्द्वात्मक–भौतिकवादी दर्शन भनिन्छ र यसको इतिहास दृष्टिलाई ऐतिहासिक–भौतिकवाद भनिन्छ। मानव समाजमा वर्ग संघर्ष द्वन्द्वात्मक प्रक्रियाको व्यावहारिक रूप हो र यही प्रक्रियाबाट संसार र मानव समाज अगाडि बढेको छ। यही क्रममा पुँजी,  राज्य,  वाणिज्य, बजार आदि अस्तित्वमान छन् र मानवीय श्रमको यी सबैको बीचमा केन्द्रीय भूमिका छ।

मार्क्सले संसारमा जे छ, त्यो सबै पदार्थ हो र त्यो अलग–अलग रूपमा हुन्छ भन्ने कुरा स्पष्ट पारे। यसलाई नै भौतिकवाद भनिन्छ। उनले पदार्थ स्थिर हुँदैन, यसमा गति हुन्छ र त्यो गतिका पनि नियम हुन्छन्, यिनै नियमको आधारमा पदार्थले आफ्नो रूप बदलिरहन्छ भने। यिनै नियमलाई उनले द्वन्द्ववादको रूपमा स्पष्ट पारे।

मार्क्सले सामाजिक इतिहासका आम नियमको वैज्ञानिक खोज गरे र तिनीबाट निक्लिने तत्कालीन समाजका प्रगतिका नियमहरूलाई धरातलीय यथार्थतामा टिकाए। यिनै नियमहरूको आधारमा गरिएको इतिहासको व्याख्यालाई ऐतिहासिक भौतिकवाद भनिन्छ। उत्पादन पद्धति अनुरूप नै सम्पूर्ण सामाजिक संरचनाको विकास हुन्छ। यो परिवर्तन र विकास वर्ग संघर्षको आधारमा नै हुन्छ भन्ने कुरा स्पष्ट भएपछि मात्र मार्क्स अहिलेसम्मको सम्पूर्ण इतिहास वर्ग संघर्षको इतिहास हो भन्ने निष्कर्षमा पुगेका थिए। 

मार्क्सले क्रान्तिकारी संघर्ष र वैज्ञानिक विश्लेषणलाई जोडेर जुन परियोजना निर्माण गरे, त्यसलाई मार्क्सवाद भनियो। मार्क्सले यो परियोजना तयार गर्दा उनीसँग युरोप र त्यसको इतिहासबारे धेरै जानकारी तथा विवरण थियो, त्यसैले त्यसबारे उनको विश्लेषण धेरै सटिक थियो। यद्यपि के मानिन्छ भने बाँकी संसारबारे मार्क्समा कम जानकारी थियो। अर्को कुरा, उनले धेरै पिछडिएको समाजको बारेमा बढी जानकारी हासिल गर्ने कोसिस पनि नगरेजस्तो देखिन्छ। उनले पूर्वीय समाजको अध्ययनमा त्यति ध्यान दिएको देखिँदैन। त्यस कारण सम्पूर्ण संसारमा क्रान्तिकारी कार्यक्रम र वैज्ञानिक विश्लेषण गर्ने सन्दर्भमा मार्क्समा कमी भएको पाइन्छ। मार्क्सले खोजेका इतिहासका वैज्ञानिक नियमहरू असाधारण उपलब्धि थिए, तर ती पर्याप्त भने थिएनन्। 

मार्क्सले शोषणविहीन र न्यायमा आधारित समाज र सरकार निर्माण गर्ने कोसिसमा असाधारण सैद्धान्तिक काम गरे। उनका अनुसार उत्पादन सम्बन्ध उत्पादनका साधनहरूमाथि निर्भर हुन्छन् अर्थात्, उत्पादनका साधन परिवर्तन भएपछि उत्पादन सम्बन्ध पनि बदलिनेछ। उदाहरणतः औद्योगिक क्रान्तिपछि ठुला कारखानाहरूमा औद्योगिक उत्पादन सुरु भएसँगै सामन्ती आर्थिक, राजनीतिक सम्बन्ध र सत्ता समीकरण पनि बदलिए। 

