रुदानेको त्यो ‘थाहा’ अभियान, यो राजनीति

पञ्चायतको पछिल्लो दशकमा रुदाने ‘रापसरु’मा प्रकट भए अर्थात्, राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र। परन्तु उनको ‘तहल्का’ पञ्चायतभित्र मात्र सीमित भएन र व्यक्तिगत आयाम व्यापक फराकिलो भयो।

“रानी नेपालकी ठुली महिला हुन्, किनभने राजासँग उनको बिहे भएको छ– रापसरु।”

पञ्चायतकालीन मन्त्रीले रानीको जन्मदिनमा प्रकाशित गर्न शुभकामना शुल्क दुवै उठाउँदै हुन्छन्। एकजना राष्ट्रिय पञ्चायत सदस्य (रापस)ले उल्लेखित हरफहरूको सन्देश प्रेषण गर्छन्।

तिनै माननीय रापस राजा वीरेन्द्रले भेटका लागि बोलाउँदा दरबारमा पुग्छन्, केहीबेर कुर्छन् र यस्तो सन्देश छाडेरै हिँड्छन्- “भर्खरसम्म मलाई फुर्सद् थियो, तिम्रो राजालाई समय भएन। अहिले तिम्रो राजाले फुर्सद पाए, मसँग समय छैन। राजालाई यही कुरा सुनाइदेऊ।”

यी किस्सा रुपचन्द्र विष्टका हुन्। मकवानपुरको दामनमा जन्मिएका विष्ट कति निर्भीक थिए भनेर बुझ्न यी किस्सा पर्याप्त हुन्छन्। उनकै नाममा उपन्यास प्रकाशित भएको छ, रुदाने।

यो पुस्तक भदौ पहिलो हप्ता सार्वजनिक हुने कार्यक्रमको निम्तो थियो तर मैले छुटाएँ। परन्तु रुदानेका किस्साहरू थाहा पाउने उत्सुकताले पुस्तकसम्म डोर्‍यायो। आत्मकथात्मक आख्यान (बायोग्राफिकल फिक्सन)को रूपमा प्रस्तुत पुस्तकका पानाहरूलाई ओल्टाईपल्टाई विचरण गर्ने क्रम दुई दिनमै सकियो। नाट्यकर्मी तथा निर्देशक टंक चौलागाईकृत ‘रुदाने’ उनै रुपचन्द्र विष्ट अर्थात् रुदानेको जीवनको प्रतिछायाँ हो।

रुदाने व्यक्ति एक तर नाम र पहिचान अनेक छन्। उनी रूपचन, जसरू, रापसरू वा स्वरुपे भनेर पनि चिनिए। जनमुखी सेवक, दार्शनिक, थाहा प्रणेता, विकासप्रेमी, विद्रोही, साहसिक हुँदै सन्काहा जस्ता पहिचान पनि बनाए। प्रधानपञ्च, प्रधानाध्यापक, साहित्यकार, लेखक, भिक्षु, अग्रणी कृषक, पर्यटनकर्मी र पञ्चायत सदस्य भए। 

जो कोहीका लागि ‘तँ…’, ‘भाते…’, जस्ता सम्बोधन अपाच्य हुन्छन्। तर रुदानेको सम्बोधनमा सबैका लागि ती शब्द मामुली थिए। यो व्यवहार रुदानेको जीवनको सारुप्यता हो। 

पञ्चायतको पछिल्लो दशकमा रुदाने ‘रापसरु’मा प्रकट भए अर्थात्, राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र। परन्तु उनको तहल्का पञ्चायतभित्र मात्र सीमित भएन र व्यक्तिगत आयाम व्यापक फराकिलो भयो। राष्ट्रिय पञ्चायतलाई उनले उपयोग गरे। तत्कालीन शासकलाई खुच्चिङ लाउँदै हुङ्कार गरे, ‘थाहा पा भाते…!’  

