लु सुनको बारीका खुर्सानी

म भारतमा हुने सेमिनारका लागि जाँदै थिएँ, साँझको उडान थियो। मेरै घरको बारीको फूल टिपेर गोजीमा राखेँ अनि सीधै घाट गएँ। चित्तरञ्जन दाइको पार्थिव शरीर चितामा सुताइएको थियो। उहाँलाई एक थुँगा फूल चढाएँ।

चित्तरञ्जन दाइको परिवारको तीन पुस्तासँग मेरो अचम्मको सम्बन्ध रह्यो। 

मैले चित्तरञ्जन दाइलाई चिनेको नाटक खेल्ने सिलसिलामा नै हो। एउटा कालखण्डमा हामी साहित्यकार विजयबहादुर मल्लसँग निकै नजिक थियौँ। उहाँ नाटक लेख्नुहुन्थ्यो, हामी मञ्चन गर्ने अभियानमा जुट्थ्यौँ। विजय मल्ल र गोविन्दबहादुर मल्ल ‘गोठाले’ दुवै जनासँग चित्तरञ्जन दाइको राम्रो सम्बन्ध थियो। चित्तरञ्जन दाइ र विजय दाइ त अक्सर सँगै भेटिनुहुन्थ्यो। हामी पनि विजय दाइकै वरिपरि हुन्थ्यौँ।

चित्तरञ्जन दाइ आफैँ पनि साहित्यकार, लेखक र इतिहासकार हुनुहुन्थ्यो। नाट्यकर्म र सङ्गीतप्रति पनि उहाँको गहिरो रुचि थियो। डबलीको जमाना र भर्खर रङ्गमञ्चमा नाटक प्रवेश गरेको बेलाको कलाकार हुनुहुन्थ्यो। मैले उहाँको अभिनय प्रत्यक्ष हेर्न त पाइनँ, तर बेलाबेला चित्तरञ्जन र विजय दाइहरू आफूहरूले गरेको कामको चर्चा गर्नुहुन्थ्यो। हामीलाई पनि ती अनुभव सुनाउनुहुन्थ्यो। यसरी चित्तरञ्जन दाइसँगको सम्बन्ध सूत्र विजय दाइ हुनुहुन्थ्यो।

एउटा अपूर्व संयोग चाहिँ, म चित्तरञ्जन दाइको छोरा मनोज राजभण्डारीसँग पनि साथी हुन पुगेँ। मैले शुरूमा मनोजलाई एक खेलाडीका रूपमा मात्र चिनेको थिएँ, पारिवारिक सम्बन्ध थाहा थिएन।

मनोजसँग मेरो घनिष्ठता २०२५ सालमा झापामा भएको अन्तर अञ्चल राष्ट्रव्यापी खेलकुद प्रतियोगिताबाट भएको हो। त्यसअघि काठमाडौँमै उपत्यकाव्यापी स्कुलस्तरीय प्रतियोगितामा सामान्य चिनजान भएको थियो। मनोज शान्तिनिकुञ्जमा पढ्ने हुँदा त्यही स्कुलको प्रतिनिधित्व गरेर आएको थियो। म विजय स्मारक, डिल्लीबजारमा पढ्थेँ। दुई सय मिटर दौडको धावक थिएँ। त्यस खेलकुदको दौड प्रतियोगिता मनोजले जितेको थियो। ऊ एक सय र दुई सय मिटर ड्यासमा विलक्षण प्रतिभाको धावक थियो। म हार्दा पनि जितेका मान्छेहरूलाई सम्झिराख्छु, जसरी जित्दा मेरा प्रतिस्पर्धीलाई सम्झिराख्छु। दौडमा निष्ठावान् र मभन्दा बढी मिहिनेती मोहन राजभण्डारी, अनुपशमशेर जबरा र मनोज राजभण्डारी राम्रा धावक थिए। अनुपजीले त दार्जिलिङमा दौडिएको देखिसकेको थिएँ। म दार्जिलिङ पढ्न जाँदा उहाँ नेपाल फर्किने बेला भइसकेको थियो। म दार्जिलिङमै भएको बेला यता झापामा खेलकुद प्रतियोगिता भएको थियो। दार्जिलिङबाट झापा नजिक भएका कारण केही साथी सल्लाह गरेर प्रतियोगिता हेर्न झरेका थियौँ। त्यहाँ दोस्रो पटक मनोजसँग भेट भयो। सामान्य चिनजानलाई हामीले घनिष्ठ मित्रतामा रूपान्तरण गर्‍यौँ। पछि मात्र थाहा पाएँ कि मनोज त चित्तरञ्जन दाइको छोरा रहेछ।

