जग्गा भाडामा लिएर कृषिमा लागेका २४ वर्षीय विवेक

विवेकले बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेका छन्। ६ रोपनीमा गरेको खेतीबाट वार्षिक ६ लाख रुपैयाँ बराबर आम्दानी गरिरहेका छन्।

रामपुर– गाउँ छाडेर युवा बिदेसिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरिरहेका छन्। 

रामपुर नगरपालिका–५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ। बाल्यावस्थादेखि नै खेती किसानीमा बाबुआमालाई साथ दिएका उनी व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन्। उनको मिहिनेत लटरम्म फलेका काउली र गोलभेँडाले  प्रस्तुत गरेका छन्।

तरकारी लगाएको ६ रोपनीमध्ये तीन रोपनी जग्गा भाडामा लिएका हुन्। पाँच वर्षअघि नै गौतम कृषि फर्म दर्ता गरेका थिए। हाल वार्षिक ६ लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको विवेकले सुनाए। बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेका छन्। “बजारको  चिन्ता छैन। उत्पादन हुनुपर्छ। व्यापारी घरमै आउँछन्। आकर्षक आम्दानी हुने रहेछ,” उनले भने। 

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उनको भनाइ छ। “टनेलभित्र र बाहिर खेती गरेको छु। टनेलभित्र उत्पादन धेरै हुने गरेको छ,” उनी भन्छन्, “सन्तुष्ट छु। सकेको मिहिनेत गाउँमै गर्छु।”

रामपुर नगरपालिकाले दुई वर्षसम्मका लागि आठ लाख रुपैयाँ ब्याज अनुदान उपलब्ध गराएको छ। सबैको साथ र हौसला पाएकाले खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए।