इरानमा सरकारविरुद्ध प्रदर्शन गरेको आरोपमा १ जनालाई मृत्युदण्ड

सरकार तथा ईशनिन्दा गरेको आरोपमा इरानमा १ जनालाई मृत्युदण्ड दिइएको छ। उनीमाथि सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बलका जवानलाई घाइते बनाएको आरोपसमेत छ।

सरकार विरोधी आन्दोलनमा सहभागी भएको आरोपमा इरानले बिहीबार एक पुरुषलाई मृत्युदण्ड दिएको छ। इरानी नागरिक मोहसेन शेकारीलाई मृत्युदण्ड दिइएको बीबीसीले उल्लेख गरेको छ। 

सरकार विरोधी आन्दोलनमा उत्रिएका धेरै जनालाई इरानले मृत्युदण्डको सजाय सुनाइसकेको छ तर मृत्युदण्ड दिएको यो पहिलो घटना हो।

सरकार विरोधी आन्दोलनमा सहभागी भएको तथा ईश निन्दा गरेको आरोपमा त्यहाँको अदालतले शेकारीलाई मृत्युदण्डको सजाय सुनाएको थियो। उनीमाथि सेप्टेम्बर २५ मा राजधानी तेहरानमा भएको प्रदर्शनका क्रममा सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बासिज बललाई घाइते बनाएको आरोप लगाइएको थियो।

कुनै आगामी प्रक्रियाबिना नै सामान्य सुनुवाइकै आधारमा शेकारीलाई दोषी ठहराइएको एक अधिकारकर्मीले बीबीसीलाई बताएका छन्। इरानी सरकारी अधिकारीलाई तत्काल नतिजा देखिने गरी अन्तर्राष्ट्रिय दबाब नदिएसम्म मृत्युदण्डको सजाय पाउने प्रदर्शनकारीको संख्या दैनिक बढ्ने नर्वेस्थित इरान ह्युमन राइट्सका निर्देशक महमुद अमिरी–मोघाद्दामको भनाइ छ।

इरानको न्यायालयले हालसम्म ११ जना जनालाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ। 

पहिरनसम्बन्धी बाध्यकारी नियम पालना नगरेको भन्दै इरानको कथित नैतिक प्रहरीको नियन्त्रणमा परेकी २२ वर्षकी महसा अमिनीको हिरासतमै मृत्यु भएपछि इरानभर आन्दोलन चर्किएको थियो। 

महिला नेतृत्वको आन्दोलनमा अधिकांश पुरुषले साथ दिएका थिए। साढे दुई महिनाभन्दा लामो समयसम्म चलेको आन्दोलनमा सहभागीहरू हाल इरानी प्रहरीको आँखाको तारो बनिरहेका छन्।

-एजेन्सीको सहयोगमा