युवा-स्टार्टअप: सार्थक पहल गरे नतिजा सकारात्मक

नेपालमा युवा उद्यमशीलताको लहर त उकालो लागिरहेको छ, तर यसलाई दिगो र अझ तीव्र बनाउन बहुआयामिक प्रयासहरू आवश्यक देखिन्छ।

पछिल्ला केही वर्षमा नेपालमा युवा स्टार्टअपहरूको संख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ। देश आर्थिक संकट, बेरोजगारी र युवा विदेशतर्फ आकर्षित भइरहँदा पनि युवाहरूले आफ्नै देशमा व्यवसाय सुरु गर्ने आँट देखाइरहेका छन्।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)का अनुसार, पछिल्लो पाँच वर्षमा देशभर स्टार्टअपको संख्या ५० प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि डिजिटल प्रविधिमा आएको क्रान्ति, इन्टरनेट पहुँचको बिस्तार, र युवाहरूमा जागेको उद्यमशील सोचले सम्भव भएको हो।

विशेष गरी सूचना-प्रविधि क्षेत्रमा युवा उद्यमीले ठूलो अवसर देखिरहेका छन्। सन् २००५ मा नेपालमा इन्टरनेट प्रयोग गर्ने मानिसको संख्या जम्मा ०.९ प्रतिशत मात्रै थियो। २०२५ को अन्त्यसम्म त्यो संख्या ७३.३२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। यसले डिजिटल बजारलाई बलियो बनाउँदै नयाँ स्टार्टअपहरूका लागि थुप्रै ढोका खोलेको छ।

यस्तै डिजिटल क्रान्तिका सफल उदाहरण इसेवा, खल्ती, हाम्रो पे, फोनपे, नमस्ते पे, आईएमई पे, नेपाल पे, कनेक्ट आईपीएस, प्रभु पे हुन्। त्यस्तै, बैंकहरूका आफ्नै डिजिटल पेमेन्ट सिस्टम छन्। यी 'डिजिटल सेवा'ले नेपालको डिजिटल पेमेन्ट प्रणालीलाई आम मानिसको पहुँचमा ल्याइदिएका छन्।

डिजिटल पेमेन्ट सिस्टममात्रै नभएर फुडमान्डु, टुटल र टुनिजस्ता अन्य सेवा प्रदायक पनि छन्, जसले आम उपभोक्तालाई प्रविधिको उपयोगमार्फत सेवा दिन्छन्। उसो त बांग्लादेशी स्टार्टअप पठाओ र रुसी स्टार्टअप इन ड्राइभले पनि नेपालमा राम्रो व्यवसाय गरिरहेका छन्। यिनले मान्छेको जीवनलाई सहज बनाउन भूमिका खेलेका छन्।

उद्योग विश्लेषकहरूको भनाइमा युवाहरूले प्रविधि, नवप्रवर्तन र नयाँ सोच मिलाएर नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखाइरहेका छन्। स्टार्टअप मात्र हैन, अब नेपालका युवा विश्व बजारलाई समेत लक्षित गर्दै डिजिटल समाधानहरू तयार पार्न थालेका छन्। तर यो लहरलाई दीर्घकालीन बनाउन सरकारले अझै उद्यमशीलताको वातावरण सहज बनाउनुपर्न देखिन्छ।

नयाँ पुस्तालाई हौसला दिने नेपाली युवा
नेपालमा पछिल्लो समय युवा उद्यमशीलताको लहरसँगै केही प्रेरणादायी सफलताका कथा पनि अगाडि आएका छन्। यी सफलताले नवप्रवर्तन मात्र होइन, समाजमा प्रभावशाली परिवर्तन पनि ल्याइरहेका छन्।

त्यसैमध्ये एक उदाहरण हुन् सोनिका मानन्धर। उनी 'एलोइ टेक्नोलोजीज' नामक फिनटेक कम्पनीकी सह-संस्थापक हुन्। यो कम्पनीले डिजिटल टोकन प्रयोग गरेर महिला साना उद्यमीहरूलाई वित्तीय पहुँच सहज बनाउने काम गरिरहेको छ। सोनिकाको यस्तो नवीन सोचले अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा बटुल्दै उनलाई संयुक्त राष्ट्रसंघले ‘योङ च्याम्पियन अफ् द अर्थ’ को सम्मानसमेत दिएको छ।