यद्यपि मार्क्सले पुँजीवादी समाजमा जुन उत्पादनका साधन र प्रविधि विद्यमान छन्, तिनीहरू रहँदा समाजवादी व्यवस्था कसरी कायम हुन्छ भन्नेबारे स्पष्ट बताएनन्। के भनिन्छ भने समाजवादी व्यवस्था ढल्नुको एक कारण औद्योगिक ढाँचा पुँजीवादी व्यवस्थाको अनुकूल भएर हो।

मार्क्सवादी विचारले वर्ग संघर्ष, जनआन्दोलन, सामाजिक अन्तर्विरोध आदि धेरै क्षेत्रमा धेरै ठूलो योगदान दिएको छ। शोषणबाट मुक्ति र समानताको मार्क्सवादी विचार मानवताको मूलभूत मूल्य हो। मानव मात्रको समानतामा मार्क्सवादी विचारको अधिकार रहेको देखिन्छ। यद्यपि, आज मार्क्सवादी विचारलाई कतिपय सन्दर्भमा कतिपयले अप्रासंगिक बताउने गरेका छन्।

तर आजको युगमा वित्तीय पुँजीवादको पकड र कट्टरतावादको प्रवाहपछि मार्क्सका विचारहरूले नयाँ ढंगले प्रभाव जमाउँदै गएको देखिन्छ। मार्क्सले १९औँ शताब्दीमा गरेको पुँजीवादी विश्लेषण २१औँ शताब्दीमा आउँदा फरक ढंगबाट प्रकट भएको देखिन्छ। अहिले विज्ञान-प्रविधि र सूचना-सञ्चार प्रविधिको अभूतपूर्व विकास भइसकेको छ। शारीरिक श्रमको स्थान बौद्धिक श्रमले लिएको छ। त्यस कारण पनि मार्क्सवादी विचारलाई अप्रासंगिक बताउने कोसिस भएको देखिन्छ।

तर मार्क्सवादी विचार अहिले अझ बढी प्रासंगिक भएको देखिन्छ। बौद्धिक श्रमको रूपमा उत्पादनमा भएको योगदानबाट पारिश्रमिक कम प्राप्त हुन्छ। जुनसुकै तरीकाले उत्पादन भए पनि श्रमको शोषण नै नाफामा परिवर्तित हुन्छ। त्यस कारण धनी अझ धनी हुँदै जान्छन् भने गरिब अझ बढी गरिब हुँदै जान्छन्। अहिले एकदमै कम व्यक्तिसँग संसारको आधाभन्दा बढी सम्पत्ति केन्द्रित छ। यस प्रकारको असमानता र शोषणबारे मार्क्सले उल्लेख गरेका थिए। यसबाट मुक्त हुने एक मात्र तरिका उत्पादनको पुँजीवादी प्रणाली बदल्नु हो।

वास्तवमा मार्क्सवाद कुनै यान्त्रिक सूत्र वा किताबी सिद्धान्त होइन, बरु रचनात्मक विज्ञान हो। आर्थिक शोषण, कट्टरतावादी शक्तिहरूको दबदबा, संवैधानिक संस्थाहरूमा आक्रमण आदिको विरुद्ध संघर्ष मार्क्सवादको माध्यमबाट गर्न सकिन्छ। मार्क्सवादले ठोस परिस्थितिको ठोस विश्लेषणमा जोड दिन्छ। परिस्थितिअनुसार विश्लेषण बदलिएन भने त्यो मार्क्सवादी हुन सक्दैन। क्रान्तिकारी सिद्धान्तअनुसार अगाडि बढ्ने कुराको निर्धारण परिस्थितिको ठोस विश्लेषणबाट नै हुन्छ। 