निमुखा र 'छाप्रे'को पक्षमा आवाज बुलन्द गर्दा उनले झोसेका जनद्रोहीहरू सधैँ उनको तगारो बनिरहे। निमुखा र छाप्रेको सवालमा जनतालाई उकास्न जिउधन रहेतक छोडेनन्। उनको निर्भीकतामाथि षडयन्त्रकारीको चक्रव्यूहहरू घुमिरह्यो तर उनको हविगत अभिमन्यूको जस्तो बनाउन कोही सफल भएनन्। पञ्चायतको अवसानका लागि निरुद्देश्य होमिएका व्यक्ति र उनको सिद्धान्तको परिधि पञ्चायतपछि धेरै मौलाउन भने पाएन। 

रुदानेको बलियो हतियार नै ‘थाहा दर्शन’ थियो। ‘थाहा’ नेपाली प्रांग्रारिक माटोमा जन्मेको रैथाने आन्दोलन थियो। उनको नेतृत्वमा ‘थाहा’ लेखनको संग्राम नै चल्यो।  नेपालका गाँउघर र शहरबजारका घर, पर्खाल होस् वा पाखा पखेराका चट्टान, सबैतिर ‘थाहा’ लेखियो। यस आन्दोलनको सैद्धान्तिक पक्ष भनेकै ‘थाहा पाउनु’ वा ‘जान्नु/बुझ्नु’ भन्ने हो। आन्दोलनको केन्द्रमा चेतनाशून्य निमुखा छाप्रेहरू थिए। उनीहरूलाई सचेत बनाई राजनीतिक सामाजिक जागरणमार्फत विकास, अधिकार र न्यायका लागि बाध्य बनाउने उद्देश्य थियो। २०३० देखि ०४० को दशकको अन्त्यसम्म चलेको त्यो ‘दार्शनिक भुइँचालो’ थियो।

दलबल वा संगठनबिना नै राजनीतिको केन्द्रमा पुग्न विचार, सिद्धान्त र दर्शनलाई हतियार बनाउन सकिन्छ भन्ने दृष्टान्त हुन् रुदाने। विचार, सिद्धान्त, दर्शन वा निष्ठामा आफूलाई कहिलै डग्न नदिने नेता हुन् रुदाने। 

पञ्चायत सदस्य भएताका भतिजाले जापानमा कराँते खेल्न जाने सिफारिस गरिदिन उनलाई आग्रह गर्छन्। त्यसपछि उनले सिफारिस लेखिदिन्छन् र व्यहोरा यस्तो हुन्छ- “यो व्यक्ति कराँतेमा राम्रो छ, यसलाई जापानमा हुन लागेको प्रतियोगितामा पठाउनु उचित ठहर्छ। योभन्दा राम्रो अरू कोही छ भने उसैलाई पठाउनू, तिनीहरू तयार भएनन् भने यसैलाई पठाउनू- रापसरु।"

लेखनमा ऐतिहासिक पात्रको विषय पर्गेल्नु धेरै सम्वेदनशील कृत्य हो। कथानक आवृतिहरूमा प्रमाणिकताको चुनौती थपिन्छ नै, तथ्यभन्दा बाहिर पुगेर लेख्नु अक्षम्य पनि हुन्छ। पुस्तकको सबल पक्ष नै यी विषयमा लेखक अति सचेत छन् अनि यर्थाथको धारलाई अनेकौं कोणले पुष्टि गर्ने बाटो समात्छन्। यस्तो क्रमले लामै अध्ययन र अनुसन्धानको माग सिर्जना हुन्छ। चरित्रको उठान र बैठानमा नाट्यकर्मीसमेत रहेका लेखक टंक चौलागाईंले रुदानेको  हृदयको गहिराइसम्म पुगेरै सन्तुलन मिलाएका छन्। 

