‘थोरै संख्याका धनाढ्य पुरुषहरूले समाचार मात्र नभई, विश्वव्यापी राजनीतिको दिशालाई पनि आकार दिएका छन्। काम गर्न झन्झन् गाह्रो हुँदैछ।’
बलात्कार पीडितको विषयमा बनाइएको डकुमेन्ट्री ‘देवी’ काठमाडौँमा पनि प्रदर्शन गरिएको छ। सशस्त्र संघर्षको बेला पक्राउ परेकी देवी खड्काले हिरासतमा पाएको यातना र बलात्कारको विषय डकुमेन्ट्रीमार्फत उठाइएको छ। देवी माओवादीको सशस्त्र संघर्षमा सहभागी थिइन्। त्यो समयमा यौन हिंसामा परेका महिलाका पक्षमा आवाज उठाउन उनले ‘द्वन्द्वमा बलात्कारपीडित महिला राष्ट्रिय संगठन’ बनाएकी छन्। उनी संविधानसभा सदस्य र मन्त्रीसमेत भइन्।
उनै देवीको कथालाई डकुमेन्ट्रीमा उतार्ने काम पत्रकार सुबिना श्रेष्ठले गरेकी हुन्। श्रेष्ठले लामो समय अल जजिरामा काम गरिन्। उक्त सञ्चारमाध्यममा काम गर्दा नेपालसहित विभिन्न मुलुक पुगेर धेरै विषयमा भिडियो स्टोरी गरेको उनीसँग अनुभव छ। श्रेष्ठसँग उकालोका लागि आमोद प्याकुरेल र किरण दहालले डकुमेन्ट्री र पत्रकारिताबारे गरेको कुराकानीः
नेपालमा पनि प्रदर्शन गरिएको तपाईंको डकुमेन्ट्री देवीबारे कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
डकुमेन्ट्री हेर्नेहरूबाट एकदम राम्रो प्रतिक्रिया पाएको छु। केही दिनअगाडि महिला राजनीतिज्ञहरूले पनि हेर्नुभयो। माओवादी नेताहरूले ‘हाम्रो दलमा यस्तो भएको छैन’ भन्नुभयो। यो डकुमेन्ट्री त तथ्यमा आधारित हो, जसले एउटा समयबारे बोल्छ। कोही राजनीतिकर्मी आन्दोलनका समयमा नेतृत्वलाई गरेको गालीमा अल्झिनुभएको छ। शब्दमा किन अड्किएको? आन्दोलनको समयमा कसलाई गाली गरियो वा कुन नेताको नाममा हाँसियो भन्ने ठूलो विषय होइन। मुख्य कुरा, इतिहासलाई लुकाउन मिल्दैन। इतिहासलाई मेट्न सकिँदैन– स्वीकार गर्नुपर्छ।

यो डकुमेन्ट्री बनाउने सोच कसरी आयो?
यसबारे मैले पहिलेदेखि नै सोचिरहेको थिएँ। सन् १९९८ तिर पत्रपत्रिकामा देवी खड्काबारे धेरै स्टोरी प्रकाशित भए। उनीलाई बलात्कार गरिएको भन्दै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भएको थियो। त्यति बेला मैले समाचार पढेको थिएँ। एकजना महिला पत्रकार– जो अहिले पनि चर्चित हुनुहुन्छ– ले ‘एकजना लाज नभएको महिलाले पुलिस फोर्सको बेइजत गरिन्’ भनेर लेखेको मलाई अहिले पनि याद छ। उनको कथा मेरो दिमागमा बसिरहेको थियो।
देवीको पक्षमा कसैले बोलेनन् भन्ने लागेको हो तपाईंलाई?
फिल्डमा गएर धेरै मानिस भेटेपछि धेरै कुरा थाहा हुन्छ। युद्धको समयमा यौन हिंसा भएको थियो, संसारमा भएका अन्य युद्धमा पनि भएका छन्। यहाँ भएका यौन हिंसाचाहिँ किन लुकाइएको छ? धेरै महिलाले भोगेको पीडालाई मेटाउन खोजिएको छ, अर्थात् इतिहास नै नष्ट गर्न खोजियो। शुरूमा त मैले पनि गहिरोसँग सोचेको थिइनँ, तर एक जनाले बोल्यो भने पनि केही परिवर्तन त होला भन्ने लाग्यो। यसकारण देवीलाई पटक–पटक भेटेँ। उहाँले धेरै समयसम्म यसबारे काम गर्न मान्नुभएको थिएन, तर पछि राजी हुनुभयो।

तपाईंले जुन माध्यम र शैलीको पत्रकारिता गरिरहनु भएको थियो, त्यसैले डकुमेन्ट्री बनाउन प्रेरित गरेको हो?