मार्क्स मुख्य गरी अर्थशास्त्री थिए र एडम स्मिथपछि उनले सम्पूर्ण संसारलाई प्रभावित गरे। मार्क्सले स्मिथको खुला अर्थव्यवस्थाको आलोचना गर्दै औद्योगिक उदारता श्रम शोषणको शक्तिमा मात्र सम्भव हुन्छ भन्ने कुरा बताए। नियन्त्रणहीन पुँजीवादलाई उनले पुँजीको अराजक खेल माने, जसमा श्रमिकहरूको शोषण बढिरहन्छ। उनका अनुसार नयाँ प्रविधिले केवल धनीहरूको बैंक ब्यालेन्समा वृद्धि हुन्छ र श्रमिकहरूमा गरिबी,  बेसहारा र दुर्दशा वृद्धि हुन्छ। उनले शोषणकारी व्यवस्थाको अन्त्यको लागि संसारका मजदुरहरूलाई एकजुट हुन आव्हान गरे।

श्रमिकहरूलाई आफ्नो क्षमता,  कार्यशक्ति,  इच्छाशक्ति, लगनशीलता र वर्षौंको अनुभव पहिचान गरी एकजुट भई उत्पादन व्यवस्थालाई हातमा लिन तथा सबै मिली आफ्नो भविष्य स्वयं निर्माण गर्न आव्हान गरे। उनले श्रमिकहरूलाई उत्पादनको माध्यम बन्नुभन्दा, अरूको लागि पसिना बगाउनुभन्दा स्वयं उत्पादक बन्नु राम्रो हुन्छ भन्ने कुरा सुझाए।  

बजारवादको यस युगमा पुँजीवाद बेलगाम अराजक भइसकेको छ। अहिले मार्क्सवादी विचार र समाजवादको सपना केवल विगत ठान्ने प्रयास गरेको पाइन्छ। केही पुँजीवादी विचारकले पेरिस कम्युनको असफलता र सोभियत संघको विघटनजस्ता घटनापछि मार्क्सवादी विचारलाई अप्रासंगिक र समयबाहिर मानेको देखिन्छ। उनीहरू पुँजीवादको सर्वकालिक विजयको दाबी गर्छन्। 

पेरिस कम्युनको असफलताले मार्क्सलाई आफ्ना मान्यताहरूमाथि पुनर्विचार गर्ने अवसर प्रदान गरेको थियो। मार्क्सले राजनीतिक, आर्थिक, सामाजिक अधिनायकवादबाट दीर्घकालिक मुक्तिको नयाँ मार्गको खोजको रूपमा 'पुँजी'को रचना गरे। यसलाई उनले इतिहास, दर्शन, राजनीति, अर्थशास्त्र, विज्ञान आदिको गहन अध्ययनपछि लेखेका थिए। यसमा उनले वर्गविहीन समाजको परिकल्पना पनि गरेका थिए। मार्क्सवादको उद्देश्य अर्थसत्ताको विकेन्द्रीकरण, धर्मसत्ताको विलोपीकरण र राज्यसत्ताको लौकिकीकरण हो। 

मार्क्सले समाजको वर्तमान प्रारूप पुँजीपतिहरूको अनुकूल विकसित भएको छ भने। उनका अनुसार पुँजीवादको समाप्ति श्रमिकहरूद्वारा उत्पादन प्रणालीमा कब्जा गरेपछि मात्र सम्भव छैन। उनीहरूको वास्तविक कल्याणको लागि व्यवस्थामा आमूल परिवर्तन जरुरी हुन्छ। वर्गविहीन व्यवस्थाको जग राख्नुपर्छ, त्यसपछि सामाजिक-आर्थिक उचनीचको खाल्डो पुर्न सकिन्छ। मार्क्स अर्थव्यवस्था, राजनीति र समाज नीतिमा व्यापक परिवर्तन चाहन्थे। अर्थनीतिको ढाँचा मुनाफाको आधारमा नभएर मानवीय विकास र संवेदना अनुसार तय गरिनुपर्दछ भन्ने चाहन्थे। 

