कसले बिगार्‍यो नेपाली क्रिकेटको लय?

तत्कालीन प्रशिक्षक वाट्मोरले ब्याटिङलाई दबाबमुक्त बनाउँदै सुधारको बाटोमा हिँडाएको नेपाली क्रिकेटमा यतिबेला ब्याटिङ र बलिङ दुवैको लय बिग्रिएको छ। कसका कारण नेपाल ओडीआई मान्यता गुमाउने अवस्थामा पुग्यो?

काठमाडौँ- “अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ। क्रिकेटको स्तर अघि बढाउन प्रशिक्षक (पूर्वप्रशिक्षक पुबुदु दासानायके)सँग योजना माग्छौँ। उहाँको योजनालाई सम्बोधन गर्दै अगाडि बढ्छौँ”, गत साउन अन्तिमतिर नेपाल आउँदा मुख्य प्रशिक्षक मनोज प्रभाकरले भनेका थिए।

प्रभाकरले नेपाली टोली सम्हाल्दा सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको ‘रोडम्याप’का रूपमा लिइएको आईसीसी विश्वकप क्रिकेट लिग-२ का बाँकी १६ मध्ये १२ खेल जित्ने लक्ष्य लिएको बताएका थिए। नेपाली टोलीको समस्या ब्याटिङ नै भएको जानकारी उनलाई थियो। नेपाली खेलाडीमा 'टेक्निकल' कमजोरी भएको भन्दै उनले त्यसलाई सुधारेरै छाड्ने वाचा गरिरहेका थिए।

उनको नेतृत्वमा नेपालले खेलेका सात एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मध्ये दुई खेल मात्र जितेको छ। पछिल्लोपटक नामिबिया भ्रमणमा गएको नेपालले कुनै पनि खेल जित्न सकेन। चारमध्ये एउटा खेल वर्षाले अवरुद्ध हुँदा तीन वटामा नेपाल पराजित भएको थियो।

लिग-२ अन्तर्गत पछिल्ला आठ वटा ओडीआईमा नेपाली टोलीले एउटामा मात्र जित हासिल गरेको छ। नेपाल पाँच खेलमा पराजित हुँदा बाँकी दुई वटामध्ये एउटा 'टाई' र अर्को वर्षाका कारण खेल रद्द भएको थियो।

लिग-२ मा लगातारको पराजयपछि नेपालले सन् २०२३ सम्मका लागि पाएको ओडीआई मान्यता नै संकटमा परेको छ। नेपाली टोलीका पूर्वकप्तान एलबी क्षेत्री भन्छन्, “अब बाँकी रहेका खेलमध्ये अधिकांश जसरी पनि जित्नुपर्ने अवस्था छ। यसरी नै खेल्दै गए हामीले एकदिवसीय मान्यता जोगाउनै सक्दैनौँ।”

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई २०१८ मार्च १५ मा ओडीआई मान्यता दिएको थियो। ओडीआई मान्यता पाएपछि नेपालले लिग-२ खेल्ने अवसर पाएको थियो। सात देश सम्मिलित लिग-२ को शीर्ष पाँचभित्र परे मात्र नेपालले अर्को चार वर्षका लागि ओडीआई मान्यता कायम राख्न सक्छ। नत्र ओडीआई मान्यता जोगाउन घुमाउरो बाटो पार गर्नुपर्छ।

चार वर्षअघि ओडीआई मान्यता पाउँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा भित्रिएका प्रशिक्षक उमेश पटवाल नेतृत्वमा लिग-२ यात्रा थालेको थियो। उनको प्रशिक्षणमा नेपालले चारमध्ये दुई खेलमा जित हात पारेको थियो। नेपाली टोलीले अहिलेसम्म कुल २४ खेल खेल्दा आठ जित, १४ हार र दुई बराबरीसहित १८ अंक पाएको छ। नेपाल अंक तालिकाको छैठौँ स्थानमा छ। अब नेपालले १२ खेल खेल्न बाँकी छ।

ब्याटिङमा बल्झियो समस्या
नेपालले ओडीआई मान्यता पाएपछि पटवालसहित चार विदेशी प्रशिक्षक डेभ वाट्मोर, पबुदु दासानायके र मनोज प्रभाकरले राष्ट्रिय टोली सम्हालेका छन्। सबै प्रशिक्षकले नेपालको ब्याटिङमा समस्या भएको भन्दै सुधार्ने वाचा गरेका थिए। त्यसमा वाट्मोर केही सफल देखिए पनि त्यसपछिका प्रशिक्षकले सुधारलाई निरन्तरता दिन सकेनन्। वाट्मोर र दासानायके सम्झौता अवधि नसकिँदै बिदा भए। प्रभाकर पनि त्यही बाटोमा रहेको क्यान स्रोतले जनाएको छ।