अझ पछिल्लो कालखण्डमा मनोजको छोरा मनीषसँग पनि मेरो चिनजान, भेटघाट र घनिष्ठता भयो। यसकारण मैले चित्तरञ्जन दाइको तीन पुस्तासँग सङ्गत गरेको नाता छ। तर सम्बन्धको सनसनीपूर्ण पाटो भनेको जुन बेला मैले मनोजलाई चिनेँ, उनी चित्तरञ्जन दाइको छोरा भन्ने थाहा थिएन। जुन बेला चित्तरञ्जन दाइलाई मैले चिनेँ, उहाँ मनोजका पिताजी भन्ने थाहा थिएन। अनि फेरि जुन बेला मनीषलाई चिनेँ, ऊ मनोजको छोरा भन्ने पनि मलाई थाहा थिएन। बेग्लाबेग्लै पृष्ठभूमिमा तीनै जनासँग मेरो चिनजान भएको हो। 

चित्तरञ्जन दाइले साहित्यकार, इतिहासकार, कलाकार, प्रशासक र अन्वेषक भएर देशको सेवा गर्नुभयो। यस्तो प्रकारको विद्वत्ता कम मान्छेमा मात्र पाइन्छ। मैले पनि केही समय प्रशासनमा बसेर काम गर्ने मौका पाएँ। म सञ्चार मन्त्रालयअन्तर्गत काम गर्थें। चित्तरञ्जन दाइ भने प्रायः गृह मन्त्रालयमा बस्नुभयो। यद्यपि चित्तरञ्जन दाइको प्रशासनिक दक्षता उहाँ निर्वाचन आयुक्त भएको बेलामा चिन्न पाएँ। २०५१ सालमा उहाँ निर्वाचन आयुक्त हुनुभएको बेला मैले पनि निर्वाचन आयोगको चुनाव प्रचारप्रसार समितिमा बसेर काम गर्ने मौका पाएको थिएँ। प्रचारप्रसार समिति भने प्रमुख निर्वाचन आयुक्त विष्णुप्रताप शाह मातहतमा थियो। तर चित्तरञ्जन दाइसँग पनि भेट भइरहने र छलफल हुने गथ्र्यो। हामी साहित्य र कलाकारितामा भएका कारण पहिलेबाटै सामीप्यमा थियौँ। तर जुन गहिराइमा हाम्रो सिर्जनात्मक सामीप्य थियो, प्रशासनिक कामको सिलसिलामा त्यस्तै सामीप्य भएन। प्रशासनमा हाम्रो कामको प्रकृति फरक हुँदा पनि त्यस्तो भएको हो।

यसरी झाँगिएको सम्बन्ध अत्यन्त निकट भएको चाहिँ हामी तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा एकै पटक प्राज्ञ परिषद् सदस्य नियुक्त भएपछि नै हो। मेरा लागि त्यो एउटा मिठो संयोग थियो। हामीले २०५६ सालदेखि २०६१ सालसम्मको पाँचवर्षे कार्यकाल सँगै बितायौँ। त्यति बेला प्रज्ञा–प्रतिष्ठान एउटै थियो, फुटाएर सङ्गीत, नाट्य र ललितकला बनाइएको थिएन। म सङ्गीत–नाट्य विभाग प्रमुख थिएँ। चित्तरञ्जन दाइ इतिहास विभाग प्रमुख हुनुहुन्थ्यो। हाम्रो कार्यकाल नै अन्तिम पटक पूर्ण कार्यकालको सग्लो प्रज्ञा–प्रतिष्ठान थियो। त्यसपछिको प्रज्ञा–प्रतिष्ठान बीचमै विघटन भयो अनि टुक्र्याइयो। त्यही कार्यकालमा हामीले एकअर्कालाई नजिकबाट चिन्ने र बुझ्ने मौका पायौँ, घनिष्ठ भयौँ। ती सम्झनाहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ।

