त्यो रूखको धमिलो तस्वीर अहिले पनि मस्तिष्कमा चलिरहेको छ– तर ‘एचडी’ हैन, ४८०–पी गुणस्तरको तस्वीर। ठ्याक्कै याद छैन, उनको बारीको कतापट्टी थियो त्यो रूख।
एकादेशको कुरा। एकादेशमा म हुर्किँदै गरेको समय र स्थानको सेरोफेरोमा एउटी माँ थिइन्। तर मेरी माँ हैनन्– तुल्सी, हिराकाजी, मैँचा, राम्चा (राम) र धनमैँचाकी माँ। हामी पनि उनलाई त्यही भन्थेम्, घर–छिमेकले मैँचाको माँ भन्थे। मैँचा तताको छर–छिमेकमा धेरै आउजाउ भएर होला शायद। जे होस्, म जन्मिनुभन्दा पहिलेदेखि उनी मैँचाको माँ भनिन्थिन्। मैले पनि पहिले त्यसै भन्थेँ। पछि माँ मात्र भन्न थालेँ।
अहिले भोगटे खाने मौसममा आँगनमा फल्दै गरेका भोगटे देख्दा तिनै माँको अनायास सम्झना भयो। उनको बारीको भोगटेको रूख, जसमा ‘ओग्घर’ मीठा भोगटे फल्थे। त्यो रूखको धमिलो तस्वीर अहिले पनि मस्तिष्कमा चलिरहेको छ– तर ‘एचडी’ हैन, ४८०–पी गुणस्तरको तस्वीर। ठ्याक्कै याद छैन, उनको बारीको कतापट्टी थियो त्यो रूख। शायद हनुमान गल्ली निस्किने बारीपट्टी! कि हाम्रो घरको जाईको बोट पछाडि!
त्यो बारीमा फल्ने धेरै फलफूल, तरकारी खाइयो। माँ अथवा उनका छोराछोरीले कहिले आफ्नै बारीमा फलेको मौसम अनुसारको तरकारी, फलफूल ल्याइदिन्थे, कहिले पर्खालबाट पुग्न दिन्थे, कहिले हाम्रो घरबाट कोही लिन पुग्थे। कहिले हाम्रो घरबाट केही कोसेली उता पुग्थ्यो। त्यो मीठो भोगटे पनि कति खाइयो– अघाउन्जेल, पेट कट्–कट् नकाटुन्जेल। मैले पहिलो पटक ‘ठूलो खसी’ पनि उनैकहाँ चाखेँ– छोइला! पहिले लुकीछिपी, नौलो मानेर; पछिपछि हाकाहाकी, मीठो मानेर।
समय बित्दै गयो।
त्यो भोगटेको रूख वरिपरि खेल्दै हुर्केका उनका सबै सन्तान बिस्तारै आफ्नै बाटो लागे। पाँच सन्तानमध्येकी कान्छी धनमैँचा अति साधारण र केही भिन्न थिइन्। उनको बोली प्रस्ट थिएन, लरबराएर बोल्थिन्। मैँचा भनेर बोलाइने उनकी ‘तता’ निकै फुर्तिली, जाँगरिली। आफ्नो घरको कामकाज सकेर यताउता गफगाफ गर्न पुगिहाल्ने। धनमैँचा घरमै बस्न रुचाउने, खासै कतै नजाने। त्यही भएर पनि होला उनकै परिवार र छरछिमेकले ‘लोसे’, ‘अल्छी’ भन्थे। उनी हाम्रो घर आउन भने रमाउँथिन्, मेरी हजुरआमाको स्नेहपूर्ण व्यवहारका कारण शायद। अहिले पो याद आयो– धनमैँचाको खास नाम के थियो होला? धनमाया? धनकुमारी? मात्रै धन? वा अरू केही? कहिल्यै सोधखोज गर्ने विचार आएन, अहिले बाहेक।
हामी ठूला–बा, काका, फुपूका छोराछोरी पछाडिबाट धनमैँचाको बोलीको सिको गर्थेम्। हाँस्थेम्। आज सोचेर ग्लानि हुन्छ।
धेरै परिवार जस्तै उनीहरूको परिवार पनि बिस्तारै आकार प्रकारमा बढ्न थाल्यो। मतभेद पनि स्वाभाविक रूपले बढ्न थाल्यो, उनीहरू छुट्टिए। आमा–छोरी र कान्छो छोरा राम एकतिर। मैँचा पनि घरजम गरेर अलिकति टाढा पुगिन्। धनमैँचा माँको हेरचाह गरेर बसिन्। उमेरसँगै कमजोर हुँदै गएकी माँ।
