बाम्का बजार आगलागी : ‘बाल्टिनकै भरमा आगो निभाइयो, दमकल भएको भए यति ठूलो क्षति हुने थिएन’

बाजुराको बूढीगंगा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जैसी भन्छन्, ‘जिल्लामा दमकल नै छैन। छिमेकी जिल्ला अछामको दमकल बिग्रेको र डोटीबाट आउन सक्ने अवस्था भएन। त्यसैले ठूलो धनमालको क्षति भयो।’

काठमाडौँ– शुक्रबार दिउँसो ३ बजेसम्म बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार चलायमान थियो। दिउँसो एकाएक एक होटलमा धुवाको मुस्लो देखियो। त्यसको केही क्षणमै आगोको रापले चारैतिर तापमान बढाउन थालिसकेको थियो।

साढे ३ बजेतिर बाम्का बजारको एक होटलमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी शुरू भएको हो। त्यो आगो एकाएक बाम्का बजारमा फैलियो। 

बाजुराको सदरमुकाम मार्तडीपछि सबैभन्दा धेरै आर्थिक कारोबार हुने बजारका रूपमा बाम्कालाई लिइन्छ। यो व्यापारिक बजार आगलागी शुरू भएको चार घण्टामा खरानीमा परिणत भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार झन्डै ४० वटा पसल, घरलगायतका संरचना जलेर पूर्ण रूपमा क्षति भएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने अहिलेसम्म संकलन भइसकेको छैन।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकबाल हवारीले आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ४० घर र पसल जलेर नष्ट भएको जानकारी दिए।

“दिउँसो एक होटलमा ग्यास विस्फोट भएर सल्केको आगो फैलिएर बजार नै सखाप भएको अवस्था छ। प्रारम्भिक रूपमा ४० वटा घर र पसल जलेर खरानी भएको अनुमान गरेका छौँ,” उनले भने। घटनास्थलमा प्रहरीले क्षतिको विवरण संकलन गर्नेदेखि प्रभावित परिवारको उद्धारको काम गरिरहेको उनको भनाइ छ।

स्थानीयका अनुसार आगो लागेको आधा घण्टाभित्रै ठूलो क्षति भइसकेको थियो। बाम्का बजारमा करिब डेढ सयको संख्यामा पसल थिए। ती सबै टहरामा निर्माण गरिएका छन्।

शुक्रबारको भीषण आगलागीबाट बाम्का बजारका स्थानीयको खुशी क्षणभरमै पीडामा परिणत भएको स्थानीय व्यापारी रामबहादुर ऐडी बताउँछन्। “दिनभर चलायमान रहेको बजार तीनचार घण्टामै सखाप भएको छ। हेर्न सक्ने अवस्था नै छैन,” उनी भन्छन्, “दिउँसो आगो लागेकाले धेरैले भागेर ज्यान बचाए। राति भएको भए ठूलो मानवीय क्षति हुन्थ्यो।”

बाजुराका प्रमुख जिल्ला अधिकारी मेगनाथ पाथ्यायले शुक्रबार दिउँसो बाम्का बजारमा भएको आगलागीबाट ठूलो भौतिक क्षति भएको जानकारी दिए। “म आफैँ घटनास्थल पुगेर हेरेर आएको हुँ। त्यहाँ धेरै क्षति भएको छ,” उनले भने, “आगो नियन्त्रण गर्न मानिसबाहेक अन्य कुनै हामीसँग व्यवस्था थिएन।”

बाजुरामा जिल्लामा अहिलेसम्म आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने दमकलको व्यवस्था छैन। छिमेकी अछाम र डोटीमा दमकल भए पनि अछामको दमकल बिग्रेको र डोटीबाट दमकल पुग्न समय लाग्ने अवस्था थियो। आगलागी भएको बाम्का बजारक्षेत्र बाजुराको बूढीगंगा नगरपालिका–६ मा पर्छ। वडाध्यक्ष हेमराज जैसी दमकल अभावका कारण समयमा आगो नियन्त्रण गर्न नसकिएको बताउँछन्।

“दिउँसो साढे ३ बजेदेखि लागेको आगो साढे ७ बजेतिर मात्रै नियन्त्रणमा आउन सक्यो,” उनले उकालोसँग टेलिफोनमा भने, “हाम्रो जिल्लामा दमकल नै छैन। छिमेकी जिल्ला अछामको दमकल बिग्रेको र डोटीबाट आउन सक्ने अवस्था नै थिएन। त्यस कारण ठूलो धनमालको क्षति भयो।”

सामाजिक अभियन्ता हेमराज थापा आगलागी नियन्त्रणमा राज्यको कमजोरी भएको बताउँछन्। गृहजिल्लामा रहेका बेला आगलागी भएपछि उनको टिम आगो नियन्त्रणमा खटिएको थियो।

“दिउँसो ग्यास विस्फोट भएर आगलागी भयो। लस्करै रहेका पसल सबै जलेर नष्ट भए। डोजर उपलब्ध भए पनि केही नियन्त्रणका लागि काम लाग्थ्यो। तर, यहाँ दमकल लगायतका साधन नै उपलब्ध छैनन्,” बाम्का बजारबाट टेलिफोनमा उनले भने। 

उनले आफ्नो टिम, स्थानीय, प्रहरी प्रशासनको सहयोगमा चार घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको बताए।

“सदरमुकाम मार्तडी झन् राजमार्गबाट टाढा छ। त्यहाँ आगलागी भयो भने त सदरमुकाम नै सखाप हुन्छ। अहिलेसम्म जिल्लामा एउटा पनि दमकल छैन,” उनले भने, “घटना भएपछि बाजुराबाट प्रतिनिधित्व गर्ने पर्यटनमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोन गरेँ। उहाँहरूले प्रयास गर्दैछौँ भन्नुभयो।” 

उनले हरेक जिल्लामा प्राकृतिक विपद‍्बाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्नुपर्ने बताए। 

आगलागीलगत्तै स्थानीय आफै बाल्टिन लगायतका घरेलु सामग्री प्रयोग गरेर आगो निभाउन जुटेका थिए। तर, आगो भीषण रूपमा फैलिसकेका कारण तत्काल निभाउन सक्ने स्थित थिएन। उद्धार पनि ढिला गरी शुरू हुँदा धेरै पसल जलेको अभियन्ता थापा बताउँछन्।

बाजुराका प्रहरी प्रमुख डीएसपी इकबाल हवारी पनि जिल्लाभरमा अहिलेसम्म एउटा पनि दमकल नरहेको बताउँछन्। “दमकल भइदिएको भए यति धेरै क्षति हुन पाउने थिएन। प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयसहितको सहयोगमा बाल्टिनकै भरमा पानी हालेर आगो निभाउनुपर्‍यो,” उनले भने, “भोलि यस्तै विपत्ति आएमा के गर्ने भन्ने सोच्नुपर्छ।”

बूढीगंगा नगरपालिका प्रमुख रामबहादुर बानियाँ पनि दमकल नभएकै कारण छोटो समयमै बजार जलेर सखाप हुन पुगेको बताउँछन्। “हामी सचेत भएका छौँ। आजै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आपत्कालीन बैठक बसेको छ,” उनले भने, “सके बूढीगंगा नगरपालिकाले नभए अन्य पालिकासँग मिलेर भए पनि हामी तत्काल दमकल खरिद गर्छौं।”