एचआईभी संक्रमित बालबालिकालाई उज्यालो दिइरहेको विद्यालय

सफलता एचआईभी शिक्षा सदन विश्वको पहिलो पहिचानसहितको एचआईभी विद्यालय हो। लन्डनस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को सर्वेक्षणका आधारमा एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो।

काठमाडौँ– मञ्जु चन्द (२३) का बुबा रोजगारीका सिलसिलामा भारत आउजाउ गरिरहन्थे। सुदूरपश्चिम क्षेत्रका अन्य युवाजस्तै घरखर्च जोरजामका लागि भारत जानु उनको बाध्यता थियो। भारतमै बस्दा एचआईभी संक्रमण भए, तर पत्तै पाएनन्। उनीबाट श्रीमतीमा संक्रमण फैलियो। मञ्जु जन्मिएसँगै एचआईभी संक्रमणका कारण बुबाआमा दुवैको मृत्यु भयो।

मञ्जुले राम्रोसँग बाआमाको स्नेह महसुस गर्न पाइनन्। उनका तीन दिदी विवाह गरेर आ–आफ्नो घर–व्यवहार सम्हाल्न व्यस्त भए। त्यसपछि शुरू भयो मञ्जुको सहाराविहीन संघर्षको यात्रा।

बाआमाको मृत्युपछि मञ्जु एक्ली भइन्। उनको हेरविचार गर्ने कोही थिएन। गाउँका एक आफन्तले उनलाई आफ्नो घर लगेर राखे। उनी त्यहाँ बसिरहँदा बेला–बेला बिरामी भइरहन्थिन्। अरू साथीभन्दा निकै कमजोर देखिन्थिन्। पछि दार्चुलामा रहेकी फुपूले उनलाई आफूसँगै दार्चुला लगिन्।

मञ्जु दार्चुला पुगेपछि झन् बिरामी पर्न थालिन्। एक दिन उनलाई निकै गाह्रो भयो। फुपूले स्वास्थ्य शिविरमा लगेर जाँच गराएपछि थाहा भयो, उनीमा एचआईभी संक्रमण रहेको। फुपू अचम्ममा परिन्, तर गाउँ–समाजले थाहा पाए परिवारमाथि नराम्रो हुन्छ भनेर फुपूले एचआईभी संक्रमण भएको गोप्य राख्ने निधो गरिन्। लुकाएर औषधि खुवाउन थालिन्।

तर समय मिलाएर औषधि खुवाउन नसक्दा उनको स्वास्थ्यमा त्यस्तो धेरै सुधार देखिएन। बिस्तारै उनलाई एचआईभी संक्रमण रहेको कुरा गाउँघरमा फैलियो।

गाउँमा उनप्रतिको दृष्टिकोण फेरियो। सबै गाउँले उनीबाट टाढा–टाढा हुन थाले। फुपूको व्यवहार पनि बदलियो। फुपूले उनीबाट आफ्नो छोरालाई टाढा राख्न थालिन्। आफ्नै फुपूको व्यवहारमा आएको परिवर्तन देख्दा उनी अचम्ममा पर्थिन्।

दशैँमा टीका लगाउँदा फुपूले छोरालाई मात्र लगाइदिने तर आफूलाई नलगाइदिँदाको तितो अनुभव उनी सुनाउँछिन्। “फुपूले छोराहरूलाई मात्र टीका लगाइदिन्छु तिमीले लगाउनु हुँदैन भन्दा रुन मन लाग्थ्यो। मलाई पनि लगाइदिए हुन्थ्यो भन्ने सोच्थेँ। मलाई पनि लगाइदिनुस् भन्ने आँट आउँदैन थियो, अनि हेरेर बस्थेँ,” उनी विगत सम्झिँदै भावुक बनिन्।

२०६७ सालमा कीर्तिपुरस्थित ‘बेबी लाइफ होम’ संस्थामार्फत उनी काठमाडौँ आउने मौका पाइन्। त्यसपछि उनको नयाँ जीवनको शुरूआत भयो। भर्खरै शुरू भएको त्यस संस्थामा आउने उनी पहिलो बालिका थिइन्। संस्थामा आएसँगै  नर्सरीदेखि नै पढ्ने मौका पाइन्। उनको पढाइले लय समात्दै गयो।

