संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई

जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनालाई दिइएको छ।

काठमाडौँ– जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालीबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो। जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

उनकाअनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो। उनले भने, “महत्त्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ।” केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा सेनाले गस्ती बढाएको उनले बताए।

नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै सेनाले आफ्नो नीतिअनुसार काम गरेको उनले बताए। निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको पनि उनले बताए। मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उनको भनाइ छ।

३२ थान हतियार बुझाइयो
निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ३२ थान हतियार स्थानीय प्रशासनमा बुझाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ५ गतेसम्म हतियार बुझाउन आह्वान गरेपछि सो संख्यामा हतियार बुझाइएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भण्डारामा ती हतियार बुझाइएको हो।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन भनिएपछि जिल्ला प्रहरी कार्यालय चितवनमा २१ थान, वडा प्रहरी कार्यालयमा सात थान र इलाका प्रहरी कार्यालय भण्डारामा चार थान बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

उनकाअनुसार बुझाइएका हतियारमध्ये १२ बोरको १४ थान, १३ बोरको एक थान, पोइन्ट टुटु राइफल १० थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक एक थान र अन्य हतियार छन्। इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइए हतियार नियन्त्रणमा लिइनेछ। नबुझाएका हतियार नियन्त्रणमा लिएर कानुनी प्रक्रिया शुरू गरिने उनले बताए।