प्राकृतिक सुन्दरताले भरिपूर्ण कश्मीरलाई ‘भारतको स्विट्जरल्यान्ड’, ‘धर्तीको स्वर्ग’लगायत अनेक उपमा दिइन्छ। तर, हिमालयको काखमा रहेको सुन्दर र जातीय विविधतायुक्त यो भूमि वर्षौंदेखि हिंसाबाट आक्रान्त छ।
काठमाडौँ– भारतको जम्मू–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा गत मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भयो। आमा, बहिनी र ज्वाइँसँग जम्मू–कश्मीर घुम्न गएका रुपन्देही, बुटवल–११ का सुदीप न्यौपाने आक्रमणकारीको निशानामा परेका हुन्। त्यो घटनामा अरु दर्जनौँ घाइते भएका छन्।
सेनाको आवरणमा आएका हतियारधारीले पर्यटकको नाम र धर्म सोध्दै एक–एक गरी निशाना बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यो आतंकवादी हमलापछि जम्मू–कश्मीरसहित राजधानी दिल्लीमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ। जम्मू–कश्मीर घुम्न गएका अधिकांश पर्यटक घर फर्किसकेका छन्। अहिले पहलगाम क्षेत्र सुनसान बनेको छ।
सशस्त्र समूह ‘द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)’ले आक्रमणको जिम्मेवारी लिएको छ। टेलिग्राममा राखिएको सन्देशमा टीआरएफले ‘बाहिरिया’लाई बसोबास अनुमतिको विरोध गरेको छ। “अवैध रूपमा बसोबास गर्ने प्रयास गर्नेहरूतर्फ हिंसा निर्देशित हुनेछ,” उक्त सन्देशमा भनिएको छ। उनीहरूको सन्देश साढे पाँच वर्षपहिले भारत सरकारले खारेज गरेको संविधानको धारा ३७० सँग सम्बन्धित छ।
जम्मू–कश्मीरमा एकतर्फ प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वको आकर्षण छ भने अर्कोतर्फ आतंकवादको त्रास। आखिर कसरी आतंकवादको जालोमा फस्यो कश्मीर? यसलाई बुझ्न टीआरएफ, धारा ३७० हुँदै भारत–पाकिस्तान अलग भएको १९४७ सम्मको घटनाक्रमको धागो पहिल्याउनुपर्छ।
धारा ३७० सँगै उदाएको टीआरएफ
सन् २०१९ अगस्ट ५ मा मोदी सरकारले जम्मू–कश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गर्यो र केन्द्रशासित प्रान्तमा विभाजित गरिदियो। त्यसअघि भारत राज्यहरूको संघ हो भनी उल्लेख गरिएको संविधानको धारा १ बाहेक जम्मू–कश्मीरमा अन्य कुनै धारा लागू हुँदैनथ्यो। त्योसँग आफ्नै संविधान, झन्डा र कानून बनाउने अधिकार थियो। अन्य राज्य (प्रान्त) का मानिसहरूले जम्मू–कश्मीरमा सम्पत्ति किन्न सक्दैनथे। त्यहाँको मामिलामा केन्द्र सरकारको सीमित अधिकार हुन्थ्यो।
उक्त धारा खारेज गर्दै कश्मीरलाई पुनर्गठन गर्दा भारत सरकारले गैरस्थानीयहरूलाई भूमि स्वामित्व अधिकार र सरकारी प्रायोजित रोजगार कोटामा पहुँच अनुमति दिने अधिवास स्थिति पनि विस्तार गरेको थियो।
एकतर्फी रूपमा जम्मू–कश्मीरको आंशिक स्वायत्तता खारेज गर्दै भारत सरकारले त्यहाँ महिनौँ लामो बन्देज लगाएपछि सामाजिक सञ्जालमा सन्देश लेख्दै आरटीएफले आकार लियो।
