२०३९ सालबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपाली टोलीमा एक प्रशिक्षकले औषतमा एक वर्षभन्दा केही बढी मात्र प्रशिक्षण दिएका छन्। पछिल्लो तीन वर्षमा फुटबलका पाँच प्रशिक्षक परिवर्तन भए।
काठमाडौँ– गत असारमा एएफसी एसियन कप छनोटअन्तर्गतको खेल सकिएलगत्तै तीन महिनाको छुट्टीमा बसेका राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई एन्फाले फिर्ता बोलाउनै चाहेन। कुवेती नागरिक अल्मुताइरीले करिब दुई वर्ष नेपाली टीम सम्हाले।
त्यसअघि २०७५ सालमा स्विडेनका योहन कालिन प्रशिक्षक नियुक्त भएका थिए। उनी २०७६ चैत ८ मा छुट्टीमा स्वदेश फर्किएका थिए। तर, उनी उतै भएका बेला एन्फाले कार्यवाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्यो।
पछिल्लो तीन वर्षमा मात्र पाँच प्रशिक्षक परिवर्तन भएका छन्। २०३९ सालबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपाली टोली सम्हाल्न अहिलेसम्म १६ विदेशी प्रशिक्षक आएका छन्। त्यति नै हाराहारीमा नेपाली प्रशिक्षक नियुक्त भएका छन्। चार दशकमा नियुक्त भएका प्रशिक्षकले औषत एक वर्षको हारहारी मात्र टीम सम्हालेका छन्।
विदेशी प्रशिक्षकमा कालिनअघि जापानका कोजी ग्यातुकी नेपाल आएका थिए। २०७२ फागुनमा आएका उनी करिब सात महिना मात्र बसे। उनलाई 'ओभर स्टे' गरेको आरोपमा गृह मन्त्रालयले नै जापान फिर्ता पठाएको थियो। २०७३ भदौमा आएका बेल्जियमका फुटबल प्रशिक्षक प्याट्रिक ओसम्स चार महिना मात्र नेपाल बसे। उनको करार अवधि एन्फाले नवीकरण गरेको थिएन।
त्यसअघि पोल्यान्डका ज्याक स्टोफानोस्की २०६९ पुसमा नेपाल आए। उनी दुई वर्ष नेपाल बसेका थिए। त्यसअघि नेपाल आएका बेलायती नागरिक ग्राहम रोबर्ट्स एक वर्षमा नै फर्किएका थिए।
नेपाली खेलकुदमा बढ्दो राजनीतिकरण र कमजोर व्यवस्थापनले गर्दा नै प्रशिक्षकहरू ‘टुरिस्ट’ बनेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहिसकेका पूर्वकप्तान राजुकाजी शाक्य बताउँछन्। उनी भन्छन्, “एन्फामा देखिएको छाडातन्त्रका कारण नेपाल आएका र हाम्रै प्रशिक्षकले समेत खुलेर काम गर्न पाएनन्। हामीले नेपाली फुटबललाई माथि लैजान सक्ने प्रशिक्षक नपाएका होइनौँ, तर उनीहरूमाथि सम्मानजनक व्यवहार नभएको कारण टिक्न सकेनन्।”
नेपाली फुटबल सम्हाल्न आइपुगेका अधिकांश विदेशी प्रशिक्षक स्वयंमसेवकको रूपमा भित्रिएका हुन्। तीमध्ये कति प्रशिक्षक एन्फाको राजनीतिका कारण बाहिरिए भने, कोही खेलाडीले मैदानभित्र या बाहिर देखाएको व्यवहारका कारण। प्रशिक्षक नटिक्दा न नयाँ खेलाडी उत्पादन हुन सके, न त अपेक्षाकृत उपलब्धि हासिल भयो।
पछिल्लोपटक आएका अल्मुताइरी कतार फुटबल संघको तर्फबाट पठाइएका थिए। उनी नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउने र बलिया टोलीसँग मैत्रीपूर्ण खेल खेलाएर सन् २०२६ सम्म एएफसी एसियन कपमा छनोट गराउने लक्ष्यसहित आएका थिए। छोटो समयमा नै चर्चा कमाएका उनले आयुष घलान, दीप कार्की, मनिष डाँगीजस्ता खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु गराएका थिए। उनले वरीयतामा नेपालभन्दा माथि रहेका बलिया टोलीसँग मैत्रीपूर्ण खेल खेलाए। यतिमात्रै होइन, साफ चाम्पियनसिपको २८ वर्षे इतिहासमै पहिलोपटक नेपाली टोलीलाई उपविजेता बनाए।
