साढे चार दशकदेखि निरन्तर सञ्चालनमा रहेको जडीबुटी कम्पनी राजावादी समूहले क्षणभरमै खरानी बनाउँदा एउटा सरकारी उद्योगको इतिहाससँगै करिब पाँच सय श्रमिकको रोजीरोटी संकटमा परेको छ।
काठमाडौँ– पछिल्ला केही दिनयता संगीता यादवको दिनचर्या सिंहदरबार धाउँदै बितिरहेको छ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी महाप्रबन्धक संगीता मन दुखे पनि हिम्मत टुट्न नदिन संघीय सरकार गुहारिरहेकी छन्। आफू प्रमुख रहेको कम्पनी र त्यसमा जोडिएका श्रमिकहरूको रोजीरोटी जोगाउनु छ। त्यसैले त उनी वन तथा वातावरण मन्त्रालयको ढोका ढकढक्याउँदै छिन्।
गत चैत १५ गते जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तीनकुनेमा वितण्डा मच्चाएर तितरबितर भएको राजावादी समूहले गरेको आगजनीबाट खरानी बनेको थियो। २०३८ सालदेखि निरन्तर सञ्चालनमा रहेको यो कम्पनी फेरि सञ्चालनमा आउने हो कि होइन भन्ने अन्योल छ। त्यही अन्योल चिर्न संगीताको दौडधुप चलेको छ।
प्रारम्भिक अध्ययनअनुसार आगजनीबाट कम्पनीमा करिब २८ करोड रुपैयाँको क्षति पुगेको छ। “अकल्पनीय विपत्ति आयो। यो केवल व्यापारको विषय थिएन, इतिहास थियो, सपना थियो, हाम्रो जीवन थियो।,” उनले भनिन्, “खरानी पन्छाएर पनि उठ्नुपर्छ भनेर हामी मन्त्रालय र अरू सरोकारवालासँग पुगिरहेका छौँ।”
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने ‘सन्चो’ नेपालीमाझ परिचित ब्रान्ड हो। सन्चो लगायतका उत्पादनलाई फेरि निरन्तरता दिन वन मन्त्रालयसँग तत्कालै १० करोड रुपैयाँ सहयोग मागेको संगीता बताउँछिन्। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले भने, “कम्पनीलाई जुन क्षति भयो, त्यो अकल्पनीय छ। यो पुनर्जागरण हाम्रो जिम्मेवारी हो। तर सहयोग कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ।”
बिस्तार गर्ने छलफल चल्दै थियो, आगो दन्कियो
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सरकारको पूर्ण स्वामित्वमा सञ्चालित छ। काठमाडौँको जडीबुटीमा अवस्थित यो कम्पनीले देशभर रहेका आफ्नै जग्गामा जडीबुटी खेती व्यवस्थापन गर्दै आएको छ। आफ्नै खेतबारी र वनजंगलबाट समेत संकलित जडीबुटी प्रशोधन गरेर ‘सन्चो’ लगायत औषधिजन्य तेल उत्पादन गर्ने यो कम्पनी व्यवसाय विस्तारमा जुटिरहेको थियो। त्यसका लागि ६ वटा प्रदेशमा आफ्ना शाखा विस्तार गरिसकेको कम्पनीले थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी पनि गरिरहेको थियो।
राजावादी समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्दैछन् भन्ने खबर कम्पनीका कर्मचारीहरूले सुनेका थिए। तर प्रदर्शन शान्तिपूर्ण हुने खबर प्रवाह भएकाले तीनकुने भएरै कार्यालय पुगेकाहरू पनि नियमित काममा व्यस्त थिए। महाप्रबन्धक संगीता यादव पाँचजना कर्मचारीसहित बैठक कक्षमा थिइन्। संगीताका अनुसार त्यो बैठकमा यसै साता कम्पनीको नयाँ उत्पादन (सन्चो मह र सन्चो शुद्ध टिमुर) बजारमा लैजाने योजनाबारे छलफल हुँदै थियो। बैठकमा सात प्रदेशमध्ये बाँकी रहेको लुम्बिनी प्रदेशमा पनि कम्पनीको शाखा विस्तार गर्ने छलफलसमेत चलिरहेको थियो।