बोनिता शर्माले भने 'सोचाइ' नामक संस्था स्थापना गरेर सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएकी छन्। उनले विकास गरेको ‘न्युट्रीबिड्स’ नामक ब्रासलेट, जसले आमाबुबालाई बाल पोषणबारे सरल तर प्रभावकारी तरिकाले जानकारी दिने काम गर्छ, उनको यो नवप्रवर्तनकारी कार्यले उनलाई सन् २०१९ मा बीबीसीको '१०० प्रभावशाली महिला' सूचीमा समेत स्थान दिलाएको थियो।

उनीहरू हाल नेपालमा चलिरहेको स्टार्टअप क्रान्तिको प्रतिनिधि अनुहार मात्रै हुन्। जसले हाम्रोजस्तो विकासोन्मुख देशमा पनि युवाहरूले प्रविधिको सहायताले समाजमा गहिरो समस्याहरू समाधान गर्न सक्छन्।

सोनिका र बोनिताजस्ता कथाले देशका युवालाई देशमै केही नयाँ र फरक गर्न सकिन्छ भन्ने हिम्मत भरिरहेका छन्। डिजिटल समाधान, सामाजिक नवप्रवर्तन र विश्व स्तरको दृष्टिकोण बोकेका यी युवा अब केवल सपना देख्ने होइन, ती सपना पूरा गर्ने बाटो आफै बनाउँदै 'हामी पनि सक्छौँ' भन्ने आवाज बुलन्द गरिरहेका छन्।

उद्यमशील यात्राका चुनौती : जोससँगै अवरोध पनि
नेपालमा युवा उद्यमशीलताप्रतिको उत्साह र आशावादको वातावरण त छ, तर यो यात्रा सहज छैन। हरेक युवा उद्यमीको सपनामा ठूला चुनौती उभिएका छन्।

सबैभन्दा ठूलो समस्या नै वित्तीय पहुँच हो। देशका परम्परागत बैंक नयाँ स्टार्टअपमा लगानी गर्न अझै हिचकिचाउँछन्। ठोस धितो वा व्यावसायिक इतिहासबिना ऋण पाउन गाह्रो छ। जसले गर्दा परिवर्तनशील सोच भएकाले पनि आफ्नो सपना पूरा गर्न कठिनाइ भोग्नुपर्छ।

त्यसैगरी, नेपालमा व्यापार दर्ता, इजाजतपत्र प्रक्रिया अझै जटिल र ढिलासुस्तीपूर्ण छ। सरकारी प्रक्रियामा समय लाग्ने, कागजी झमेला धेरै हुने भएकाले धेरै युवा आफ्ना व्यवसाय औपचारिक रूपमा शुरू गर्न नै हिचकिचाउँछन्।

अर्को ठूलो चुनौती हो, आधारभूत पूर्वाधारको अभाव। दुर्गम क्षेत्रमा त स्टार्टअपले बजार विस्तार गर्नु, लगानीकर्ता पाउनु वा उपभोक्तासम्म पुग्नु झनै कठिन छ।

यी अवरोधले गर्दा नेपालमा स्टार्टअपको दीर्घकालीन सफलता दर अझै निराशाजनक छ। विश्वव्यापी रूपमा स्टार्टअपहरूको असफलता दर उच्च छ। स्ट्याटिस्टा र फोर्ब्सका अनुसार करिब ५० % स्टार्टअपहरू पहिलो ५ वर्षभित्र असफल हुन्छन्। नेपालमा अवस्था त्योभन्दा नाजुक हुनसक्छ। 

यदि नेपालले युवा उद्यमशीलतालाई दिगो रूपमा फस्टाउन दिने हो भने प्रणालीगत सुधार आवश्यक छ। उद्यमशील इकोसिस्टमलाई अझ समावेशी र सहज बनाउनेतर्फ सरकार र निजी क्षेत्र दुवैले ध्यान दिनुपर्ने देखिन्छ।