प्रज्ञा–प्रतिष्ठानमा मैले बिताएको पाँच वर्षले मलाई धेरै ठूलो ज्ञान दिएको छ। मसँगै प्राज्ञ हुनुभएका तत् विषयका ज्ञातासँग त्यही विषयको ज्ञान हासिल गर्न मैले मेरो कार्यकालभरिको समय उपयोग गरेँ। मैले खासगरी ज्ञानगुनका लागि चित्तरञ्जन नेपाली र माधवलाल कर्माचार्यसँग धेरै समय बिताएँ। उहाँहरू ज्ञानको भण्डार हुनुहुन्थ्यो। म इतिहास, संस्कृति र सिनेमामा बढी रुचि राख्थेँ। इतिहासकै विषयमा सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो/लाग्छ। त्यस बेला मेरो जिज्ञासा शान्त पार्नसक्ने उहाँहरू दुई जना नै हुनुहुन्थ्यो। मैले त्यही कालखण्डमा ‘वसन्ती’ सिनेमा बनाएँ। मलाई सजिलो के थियो भने, मेरा लागि इतिहासबारेको ज्ञानको तयारी स्रोत नै अगाडि उभिनुभएको थियो। यो सिनेमा बनाउँदा मैले कुन तहमा पुगेर छलफल गरेँ हुँला भनेर जोकोहीले अनुमान गर्न सक्नुहुन्छ। सिनेमा बनाइसकेपछि मैले देखाएको पहिलो १०० जना दर्शकमध्ये एक जना चित्तरञ्जन दाइ पनि हुनुहुन्थ्यो।

प्रज्ञा–प्रतिष्ठानमा पाँच वर्षको कार्यकालमा धेरै स्मरणीय घटना भए। तीमध्ये प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डलले गरेको चीन भ्रमण सम्झनामा आइरहन्छ। चीनसँगको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन एकअर्को देशका एकेडेमीका प्रतिनिधिमण्डल आदानप्रदान गर्ने सहमति भएको रहेछ। एक वर्षको भ्रमण दलमा प्राज्ञका रूपमा म पनि सामेल थिएँ। हाम्रो प्रतिनिधिमण्डलको नेता तत्कालीन उपकुलपति मोहन कोइराला हुनुहुन्थ्यो। त्यस टोलीमा म, चित्तरञ्जन दाइ, तुलसी भट्टराई, डा. रामदयाल राकेश, माधवलाल कर्माचार्य र प्रशासन विभागका प्रमुख सूर्यप्रसाद सापकोटा हुनुहुन्थ्यो। काठमाडौँबाट हिँडेदेखि हङकङ हुँदै फर्किंदा हामीले सोह्रसत्र दिन विदेशमा बिताएका थियौँ। त्यो यात्राको पूरा अवधि रोचक थियो। त्यसमध्ये पनि एक दिनको घटना चित्तरञ्जन दाइलाई मृत्युपर्यन्त सम्झिरहने क्षण बन्यो।

चीनले हामीलाई उसका ख्यातिप्राप्त ठाउँ भ्रमण गराएको थियो। हामी एकेडेमीबाट गएको हुनाले उसले साहित्यिक र सांस्कृतिक महत्त्वका ठाउँहरू पनि छानेको थियो। एक दिन हामीलाई झेजियाङ प्रान्तको सायोसिङस्थित प्रख्यात साहित्यकार लु सुनको घर घुमाउन लगिएको थियो। उनको घरलाई दुरुस्तै राखेर संरक्षण गरिएको रहेछ। जहाँ सुत्थे, जहाँ बसेर लेख्थे, जहाँ बसेर चिया खान्थे, जहाँ आफैँ फूलबारी बनाएका थिए ती सबैको संरक्षण गरिएको थियो। त्यो घर गजबको सङ्ग्रहालय थियो, जहाँ लु सुन जीवित भएझैँ भान हुन्थ्यो। उनले प्रयोग गरेका सामान दुरुस्त हेर्न पाइएको थियो। अवलोकनकर्तालाई पूर्वस्मृतिमा फर्काउन त्यहाँको पर्यावरण नै काफी थियो।

