दशैँकै बेला किन उठ्छ पशुअधिकारको विषय?

पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आम तरकारी-सागपातझैँ चुप रहन्थे भने  सम्भवतः मांसभोजन र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्।

दशैँको आगमनसँगै विशेषतः ‘भर्चुअल समाज’मा दुईथरि बहस चल्छन् (भौतिक समाजमा यस्तो बहस धेरै कम हुनेगर्छ)। मासु नखाने, बलिविरोधी र शाकाहारी हिन्दू सम्प्रदाय पशुपक्षी हत्या ‘पाप’ भएको तर्क उठान गर्छन्। मासु खानुलाई सामान्य रूपमा लिने सनातनी हिन्दूहरू भने यस मतप्रति असहमति प्रकट गर्छन्। सनातनी परम्परामा मासु खाने र नखाने, बलि दिने र नदिने दुवै अभ्यास लामो समययता प्रचलनमा छ। तर दुवै पक्षले आ–आफ्ना तर्क ‘शास्त्रीय’ हुन् भनी दाबी गर्दै आएका छन्। धार्मिक पुस्तकहरूमा भने दुवै मत भेटिन्छ, किनकि हिन्दू परम्परा अनेकौँ मत/परम्परा र सम्प्रदायको सम्मिश्रण (फ्युजन) हो।

‘अहिंसा पक्षधर‘ ‘अष्टादश पुराणेशु व्यासस्य वचन द्वयम्, परोपकारपुण्याय पापाय परपिडनम्‘ (अठार पुराणको सार व्यासको दुई वचनमा व्यक्त गर्न सकिन्–अर्काको उपकार धर्म हो र अरूलाई दुःख दिनु पाप हो)लाई जोड दिन्छन्। उनीहरूको भनाइ रहन्छ, ‘मार्नु धर्म हो भने अधर्मचाहिँ के हो?’ धर्मलाई पुण्य र कल्याणका रूपमा व्याख्या गर्नुपर्ने उनीहरूको मान्यता रहन्छ। यद्यपि, मासुलाई भोजनका रूपमा स्विकार्नेहरूचाहिँ परम्परा र अभ्यासलाई कायम राख्नुपर्नेमा जोड दिन्छन्। उनीहरूको मतमा तृष्णाको तृप्ति पनि धर्म नै हो।

उल्लेखनीय के छ भने, दुईतीन दशक पहिलेसम्म नेपाली समाजमा मासु खाने कुरा अत्यन्त खास थियो। विशेष पर्व र अवसरमा मात्र धेरैजसो नेपालीले मासु खान पाउँथे। मासु विशिष्ट व्यञ्जन (डेलिकेसी) मा गनिन्थ्यो। सन् १९९० को दशकपछि नेपालीको आर्थिक अवस्था सुध्रँदै जाँदा र ब्रोइलर कुखुरालगायत ‘सस्तो मासु‘को उत्पादन वृद्धि हुँदै गर्दा मासु डेलिकेसीबाट तल ‌ओर्लेर कतिपय दैनिक त कैयन्मा साप्ताहिक रूपमा पाक्न थालेको छ। 

शाकाहारीको कुरा गर्ने हो, तिनको संख्या अहिले पनि संसारमै थोरै छ। इन्टरनेटमा शाकाहारीको वैश्विक जनसंख्याबारे अनेकन् दाबी पाइन्छन् र नेपाल र भारतका दुग्ध–शाकाहारी (मासु र अण्डा नखाने) शाकाहारीसमेत जोड्दा विश्वमा अहिले सात–नौ प्रतिशत शाकाहारी रहेको अनुमान छ। सीईओ वर्ल्ड म्यागजिनले जनाएअनुसार विश्वका डेढ अर्ब जनसंख्याले माछामासु खाँदैनन्। (सरकारहरूले भोजनबारे बिरलै तथ्यांक संकलन गर्ने भएकाले पनि शाकाहारीको जनसंख्याबारे स्पष्ट हुन कठिन छ।) वर्ल्ड पपुलेसन रिभ्युले उल्लेख गरेअनुसार चीनमा समेत शाकाहारीको संख्या त्यहाँको जनसंख्याको चार–पाँच प्रतिशत हाराहारी छ। योचाहिँ किन पनि चाखलाग्दो हो ‘बाहिरिया संसार‘ले चीनमा सबैजसो जीवको मासु खाइन्छ भन्ने भाष्य फैलाएको छ।

