अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

फाइल तस्वीर।

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ। रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि मंगलबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।

डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन। सडक सञ्चालन गर्न जोहाङ खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर वर्षा नरोकिएका कारण समस्या परेको प्रहरीले जनाएको छ।  

उता, दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेको छ। जिल्ला प्रशासन कार्यालयले प्रशासनले अत्यावश्यक कामबाहेक मानिसलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा १८० भन्दा बढी स्थानलाई  बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

यस्तै, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।  

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन्। 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा पहिरो खस्ने गरेको छ। पहिरोका कारण विद्युत्‌को पोल पनि जोखिममा रहेको छ।