पूर्वराष्ट्रिय खेलाडी सञ्जम रेग्मी स्तरीय प्रशिक्षक नहुँद नै नेपाल उपलब्धि गुमाउने अवस्थामा पुगेको बताउँछन्। “बलर ब्याट्सम्यान भइदिन्छन्, ब्याट्सम्यान बलर भइदिन्छन्। सबै अलराउन्डर रूपमा खेल्दा वास्तविक अलराउन्डर चाहिँ बाहिर हुन्छन्”, उनी भन्छन्।

ब्याटिङमा गतिलो शुरूआत दिन सक्ने प्रारम्भिक जोडीको समस्या नेपालले गरेको नामिबियाको पछिल्लो भ्रमणमा पनि देखियो। नामिबियाविरुद्धको पहिलो खेलमा ओपनिङमा आएका अर्जुन र आसिफले ९.५ ओभर खेल्दै ३१ रनको साझेदारी गरे। दोस्रो खेलमा भने अर्जुन र कुशल भुर्तेलले ओपनिङको मौका पाएका थिए। तर, पहिलो विकेटका लागि ३.६ ओभरमा १४ रन मात्र बनाउन सके। यस्तै, स्कटल्यान्डविरुद्ध ओपनिङ गरेका आसिफ र अर्जुनले पहिलो खेलमा २.४ ओभरमा ७ र दोस्रो खेलमा ३ बलमा १ रनको मात्रै साझेदारी गर्न सके।

नामिबिया भ्रमणमा जानुअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग खेलिएको तीन ओडीआई श्रृङ्खलामा मुख्य प्रशिक्षक प्रभाकरले ओपनिङ जोडीमा आसिफ सेख र अर्जुन साउदलाई मौका दिएका थिए। दुवैले एक-एक खेलमा अर्धशतक प्रहार गरे पनि पहिलो विकेटका लागि गतिलो साझेदारी भएन। यद्यपि, नेपालले श्रृङ्खला २-१ ले जितेको थियो।

करिब डेढ वर्षअगाडि श्रीलंकन मूलका अस्ट्रेलियाली प्रशिक्षक वाट्मोरले बनाइदिएको ‘सुपरहिट ओपनिङ जोडी’ कुशल भुर्तेललाई छुटाएर प्रभाकरले आसिफसँग अर्जुनको जोडी बाँधिदिएका थिए। तर, यो प्रयोग कीर्तिपुरमा मात्र नभएर नामिबियामा पनि असफल भयो। प्रभाकरले कुशलसहित मधेश प्रदेशबाट खेल्दै आएका ओपनर हरिशंकर साहलाई मध्यक्रममा उतारेका थिए।

कीर्तिपुरमा युएईविरुद्ध तीन खेलमै मौका पाएका अर्जुनले एकपटक अर्धशतक बनाए। नामिबियामा चार खेलमै ओपनिङमा मौका पाउँदा उनले कुल १७३ बल खेलेर ६५ रन मात्रै बनाउन सके। नामिबियाविरूद्धको दोस्रो खेलमा ५४ बलमा २९ रन प्रहार गर्नु नै सबैभन्दा ठूलो उपलब्धी रह्यो।

पूर्वकप्तान क्षेत्री नेपाली टोलीमा बारम्बार ओपनिङको समस्या देखिनुमा विभिन्न समयमा गरिने प्रयोग नै मुख्य कारण रहेको बताउँछन्। “नेपालले अहिलेसम्म पाएको हाई प्रोफाइल प्रशिक्षक भनेको डेभ वाट्मोर नै हुनुहुन्थ्यो। उहाँले ओपनिङदेखि ब्याटिङको समस्या लगभग हल गरिसक्नु भएको थियो”, उनी भन्छन्, “त्यसपछि विभिन्न प्रयोग भयो र ओपनिङ फेरि लथालिंग भयो।”

मनोजभन्दा अगाडिका प्रशिक्षकले पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, आसिफ शेख र कुशल भुर्तेलसम्मका खेलाडी ओपनिङमा प्रयोग गरिसकेका थिए। क्षेत्रीले भने जस्तै, ६ खेलाडी ओपनिङमा प्रयोग गर्दा आसिफ र कुशलबाहेक अरूले सम्झनलायक खेल खेलेका थिएनन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० श्रृङ्खलादेखि जोडी बाँधिएका उनीहरूलाई पुबुदुले समेत विश्वास गरेका थिए। तर, ‘इनिङ्स होल्ड’ गरेर खेल्ने क्षमता नभएको भन्दै प्रभाकरले कुशलको स्थानमा अर्जुनलाई खेलाए। 

वाट्मोर बाहिरिनुभन्दा अगाडि ‘सेट’ भएको ब्याटिङ वरीयतालाई पुबुदु र प्रभाकरले चलाउँदा तल्लोक्रमसम्म समस्या देखिएको क्षेत्री बताउँछन्। नेपाल क्रिकेट संघ (क्यान) सँगको विवादका कारण लामो समय मैदानबाहिर रहेका ज्ञानेन्द्रले टोलीमा पुनरागमन गरिसकेका छन्। यता, उनको स्थानबाट खेल्दै आएका देव खनाल बाहिरिएका छन्। 