मार्क्सको गहन विश्लेषणले पुँजीवादलाई गहिराइपूर्वक बुझ्न र त्यसको सार्थक विकल्प खोज्ने कुरामा सहायता प्रदान गर्छ। अहिले पुँजीवादको चरित्रमा व्यापक परिवर्तन भइसकेको छ, तर पनि त्यसको मूल चरित्र लगभग १९ औं शताब्दीमा मार्क्सले विश्लेषण गरे अनुसार नै छ। 

आज संसारमा आर्थिक असमानता अझ चरम स्थितिमा छ। अक्सफामको रिपोर्टअनुसार संसारका सबभन्दा धनी एक प्रतिशत मानिससँग संसारको पचास प्रतिशतभन्दा बढी सम्पत्ति छ। त्यस कारण मार्क्सको धेरै महत्त्वपूर्ण 'अतिरिक्त मूल्यको सिद्धान्त' आज पनि उत्तिकै सान्दर्भिक छ, किनकि पुँजीवादी व्यवस्थामा श्रमिकहरूको शोषण नयाँ ढंगले जारी नै छ। वैश्वीकरणले पुँजीवादलाई अझ बलियो बनाएको छ, सँगै असमानता र शोषण अझ बढेको छ।

बहुराष्ट्रिय कम्पनीहरूले विकासशील देशहरूबाट सस्तो श्रमको फाइदा उठाइरहेका छन्। यसले मार्क्सको शोषणको सिद्धान्तलाई अझ बढी प्रमाणित गरेको छ। अहिले पुँजीवादी व्यवस्थाले प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन गरिरहेको छ, जसबाट पर्यावरणीय संकट भयंकर रूपमा पैदा भइरहेको छ। मार्क्सवादका अनुसार पुँजीवादको आफ्नो लाभ केन्द्रित क्रियाकलापको परिणाम नै यो संकटको मूल कारण हो। 

मार्क्सले पुँजीवादमा प्राविधिक विकासको नकारात्मक प्रभावतर्फ गहन विचार प्रस्तुत गरेका थिए,  जुन आज आएर थप पुष्टि हुँदै गएको छ। कृत्रिम बौद्धिकता र अटोमेसनको कारण ठूलो परिमाणमा रोजगारी गुमिरहेका छन्। प्राविधिक विकास केवल पुँजीवादीहरूको पोल्टामा जाँदै गर्दा यो समस्या अझ गम्भीर भएको छ। यसबाट श्रमिक वर्गको स्थिति अझ कमजोर हुँदै गइरहेको छ। पुँजीवाद पहिलेभन्दा बढी शक्तिशाली, क्रूर र उत्पीडक भएको छ आज। 

मार्क्सको जीवनकालमा यान्त्रिक प्रविधि केवल सुरु मात्र हुन थालेको थियो। अहिले कम्प्युटरमा आधारित प्रविधिले यन्त्रलाई धेरै कार्यसक्षम बनाइदिएको छ। यन्त्रको नियन्त्रण रिमोटको माध्यमबाट सम्भव भएको छ। श्रमिकको कार्य केवल माल सुरक्षित राख्ने वा तिनलाई गन्तव्य स्थलसम्म लैजान सीमित भएको छ। अहिले पुँजीपतिको लागि श्रमिकको भूमिका उत्पादन कार्यमा केवल सहायकसम्म मात्र सीमित भएको छ। उन्नत प्रविधिले श्रमिकहरूबाट उत्पादक शक्ति हुने अनुभूति खोसेको छ। 