त्यतिबेला जनरल विपिन रावत भारतीय सेनाप्रमुख थिए। त्यही वर्ष डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा जनरल रावतको मृत्यु भएपछि नयाँ सेनाप्रमुख बनेका जनरल मुकुन्द नरवणेले पदभार ग्रहण गर्दै कश्मीर अझै केही समयका लागि सुरक्षाका हिसाबले संवेदनशील रहने बताएका थिए। नरवणेले सन् २०२० को मेमा सार्वजनिक रूपमै टीआरएफलाई आतंकवादी समूहको मोर्चा भन्दै पाकिस्तानले सहयोग गरेको आरोप लगाए।
भारतीय सञ्चारमाध्यम एएनआईसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “म यसलाई आतंकवादी पुनरुत्थान मोर्चा भन्नेछु। यो आतंकवादी संगठनलाई सीमापारिबाट यसका मालिकले मद्दत गरिरहेका छन्। यसलाई उचित रूपमा व्यवहार गरिनेछ।”
भारतको गृह मन्त्रालयले २०२३ जनवरीमा टीआरएफलाई आतंकवादी संगठन घोषणा गर्यो। त्यसबेला जारी एक सूचनामा गृह मन्त्रालयले टीआरएफलाई पाकिस्तानआधारित लस्कर–ए–तोएबाको एक अग्रणी संगठन उल्लेख थियो। उक्त सूचनाका अनुसार टीआरएफ आतंकवादी गतिविधिलाई उक्साउन अनलाइन माध्यमबाट युवालाई भर्ती, प्रचारप्रसारका साथै घुसपैठलाई सहज बनाउने र पाकिस्तानबाट जम्मू–कश्मीरमा हतियार र लागूपदार्थको तस्करीमा संलग्न छ।
भारतीय अधिकारीहरूका अनुसार साम्प्रदायिक हिंसाबाट ध्यान मोड्ने उद्देश्यले यस संगठनको नाम ‘द रेजिस्टेन्स फ्रन्ट–टीआरएफ’ राखिएको हो। भारतीय थिंक ट्यांक, अब्जर्भर रिसर्च फाउन्डेसन भन्छ, “कश्मीरमा ठूला हिंसात्मक आक्रमण गर्ने अन्य आतंकवादी समूहभन्दा फरक टीआरएफले अल्पसंख्यक, गैरस्थानीय, प्रहरी, सुरक्षाकर्मीमाथि नजर राख्ने गरेको छ।” २०२० अप्रिलयता जम्मू–कश्मीरमा भएका २५ भन्दा बढी आक्रमणमा टीआरएफको नाम जोडिएको छ।
भारतीय अधिकारीहरूका अनुसार कश्मीरमा पर्यटकसहित हिन्दू, सिख, आप्रवासी कामदार र प्रहरीको हत्या गरेर टीआरएफले कश्मीर बाहिरियाका लागि खतरनाक छ भन्ने सन्देश दिन खोजिरहेको छ। उसले आफ्नो हिंसालाई अधिकारको लडाइँका रूपमा प्रस्तुत गर्ने र उसलाई पाकिस्तानले भरथेग गरिरहेको भारतीय अधिकारीहरु बताउँछन्।
केही दिनअघि इस्लामाबादमा आयोजित प्रवासी पाकिस्तानी सम्मेलनमा सम्बोधन गर्दै त्यहाँका सेनाप्रमुख असीम मुनिरले कश्मीरमा आफ्नो देशको अडान पूर्ण रूपमा स्पष्ट रहेको बताएका थिए। ओसिन टीभीले अप्रिल १७ मा शेयर गरेको भिडियोमा मुनिर भन्छन्, “कश्मीर पाकिस्तानको घाँटीको नसा हो। पाकिस्तानले यसलाई बिर्सने छैन र यस क्षेत्रको ‘संघर्ष’सँग ऐक्यबद्धता व्यक्त गर्दछ।”
उनले यस्तो अभिव्यक्ति दिएको केही दिनमा आतंकवादी आक्रमण हुनुलाई भारतले गम्भीर रूपमा हेर्नु अस्वाभाविक देखिँदैन। आतंकवादी हमलाको प्रतिक्रिया स्वरूप भारतले बुधबार पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित गरिसकेको छ। यता पाकिस्तानले पनि भारतको कदमको प्रतिक्रिया स्वरूप भारतसँगका द्विपक्षीय सम्झौता, कूटनीतिक सम्बन्ध, हवाई क्षेत्र तथा व्यापार सम्बन्ध स्थगनको घोषणा गरेको छ।
कसको हो कश्मीर?