कीर्तिपुरको एक क्याम्पसमा आफ्नो पहिचान लुकाएर पढ्न गएको अनुभव उनीसँग छ। अहिले उनी कीर्तिपुरकै एक सरकारी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन्। मञ्जुले अहिले आफ्नो पढाइसँगै ‘सफलता एचआईभी शिक्षा सदन’मा प्रधानाध्यापकको पद पनि सम्हालिरहेकी छन्।

कीर्तिपुरको भत्केपाटीमा सञ्चालित बेबी लाइफ होम एचआईभी संक्रमित भई बिचल्ली परेका, संक्रमणका कारण बाआमाको मृत्यु भएका, आफन्तबाट अपहेलित भएका, संस्थाबाट निकालिएका, कोही हेर्ने नभएर सडकलाई आश्रयस्थल बनाइरहेका बालबालिकाका लागि खोलिएको बालआश्रम हो। सफलता एचआईभी शिक्षा सदन चाहिँ तिनै बालबालिका पढ्न खोलिएको विद्यालय हो।

यो विद्यालय विश्वको पहिलो पहिचानसहितको एचआईभी विद्यालयका रूपमा स्थापित भएको छ। लन्डनमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ संस्थाको सर्वेक्षणका आधारमा सफलता एचआईभी शिक्षा सदन एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो। यो आश्रम र विद्यालय राजकुमार पुन र उमा गुरुङ राई मिलेर खोलेका हुन्।

शुरूआती दिनमा पहिचानसहितको विद्यालय स्थापना गर्न निकै सकस परेको राजकुमार सुनाउँछन्। एचआईभी संक्रमित व्यक्तिको नजिक गए संक्रमण सरिहाल्छ भन्ने मानसिकता समाजमा व्याप्त भएकाले राजकुमारलाई सोचे जति सहज भएन। शुरूआतमा  सरकारले अनुमति दिन निकै आनाकानी गरेको थियो। विद्यालय खोल्न भनेर सम्पूर्ण तयारी गर्नुभन्दा पहिला एचआईभी संक्रमणबारे समाजलाई बुझाउन आवश्यक थियो, तर जति सम्झाउन खोज्दा बुझ्न नखोजेपछि साह्रै दुःख भएको राजकुमार सुनाउँछन्।

विद्यालय खोल्न नदिन समाज एकजुट भएर राजकुमारमाथि आक्रमणसमेत गर्‍यो। कतिले उनलाई ‘एचआईभी लागेको छ, त्यसैले एचआईभी लागेका बालबालिका बटुलेर राखेको छ’ भने। कतिले त बालबालिकाको आडमा पैसा खान लाग्यो भन्ने आरोपसमेत लगाएको उनी सुनाउँछन्।

जति नै सकस परे पनि बालबालिकाको उज्ज्वल भविष्यका लागि सबै चुनौती सहेर राजकुमार अघि बढिरहे। उनी भन्छन्, “मैले आफ्नो फाइदाका लागि गरेको होइन। मैले त अरू बालबालिकाले पाउने अधिकार एचआईभी लागेका बालबालिकाले पनि पाउनुपर्छ भनेर उनीहरूको उज्ज्वल भविष्यका लागि पहल गरेको हुँ।”

बालबालिकाको भविष्य अँध्यारोमा नबितोस् भनेर राजकुमारले  आफ्नो घर, अनि उमाले आफ्नो कस्मेटिक पसल बेचेर यो विद्यालय स्थापना गरेका थिए। बालबालिकाको अभिभावक भएर गर्नुपर्ने भूमिका सबै उमा र राजकुमारले गर्दै आएका छन्। आर्थिक रूपमा बालबालिकालाई जति, जे पनि आवश्यक पर्छ शुरूआतदेखि सबै आफ्नो व्यक्तिगत तर्फबाट गरिरहेका छन्।

स्थापनाकालदेखि नै विद्यालयको अध्यक्षमा राजकुमार छन् भने उपाध्यक्ष उमा छिन्। जसरी प्रधानाध्यापकको जिम्मेवारी मञ्जुलाई दिइएको छ, त्यसरी बिस्तारै अध्यक्ष, उपाध्यक्ष यिनै बालबालिकामध्ये योग्यलाई सुम्पिदिने राजकुमार र उमाको योजना छ।

