कर्णाली खेलाडी उत्पादन गर्छ, पदक विभागीय टोलीलाई!

हरिबहादुर रोकायाले जुम्लामा युवाहरु खोज्छन् र प्रशिक्षित गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने बनाउँछन्। ती खेलाडी विभागीय टोलीतिर लाग्दा राष्ट्रिय प्रतियोगितामा कर्णाली कमजाेर बन्छ।

तस्वीर हरिबहादुर रोकायाको फेसबुकबाट।

काठमाडौँ- पोखरामा नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका एथलेटिक्स प्रशिक्षक थिए पूर्व राष्ट्रिय धावक हरिबहादुर रोकाया। उनले प्रशिक्षत गरेका धावक दुर्गाबहादुर बुढा र राममाया बुढामाथि सबैको नजर थियो। हरिबहादुर स्वयं पनि उत्साहित थिए।

एक दशकदेखि भारतीय सेनामा कार्यरत दुर्गाबहादुर कर्णालीकै खेलाडी थिए। तर, हरिबहादुरले प्रशिक्षत गराएका राममाया कर्णालीबाट खेलिरहेकी थिइनन्।

दुर्गा र राममाया दुवैलाई नवौँ राष्ट्रिय खेलकुदका लागि प्रशिक्षत भने हरिले नै गरेका थिए। दुवै जनाले स्वर्ण जित्नेमा उनी ढुक्क नै थिए। दुर्गाले यसअघि पाँचौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिसकेका थिए। पाँचौँ खेलकुदमा आठौँ भएका उनी आठौँमा तेस्रो भएका थिए।

हरिबहादुर रोकाया

राममाया गत असारमा काठमाडौँमा आयोजना भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत महिला ३ हजार मिटर दौडमा भाग लिएकी थिइन्। बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र नेपाल पुलिसकी राजपुरा पछाईजस्ता अनुभवी खेलाडीसँग दौडिएकी राममायाले १० मिनेट ४१.९ सेकेन्डको ‘टाइमिङ’ निकाल्दै कास्य पदक हात पारेकी थिइन्। उनको गति सन्तोषीभन्दा ३५ र राजपुराभन्दा ३३ सेकेन्डले मात्रै कम थियो।

हरिले राममायाको ‘टाइमिङ’ सुधार गर्न खुबै मिहिनेत गराएका थिए। “भर्खरै दौडमा आएकी भएर राममायामा टेक्निकको कमी थियो। त्यसैले काठमाडौँमा भएको प्रतियोगितामा तेस्रो भइन्। यसपटक स्वर्ण नै ल्याउने गरी मिहिनेत गराएको थिएँ। तर, प्रतियोगिता शुरू हुनुभन्दा दुई महिनाअगाडि नै उनलाई पुलिस क्लबले लगिदियो,” पोखरामा भेटिएका हरिले गुनासो गरे।

आफूले खोजेर प्रशिक्षत गरेपछि पुलिसले थपक्क लगिदिँदा उनलाई ‘मुटु नै चुडाएर लगेको’जस्तो भयो। मन भक्कानिएर आयो। उनले राममायालाई फोन गरेर जुम्ला नै फर्किन आग्रहसमेत गरे। तर, पाएको अवसरलाई राममायाले खेर फ्याँक्न चाहिनन्। उनले जुम्लामा बसेर करिअर नबन्ने सुनाएपछि हरिलाई पनि कर गरिरहन मन लागेन। 

“उनलाई जुम्लामै राखेको भए पनि मैले के नै दिनसक्थेँ र? उनलाई पुलिसले खुट्टामा उभिने जागिर त दिएको छ। तँ पुलिसबाटै खेल्न चाहन्छस् भने खेल न त भनेर भनेँ,” उनले सुनाए।

कुनै पनि प्रतियोगितामा कर्णाली प्रदेशको कथा उस्तैउस्तै हुन्छ। धेरै प्रतियोगितामा कर्णालीको सहभागिता त्यतिमै सीमित हुन्छ। कर्णालीको खराब प्रदर्शनका पछाडि धेरै कारण छन्। भौगोलिक रूपमा विकट र पूर्वाधारको कमी त छँदैछ। खेलाडीका लागि खेल्नयोग्य मैदान छैनन्। राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका अधिकांश खेलाडीले अभ्यासको पर्याप्त अवसर पाउँदैनन्। न त राम्रो प्रशिक्षक नै हुन्छन्।

नवौँ खेलकुदमा कर्णालीका खेलाडी तथा पदाधिकारी।

तर, यसपटक कर्णालीले स्वर्णकै आशा गरेको थियो। एथलेटिक्समा दुर्गाबहादुर र राममायालाई दाबेदार खेलाडी मानिएको थियो। राममाया विभागीय टोलीतिर लागेपछि दुर्गाबहादुरलाई कर्णालीको नाम राख्ने चुनौती थियो। उनले आशालाई निराशामा बदलिन दिएनन्। ३ हजार मिटर ‘स्टेपल चेज’मा उनले स्वर्ण जिते। ५ हजार मिटर दौडमा भने दुर्गाबहादुर केही सेकेन्डले मात्र स्वर्ण जित्नबाट चुके। 

राममायाको प्रदर्शनलाई लिएर पनि हरिलाई चासो थियो। महिला १५ समय मिटरमा दौडिएकी राममायाले यसपटक कसैलाई चुनौती नै दिन सकिनन्। “जुम्लाको डाँडाकाँडा, उकालोओरालोमा मैले नै उनलाई निखारिरहेको थिएँ। स्वर्ण जित्नेमा म शतप्रतिशत ढुक्क थिएँ। तर, पुलिसमा गएपछि किन हो किन प्रदर्शन नै खस्कियो। मलाई एकदमै नरमाइलो लागिरहेको छ,” उनी भन्छन्।