शुक्रबार भएकाले तीन बजेतिर अरू कर्मचारी कार्यालयबाट हिँडे। साढे तीन बजेतिर संगीताले बैठक कक्षबाट बाहिर हेर्दा देखिन्– जडीबुटी चोकमा भिड जम्मा भएको थियो, नारा लागिरहेका थिए। केहीबेरमै त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप हुन थाल्यो। “जडीबुटी चोकको दृश्य देखेर हामी आत्तियौँ, अब कसरी जाने होला भन्ने भयो,” उनले भनिन्, “तर बाहिर निस्कन सम्भव थिएन। किनभने हामी निस्कने बाटो त्यही झडप भइरहेकै ठाउँ थियो।”
त्यतिन्जेल उनलाई त्यो भिड आफ्नो कार्यालयतर्फ सोझिएर आगो लगाउला भन्ने चाहिँ लागेकै थिएन।
त्यो दिन कम्पनीको सुरक्षार्थ खटिएका सुरक्षागार्ड अमर रोकाका अनुसार तीनकुनेमा झडप हुँदा प्रहरीले बल प्रयोग गरेर लखेटेपछि प्रदर्शनकारीहरू कोटेश्वर चोक आइपुगेका, त्यहाँ पनि प्रदर्शन गर्न नपाएपछि जडीबुटी चोकमा जम्मा भएका थिए। त्यहाँ उनीहरूले बर्गर हाउस र मेडिकल रहेको घरमा ढुंगामुढा गरेका थिए। त्यसबेला जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको एउटा टोली थियो।
“सशस्त्र प्रहरीले शुक्रबार दिउँसो हाम्रै अफिसमा गाडी राखेका थिए। जडीबुटी चोकमा झडप हुँदा १५–२० जना सशस्त्र प्रहरी सोही गाडीमा बसेर खाजा खाँदै थिए,” रोकाले भने, “नेपाल प्रहरीका ५–६ जना पनि हाम्रै गेटनेर उभिएका थिए। गेटमा प्रहरीलाई देखेपछि उनीहरूले ‘यहाँ प्रहरी रहेछ हान, हान’ भन्दै हाम्रो मुख्य कार्यालय भवनका झ्यालमा ढुंगा हाने।”
त्यतिन्जेल रोकाले गेट लगाउन भ्याइसकेका थिए। तर कम्पनी परिसरभित्र सशस्त्र प्रहरी देखेपछि प्रदर्शनकारीको एउटा समूह गेट तोडेर भित्र पस्यो। “गेटको ताल्चा तोडेर ५–६ जना प्रदर्शनकारी पेट्रोल भरिएको ग्यालेन र लाइटर बोकेर भित्र आए। उनीहरूलाई भित्रै रहेका प्रहरीले बाहिर लखेटेको भए गाडीहरूमा आगो लगाउन पाउँदैनथे कि?” रोकाले भने, “तर प्रहरी नै सुरक्षित ठाउँ खोजेर भागे, प्रहरी भागेपछि हामी पनि लुक्न बाध्य भयौँ। त्यसपछि थपिँदै गएका प्रदर्शनकारीले त्यहाँ रहेका गाडीमा एकएक गर्दै आगो लगाए।”
प्रदर्शनकारीले कम्पनी परिसरमा पार्किङ गरिएका १३ वटा कार, जिप र भ्यानमा आगो लगाएका थिए। कम्पनी परिसरमै रहेका ६ वटा मोटरसाइकल पनि जलाइदिए। “गेटमै प्रहरी उभिएको देखेपछि उनीहरूले ढुंगामुढा गरे, प्रहरीले बल प्रयोग गरिदिएको भए सायद आगो लाग्न पाउँदैनथ्यो कि?” उनले भने, “अब कमजोरी कसको भन्ने त हामीले कसरी भन्नु। तर सरकारी संस्थामाथि यति ठूलो क्षति पुग्यो।”
दमकल आइपुग्न लागेका चार–पाँच घण्टा
प्रदर्शनकारीहरूले कम्पनी परिसरमा पसेर गाडीहरूमा आगजनी शुरु गरेपछि बैठक कक्षबाट आत्तिएर निस्केका महाप्रबन्धक संगीतासहितका कर्मचारी कार्यालयको पछाडिको झ्यालबाट हामफालेर बाहिर निस्केका थिए। बाहिर निस्कँदा प्रदर्शनकारीको एउटा समूह त्यहीँ थियो। त्यो समूहले उनीहरूलाई परसम्म लखेट्यो। “प्रहरीलाई संरक्षण गर्ने सरकारी कर्मचारी तिमीहरू नै होइनौ भन्दै प्रदर्शनकारीहरूको एउटा समूहले हाम्रा हाकिमहरूलाई पनि लखेटेको थियो,” रोकाले भने, “तर उहाँहरूलाई परसम्म लखेटेपछि प्रदर्शनकारीहरू फर्केर फेरि अरू गाडीमा आगो लगाउन थाले।”