“यो सबै हामीले उनीहरूका लागि गरेका हौँ। हामी यो पदमा हुनुपर्छ भन्ने छैन, जसरी हामीले उनीहरूको जिम्मेवारी पूरा गरेका छौँ। त्यसरी उनीहरूले पनि पछि आउने नानीबाबुहरूको जिम्मेवारी निभाउन सिक्नुपर्छ,” राजकुमार भन्छन्।

सफलता एचआईभी शिक्षा सदनको शुरूआत
राजकुमार र उमाका साथीभाइ समय समयमा आफ्नो पेसाबाट आएको केही रकम उठाएर सहयोग गर्ने गर्थे। कहिले वृद्धा आश्रम, कहिले सडक आश्रित बालिकालाई सहयोग गर्थे। २०६७ सालमा 'एचआईभी संक्रमित बालबालिका बिचल्लीमा' भनेर एक पत्रिकामा समाचार प्रकाशन भयो।

राजकुमार, उमा र उनका साथीहरू ती बालबालिकाको सहयोगका लागि दाङ पुगे। उनीहरूले त्यहाँ भएको ‘दाङ प्लस’ संस्थामार्फत सहयोग हस्तान्तरण गरे। सहयोगका लागि मात्र भनेर दाङ पुगेका उनीहरूको मन ती बालबालिकाको अवस्था देखेर फेरियो। बिचल्लीमा परेका ती बालबालिकालाई काठमाडौँ ल्याउने निधोमा पुगे।

ती बालबालिकालाई काठमाडौँ ल्याउन सहज भने भएन। दाङको प्रमुख जिल्ला अधिकारीसँग अनुमति माग्दा संस्था दर्ता हुनुपर्ने सुझाव आयो। त्यसपछि उनीहरू खाली हात काठमाडौँ फर्किए। काठमाडौँ फर्किएलगत्तै ‘बेबी लाइफ होम’ नामकको संस्था दर्ता गरी शुरूआतमा चार जना बालबालिका ल्याएर सेवा थाले।

तर एचआईभी संक्रमण भएका बच्चा भएका कारण उनीहरूका लागि वासस्थान पाउन निकै कठिन भयो। केही दिन उमाले आफ्नै घरमा लगेर राखिन्। त्यसपछि राजकुमारले आफ्नै घर कीर्तिपुरस्थित भत्केपाटीमा राखे। चार जनालाई ल्याएको केही समयपछि ‘दाङ प्लस’ उनीहरूको अवस्था बुझ्न आइपुग्यो। उनीहरूलाई चित्त बुझेपछि अझै ६ जना बालबालिका थपिदिए। त्यसपछि चार जनाबाट १० जना भए। यी १० जना बैतडी, दाङ, सुर्खेत, कैलाली, रुकुम, सल्यान, दैलेखबाट ल्याइएका थिए।

राजकुमार र उमाको बालबालिकालाई मर्यादित र स्वस्थ नागरिक बनाउने उद्देश्य थियो। समयमा औषधिका साथै पौष्टिक आहार नपाउँदा उनीहरूको स्वास्थ्य नाजुक भइसकेको थियो। त्यसलाई मध्यनजर गर्दै टेकु अस्पतालमा उनीहरूको स्वास्थ्य अवस्थाअनुसारको उपचार गरेको राजकुमार बताउँछन्। 

बालबालिकाको स्वास्थ्यमा सुधारपछि उनीहरूको शिक्षादीक्षाका लागि राजकुमार र उमाले विद्यालय खोज्न थाले। सार्वजनिक तथा निजी विद्यालयमा भर्नाका लागि पहल गरे। तर विद्यालयहरूले एचआईभी संक्रमित भएको कारण देखाउँदै ती बालबालिकालाई भर्ना गर्न मानेनन्।