पत्रकारिता र डकुमेन्ट्रीलाई छुट्याएर बुझ्न गाह्रो छ। दुवैमा गर्ने भनेको लगभग एउटै कुरा हो। डकुमेन्ट्रीमा अलिक ‘लङ फर्म’ मा गर्ने हो। मैले पत्रकारिता शुरू गर्दा थोरै समय मात्र ‘प्रिन्ट’मा काम गरेँ, लामो समयसम्म डकुमेन्ट्री नै बनाएँ र सन् २००८ मा ‘ब्रोडकास्ट’ मिडियामा गएँ। तर मैले ब्रोडकास्ट न्युज पढेको होइन। म त क्यामेराको पछाडि बसेर डकुमेन्ट्री बनाउँथे। पत्रकारिता र डकुमेन्ट्रीको भिन्नता भनेको ‘फर्म’ मा मात्र हो। हामीले फिचर स्टोरी र न्युज लेखिरहेको हो, तर डकुमेन्ट्री चाहिँ किताब लेखेजस्तो हो। यसमा लङफर्ममा काम गर्नुपर्छ।
अब पूर्णरूपमा सिनेमा वा डकुमेन्ट्रीतिर लाग्ने योजना हो कि, सक्रिय पत्रकारितामा फर्किनुहुन्छ?
सक्रिय पत्रकार बन्न सक्रिय पत्रकारिता कहाँ छ र! विश्वभर पत्रकारिताको दायरा एकदम साँघुरो भएको छ। यहाँका कथाहरू अन्यत्र प्रकाशित गर्न एकदमै गाह्रो हुन्छ। पश्चिमा मिडियामा विश्वमा सान्दर्भिक भएको स्टोरी मात्र ‘पिच’ गर्न सकिन्छ। नेपालको मौलिक स्टोरीलाई अन्तर्राष्ट्रिय मिडियामा पस्किने मेरो चाहना हो, म त्यस्तो खालको पुल बन्न चाहान्थेँ। तर म अब कहाँ ‘फिट’ हुन्छु भन्ने मलाई नै थाहा छैन। मिडिया ‘ल्यान्डस्केप’ यति छिटो परिवर्तन भएको छ कि, मैले आफू फिट हुन ठाउँ नै देखिरहेको छैन।
अन्तर्राष्ट्रिय मिडियामा गोर्खा र शेर्पाका स्टोरी बेलाबेला आउँछन्, नेपालका अन्य विषयका स्टोरी भने असाध्यै सामान्यीकरण गरेर प्रकाशित हुन्छन्। तर नेपालको स्टोरी सामान्य छैनन्। नेपालमा उपलब्ध स्टोरीलाई संसारभर पुर्याउन सकिन्छ। मैले अलजजिरामा हुँदा प्रयास पनि गरेको हुँ। अहिले डकुमेन्ट्रीमार्फत पनि त्यो प्रयास गरेको हुँ। तर अप्ठ्यारा प्रश्न आउँछन्।

मैले डकुमेन्ट्री पिच गर्दा एक जनाले भन्नुभयो, ‘हामीले यो कथाको वास्ता नगर्दा के फरक पर्छ? किन वास्ता गर्ने?’ नेपाल संसारको एउटा कुनामा छ, हामीले किन यसमा लगानी गर्ने?’ यसले तपाईंलाई नेपालको सान्दर्भिकता के हो भनेर सोच्न बाध्य बनाउँछ। यो अवस्थामा मैले आफ्नै पेसाबारे गहिरो ढंगले सोच्नुपर्यो। कथाहरू बाहिर निकाल्ने प्रयास गर्दा म के गर्दैछु भनेर सोच्न आवश्यक छ। केही कथाहरू छन् जसमा तपाईं काम गर्न सक्नुहुन्छ। तर तपाईं सधैँ सबै ठाउँमा पुल बन्न सक्नुहुन्न।
त्यसो भए तपाईंले पत्रकारिता छाड्नुभएको हो?
