गोविन्द गिरी प्रेरणाको 'सुश्री पारिजात' सार्वजनिक

गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ बिहीबार लोकार्पण गरिएको छ।

काठमाडौं– गोविन्द गिरी प्रेरणाद्वारा लिखित कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। काठमाडौँको प्रज्ञा प्रतिष्ठानको डबलीमा बिहीबार आयोजित कार्यक्रममा प्राध्यापक भूवन ढुंगाना, लेखक एवं सम्पादक श्रीओम श्रेष्ठ 'रोदन' र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रमका वक्ता श्रीओम श्रेष्ठ 'रोदन'ले पारिजातका विषयमा खोजमूलक पुस्तक ल्याउनु आफैँमा चुनौतीपूर्ण रहेको बताए। “पारिजातको विषयमा यसअघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान्। तर, पारिजातको विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरूभन्दा फरक छ,” उनले भने, “यो पुस्तक लेख्न उहाँले २ दशक लगाउनु भएको छ भने यसमा पक्कै केही विशेष छ।”

यस्तै, अर्का वक्ता प्राध्यापक भूवन ढुंगानाले पारिजातका विषयमा सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन्। उनले समग्रमा पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र नभई उनका कृतिहरूका बारेमा जान्नका लागि पनि उपयोगी रहेको बताइन्।

कार्यक्रममा लेखक प्रेरणाले ‘सुश्री पारिजात’ पुस्तकका लागि सामग्री खोजबिनमा लामो समय खर्चिएको बताए। उनले पुस्तक २ दशकको समय लगाएर लेखेको बताए। यस्तै, पारिजातलाई प्रत्यक्ष रूपमा भेटेर गरेका संवाद अनि उनका विविध अन्तरंग सम्बन्धहरूका बारेमा पनि उनले उल्लेख गरे।