अन्धविश्वास: विकसित देशमा पनि उत्तिकै

अन्धविश्वासमा भर पर्ने उत्तरदाताले जर्मनीका वर्तमान राजनीतिक संस्थाप्रति अविश्वास जनाए, नाजिवाद र एडोल्फ हिटलरप्रति सकारात्मक दृष्टिकोण तथा यहूदी मतावलम्बीप्रति विरोधी दृष्टिकोण देखियो।

लोकप्रिय धारणा र प्रायः प्राज्ञिक अनुसन्धानहरूले समेत अन्धविश्वासको विषय मुख्य रूपमा विकासशील देशका परम्परागत संस्कृतिसँग सम्बन्धित भएको मान्छन्। तर, हालैको एक अध्ययनअनुसार पहिलेको त्यस्तो धारणा गलत हो। अत्यन्त विकसित र औद्योगिक देशहरूमा समेत अन्धविश्वास फस्टाइरहेका छन्। त्यससँगै, यस्ता अन्धविश्वास अन्य तर्कहीन दृष्टिकोणसँग समेत जोडिएका छन्, र त्यस्ता दृष्टिकोण झनै समस्याग्रस्त र खतरनाक पनि छन्।

अन्धविश्वासबारेको यस्तो अनुसन्धान वर्ल्ड अफेयर्स नामक नामक शैक्षिक जर्नलमा प्रकाशित भएको थियो। अन्धविश्वासको विषय अध्ययन गर्ने सन्दर्भमा जर्मनी चाखलाग्दो स्थानको रूपमा लेखकहरूले उल्लेख गरेका छन्। जर्मनी आर्थिक रूपमा समृद्ध, प्राविधिक रूपमा विकसित र धर्मनिरपेक्ष देश हो। अर्को शब्दमा भन्नुपर्दा परम्परागत मानसिकता वा जीवनशैलीसँग सामान्य रूपमा जोडिने देश होइन यो (इन्ग्लेहाट एन्ड बेकर, २०००)। जर्मनीको चरित्र विश्वका दक्षिणी देशहरूभन्दा निकै फरक छ, जसलाई अक्सर अन्धविश्वास व्यापक भएको देशका रूपमा अनुचित रूपले चित्रित गरिन्छ। 

चिन्ताजनक निष्कर्ष
विश्लेषणका नतिजा वास्तवमै चिन्ताजनक थिए। यस अनुसन्धानमा सामेल भएका, अति अन्धविश्वासमा भर पर्ने उत्तरदाताहरूले जर्मनीका वर्तमान राजनीतिक संस्थाहरूप्रति अविश्वास जनाए, नाजिवाद र एडोल्फ हिटलरप्रति सकारात्मक दृष्टिकोण  र यहूदी- मतालम्वीप्रति विरोधी दृष्टिकोण राख्ने सम्भावना धेरै देखियो। 

राजनीतिक विश्वासबारेको तिनको अवधारणा जर्मन संसद् वा जर्मनको संवैधानिक अदालतजस्ता संस्थाहरूप्रति विश्वासको स्तर मापन गरेर र तिनको औसत निकालेर मापन गरिएको थियो। नाजिवादप्रतिको तिनको दृष्टिकोणलाई “राष्ट्रिय समाजवाद (हिटलरको नाजीवाद) का पनि राम्रा पक्षहरू थिए” भन्ने कथनसँग तिनको सहमतिलाई लिएर मापन गरियो। हिटलरप्रतिको समर्थन बुझ्न “यदि नरसंहार नभएको भए हिटलरलाई आज महान् राजनेताको रूपमा लिइन्थ्यो” भन्ने कथनसँग तिनको सहमतिको स्तरबाट मापन गरियो। यहूदी-विरोधी तिनको भावनालाई दुई थप कथनहरूसँग सहमति मापन गरेर मूल्यांकन गरियो, १. “यहूदीहरूमा केही विशेष कुरा छ, जसका कारण उनीहरू हाम्रो समाजसँग मिल्न सक्दैनन्।” २. “यहूदीहरूको अझै पनि धेरै प्रभाव छ।”