ख्याल गर्नुपर्ने कुरा के छ भने, शाकाहार भन्नेबित्तिकै नेपाल र भारतमा दहीदूधलाई समेत बुझिन्छ तर खास गरी पश्चिमा समाजमा भने शाकाहारीको अर्थ विशुद्ध वनस्पतिजन्य भोजन बुझिइन्छ। विश्वव्यापी रूपमा हेर्दा शाकाहारीको वर्गीकरण यसरी गर्न सकिन्छ: 

दुग्ध-शाकाहारी: सागपात अन्न र दूधजन्य पदार्थ सेवन गर्ने तर मासु, माछा र अण्डा नखानेहरू यो समूहमा पर्छन्। भारत र नेपालका अधिकांश शाकाहारी यही कोटीमा पर्छन्। 

ओभो (अण्डा) शाकाहारी: सागपात अन्नसँगै अण्डासम्म खाने तर माछामासु नखाने यस श्रेणीमा पर्छन्। यस्ता शाकाहारीहरू दुग्धजन्य भोजनचाहिँ लिँदैनन्।

ल्याक्टो-ओभो (दुग्ध-अण्डा) शाकाहारी: दूधजन्य पदार्थ र अण्डा दुवै खाने तर मासु र माछा नखानेहरू यस श्रेणीमा पर्छन्। नेपाल र भारतमा यस्ता शाकाहारी प्रशस्त छन्। 

विशुद्ध शाकाहारी: सबै प्रकारका जनावरबाट प्राप्त हुने पदार्थहरू, जस्तै: दूधजन्य पदार्थ, अण्डा र महसमेत नखानेहरू यस कोटीमा पर्छन्। यिनीहरू जनावरका छाला, रौँ र हाडसमेत प्रयोग गर्दैनन्।  

हालैका वर्षमा विश्वभर विशुद्ध शाकाहारी (दहीदूध–माछामासु नखाने, छाला, रौँ र हाडजन्य सामग्रीसमेत प्रयोग नगर्ने–भिगन) को संख्या बढ्दै छ। पश्चिमा देशमा विशुद्ध शाकाहारतर्फको लहर राम्रैसँग बढेको छ। भारत, चीन र ल्याटिन अमेरिकामा पनि केही हदसम्म यो बढ्दै छ। खास गरी मुटुरोग, मधुमेह र मोटोपनमा जनावरजन्य भोजनको भूमिका रहेका (स्वास्थ्य चेतना) कारण पशुपक्षीजन्य भोजन छाड्नेहरू बढ्दै छन्। पशुपक्षी उद्योगले वनजंगल र पानीजस्ता स्रोतको धेरै दोहन गर्ने भएकाले पनि पर्यावरणप्रति संवेदनशीलहरू पशुपक्षीजन्य सामग्री कम गर्दै छन् या छाड्दै छन्। त्यति मात्र होइन, पशुपक्षीजन्य सामग्री उद्योगमा हुने क्रूरताका विषयका कारण पनि मान्छेहरू ‘भिगन’ जीवनशैलीतर्फ आकर्षित भएका हुन्। कतिपय चर्चित सेलिब्रिटीले पनि भिगन जीवनशैली रोजेका कारण मान्छेहरूलाई त्यसतर्फ लाग्न थप बल मिलेको छ।

यो भयो, मान्छेका ‘भोजन‘का रोजाइहरू। यद्यपि, हाम्रो समाज र परम्परामा भक्ष (खान हुने) र अभक्ष (खान नहुने)को परम्परागत व्याख्या पनि छ। भक्ष र अभक्षको विषय पनि उही अहिंसावादीको शुद्धताको सिद्धान्तमै पर्छ। सोही कारण अहिंसावादी मासुलाई ‘खान नहुने‘ चीजका रूपमा व्याख्या गर्छन्, खाँदैनन् र आफ्ना देवतालाई पनि खुवाउँदैनन्।  