पत्रकारिता छाडेँ भन्न मिल्दैन, गरिरहेकै छु। कुनै मिडिया अर्गनाइजेसनसँग गाँसिएको चाहिँ छैन। मैले २००८ देखि २०२० सम्म सधैँ समाचार बनाएँ, तर तपाईं आफैलाई चुनौती दिनुहुन्न भने व्यक्ति हुनुको के अर्थ? एक घण्टाभन्दा माथिको भिडियो मैले कहिले पनि बनाएको थिइनँ। डकुमेन्ट्री लम्ब्याउनु भनेको फिचर स्टोरी लम्ब्याएजस्तै हो। तर कहिलेकाहीँ केही कथामा एजेन्सीहरूले साथ सहयोग दिँदैनन्, त्यति बेला पनि कथाहरू भन्नैपर्छ। मैले पत्रकारिता पूर्णरूपमा छाडेर नयाँ क्षेत्रमा गएको होइन, अहिले पनि गरिरहेको छु। तर स्वरूप चाहिँ फरक भएको छ।
तपाईंले प्रतिष्ठित सञ्चारमाध्यम अलजजिरामा काम गर्नुभयो, अन्यत्र पनि लेख्नुहुन्छ। नाम चलेका सञ्चारमाध्यममा ‘न्युज फाइन्डिङ’ र ‘न्युज असाइनिङ’ कसरी हुने रहेछ?
कुन देशको समाचार हो भन्ने विषयले फरक पार्छ। मैले गाजाबाट रिपोर्टिङ गर्छु कि नेपालबाट गर्छु भन्ने विषय अर्थपूर्ण नहुने कुरै भएन। नेपालमा त कुनै एजेण्डा पनि नहुनसक्छ, तर मैले गरेको कामलाई उनीहरूले विश्वास गरे। यसले मलाई केही सहज भयो। अलजजिरामा म सँधै ‘फ्रिलान्सर’ भएर काम गरेको हुँ। मैले पिच गरेका प्रायः स्टोरी उनीहरूले लिए।

सबै स्टोरी हामीले पिच गरेपछि मात्र अगाडि बढ्छ भन्ने होइन, कहिलेकाहीँ सम्पादकहरूबाट पनि ‘असाइन’ हुन्थ्यो। यहाँ केही महत्त्वपूर्ण घटना भएका छन् भने उनीहरूले भन्थे। अधिकांशचाहिँ पत्रकार आफैले पिच गर्ने हो। स्टोरी चाखलाग्दो हुनुपर्यो।
हुम्लामा गइयो भने चाइना, नेपाल र भारतबीचको सम्बन्धलाई हेर्न सकिन्छ। ‘बोर्डर स्टोरी’ ठूलो जनसंख्यालाई चासो हुनसक्छ। तपाईंले लेखेको स्टोरीले विश्वका मानिसलाई कसरी छुन्छ भन्ने कोणबाट खोज्नुपर्छ। एउटा भूगोलको कथाले बाँकी भूगोलका मानिसलाई पनि छुनुपर्छ। संसारका सबै ठूला मिडियाको समान चरित्र हुन्। जस्तो, बेलायतको एजेन्सीलाई गोर्खाबाहेक अन्य स्टोरी पिच गर्दा स्वीकार गर्न एकदमै गाह्रो हुन्छ।
तपाईं आफैचाहिँ लेख्नका निम्ति कसरी विषय छनोट गर्नुहुन्छ?
म भुईंमान्छे हुँ। जो बोल्न सक्दैन, जसको आवाज हुँदैन, मलाई ती मानिसको स्टोरीले छुन्छ। हाम्रो सामाजिक संरचना नै यस्तो छ कि, यसले केही मानिसलाई बोल्न दिँदैन। मैले त्यस्तै खालको स्टोरी पिच गरिरहेको हुन्छु। अहिले मैले बनाएको डकुमेन्ट्रीबारे पनि सोचेँ– यो काम मैले गरिन भने अरू कसैले गर्नेवाला छैन। मैले गरिनँ भने विषय बिथोलिन्छ वा बर्बाद हुन्छ।
सन् २०१३ तिर मैले कमलरीहरूको स्टोरी गरेँ। उनीहरूले आन्दोलन गरेको एक महिना भइसकेको थियो। सानातिना छासमिसे स्टोरी आए, विस्तृतमा बुझिनेगरी कतै आएको थिएन। त्यसमा किन कसैले चासो देखाएन त? किनभने, उनीहरू भोट–ब्यांक थिएनन्। अनि उसका लागि कसले बोलिदिन्छ? हो, मिडियाले बोल्नुपर्छ। त्यसकारण सामाजिक विषयमा लेख्नुपर्छ। कसको आवाज कसले बन्द गरिरहेको छ भन्ने विषय पत्रकारले सोच्नुपर्छ।

केही दिनअगाडि वासिङ्टन पोष्टकी कार्टुनिष्ट एन टेलनशले आफ्नै मालिक जेफ बेजोसलगायत केही धनाढ्यहरूको ट्रम्पसँग अति लगावमाथि कार्टुन बनाइन्। त्यो कार्टुन प्रकाशित भएन, अन्ततः उनले राजीनामा दिनुपर्यो। यसले के संकेत गर्छ?