धेरैसँग छुच्चो बोली, रूखो मिजास, आफ्नै सन्तान, छरछिमेकसँग पनि बेलाबखत बखेडा। तर मलाई सधैँ माया गर्ने। ‘ए मैयाँ, माँ काँ बोडी–बजी खान आऊ’, ‘टमीले टोक्छ, घर घुमेर आऊ।’ बोडी–बजी त भन्ने कुरा न हो, त्यहाँ पुग्दा कम्तीमा सात–आठ थरीका परिकारले सिँगारिएको थाल हुन्थ्यो। बारीमा फलेका मौसमी फलफूल हुन्थे, मलाई भने जाडो याममा त्यो सिँगारिएको थालसँग राखिएको भोगटे सबैभन्दा प्रिय।
कहिले बजी, कहिले भात खाँदै हामी बिस्तारै त्यहाँबाट अर्को ठाउँ सरेम्, उनीहरू त्यहीँ नै बसे। भेटघाट पातलिँदै गयो। त्यहाँको भोगटे, आल्चा, छोइला, बोडी–बजी पनि एकादेशका कथा हुन थाले।
समय बित्दै गयो। माँलाई उमेर र बिमारले गाल्दै थियो। म बीचमा केही पटक भेट्न गएँ। अहिले जस्तै चिसो बढ्दै गरेको बेला एकचोटी हर्लिक्स लिएर गएको ‘यस्तोले हुन्न मलाई, मैँले खानेकुरा (पिउने इशारा गर्दै) नै खाएर ठिक हुन्छ,’ पो भनिन्। अनि सबै हाँसे। माँ पनि फिस्स हाँसिन्। मनबाटै हाँसिन् त होला? आफूले ‘खानेकुरा’ त्यो बेला खान नमिले पनि सम्झेरै?
बघिनी जस्ती मान्छे मुठ्ठीभरकी भएकी थिइन्। कमजोर, असहाय। तर कुरो भने उस्तै। हाँसो उस्तै। नाक माथि हो कि निधारमा एउटा ठूलो कोठी थियो, ठ्याकै याद भएन, त्यही भोगटेको रूख जस्तै थियो थाहा छ, कता थियो थाहा छैन।
टाढा भएर हो कि बिर्सिएको? माँ टाढा थिइन्, झन् टाढा गइन्। मलाई केही भइहाले पीर धनमैँचाको छ। एक्लै के गर्ला? “तर अब म ठिक भयो मैयाँ। अब अर्कोपालि आऊ, आलु उसिनेर पिरो नुनसँग खाने।” अर्कोपालि म गएँ, उनलाई अन्तिम पटक हेर्न। त्यो दिन आलु पनि थिएन, बोडी पनि थिएन, भोगटे थिएन, कुराकानी थिएनन्। माँ पनि थिइनन्। जाडो मात्र थियो। अनि न्यास्रो।
त्यसपछि न कहिल्यै फेरि त्यो पुरानो इँटाको घरबाट खानाको लोभ दिएर बोलाउने कोही भयो, न ‘खुट्टामा आल्ता लगाइदिन्छु’ भनेर बोलाउने कोही। मैले धेरै नबुझे पनि घण्टौँ अनेक हाउभाउका साथ चित्त नबुझेको गनथन सुनाउने माँ अस्ताइन्।
चार–पाँच वर्ष भयो होला, बढी नै भयो शायद।
छोरी एक्लैपर्ली भन्ने कतिको गह्रौँ पीर रैछ.. धनमैँचालाई पनि चाँडै आफू भएतिरै लगिन्। कहिले कतै एक्लै जान नसक्ने धनमैँ, त्यो यात्रामा चाहिँ एक्लै हिँडिन्। कहिले आमा नछोडेकी कान्छी छोरीले परार एक्कासि संसार छोडिन्। केही नभई यसै लडिन् रे। आमाको पछिपछि गइन्। अथवा त्यसै भनेर चित्त बुझाए सबैले।
अहिले दुवै बारीमा बसेर छरछिमेकमा चित्त नबुझेका मान्छेबारे गनथन गर्दै होलान् कि? बकुला भुट्दै, भोगटे छोडाउँदै, बीचबीचमा बेस्मारी हाँस्दै।
ए! अनि त्यो भोगटेको रूख, जुन कता थियो मलाई याद छैन– त्यो पनि मासियो रे।
धन्न हरेक वर्ष जाडो मौसम आउँछ, भोगटे फल्न थाल्छ र कता कताबाट माँको झल्को आउँछ। नत्र उनको याद पनि मासिने थियो कि?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