श्रमको शोषण, अतिरिक्त लाभको ठूलो हिस्सामा उत्पादकको अधिकार, साना उद्यमीलाई प्रतिस्पर्धामा परास्त गरी बजारको एकाधिकार आदि आधुनिक पुँजीवादका अवगुण हुन्। यी चरित्र अहिले उ बेला मार्क्सले विश्लेषण गरेको पुँजीवादसँग मेल खान्छन्, जसमा केही सुधार भएको छैन। पुँजीवादले आफूलाई संवेदनशील र मानवीय बनाएको देखिँदैन। त्यसैले अहिले पनि मार्क्सले परिकल्पना गरेको वैज्ञानिक समाजवादको महत्त्व आज पनि उत्तिकै छ। स्मरणीय छ महानतम् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि सन् १९४९ मा 'किन समाजवाद आवश्यक छ?' भनेर मन्थ्ली रिभ्यु नामको समाजवादी पत्रिकामा लेख लेखेका थिए। त्यसमा आइन्स्टाइनले पुँजीवादका समस्या, शोषणकारी आर्थिक प्रतिस्पर्धा, र बढ्दो सम्पत्तिको असमानतासँगै निजी पुँजीपतिहरूद्वारा सञ्चालित सञ्चारमाध्यमहरूको नियन्त्रणबारे उजागर गरेका थिए। धनाढ्य र साहुहरूबाट प्रभावित राजनीतिक दलहरूले "निजी पुँजीको अल्पतन्त्र" सिर्जना गर्ने कुरालाई औँल्याएका थिए। आइन्स्टाइनको निष्कर्ष थियो, केवल योजनाबद्ध अर्थतन्त्रमार्फत र बलियो लोकतन्त्रले व्यक्तिहरूका अधिकारको रक्षा गर्ने उल्लेख गरेका थिए।

आजको युगमा मार्क्सवादको सान्दर्भिकतालाई लिएर मार्क्सका विचारलाई जस्ताको तस्तै अपनाउन सकिन्छ कि सकिँदैन भन्दै धेरै प्रश्न उठिरहन्छन्। यद्यपि केमा स्पष्ट हुनुपर्छ भने कुनै पनि कालखण्डमा मार्क्सका विचारलाई सम्पूर्णतामा आत्मसात् गर्नुहुँदैन। यसको कारण स्वयं मार्क्सकै लेखनमा सुरक्षित छ। कम्युनिस्ट घोषणापत्रमा उनी श्रमिकलाई सक्रिय क्रान्तिका लागि आव्हान गर्छन्। पेरिस कम्युनको क्रान्ति पनि मार्क्सवादी प्रेरणाबाट भयो। मार्क्सका विचारहरूको आधारमा नै श्रमिक आन्दोलनको जग बन्यो। पछि उनले आमूल परिवर्तनको लागि पुँजीवादबाट साम्यवादसम्मको यात्रालाई दुई भागमा बाँडे। उनका अनुसार क्रान्तिको पहिलो चरणमा श्रमिक संगठनले सम्पूर्ण राजनीतिक र उत्पादन प्रणालीमा आफ्नो अधिकार जमाउनेछन्। त्यसपछि उनीहरू आमूल परिवर्तनको लागि वर्गविहीन समाजको स्थापनाको लागि प्रयासरत रहनेछन्। 

मार्क्सले कहिल्यै पनि संसारको अन्तिम सत्य जान्न सकिन्छ वा बताउन सकिन्छ भन्ने कुराको दाबी गरेनन्। उनले हरेक कुरामा प्रश्न उठाउनुपर्ने विवेक आवश्यक रहेको बताए। मार्क्सले आफ्नै जीवनकालमा पटक–पटक आफ्नो सोचमाथि पुनर्विचार गर्ने साहस गरे। आफ्नो सोचलाई लगातार विकसित गर्न कहिल्यै हिचकिचाएनन्। त्यस कारण मार्क्सवादले बदलिरहने उत्पादन सम्बन्ध, वर्ग संघर्षको नयाँ रूप र ठोस परिस्थितिअनुसार विचारलाई विकसित गर्न प्रेरित गरेको छ। 