संसारभर हामी ‘अथोरोटरियन’ बनिरहेका छौँ, यो डरलाग्दो कुरा हो। थोरै संख्याका धनाढ्य पुरुषहरूले समाचार मात्र नभई, विश्वव्यापी राजनीतिको दिशालाई पनि आकार दिएका छन्। काम गर्न झन्झन् गाह्रो हुँदैछ। स्टोरीहरू भन्न गाह्रो भइरहेको छ। यो विषयलाई मानिसको झुकावले पनि फरक पार्छ। तपाईंले अमेरिकन पत्रिकामा गाजा (प्यालेस्टाइन अधीनस्थ क्षेत्र)का बारेमा स्टोरी गर्न खोज्नुभयो भने गाह्रो हुनसक्छ। मिडिया कसको हो, राज्यबाट संचालित वा निजी, भन्ने पनि अर्थपूर्ण हुने रहेछ।
सम्पादकीय स्वतन्त्रताको खडेरी विश्वका चर्चित मिडियामा पनि देखिने रहेछ, हैन?
हो। मालिक को हो भन्नेमा निर्भर रहने रहेछ। हामीले विगत केही वर्षको प्रवृत्तिलाई हेर्यौँ भने, सानो संख्याका मानिसले संसारमाथि प्रभुत्व जमाएका छन् र बाँकी सबै त्यसको परिणाम भोग्न बाध्य छौँ। मिडियामा पनि यही छ।
टाइम्स अफ इण्डियाले तपाईंको स्टोरी रिजेक्ट गरेको उदाहरण धेरै पटक सुनाउनुभएको छ, के भएको थियो?
म त्यति बेला पत्रकारिता पढ्दै थिएँ। एउटा अस्पताल पुग्दा दाइजोका कारण जलाएर हत्या गरिएकी महिलालाई देखेँ। अस्पतालभित्र जलेको मासु र केमिकलको गन्ध थियो। मैले त्यहाँ सबै कुरा बुझेँ र स्टोरी लेखेँ। महिलाको स्टोरीलाई स्टोरी नै होइन भन्ने सोचिन्थ्यो। पत्रपत्रिकामा राजनीतिक समाचार आउँथे, तर महिलाको समाचार आउँदैन थियो। मैले समाचार लेखेँ, तर प्रकाशित नगर्ने भनियो। त्यो समाचारलाई सम्पादकले फालिदिए, अहिले ती सम्पादकको नाम पनि बिर्सिएँ। मलाई रिस उठेको थियो, म पनि देखाउँछु भन्ने सोच आएको थियो।
मिडियामा महिला वा सीमान्तकृत समुदायको मुद्दाले किन कम प्रवेश पाएको हो?
यो शक्तिको संरचना हो। हाम्रा पत्रपत्रिका वा मेनस्ट्रिम मिडियामा महिला र सीमान्तकृत समुदायका सम्पादक छैनन्। उनीहरूले अरूको स्टोरी नै देख्दैनन्। पुरूषले महिलाको समस्या देख्दै नदेख्ने होइन, तर कतिपय कुरा देख्दैनन्। त्यस्तै, एउटा न्युजरूममा पहाडेहरू मात्र छन् भने मधेशीको विषय कसरी देखिन्छ?
अहिले एउटा बहस खुब सुनिन्छ– पत्रकारिता मर्दैछ। के पत्रकारिता मर्दैछ?