यति लामा सन्दर्भहरू जोडेपछि मात्रै शीर्षकले उठाएको विषयमा हामी जोडिन सहज हुन्छ। 

शाकाहार स्वास्थ्य र वातावरणसँगै पशुपक्षीको दया-करुणासँग पनि जोडिएको विषय हो। पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आमतरकारी–सागपातझै चुप रहन्थे भने  सम्भवतः मासु र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्। यससँग हिंसा, अहिंसा, नैतिक र अनैतिक विषय जोडिन्थेन र चर्चा हुन्थेन। हिन्दू सनातनीका कतिपय शास्त्रमा पशुदेखि नरबलिका सन्दर्भसमेत भए पनि फेरि अनेकन् शास्त्रमा धेरै पटक पशुहिंसा नगर्न सुझाइएको मात्र होइन, निन्दासमेत गरिएका छन्। सम्भवतः सयौँ हजारौँ वर्षदेखि यो विषय बहसमा थियो। महावीर, बुद्ध र कबिरजस्ता सन्तहरूले पशुहिंसा रोक्न प्रयत्न गरेका कथा पनि पढ्न पाइएबाट पनि त्यसको छनक मिल्छ। 

अनेकौँ तिनै प्रयत्नकै कारण वर्तमान समयमा पशुअधिकारका विषयलाई राज्यले नै सम्बोधन गर्ने युगमा हामी आइपुगेका हौ। तिनै असहमति र चर्चाका कारण विगत केही दशकमा धेरै नेपालीका कुल पूजाहरूमा पशुको बलि कम भएको देखिन्छ। मन्दिरमा पनि पशुबलिको सट्टा मान्छेहरूले नरिवल चढाउन थालेका छन्।

सर्वोच्च अदालतले नै २०७३ साउन २० गते महत्त्वपूर्ण फैसला गर्दै बलिप्रथा ‘निरुत्साहित गर्दै निर्मूल पार्नुपर्ने‘ आशयको आदेशसमेत दिएको थियो। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको इजलासले दीर्घकालीन रूपमा बलिप्रथालाई निरुत्साहित गरी रणनीतिक योजनामार्फत अन्ततः उन्मूलन गर्न आदेश दिएको हो। 

फैसलामा पशुमा पनि जीवन र प्राण रहने भएकाले दया करुणाजस्ता मानवीय मूल्य मान्यता अनुकूलको व्यवहार आवश्यक रहेको र पशुलाई गरिने दया, माया करुणाबाट अन्ततः मानव सभ्यताकै प्रवर्द्धन हुने उल्लेख छ। हजारौँ पशुलाई धर्म वा परम्पराका नाममा निर्घात हत्या गर्ने सिलसिला आधुनिक सभ्य समाजका लागि सुहाउने विषय होइन समेत भनिएको छ फैसलामा। नेपालको न्यायालयले यति बोलिसकेपछि यस सरहदभित्र बसेका र अहिंसाको नैतिक नियम मान्नेहरूले ‘अन्यत्र पनि पशु मार्ने र खाने विषय पनि त्यही कोटीको हो‘ भन्न डराउनु पर्दैन। किनकि मांसभोजन आखिरमा पशुहिंसा र क्रूरताबाटै प्राप्त हुन्छ। (यसमा कतिको जीविका पनि जोडिएको छ, बहसको अर्को विषय हो यो।)  

उसो त आलु खन्ने या धान रोप्नेदेखि भित्र्याउने क्रममा पनि कतिपय कीरा-फट्याङ्ग्रा मारिन्छन्। खेतीमा प्रयोग हुने विषादीका कारण अनेकौँ जीव मारिन्छन्। त्यसरी हेर्दा जिउने उपक्रममा हामीले नचाहेरै अनेकौँ बाँच्न चाहने र हामीलाई हानी नगर्ने कीरा-फट्याङ्ग्रा मारिन्छन्। त्यसो हुँदा, खेतीकिसानीमा त्यसरी जीवहरू मारिन पुग्छन् भने खानकै लागि पशु मार्नु या देवतालाई पशु चढाउनुमा के खराबी छ भनेर पनि प्रश्न सोध्न सकिएला। तर त्यस्ता खालका ‘हिंसा‘ जीवन जिउने उपक्रममा हुन पुग्ने ‘कर्तव्य‘ हुन्। ती टार्न कठिन छ, तर दृढ इच्छाशक्ति मात्रै राख्दा पशुभोजन छाड्न या कम गर्न सम्भव छ। र, मान्छेले पशुजन्य भोजन छाड्दा/कम गर्दा पृथ्वी र पर्यावरणलाई लाभ हुन्छ। कमसेकम पशुले पनि कष्ट भोग्नुपर्दैन/कम कष्ट भोग्नुपर्छ।