देशमै अवसर सिर्जना गर्ने युवा पुस्ताको बाटो
नेपाल अझै पनि ठूलो ब्रेन ड्रेन समस्यासँग जुधिरहेको छ। प्रत्येक दिन करिब ६०० युवा देश छोडेर वैदेशिक अवसरको खोजीमा विदेश गइरहेका छन्। शिक्षित र दक्ष जनशक्तिको यो लगातार विदेश गमनले देशको सामाजिक तथा आर्थिक विकासमा गम्भीर असर पारिरहेको छ।

तर, केही नयाँ आशा पनि देखिँदै छ। आफ्नै देशमा उद्यमशीलता प्रवर्द्धन गर्न सकिन्छ भन्ने आवाज पनि उठ्दै छ। सरकारले शुरू गरेको ‘युवा स्वरोजगार कर्जा कार्यक्रम’ जस्तो योजनाले युवा उद्यमीलाई स्टार्टअप खोल्न ऋण उपलब्ध गराउँदै छ।

विदेशबाट फर्केका नेपालीले पनि कृषि व्यवसायमा लगानी बढाइरहेका छन्। पछिल्लो समय, कृषि ऋणको सीमा १५ लाख रुपैयाँबाट बढेर ५० लाखसम्म पुगेको छ। यो परिवर्तनले फर्केका युवामा देशको उद्यमशील सम्भावनाप्रति बढ्दो विश्वास र आफ्ना अनुभव तथा पुँजीलाई देशमै लगानी गर्ने चाहना देखाइरहेको छ।

यदि यस्ता प्रवृत्तिलाई अझ संस्थागत रूपमा विस्तार गर्न सकियो भने देशले युवा जनशक्तिको विदेश मोहलाई कम गर्न सक्छ। उनीहरूलाई आफ्नै देशमा भविष्य निर्माण गर्न सक्ने वातावरण तयार गर्न सक्छ। उद्यमशीलता युवाका लागि मात्र नभई देशको विकासकै लागि पनि एउटा महत्त्वपूर्ण कडी हो।

अगाडिको बाटो: सहयोगी पारिस्थितिक प्रणाली निर्माण
नेपालमा युवा उद्यमशीलताको लहर त उकालो लागिरहेको छ, तर यसलाई दिगो र अझ तीव्र बनाउन बहुआयामिक प्रयासहरू आवश्यक देखिन्छ।

सबैभन्दा पहिले, व्यापार दर्ता र इजाजतपत्र प्रक्रियालाई सरल र छिटो बनाउने नीतिमा सुधार अत्यावश्यक छ, जसले प्रशासनिक अवरोधहरू हटाउन मद्दत गर्छ। त्यसैगरी, स्टार्टअपहरूलाई लक्षित गर्दै विशेष भेन्चर क्यापिटल फन्ड, एंजल इन्भेस्टर नेटवर्क  र माइक्रोफाइनान्स योजनाहरू स्थापना गरी वित्त पहुँच सुधार्नु उत्तिकै महत्त्वपूर्ण छ।

अर्को महत्त्वपूर्ण पक्ष हो, परामर्श र इन्क्युबेसन कार्यक्रम। काठमाडौँ उपत्यकाबाहिर यस्ता कार्यक्रमहरू सञ्चालन गरी स्थानीय युवालाई प्राविधिक ज्ञान, मार्गदर्शन र नेटवर्किङ प्लेटफर्म उपलब्ध गराउन सकिन्छ। यसले युवा उद्यमीलाई आफ्नै क्षेत्रमा टिक्न र आफ्नो व्यवसाय बढाउन सहयोग पुग्नेछ।

त्यसैगरी, विद्यालय र कलेजको पाठ्यक्रममा नै उद्यमशीलता शिक्षा समावेश गरी प्रारम्भिक उमेरदेखि नै युवामा उद्यमशील सोच विकास गर्न सकिन्छ। यसले विद्यार्थीलाई व्यवसाय सुरु गर्दा आउने चुनौती सामना गर्न आवश्यक सीप र आत्मविश्वास दिन्छ।

उद्यमशीलताको यो यात्रा केवल युवाको व्यक्तिगत सफलता मात्रै होइन, देशको समग्र आर्थिक विकासका लागि पनि महत्त्वपूर्ण हो। त्यसैले अब नीति निर्माणदेखि स्थानीय स्तरसम्म सहयोगी वातावरण निर्माणमा ध्यान दिनुपर्ने बेला आएको छ।