मैले लु सुनबारे थाहा पाएको थिएँ, तर चिन्नका लागि धेरै बाँकी थियो। हामीले बिहानको करिब साढे ९ बजेदेखि १२ बजेसम्मै लु सुनको घरमा बितायौँ। हामीले यति डुबेर लु सुनको घर अवलोकन गर्‍यौँ कि मेरा लागि त्यो महान् शैक्षिक यात्रा भयो। यस्तो यात्रामा गाइडको महत्त्वपूर्ण भूमिका हुन्छ। हामीलाई चीनको एकेडेमीले एक जना गाइड उपलब्ध गराएको थियो। रेडियो बेइजिङमा काम गर्ने ती गाइड चिनियाँ थिए र उनको नेपाली नाम चन्द्रबहादुर थियो। उनी चाइनिज लवजमा कनीकुथी नेपाली बोल्थे। उनले हामीलाई लु सुनको घर, त्यहाँको पर्यावरण र सङ्ग्रहालयबारे बयान गरे। तर ती चिनियाँले भन्दा कैयौँ गुना ज्यादा जानकारी चित्तरञ्जन दाइले दिनुभयो। उहाँले लु सुनको जीवनलाई त्यहाँको सांस्कृतिक क्रान्तिसँग जोडेर त्यो चित्र मेरो अगाडि छर्लङ्ग राखिदिनुभयो। उहाँ त लु सुनबारे ज्ञाता नै हुनुहुँदो रहेछ। मैले उहाँको त्यो ज्ञानको फाइदा पाएँ। चित्तरञ्जन दाइले कतिसम्म जानकारी राख्नुभएको रहेछ भने, तत्कालीन राज्य सञ्चालकले केही सांस्कृतिक पक्षबारे गरेका निर्णयबारे लु सुनले असहमति राखेका रहेछन्। आफ्नै शैलीमा विद्रोह गरेका रहेछन्। त्यहीकारण केही समय राज्यको ‘ह्वाइट लिस्ट’बाट उनलाई बाहिर राखिएको रहेछ।

पूर्वीय संस्कृति र दर्शनलाई लु सुनले प्रचार गर्न चाहेका थिए। यहाँको अथाह ज्ञान र विज्ञानको भण्डारका कारण पाश्चात्य जगत्ले पूर्वलाई सिकाउने होइन कि, यहाँबाट सिक्ने कुरा धेरै भएको बताएका रहेछन्। पूर्वीय दर्शनले मानव सभ्यताको विकास र कल्याण गर्ने कुरा राखेर त्यसलाई विश्वभरि उठाउनुपर्छ र त्यसका लागि साहित्यकार र संस्कृतिकर्मी थकाइ नमारी लाग्नुपर्छ भन्ने उनको मत रहेछ। मजस्तो संस्कृतिकर्मीका लागि उनी सम्मानित व्यक्ति भइहाले। उनकै घरमा राखिएको सङ्ग्रहालयमा नेपालका विद्वान् चित्तरञ्जन नेपालीबाट यी सबै वृत्तान्त सुन्न र बुझ्न पाएँ, यो ज्ञान मेरा लागि अविस्मरणीय भयो।