रह्यो कुरा, दशैँजस्तै चाडबाडमै किन बलि रोक्ने या मासु नखाने/कम खाने खाने विषय उठ्छन् भन्नेबारे। दशैँकै बेला यस्ता प्रश्न उठ्छन्, किनभने यही बेला मासु खानकै लागि धेरै पशुपक्षी मारिन्छन्। काटमार देख्दा कहालिने या मानसिक आघात पर्ने मान्छेहरूले नचाहेरै पनि यस्ता दृश्य यही बेला देख्न बाध्य हुन्छन्। यहीबेला सवारीसाधनमा व्यापक रूपमा पशुहरूको कष्टपूर्वक ढुवानी हुन्छन्, नचाहेरै पशुका चित्कार र रोदन सुन्न बाध्य हुन्छन् मान्छेहरू।

कोरोना महामारीका बेला भ्याक्सिनको आविष्कारबारे चर्चा भएझैँ, बाढीपहिरोका बेला पूर्वाधार र पूर्वतयारीको कुरा भएझैँ ‘मासु खाने पर्व‘का बेला मासुको स्रोत र ‘एथिकल प्राक्टिस‘बारे चर्चा हुन्छन्। सार्वजनिक मन्दिरमा पशुपक्षीको वध कसरी सही हुनसक्छ भनेर प्रश्न उठ्छन्। यस्ता प्रश्नहरू उठ्दा कतिपय सोध्छन्, ‘हाम्रो चाडपर्वकै बेला किन कटु टिप्पणी गर्नुपरेको? मुसलमान र क्रिश्चियनका बकर इद र थ्यांक्स गिभिङमा हुने बाख्रा र टर्कीवधबारे चाहिँ तिमीहरू किन बोल्दैनौँ?

त्यो प्रश्न पनि एक पक्ष रूपमा जायजै हो। एक ठाउँको मात्रै गलत अभ्यासविरुद्ध प्रश्न उठाउनु अनुचित हो। तर अझै बढी जायज के हो भने हामी जुन ठाउँमा छौँ, त्यही ठाउँबारे बढी जानकार हुन्छौँ। त्यसले हामी बढी प्रभावित रहन्छौँ। पाकिस्तानमा भूकम्प आउँदा नेपालमा भूकम्प प्रतिरोधी संरचना बनाउनेबारे कम चर्चा गर्छौं, नेपालमै भूकम्प आउँदा त्यस विषयबारे योजना नै अघि बढाउन सरकारसँग मागसमेत राख्छौँ। पानी जता पर्छ, छाता त्यतै ओढिन्छ।

अर्को कुरा, पाकिस्तानजस्ता देशमा रहने केही मुस्लिम धर्मावलम्बीसमेत त्यहाँको धार्मिक कट्टरताका बाबजुद तिनका खास पर्वमा हुने पशुवधविरुद्ध आफ्ना रोदन सामाजिक सञ्जालमा व्यक्त गर्ने गर्छन् (यद्यपि, तिनको संख्या अति थोरै छ)। युरोप र अमेरिकाजस्ता खुला समाजमा पशुहिंसाविरुद्ध निर्धक्क अनेकन् प्रदर्शन हुन्छन्।

फेरि, आफ्नो घरमा फोहोरमैलो थुप्रँदा मान्छे छिमेकीको घर सफा गर्न जाने पनि त होइन। पहिले आफ्नो घर सफा राखेर नै अरूलाई प्रश्न गर्ने सामर्थ्य राख्छौँ। 

यहाँको दशैँ हिंसारहित रहोस्।

(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)