रूदाने त्यस्ता अजीव पात्र हुन्, जसको चर्चा धेरैले गरेका छन्। उनलाई प्रत्यक्ष भोग्ने, साथ दिने वा पौँठेजोरी खेल्नेहरू अहिले पनि छन्। तर नयाँ पुस्ताका लागि उनी कि अपरिचित छन्, कि त किंवदन्तीजस्ता पात्र बनाइएको छ। उनीबारे कैयन अतीतहरूको खोजी गरेर ‘रूदाने’लाई सारुप्य ढंगले अक्षराकृत गर्नु कम चुनौतीपूर्ण होइन। 

मूलत: रूदानेले दुइ प्रकारको जीवन बाँचेः व्यक्तिगत र सार्वजनिक। यो अर्थमा आत्मकथात्मक आख्यानले जुन सन्तुलन खोज्दछ, त्यसको हिसाबकिताब मिलाउने क्षमता राख्नु लेखकको सफलता हो। समाजले विषयलाई जस्ताकोतस्तै मात्र स्वीकार्ने छ भन्ने तथ्यमा लेखक मर्मज्ञ छन्। प्रामाणिक विषय र भूमिकालाई मात्र पछ्याउने गरी चरित्र वर्णनको दृष्टान्तमा पुस्तक ‘रुदाने’ उभिएको  छ।

मकवानपुरको मध्यवर्ती पहाडी भुगोल रुदानेको जन्मस्थल हो। टिस्टुङ, देउराली, आगरा, पालुङ, शिखरकोट, दामन, सिमभञ्ज्याङलगायत ठाउँ उनको सेरोफेरो हुन्। काठमाडौँमा पनि कीर्तिपुर, पाँगा, नैकापदेखि थानकोटसम्म उनको जागरणले मुर्झाएको इलाका हो। वीरगन्जदेखि काठमाडौँ मुकाम उनको संघर्षको बाह्यपरिधि हो। भारतदेखि तत्कालीन सोभियत रुससम्म उनले पैताला टेके। 

यी सम्पूर्ण विषयमाथि अनुसन्धान र त्यसको सान्दर्भिकतासहित आख्यानमा जोडिएको छ। पुस्तकमा जे छ त्यहाँ लेखक होइन रुदानेको अन्त:स्करण छ। यो अर्थमा पुस्तकको पेटबोलीमा छिर्दा पुस्तक होइन रुदानेको जीवनको समीक्षा हुने देख्छु। रुदानेको व्यक्तिगत जीवनको अनुभूति गर्ने कार्यलाई व्यक्तिपरक ढंगले फरकफरक आलेपहरू दिन सकिन्छ। पुस्तकमा रूदाने छन्, उनको प्राणवान् अवस्थाको झझल्को छ, अनि खेपेका आरोह अवरोहहरू छन्। पुस्तकमार्फत रूदानेका  प्रत्येक अवयवहरूसँग लेखक आफै ‍बगेका छन्।

पुस्तकमा रुदानेको चरित्रमा आदर्शवादको प्रयोग अलि बढी भयो कि भन्ने शंकाको सुविधा पाठकलाई हुन्छ। एउटा प्रश्न स्वभाविक रूपले गर्न सकिन्छ- कतै अत्याधिक आदर्शवादको पक्षपोषणले वास्तविक रुदानेको व्यैयक्तिक चरित्र गौण भयो कि? व्यक्तिको गुण जन्मले नभई विभिन्न पारिस्थितिले विकासित हुन्छ। समान ढंगले आदर्शवान गुणहरू मात्र देखिनु न्यायोचित नहुन सक्छ। 

आख्यानमा तिथिमितिका गौण पारिनु स्वभाविक हो। आख्यानमा भाषाको प्रयोग निर्भीक छ बोलीचालीका शब्दावली भरपुर छन्। कताकता सामाजिक अभ्यासका विषयहरू मौलिक बनाउन सकिन्थ्यो कि भन्ने पाठकलाई लाग्न सक्छ। 

पुस्तकमा कैयन उदाहरण छन्, जसको प्रयोग आजको विकृत राजनीतिको निर्मलीकरणमा गर्न सकिन्छ। तर त्यसको चस्का हाम्रा राजनीतिक दलका नेताले लिने नलिने त्यो उनीहरूको कुरा हो।