अस्तित्वमा रहेका हरेक चिजको निर्मम आलोचना गर्न उनले प्रेरित गरेका छन्। यही विशेषताका कारण मार्क्सवादले संसारलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने एउटा यस्तो दृष्टिकोण प्रदान गर्‍यो,  जुन समयको दायरामा बाँधिएको हुँदैन। यही वैज्ञानिक मार्क्सवादी दृष्टिकोणबाट संसारका अन्य कम्युनिस्ट नेताले आफ्नो विशेष ठाउँ र परिस्थितिको बीचमा त्यस बेलाको समाजको वस्तुगत विश्लेषण गर्दै क्रान्तिको नेतृत्व गरे। समाजमा उत्पीडित र श्रमिक जनताको हितमा क्रान्तिकारी कार्यक्रमलाई निरन्तर अगाडि बढाउने प्रयास गरे।  

मार्क्सका अनुसार विचारले मानिसमा जरो जमाएपछि त्यो भौतिक शक्ति बन्छ। मार्क्सका विचारले यही भौतिक शक्तिको रूप लिएर सम्पूर्ण संसार बदल्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। मार्क्सले सर्वहारा वर्गको हितमा प्रभावकारी बौद्धिक हतियार प्रदान गरे। यी बौद्धिक हतियारको बीचमा समाजको वर्गसंरचना र इतिहासको विकास क्रमलाई वर्ग संघर्षको रूपमा हेर्ने दृष्टिकोण धेरै महत्त्वपूर्ण हुन्छ। मार्क्सवादले मानव समाजलाई संसार बुझ्ने र यसलाई निरन्तर विकसित गर्ने तथा बदल्ने दृष्टिकोण प्रदान गर्‍यो। मार्क्सले श्रमिक वर्ग उत्पादन प्रक्रियाको केन्द्रमा आउने गरी उत्पादन सम्बन्धमा परिवर्तनलाई जोड दिए। 

मार्क्सवादका सीमामा ध्यान दिँदा यसले संस्कृति, धर्म र अन्य सामाजिक कारकलाई गहनतापूर्वक अनुसन्धान र विश्लेषण गर्न नसकेको महसुस हुन्छ। ऐतिहासिक भौतिकवादले इतिहासलाई एकदमै सरल दृष्टिकोणले हेरेको छ। मार्क्सले पुँजीवादको पतन छिट्टै हुनेतर्फ आफ्नो विचार अगाडि बढाएका थिए, तर यसो नभएर पुँजीवादले स्वयंलाई बदलेर झन् बलियो भयो।

कतिपयले मार्क्सका सिद्धान्तलाई जडसूत्र र कर्मकाण्डीय शास्त्रका रूपमा बुझे। मार्क्सवादलाई देश, काल परिस्थितिअनुसार व्यावहारिक रूपमा लागू नगरेर केवल कोरा सिद्धान्तको रूपमा अपनाउँदा समाजवादी आन्दोलनसमेत धराशायी भएको छ। पुँजीवादीले यसैलाई आधार बनाइ आफूलाई अझ बलियो बनाउन सफल छन्। 

मार्क्सले हरेक प्रकारको मानव स्वतन्त्रतालाई लगातार जोड दिए र वर्गविहीन तथा राज्यविहीन समाजको परिकल्पना गरे, जसलाई साम्यवाद भनिन्छ। मार्क्स (मार्क्स–एंगेल्स)को कम्युनिस्ट घोषणापत्रमा उल्लेखित राजनीतिक विचार, आर्थिक मन्दी पटक-पटक आउने विचार, अकुत मुनाफा र एकाधिकारसम्बन्धी विचार,  भूमण्डलीकरण र असमानतासम्बन्धी विचार आदि अहिले पनि सही साबित भइरहेका छन्। मार्क्सवाद अझै जिउँदै छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)