लु सुनको घर भ्रमणको अन्त्यमा सङ्ग्रहालयका अधिकारीले हामीलाई केही उपहार दिए। त्यसले मात्र मेरो चित्त बुझेन। मैले चित्तरञ्जन दाइलाई भनेँ, “यो ठाउँमा आएर यति धेरै कुरा जान्न पाइयो दाइ, अब यो भ्रमणमा पाएको ज्ञान जीवनभरिलाई सम्झना हुने गरी यहाँबाट कुनै वस्तु लैजान पाए हुन्थ्यो।”
लु सुनको बारीमा खुर्सानी फलिरहेको थियो। मेरो ध्यान त्यतातिर खासै गएको थिएन। चित्तरञ्जन दाइले उपहार लैजाने नयाँ तरिका सिकाउनुभयो। शुरूमा त मैले बुझिनँ। तर अहिले सम्झिँदा त्यो जिन्दगीभरि याद आउने उपहार रहेछ। उहाँले लु सुनको बारीमा फलिरहेको खुर्सानी देखाउँदै भन्नुभएको थियो, “ल शाहजी, चिनियाँहरूलाई सोधेर यहाँ फलेका चार वटा खुर्सानी टिप्नुहोस्। आज यिनै खुर्सानीसँग भात खाऔँ। यी खुर्सानीसँग भात खानु हाम्रा लागि लु सुनको अपूर्वको उपहार हुन्छ।”

ती खुर्सानी साना तर राता थिए। हेर्दा पनि निकै पिरो होला जस्तो। मैले हाम्रो चिनियाँ गाइड चन्द्रबहादुरलाई बोलाएर भनेँ, “म पिरो खाने मान्छे हुँ। यहाँ लु सुनको बारीमा फलेको खुर्सानी निकै राता र हेर्दै पिरा जस्ता छन्। मलाई यी खुर्सानी खाने रहर लाग्यो। चार वटाजति टिप्न मिल्छ भने अहिले लन्च खाँदा काम लाग्छ, हामीलाई यहाँको उपहार पनि हुन्छ। यहाँको अथोरिटीलाई सोधिदिनुहोस् न !”

चन्द्रबहादुर केही समय हराए अनि अनुमति लिएर आए। उनले खुर्सानी टिप्न अनुमति भएको बताएपछि म आफैँ बारीमा गएँ र चार वटा खुर्सानी टिपेर गोजीमा राखेँ। त्यहाँबाट हामी सीधै खाना खाने होटलमा गयौँ। चित्तरञ्जन दाइ, माधवलाल दाइ, म र प्रशासनका प्रमुख सूर्यप्रसाद सापकोटा एउटा टेबलमा बसेका थियौँ। मैले खुर्सानी गोजीबाट निकालेर टेबलमा राखेँ। चार वटामध्ये एउटा खुर्सानी चित्तरञ्जन दाइले लिनुभयो। ती खुर्सानी असाध्यै पिरा थिए। दाइले थोरै मात्र खान सक्नुभयो। माधवलाल दाइ पनि धेरै पिरो खान नसक्ने हुनुहुँदो रहेछ। उहाँले एक टुक्रा खानुभयो। मैले चाहिँ एउटा खाएँ। अर्को एउटा प्रशासन प्रमुख सूर्यजीले खानुभयो।

मैले बल्ल पो बुझेँ, चित्तरञ्जन दाइले कस्तो गजबको उपहार लैजाने सल्लाह दिनुभएको रहेछ। त्यो खुर्सानीको स्वाद अहिले पनि मेरो जिब्रोमा छ। मैले अहिले त्यो खुर्सानीको वर्णन गर्दा पनि जिब्रोमा त्यही पिरो भान भइरहेको छ र त्यसलाई मेरो मस्तिष्कले सम्झिरहेको छ। खासमा स्वादलाई वर्णन गर्न सकिँदैन, त्यो त व्यक्तिले अनुभूत गर्ने मात्र हो। जसरी खुर्सानीको स्वाद मैले सम्झिरहेको छु, त्यसरी नै लु सुनको दर्शन सम्झिरहेको छु। लु सुनको घर, उनको बारीको खुर्सानीको कारण अहिले चित्तरञ्जन दाइलाई पनि सम्झिरहेको छु। उहाँको विद्वत्तालाई सम्झिरहेको छु।