तर, पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्रले औषत रन बनाए पनि इनिङ्स होल्ड गर्न सकेका छैनन्। उनले नामिबिया भ्रमणका चार खेलमा १७० बलमा १५३ रन बनाए।

बलिङमा अनावश्यक प्रयोग!
तत्कालीन प्रशिक्षक वाट्मोर ‘नेट प्राक्टिस’का लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा भित्र्याइएका तीव्रगतिका बलर गुलशन झा अहिले नियमित बलर करण केसी र सोमपाल कामीलाई परिवर्तन गर्नसक्ने स्थितिमा पुगेका छन्। उनी तल्लोक्रममा रन पनि बनाइरहेका छन्। 

पूर्वकप्तान सन्दीप लामिछानेको स्थानमा कुशल, ललित राजवंशी र सागर ढकालको परीक्षण भइरहेको छ। ललित र सागर 'चाइना मेन' (बायाँ हाते अर्थोडक्स) हुन्। सन्दीपझैँ दायाँ हाते लेग स्पिनर कुशल भुर्तेल मात्र हुन्। त्यसैले पछिल्लो समय उनलाई पनि बलिङ गराउन थालिएको छ। त्यसबाहेक, दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले पनि बलिङको मौका पाउने गरेका छन्।

पूर्वखेलाडी रेग्मी चाहिनेभन्दा बढी बलरको प्रयोग भइरहेको कारण त्यसको असर ब्याटिङमा परिरहेको बताउँछन्। “नेपालबाहिरको क्रिकेट म्याचमा अहिलेको हिसाबले जेनयुन लेग स्पिनर टिममा चाहिन्छ। पार्ट टाइमरलाई प्रयोग गर्न यो लिस्ट ए क्रिकेट होइन”, उनी भन्छन्।

अबको बाटो कता?
पूर्वकप्तान क्षेत्री नेपाली क्रिकेटलाई लिएर क्यान गम्भीर हुनुपर्ने बताउँछन्। विश्व क्रिकेटको परिवेश फरक भइसकेको कारण त्यहीअनुसारको स्तरीय तयारी आवश्यक रहेको उनको भनाइ छ।

“क्रिकेट चलाउनु भनेको मिटिङ बस्नु र भत्ता पचाउनु मात्रै होइन। क्यानले सल्लाहकारमा क्रिकेट बुझेको मान्छे राख्नुपर्छ, नियमित घरेलु प्रतियोगिता गर्नुपर्छ। कम्तीमा भारतमा लगेर रणजी ट्रफी खेल्ने टोलीसँग भए पनि अभ्यास खेल खेलाउनुपर्छ”, उनी भन्छन्।

लिग–२ मा नेपालसहित स्कटल्यान्ड, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्यू गिनी छन्। नेपालले अब यूएई र पपुवा न्यू गिनीसँग चार-चार र नामिबिया तथा स्कटल्यान्डसँग दुई-दुई खेल खेल्न बाँकी छ। नेपालको शीर्ष तीनमा पर्ने सम्भावना गणितीय सम्भावना मात्र छ। शीर्ष तीनमा रहेको नामिबयाले ६ खेल खेल्न बाँकी छ र उसको ३७ अंक छ। यता, अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ।

१० खेल खेल्न बाँकी रहेको यूएईको २७ अंक छ। नेपालभन्दा तल रहेको पपुवा न्यू गिनीले आठ खेल खेल्न बाँकी रहँदा ५ अंक जोडेको छ। नेपाल शीर्ष पाँचमा नपरे प्लेअफमा क्यानडा, जर्सी र पपुवा न्यू गिनीसँग प्ले अफमा खेल्नुपर्नेछ। पपुवा न्यू गिनी लिग-२ बाट रेलिगेसनमा परिसकेको छ।

विश्वकप छनोट खेल्न लिग-२ का तल्लोक्रमका चार र च्यालेन्ज लिगबाट आएका दुई गरी ६ टिमबीच प्ले अफ हुनेछ। यसमा शीर्ष दुई टिमले छनोट खेल्न पाउँछन्। नयाँ सिजनको लिग-२ खेल्न पाउने गरी दुई नयाँ टिमलाई ओडीआई मान्यता पनि यही प्रतियोगिताबाट मिल्नेछ। त्यसका लागि लिग-२ बाट रेलिगेसनमा परेका र च्यालेन्ज लिगबाट आएका चारमध्येमा शीर्ष दुईमा पर्नुपर्नेछ। 

यदि, नेपाल लिग-२ बाट रेलिगेसनमा परेर प्ले अफमा गए पुन: ओडीआई मान्यतामा फर्किन क्यानडा, जर्सी र पपुवा न्यू गिनीमध्ये शीर्ष दुईमा पर्नुपर्छ। शीर्ष पाँचभित्र परेर प्ले अफ खेले स्वत:अर्को सिजनको लिग-२ खेल्न पाउँछ र ओडीआई मान्यता पनि कायम हुन्छ।