अंग्रेज उपनिवेशबाट भारत स्वतन्त्र भएदेखि नै आतंकवादीको तारो बन्दै आएको हो त्यो क्षेत्र। जम्मू–कश्मीर राज्य भने १८४६ मार्चमा अस्तित्वमा आएको थियो। पहिलो एंग्लो–सिख युद्धपछि अमृतसरमा भएको सन्धिमा अंग्रेजले कश्मीरलाई ७५ लाख नानकशाही रुपैयाँमा जम्मूका डोगरा जागिरदार गुलाब सिंहलाई बेचेका थिए।
प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र कश्मीरलाई ‘भारतको स्विट्जरल्यान्ड’, ‘धर्तीको स्वर्ग’लगायत अनेक उपमा दिइएको छ। तर, हिमालय पर्वतमा रहेको सुन्दर र जातीय विविधतायुक्त यो भूमि वर्षौंदेखि हिंसाबाट आक्रान्त छ।
सन् १९४७ मा बेलायतले आफ्नो पूर्वउपनिवेश भारतलाई दुई देशमा विभाजित गर्दा यसको भविष्य अनिर्णत रह्यो। भारतीय स्वतन्त्रता ऐन १९४७ अनुसार सबै नागरिकलाई उनीहरू भारतमा बस्ने कि पाकिस्तानमा सामेल हुने भन्ने छनोट गर्ने सुविधा दिइएको थियो। ब्रिटिस इन्डियाभित्र हिन्दूहरूसहितको विशाल भूभाग भारत बन्यो भने मुस्लिम बहुल क्षेत्र पाकिस्तान देश बनेर छुट्टियो।
ब्रिटिस शासनकालमा सुरक्षित र भारतको सबैभन्दा ठूलो विशेषाधिकारप्राप्त जम्मू–कश्मीरमा गुलाब सिंहका वंशज महाराजा हरि सिंहले शासन गरिरहेका थिए। त्यहाँको मुस्लिमबहुल जनसंख्याका कारण यो राज्य आफूसँगै जानेमा पाकिस्तान विश्वस्त थियो, तर हरि सिंहले आफ्नो राज्यलाई पाकिस्तान र भारतमा विलय गर्न चाहेनन्। उनले स्वतन्त्र रहने निर्णय गरे।
हरि सिंहले अस्वीकार गरेपछि पाकिस्तानले कश्मीर कब्जा गर्न अर्को रणनीति अपनायो। उसले सन् १९४७ अक्टोबरमा जम्मू–कश्मीर कब्जा गर्न पस्तुन आक्रमणकारी (कतै कबिला पनि भनिएको)को भेषमा सेना पठायो।
यी आक्रमणकारीलाई कश्मीरका स्थानीय मुस्लिम समुदायको समेत समर्थन थियो। त्यसपछि पूरै जम्मू–कश्मीर क्षेत्रमा आक्रोश मच्चियो, जताततै रक्तपात। त्यहीँबाट हो, भारत–पाकिस्तान युद्धको रूपरेखाले आकार लिनथालेको। त्यहीबेला पाकिस्तानले कश्मीरको केही भाग आफ्नो कब्जामा लियो। जसलाई ‘पाकिस्तानप्रशासित कश्मीर’ (पीओके) पनि भनिन्छ। त्यही रक्तपात देख्न नसकेरै महाराजा हरि सिंहले अक्टोबर २६ मा भारतसँग जम्मू–कश्मीर भारतलाई सुम्पिने र त्यसको बदलामा सैन्य सहयोग माग्ने सम्झौता गरे।
त्यसपछि भारतले सन् १९४८ जनवरी १ मा कश्मीर मुद्दालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा राख्यो। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव ४७ पारित गर्दै दुवै देशलाई युद्धविराम गर्न आग्रह गर्यो। साथै पाकिस्तानलाई जम्मू–कश्मीरबाट तत्काल फिर्ता हुन आग्रह गरियो।