विचित्र विश्वासहरूको अर्थ बुझ्ने प्रयास
यी सबै कारकहरू एकअर्कासँग के कारण यसरी मेल खाइरहेका छन्? यो नै महत्त्वपूर्ण प्रश्न हो। जर्मनीमा नियोपेगनिज्म (प्राचीन पैगन परम्परा, मिथक, र प्रकृति-केन्द्रित विश्वास प्रणाली प्रेरित धार्मिक आन्दोलन) र नयाँ धार्मिक आन्दोलनहरूको बढ्दो लोकप्रियता नै यसको कारक हुन सक्ने कुरा लेखकहरू सुझाउँछन्। यीमध्ये धेरै उत्तरदाताहरू गुड लक चार्म (कुनै सामान लाएपछि वा घरमा राखेपछि भाग्य चम्कने विश्वास) र ज्योतिषीको भविष्यवाणीको वकालत गर्छन्। र, केही, विशेषगरी ओडिनिज्म (स्मिथ २०२१), दक्षिणपन्थी समूहहरूसँग अत्यधिक सम्बन्धित छन्। यद्यपि, यो सम्भावनालाई जाँच्न आवश्यक डेटा भने उपलब्ध छैन।

अर्को सम्भावित व्याख्या यो पनि हो कि कुनै तर्कहीन विचारमा विश्वास गर्ने व्यक्तिलाई अन्य झुटा दाबीहरू पनि विश्वसनीय लाग्छन्। उदाहरणका लागि, अनुसन्धानले देखाएको छ कि अलौकिक विश्वास, षड्यन्त्र सिद्धान्तहरू र विज्ञान-विरोधी मनोवृत्तिहरू एकअर्कासँग सम्बन्धित छन् (रिजेक र एल., २०२१)। त्यसैगरी, पपुलिस्ट मनोवृत्तिमा उच्च स्कोर गर्ने व्यक्तिहरू आधारहीन दाबीहरूलाई धेरै हदसम्म मान्छन्। (भ्यान प्रूइजेन र एल., २०२२)। गैर-राजनीतिक विषयहरूको हकमा पनि यो कुरा सत्य हुन आउँछ। केवल 'प्रेरित-तर्क'ले मात्र नभएर अधिक विश्वास गर्ने स्वभावले यसमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने यसबाट बुझिन्छ। यो अध्ययनमा लेखकहरूले अन्धविश्वासजन्य विश्वासहरू शिक्षासँग नकारात्मक रूपमा सम्बन्धित हुने बताए। (जति धेरै मान्छे शिक्षित हुन्छ, उति नै अन्धविश्वासप्रति उसको विश्वास कम हुन्छ।)  

कुनै पनि व्याख्यालाई उल्लेख गर्दा केही सावधानी भने अपनाउनुपर्छ। अध्ययनको स्वरूप 'सहसम्बन्धमा  आधारित' भएकाले, यो सम्भव छ कि कुनै पनि भेरीएबल्स (तत्त्व) ले अरूमा परिवर्तन निम्त्याउँदैन। साथै, यदि कारणहरू स्थापित गर्न सकिए पनि विभिन्न सामाजिक, ऐतिहासिक र राजनीतिक परिस्थिति भएका अन्य देशहरूको जनसंख्यामा भेरिएबल्सबीचको समान सम्बन्ध नै हुन्छ भनेर अनुमान गरिहाल्नु हुँदैन।

तैपनि, यस अनुसन्धानले वर्तमान सांस्कृतिक वातावरण बुझ्न र समस्याग्रस्त मनोवृत्तिहरूलाई सम्बोधन गर्नेबारे महत्त्वपूर्ण संकेत दिएको छ। अन्धविश्वासहरू विकासशील देशमा मात्र सीमित छैनन्। गैर-लोकतान्त्रिक शासन, घृणा र अतिवादी नीतिहरू स्विकार्न मानिस बढी इच्छुक छन् भन्ने कुरा निम्त्याउन वा कम्तीमा संकेत गर्न सक्छन् यस्ता अध्ययन। अन्धविश्वाससँगको यस्तो सम्बन्धले अन्धविश्वास र तिनीहरूसँगै फैलिने षड्यन्त्र सिद्धान्तजस्ता निराधार दाबीहरूलाई तत्कालै सम्बोधन गर्नुपर्ने र लड्नुपर्ने आवश्यकतालाई यस अध्ययनले थप जोड दिन्छ।

(साइकोलोजी टुडेमा छापिएको जेफ्री एस. डेबिज-कार्लको लेखको भावानुवाद। उनी अमेरिकास्थित न्यु ह्याभेन विश्वविद्यालयको मनोविज्ञान र समाजशास्त्र विभागका सहप्राध्यापक हुन्।)