पत्रकारिताको आकार परिवर्तन हुँदैछ। अनलाइन प्लेटफर्ममा गएपछि त्यो परिवर्तन झन् द्रुत भएको छ। प्रिन्टलाई त जीउन पनि मुस्किल भएको छ। पत्रकारिता चुनौतीपूर्ण बनिरहेको छ।

छोटा समाचार वा एकलाइनको सूचनामा मात्र सुन्न बानी परिरहेको बेला लङ फर्म वा गहन रिपोर्टिङको स्थान कहाँ छ?
लङ फर्म रिपोर्टिङले समाजमा ठूलो प्रभाव पार्छ, हलचल नै ल्याउँछ। राम्रो रिपोर्टिङलाई सबैले ठाउँ दिनुपर्छ। हामीलाई पहिला अलजजिरामा ४ मिनेट सम्मको स्टोरी दिन्थ्यो, पछि एक मिनेट २० सेकेन्ड पुग्यो। ४ मिनेटमा भन्ने र डेढ मिनेटमा भन्ने विषयमा धेरै फरक हुन्छ। म सोच्थेँ– छोटाछोटा स्टोरी गर्छु, तर लामा रिपोर्टिङ पनि गर्न छाड्दिनँ। त्यसपछि डकुमेन्ट्रीमा लागेको हुँ। हामीलाई दुवै फर्मको ‘कन्टेन्ट’ आवश्यक पर्छ।
तपाईंले राम्रा कथाहरूको लागि ठाउँ साँघुरो पार्नुभयो भने मानिसहरूले कहिल्यै राम्रा कथा पढ्न पाउने छैनन्। मेरा बच्चाहरू नै हेर्दैनन्। उनीहरू स्क्रोल गरिरहेका हुन्छन्, तर उनीहरूलाई बसाएर एउटा लामो डकुमेन्ट्री देखाउँदा कति दिनसम्म त्यसमाथि छलफल गरिरहेका हुन्छन्। त्यो बानी बसाउने जिम्मेवारी कसको भन्नेबारे हामीले सोच्नुपर्छ। समाज जसरी चलिरहेको छ, हामी पनि त्यसैगरी अगाडी बढौँ भनेर हुँदैन। जवाफदेही बनाउँछु भन्नेहरू नै बहकिन थालेर हुँदैन।
संसारभरका संचारमाध्यमले यति बेला भोगिरहेको समस्या के हो? संसारभर समस्याको प्रकृति एउटै हो कि भिन्नभिन्न छन्?
इन्टरनेटको लोकतान्त्रिकीकरणले धेरै मानिसहरूका लागि उस्तै समस्या सिर्जना गरेको छ। इन्टरनेटको दुनियाँमा मानिसहरू भन्छन् कि– अहिले जो कोही पनि पत्रकार हुनसक्छ। सबैले केही गर्न सक्छन्, तर सबैले सबै काम गर्न सक्दैनन्। कतिपय स्टोरीको लागि ‘स्पेसलाइजेसन’ चाहिन्छ, नत्र नकरात्मक असर पर्छ। जस्तोः अधिकांश मानिसलाई महिलामाथि हुने हिंसाबारे रिपोर्टिङ गर्न आउँदैन। ‘सिटिजन जर्नालिस्ट’लाई कसरी आउँछ? उनीहरूले त रेभिन्युको लागि ‘सेन्सनलाइज’ गरिदिन्छन्। त्यसले व्यक्तिको जीवनलाई नै खतरामा पारिदिन्छ। मिडियामा भइसकेपछि पत्रकारले त सबैतिरको कुरा ल्याउँछ। त्यसका आचारसंहिता हुन्छन्। यसबारे मिडियाका खासखास मानिसलाई मात्र तालिम दिन सकिन्छ, संसारका सबैलाई त सम्भव छैन।
पत्रकारितालाई सोसल मिडियाबाट चाहिँ खतरा छ। सोसल मिडियाले सबै कुरा खराब गर्यो भन्ने पनि होइन। ठूला मिडियालाई सोसल मिडियाले लेखनको विषयसमेत दिएको छ। कुनै परिस्थिति यस्तो हुन्छ कि, त्यहाँ धेरै पत्रकार पुग्न सक्दैनन्। ती समाचारहरूको लागि ‘सिटिजन जर्नालिस्ट’मा भर पर्नुपर्छ। कतिपय अवस्थामा उनीहरूले नै गरेको कामको आधारमा अरूले फलोअप गर्न सक्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