अब चित्तरञ्जन दाइ सम्झनामा मात्र हुनुहुन्छ। उहाँ दिवङ्गत हुनुभन्दा २५–३० दिनअघि गोविन्दबहादुर मल्ल ‘गोठाले’को कुनै कृतिमा सिनेमा बनाउन मेरै घरमा छलफल चलेको थियो। हुन त उहाँको कृतिमा धेरैले सिनेमा बनाएका छन्। तर उहाँलाई जीवन्त राख्ने गरी सम्झनलायकको सिनेमा बनाउने सोच थियो। कुन कृतिमा बनाउने भन्ने निर्णय लिन सकेको थिइनँ। केही त उहाँले लघुकथाका रूपमा लेखेर कुनै किताबमा परेको वा यसै कतै छापिएको पनि होला जुन अभूतपूर्व सिनेमा बन्ने स्कोप बोक्न सक्थ्यो। यसबारे सबैभन्दा बढी जानकार चित्तरञ्जन दाइ नै हुनुहुन्थ्यो। त्यसैले म उहाँलाई भेट्न बाँसबारीस्थित घरमा गएँ। म बिहानै त्यहाँ पुगेको थिएँ। चित्तरञ्जन दाइ ९३ वर्ष पुगिसक्नुभएको थियो। उहाँले भन्नुभएको थियो, “हेर्नुस् शाहजी, मेरा त सारा दौँतरी गइसके नि ! अब म मात्र बाँकी छु। म बिस्तारै बिस्तारै हिँड्छु। मान्छे चिन्न र कुराकानी गर्न गाह्रो छैन। हिँडडुल गर्न चाहिँ अलि समस्या हुन थालेको छ।”

अनि उहाँले मलाई चिया र अन्डा खान आग्रह गर्नुभयो। तर म भेज भएको हुनाले अन्डा नखाने बताएँ। कफी चाहिँ जति कप पनि खान्छु भनेँ। उहाँको छोरा मनोजले कफी मगाइदियो। मैले दुई कप कफी खाएँ।

चित्तरञ्जन दाइले गोविन्द मल्ल ‘गोठाले’को बाह्र कथा पुस्तक पढ्न सल्लाह दिनुभयो। त्यहाँ एउटा ऐतिहासिक सन्दर्भको कथा रहेछ, मेरो रुचि पनि त्यस्तै कथामा भएको हुनाले सिनेमा बनाउन उपयुक्त हुनसक्ने बताउनुभयो। मसँग पुस्तकको सङ्ग्रह छ। मैले घर आएर पढेँ। त्यो साँच्चिकै अभूतपूर्व कथा रहेछ। म फेरि चित्तरञ्जन दाइको घर गएर उक्त कथाको पृष्ठभूमिबारे कुरा गर्छु भन्ने सोच बनाएको थिएँ। एक बिहान फेसबुक हेर्दै थिएँ, कसैले चित्तरञ्जन दाइलाई श्रद्धाञ्जली दिएर परिवारलाई समवेदना सन्देश राखेको रहेछ। त्यति नै बेला चित्तरञ्जन दाइको घरबाट कसैले फोन गर्‍यो र उहाँ बित्नुभएको खबर सुनायो। मैले त सबैतिर कालो अँध्यारो महसुस गरेँ। एक छिनपछि उहाँको छोरा मनोजलाई फोन गरेँ, अरू कसैले उठायो। खबर साँचो रहेछ।

म त्यही दिन भारतमा हुने सेमिनारका लागि जाँदै थिएँ, साँझतिरको उडान थियो। मैले मेरै घरको बारीमा फुलेको फूल टिपेर गोजीमा राखेँ अनि सीधै घाट गएँ। चित्तरञ्जन दाइको पार्थिव शरीर चितामा सुताइएको थियो। उहाँलाई एक थुँगा फूल चढाएँ र नमस्कार गरेँ। त्यति बेला लु सुनको घर र उनको बारीको खुर्सानी दिमागमा आइरहे। त्यहाँबाट सीधै एयरपोर्टतिर लागेँ। मैले यात्राभरि नै लु सुनको घरमा चित्तरञ्जन दाइले गर्नुभएको बयान र त्यहाँ बिताएका हरेक क्षण मात्र सम्झिरहेँ।

(नीर शाहको यो लेख दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थबाट साभार गरिएको हो। उक्त पुस्तक शुक्रबार सार्वजनिक भएको छ।)