१९५२ नोभेम्बर १७ मा भारतको संविधान संशोधन गरी धारा ३७० कायम गरियो। जसअन्तर्गत जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिइएको थियो। पछि १९५७ मा कश्मीरको संविधान लागू भयो। यससँगै जम्मू र कश्मीर भारतीय संघको अभिन्न अंग बन्यो। त्यसपछि पाकिस्तानले लगातार कश्मीरको मुद्दा उठाउँदै आएको छ।
अहिले कश्मीरको ४५ प्रतिशत भूभाग मात्र भारतको नियन्त्रण छ। यसमा जम्मू, कश्मीर उपत्यका र लद्दाखको अधिकांश भाग समावेश छ। यसका साथै सियाचिन ग्लेसियर र यसको ७० प्रतिशत जनसंख्या पनि समावेश छ। पाकिस्तानले कश्मीरको ३५ प्रतिशत भाग (झन्डै आधा नेपाल बराबर) नियन्त्रण गर्दछ, जसमा आजाद कश्मीर र गिलगिट, बलुचिस्तान समावेश छन्।
भारत र पाकिस्तानसँगै, चीनले पनि कश्मीरको लगभग १५ देखि २० प्रतिशत भाग नियन्त्रणमा लिएको छ जसमा अक्साई चीन क्षेत्र र प्रायः बसोबास नभएको ट्रान्स काराकोरमका केही भाग र डेमचोक क्षेत्र समावेश छन्।
‘स्वर्ग’मा यसरी घुस्यो आतंकवाद
भारतीय–पाकिस्तानीबीच बेलाबेला सैन्य आक्रमण हुने गरेको जम्मू–कश्मीर क्षेत्रमा आतंकवाद सलबलाउन थालेको भने सन् १९८७ पछि हो। जम्मू–कश्मीरको विधानसभा चुनावमा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले नेसनल कन्फ्रेन्स नेता फारुख अब्दुल्लासँग मिलेर निर्वाचनमा धाँधली गरेका थिए।
यसलाई जम्मू–कश्मीरको इतिहासकै ‘कालो दिन’ मानिन्छ। गान्धी सरकारले त्यतिबेला कश्मीरी मुस्लिम समुदायलाई मतदानबाट समेत वञ्चित गरेको थियो। निर्वाचनमा धाँधली भएपछि त्यस क्षेत्रमा व्यापक आक्रोश पैदा भयो, त्यसको परिणाम स्वरूप सन् १९८९ सम्ममा जम्मू–कश्मीरमा आतंकवादको उदय भयो।
चुनाव हार्ने नेताले हतियार उठाए। सन् १९८९ मा आतंकवादीहरूले गृहमन्त्री मुफ्ती मोहम्मद सईदकी छोरीलाई अपहरण गरे। पछि गृहमन्त्रीकी छोरीलाई छुटाउन १३ जना आतंकवादीलाई रिहा गरिएको थियो।
साउथ एशिया टेररिजम पोर्टलका अनुसार जम्मू–कश्मीरभित्र ६ वटा समूह सक्रिय छन् भने लस्कर–ए–तोयबालगायत ११ वटा चरमपन्थी समूहलाई प्रतिबन्ध लगाइएको छ।
सबैजसो चरमपन्थी/आतंकवादी समूहलाई पाकिस्तानको पूरापूर सहयोग रहने गरेको भारतीय पक्षको दाबी छ। भारत सरकारको तथ्यांकअनुसार, सन् १९९० देखि हालसम्म जम्मू–कश्मीरमा पाकिस्तान प्रायोजित आतंकवादका कारण लगभग ४२ हजार मानिसको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा सर्वसाधारण, सुरक्षाकर्मी र आतंकवादीसमेत छन्।