जुम्लाले नवौँ राष्ट्रिय प्रतियोगितामा दुई वटाभन्दा बढी स्वर्ण जित्न नसके पनि सम्भावना बोकेका धेरै धावक जन्माएको छ। त्यसैले बिनातलब प्रशिक्षण दिने हरिको योगदान अतुलनीय छ। नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई पहिलो स्वर्ण दिलाउने दुर्गाबहादुर मात्रै होइनन्, गत वर्ष पुसमा थाइल्यान्डमा आयोजना भएको विश्वचर्चित ‘बाई युटीएमबी अल्ट्रा ट्रेल रनिङ’ प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने सुनमाया बुढालाई समेत हरिले नै प्रशिक्षित गरेर खेल क्षेत्रमा ल्याएका हुन्।

हरिले खेलाडी उत्पादन गरे पनि उनीहरू पलायन भएर अन्यत्रैबाट खेल्ने गरेका छन्। उनले उत्पादन गरेका पूर्णलक्ष्मी रोकाया, मञ्जु रोकाया, कालीबहादुर रोकाया, राजन रोकाया र राममायालगायत आधा दर्जन खेलाडी विभागीय टोलीमा प्रवेश गरेका छन्। उनीहरू विभागबाट खेल्दै आइरहेका छन्। 

“दौडका लागि जुम्ला एकदमै ठीक छ। हावापानी र वातावरण पनि ठीक छ। यहाँको जिन नै जो कोहीलाई धावक बनाउने खालको छ। त्यसैले होला हरि गुरूले उत्पादन गरेका खेलाडी लिन आयौं है! भन्दै विभागीय टोली जुम्ला नै पुग्छन्,” उनी सुनाउँछन्।

आफूले उत्पादन गरेको खेलाडी खोज्न किन विभागीय टोली जुम्ला पुग्छन् भन्ने हरिलाई प्रष्ट थाहा छ। जुम्लाका खेलाडीलाई सिंहदरबारले कुनै भत्ता र पुरस्कार दिँदैनन्। न त कर्णाली सरकारले नै उनीहरूबारे चासो लिन्छ। उनीहरूको अवस्था कस्तो छ, कसरी खेल्दै आएका छन्, कहाँ खेल्छन्, के आवश्यक छ, कुन प्रतियोगिता खेल्दै छन्, खोजीनिति नै हुँदैन। न त सरकारले खेलाडी उत्पादन गर्न बजेट नै दिन्छ।

हरेक वर्ष आयोजना हुँदै आइरहेको ‘जुम्ला म्याराथन’को लागि समेत हरिले बजेट पाउँदैन। कतिपटक त म्याराथनमा विजयी खेलाडीको हातमा उधारो चेक पनि थमाउनु परेको छ। “प्रदेश सरकारले मात्रै होइन, प्रत्येक गाउँपालिका, नगरपालिकाले खेलकुदसम्बन्धी रकम छुट्याइएको हुन्छ। तर, आफ्नो नजिकको मान्छेलाई दिइहाल्छन्। नेपालमा आफ्नो मान्छे नभएको ठाउँमा कुनै पनि काम नगरे हुन्छ। मैले देखिसकेको छु, भोगिसकेको छु। त्यसैले कर्णालीका खेलाडी पलायन भइरहेका छन्,” उनी भन्छन्।

सिंहदरबार र प्रदेश सरकारले अन्देखा गरेकै कारण खेलकुदमा कर्णाली कमजोर रहेको हरिको बुझाइ छ। पोखरामा यसै साता सम्पन्न नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीका धावक दुर्गाबहादुर र पुरुषतर्फ उसुको नान छ्वान राउन्डमा दीपक हमालले मात्रै स्वर्ण पदक जिते।

प्रतियोगितामा सहभागी ११ टोलीमध्ये कर्णालीले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक ल्याएर अंक तालिकाको पुछारमा रह्यो। कर्णालीमा सम्भावना बोकेका धेरै खेलाडी भएको हरि बताउँछन्। तर, भौगोलिक अवस्था र आर्थिक कारणले कर्णालीमा खेलाडी उत्पादन गर्न र टिकाइराख्न गाह्रो हुने गरेको उनको अनुभव छ। आर्थिक संकटले खेलाडीलाई पोषणको अभाव हुने हुँदा आफ्नै जमिन दिएर कुटानी–पिसानी मिल सञ्चालन गरेका छन्। 

खेलाडीलाई प्रशिक्षण दिएर खाली रहेको समयमा उनी आफैँ पनि काम गर्छन्। उनी बिजुली, सोलार तथा भैपरी आउने मिस्त्रीको काम गर्छन्। त्यसबाट आएको पैसा खेलाडीको पोषण तथा अरू आवश्यकता पूरा गर्न खर्च गर्छन्। 

यदि कर्णाली सरकारले नै खेलाडीलाई विभागीय टोलीले जस्तै सेवासुविधा र जागिर दिने वातावरण मिलाए पूर्णलक्ष्मी, मञ्जु, कालीबहादुर, राजन र राममायाजस्ता खेलाडी कर्णालीमा उत्पादन गर्ने सकिने उनको भनाइ छ। “कर्णाली खेलकुदमा कमजोर होइन, कमजोर बनाइएको हो। खेलाडीलाई यहाँ टिकाइराख्न कम्तिमा प्रदेश सरकारले विभागीय टोलीले जस्तै जागिर दिने व्यवस्था मिलाओस्। अनि हेरोस् हाम्रो क्षमता,” उनी भन्छन्।