नेपाल स्कट्ल्यान्डसँग ८ विकेटले पराजित

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कट्ल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनायो।

काठमाडौँ– नामिबियाको भ्रमणमा रहेको नेपाल आईसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत त्रिदेशीय ओडीआई सिरिजको चौथो खेलमा पनि पराजित भएको छ। बिहीबार स्कट्ल्यान्डसँग भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कट्ल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनायो।

स्कट्ल्यान्डका ओपनर जर्ज मुन्सेले २८ बलमा ७ चौका र २ छक्कासहित ४५ रनको योगदान दिए। क्रिस्टोफर म्याकब्राइडले अविजित रहँदै ४० बलमा ७ चौकासहित ४६ रन बनाए। यस्तै, काइल कोट्जले १६ र रिचार्ड बेरिंगटनले अविजित रहँदै १२ रन जोडे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुलशन झाले १/१ विकेट लिए।

त्यसअघि युनाइटेड क्रिकेट एकेडेमीको खेल मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। उनले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

उनीबाहेक अन्य ब्याटरले सम्झनलायक खेल प्रदर्शन गर्न सकेनन्। तल्लोक्रमका सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाए।

यस्तै, ज्ञानेन्द्र मलले ९, आरिफ शेखले ६, गुलशन झाले ५, आशिफ शेखले १ रन बनाउँदा ओपनर अर्जुन साउदले खाता खोल्न सकेनन्।

स्कट्ल्यान्डका ब्रेन्डन म्याकमलन, सफायान सरिफ र मार्क वाटले २/२ विकेट लिए।

यसअघि नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। अर्को खेलमा नेपाल स्कट्ल्यान्डसँग ३ विकेटले पराजित भएको थियो।

बुधबार नामिबियासँग नेपाल ८६ रनले पराजित भएको थियो। ७ टोली सहभागी लिग टू मा नेपाल २४ खेलमा १८ अंकसहित छैठौँ स्थानमा यथावत् छ।