बालबालिकाले उचित शिक्षा पाउनुपर्छ भन्ने मान्यतालाई मनन गर्दै राजकुमार र उमाले कहीँ कतैबाट उपाय नलागेपछि आफैले विद्यालय खोल्ने निर्णयमा  पुगे। उनीहरूले औपचारिक रूपमा २०६८ सालमा कीर्तिपुर नगरपालिकाबाट प्रारम्भिक बालविकास केन्द्र कक्षा सञ्चालन अनुमति लिएर बालबालिकालाई शिक्षाको पहिलो खुड्किलोको शुरूआत गराए। विसं. २०६९ सालमा फेरि प्राथमिक तहका लागि जिल्ला शिक्षा कार्यालयसँग प्रस्ताव राखे। र पहिचानसहित विद्यालयको नाम सफलता एचआईभी शिक्षा सदन दर्ता गरी कक्षा १ देखि ५ कक्षासम्म विद्यालय सञ्चालनको अनुमति प्राप्त गरे।

विद्यालयमा एचआईभी संक्रमित बालबालिका थपिँदै गए त्यहाँ भएका बालबालिका हुर्किँदै गए। अब ५ कक्षासम्मले मात्र नपुग्ने भयो। फेरि राजकुमार २०७३ सालमा आधारभूत तहका लागि जिल्ला शिक्षा कार्यालय पुगे र ६ देखि ८ कक्षासम्मको अनुमतिपत्र लिए। त्यसको दुई वर्षपछि फेरि १० कक्षासम्मको विद्यालय सञ्चालनका लागि कीर्तिपुर नगरपालिका पुगेर अनुमति ल्याए। अहिले यो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ।

विद्यालयमा हाल २८ जना एचआईभी संक्रमित बालबालिका अध्ययनरत छन्। उनीहरूलाई पढाउन बाहिरबाट शिक्षकहरू आउन डराउने, उनीहरूले मागेजति तलब दिन पनि दिन नसकिएकाले त्यहीँ वरपर क्याम्पस पढ्दै गरेकाहरूले शिक्षकको भूमिका निभाइरहेको प्रधानाध्यापक मञ्जु बताउँछिन्। ६ जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आइरहेका छन्। विद्यालय स्थापना भएदेखि अहिलेसम्म दुई समूहले एसईई दिइसकेका छन्। यसपालि तेस्रो समूहले एसईई दिएको छ।

समाजमा एचआईभीप्रतिको दृष्टिकोणमा परिवर्तन आइनसकेका कारण क्याम्पस पढ्दालगायतका काममा पहिचान लुकान बाध्य छन् उनीहरू। सबैले क्याम्पस प्रमुखबाहेक अरूबाट पहिचान लुकाएर पढाइरहेको छन्। एक जना विद्यार्थीलाई भविष्यमा एचआईभी संक्रमित बालबालिकाको निःशुल्क उपचारका लागि भनी एमबीबीएस पढ्न पठाएको राजकुमार बताउँछन्।

अन्य विद्यालयमा जस्तै यहाँ पनि अंग्रेजी माध्यमबाट पढाइ गराउने, खेलकुद, वार्षिक उत्सव, पिकनिक लैजाने, दशैँ, तिहार, होलीलगायतका चाडपर्व पनि आपसमा मिलेर मनाउन गरिन्छ।

यो विद्यालय राजकुमारले आफ्नो घर अनि उमाले कस्मेटिक पसल बेचेर खडा गरेका हुन्। उनीहरू अहिले यहाँ अध्ययनरत बालबालिकाको अभिभावकको भूमिका निभाइरहेका छन्।

उनीहरूले विद्यालय सञ्चालनका लागि आवश्यक आर्थिक जोहो शुरूआतदेखि नै व्यक्तिगत हिसाबले गरिरहेका थिए। तर सफलता एचआईभी शिक्षा सदन विश्वको पहिलो पहिचानसहितको एचआईभी विद्यालय भन्ने थाहा भएपछि २०७७ सालदेखि सरकारले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ।

संघीय सरकारले कीर्तिपुर नगरपालिकाको शिक्षा समितिमार्फत पनि वार्षिक रूपमा १० लाखदेखि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ। यसले गर्दा आर्थिक रूपमा सहज भएको राजकुमार बताउँछन्। “कतिपयले व्यक्तिगत हिसाबले पनि सहयोग गर्ने गर्नुभएको छ,” उनले भने।