भित्री सडकबाट पर पुगेर सुरक्षित भएका दुईजना कर्मचारी केही बेरपछि फर्केर कार्यालय नजिक आए। त्यतिन्जेल प्रदर्शनकारीले दुईवटा भवनमा आगो लगाइसकेका थिए। उनीहरूले कारखानाको प्लान्ट, ल्याब, कच्चा पदार्थ, प्याकेजिङ गरिएका उत्पादनहरू राखिएका ती भवन खरानी बनेको हेरिरहे। हेर्दाहेर्दै विभिन्न किसिमका उपकरण र कम्पनीका दस्ताबेजहरू पनि खरानीमा विलीन भए। महाप्रबन्धक संगीता भन्छिन्, “यो सब देख्दा आँसु थामिएनन्, तैपनि सम्हालिएर दमकल बोलाएँ। सीडीओदेखि मन्त्रालयका सचिवलाई फोन गरेर घटनाबारे बताएँ। तर दमकल समयमै आएन।”
प्रदर्शनकारीको एउटा उग्र समूहले कम्पनीमा आगो लगाउँदै गरेको दृश्य स्थानीय बासिन्दासँगै अरूले पनि मोबाइलमा कैद गरेका थिए। कतिपयले फेसबुकमा लाइभ नै गरेका थिए। तर साढे तीन बजेतिर शुरू भएको आगजनीले जलेको कम्पनीमा दमकल आएर आगो निभाउँदा बेलुकीको ८ बजिसकेको थियो। त्यतिन्जेल आगोले कम्पनीलाई लगभग सखाप पारिसकेको थियो।
“हामी असाध्यै बेसहारा भएका थियौँ,” महाप्रबन्धक संगीताले भनिन्, “दमकल बोलाउन पत्रकारहरूले पनि सहयोग गर्नुभयो। दमकल आइपुगेपछि कम्पनीका श्रमिक साथीहरू पनि आगो निभाउन खटिनुभयो।”
कम्पनीसँगै साढे चारसय श्रमिकको रोजीरोटीमा प्रश्न
आगजनीबाट खरानी बनेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी अब पुरानै स्वरूपमा कहिले फर्किएला? कम्पनीले अहिलेकै अवस्थामा पनि करिब ६ महिना कम्पनी सञ्चालनमा आउन नसक्ने प्रक्षेपण गरेको छ। हुन पनि आगो लाग्दा कम्पनीको सिंगो उत्पादन प्रणाली नै खलबलिएको छ।
अब मेशिन, उपकरण, ल्याब, कच्चा पदार्थ सबै नष्ट भएकाले औषधिजन्य उत्पादन पुनः शुरू गर्न आफैमा चुनौती छ। उत्पादन रोकिएसँगै त्यसमा आबद्ध श्रमिकहरूको रोजीरोटीमै संकट आइलागेको छ। कम्पनीको केन्द्रीय कार्यालयमा मात्र ६० जना श्रमिकहरूले काम गरिरहेका थिए।
यसबाहेक अन्य शाखाहरूमा करिब चार सय श्रमिक कार्यरत छन्। कम्पनीको केन्द्रीय कार्यालयमा भएको क्षतिले शाखाहरूमा पनि असर परेको छ। किनभने धेरैजसो त्यहाँ उत्पादित कच्चापदार्थ प्रशोधनका लागि केन्द्रमै आउँथे। केन्द्रमा प्रशोधन रोकिएपछि जिल्लाका श्रमिकहरूले कच्चा पदार्थ पठाउन पाएका छैनन्।
कम्पनी जलाइएपछि भोलिपल्ट बिहान साढे सातबजे नै कार्यालय पुगेका कर्मचारी र श्रमिकहरूलाई महाप्रबन्धक संगीताले भनेकी थिइन्, “जे भयो, अत्यन्त दुःखद भयो। अब जसरी भए पनि कम्पनीलाई नयाँ जीवन दिन हामी जुट्नुपर्छ।”
कम्पनी आफैले कच्चा पदार्थ उत्पादन गर्ने, त्यसको प्रशोधन गर्ने र उत्पादन बिक्री गरी कर्मचारी र श्रमिकका लागि तलब जुटाउँदै आएको थियो। भवन, उपकरण, ल्याब सबै जलेकाले त्यसको प्रबन्ध तत्कालै कहाँबाट होला त? कम्पनीका कर्मचारी र श्रमिकले यही प्रश्न गर्दा उत्तर महाप्रबन्धकसँग पनि थिएन। कम्पनीको सेयर सदस्यमा नेपाल सरकार, नेपाल औषधि लिमिटेड, कृषि विकास बैंक लगायत छन्। उनीहरूले कम्पनी पुनः सञ्चालनमा ल्याउन के पहल गर्छन् भन्ने त प्रस्ट छैन, कम्पनीले तत्काल सरकारकै सहयोग खोजिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