पहलगाम आक्रमणको सन्दर्भ
धारा ३७० हटाएसँगै भारत सरकार जम्मू–कश्मीरलाई पर्यटनअनुकूल गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय छ। २०२३ मे मा श्रीनगरले तेस्रो जी२० पर्यटन कार्य समूहको बैठक नै आयोजना गरेको थियो। पछिल्ला केही वर्षयता भारतले कश्मीरमा कार्यक्रम आयोजनालाई प्रवर्द्धन गर्ने नीति लिएको छ। साथै, जम्मू–कश्मीरमा चलचित्रको छायांकनलाई प्रवर्द्धन गर्न चलचित्र नीतिको पनि निर्माण गरिएको छ।
त्यसैले यस आक्रमणलाई पाकिस्तानको निराशाका रूपमा हेरिएको भारतीय पक्षको दाबी छ। सन् २०१९ पछि कश्मीर तीव्र रूपमा शान्त र व्यवस्थित हुँदै गएकाले पाकिस्तानले त्यो सहन नसकेको पूर्वआईपीएस तथा रक्षा विज्ञ शान्तनु मुखर्जी बताउँछन्।
पाकिस्तानी सेनाप्रमुखको भनाइलाई नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै पहलगाममा भएको आतंकवादी हमलाबारे डीडब्ल्यू हिन्दीसँगको कुराकानीमा मुखर्जी भन्छन्, “पाकिस्तानका सेना प्रमुखले हालै कश्मीर इस्लामाबादको एक महत्त्वपूर्ण रक्तनली हो भनी एक बयान दिएका छन्। यो बयानको कुनै आवश्यकता थिएन। हामी पाकिस्तानी सेनाप्रमुखको बयानलाई यस घटनाबाट अलग देख्न सक्दैनौँ, यसलाई पूर्ण रूपमा हेर्नुपर्छ। कश्मीरको अवस्था सुधार हुँदैछ, त्यहाँ शान्ति कायम छ, तिनीहरू (पाकिस्तान) यो सहन सकिरहेका छैनन्।”
यता, जुलाई ३ देखि अगस्ट ९ सम्म हुन लागेको अमरनाथ यात्राका लागि अप्रिल १४ बाट दर्ता शुरू भएको छ। नेपालबाट पनि धेरै तीर्थालु सहभागी हुने अमरनाथ यात्राका लागि पहलगाम मार्ग महत्त्वपूर्ण मानिन्छ।
यो यात्राका क्रममा झनै सतर्कता अपनाउनुपर्ने भारतीय सेनाका पूर्वलेफ्टिनेन्ट जनरल उत्पल भट्टाचार्य बताउँछन्। “यस्ता घटना अझै पनि हुन सक्छन्। यी क्षेत्रमा ‘स्लिपर सेल’ अझै सक्रिय छन्। त्यसैले सुरक्षा बलहरू अझ सतर्क हुनुपर्छ,” उनी भन्छन्।
भारत–पाकिस्तानी सेनाबीचको सन् १९९९ को कार्गिल युद्धयता जम्मू–कश्मीर विश्वको सबैभन्दा धेरै सैन्यकृत क्षेत्रमध्ये पर्छ। आणविक हतियारसम्पन्त दुई छिमेकी देश यसअघि धेरै पटक युद्धको संघारमा पुगेका छन्। यस पटकको आतंकवादी आक्रमणपछि यो मामिलाले कुन रूप लेला भनेर अनुमान गर्न नसकिने भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
–एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
