सोमपाल र अर्जुनसहित चार नेपाली खेलाडी पीसीएलको ड्राफ्टमा

पीसीबीले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा सोमपाल र अर्जुनसँगै विकेटकिपर तथा ब्याटर सुवास खकुरेल र अलराउन्डर मोहम्मद आदिल आलम (आदिल अन्सारी) परेका छन्।

काठमाडौँ– पाकिस्तान सुपर लिग पीसीएलको आठौँ संस्करणको ड्राफ्टमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी र ओपनर तथा विकेटकिपर अर्जुन साउदसँगै चार खेलाडी परेका छन्। 

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा सोमपाल र अर्जुनसँगै विकेटकिपर तथा ब्याटर सुवास खकुरेल र अलराउन्डर मोहम्मद आदिल आलम (आदिल अन्सारी) परेका हुन्।

पीसीबीका अनुसार उनीहरू विदेशी कोटाको सिल्भर क्याटगरीमा परेका छन्। पीसीएलको आठौँ संस्करणको ड्राफ्ट यही डिसेम्बर १५ मा हुने छ। पीसीबीले ड्राफ्टका लागि पिक अर्डरसमेत सार्वजनिक गरिसकेको छ।

जसअनुसार ड्राफ्टमा डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्सले पहिले छनोट गर्नेछ। क्वेटा ग्लाडिएटर्स र मुल्तान सुल्तान्सले दोस्रो र तेस्रो छनोट गर्ने छन्। चौथो र पाँचौँ छनोट कराँची किंग्स र इस्लामाबाद युनाइटेडको हुनेछ। पेशावर जाल्मीले छैटौँमा छनोट गर्ने छ।

पीसीएल फेब्रुअरी ९ देखि मार्च १९ सम्म कराँची, मुल्तान, रावलपिंडी र लाहोरमा हुने तय गरिएको छ। लाहोर कलन्दर्सले यसपटक उपाधि रक्षा गर्नेछ।