आफ्नो कार्यकालमा उनले १९ खेल खेलाउँदा १२ हार, पाँच जित र दुई वटामा बराबरीको नतिजा निकाले। तर, खेलाडीसँगको मतभेद र नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको ‘टसल’का कारण उनको बहिर्गमन भयो। “नियुक्त भएलगत्तै तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङसँगको टसल भयो। त्यसपछि नै कर्मा दाइ (पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा)ले उनलाई निकाल्न चाहेका थिए। दाइले अल्मुताइरीलाई जा भन्न सकेनन्। त्यहीबेला अल्मुताइरी चुप बस्दिएको भए परस्थिति फरक हुन्थ्यो। तर, त्यसपछिको घटनाक्रमले उनलाई निकाल्न सहज भयो”, एन्फाका एक केन्द्रीय सदस्य भन्छन्।
एन्फाका तत्कालीन अध्यक्ष शेर्पासँग अल्मुताइरीको राम्रो सम्बन्ध थियो। शेर्पाकै पहलमा कतार फुटबल संघले उनलाई नेपाल पठाएको थियो। त्यहीकारण अल्मुताइरी विवादित बन्न थाल्दा पनि शेर्पाले ‘एक्सन’ नलिएको एन्फाका ती सदस्यले बताउँछन्। उनी भन्छन्, “अनुशासन उल्लंघन गर्दा पनि अल्मुताइरीलाई कारबाही नगरेकै कारण कर्मा दाइले चुनाव हार्न पुगे। प्रशिक्षकसँगको विवादपछि १० खेलाडीले राष्ट्रिय टोली छाड्दा खेलाडीको पक्षमा बोल्न नसक्नु उनको पराजयको कारण हो।”
एन्फाकै कारण बाहिरिन्छन् प्रशिक्षक
अल्मुताइरीलाई जसरी एन्फाले बिदा गर्यो, उनीअघिका विदेशी प्रशिक्षक कालिनका लागि पनि त्यही शैली अपनाएको थियो। बिदामा घर गएका प्रशिक्षकले जिम्मेवारी नछाडी र एन्फाले बर्खास्त पनि नगरी नयाँ प्रशिक्षक नियुक्त गरिने गरिएको छ।
अल्मुताइरी जिम्मेवारीमै रहेका बेला गएको असोज ११ गते बंगलादेशसँग भएको मैत्रीपूर्ण खेलका लागि नेपाली मूलका अमेरिकी नागरिक प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनाइएको थियो। त्यसपछि आफ्नै देशमा रहेका अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा पठाए।
यसअघि स्विडेनका कालिन पनि पदमा रहँदै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकमा महर्जनलाई नियुक्त गरिएको थियो। १२ खेल खेलाएका कालिनले एक जित, तीन बराबरी र आठ खेलमा हार बेहोरेका थिए। अप्रत्यासित रूपमा टीम छाड्नु परेपछि उनले दुखेसो पोख्दै भनेका थिए, “नेपालमा सम्भावना बोकेका धेरै खेलाडी छन्। तर, एन्फाको राजनीति यसरी नै हाबी हुँदै गए नेपाली फुटबल जहाँ छ त्यहाँबाट माथि जानै सक्दैन।”
कालिनपछि २०७७ चैतसम्म बालगोपालले नै नेपाली राष्ट्रिय टोली सम्हाले। तर, फुटबलको सर्वोच्च निकाय फिफाले ‘प्रो–लाइसेन्स’ प्राप्त प्रशिक्षक नै चाहिने प्रावधान लागू गरेपछि नेपाली फुटबलमा अल्मुताइरीको ‘इन्ट्री’ भएको हो।
अल्मुताइरीपछि कार्यवाहक प्रशिक्षक भएका हुमागाईंले बंगलादेशविरुद्धको एक खेल मात्र खेलाए। त्यसपछि प्रवेश कटुवाल आगामी कात्तिक ३० गते पाकिस्तानविरुद्धको एउटा मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन्। खेलपच्छे अनुभवविहीन प्रशिक्षकलाई मौका दिने परम्परा कायम भए नेपाली फुटबलमा सुधार नआउने पूर्वप्रशिक्षक शाक्य बताउँछन्।
“कम्तिमा चार वर्ष एकै जना प्रशिक्षकलाई राष्ट्रिय टोली हेर्न दिए नेपाली फुटबल राम्रो हुन्थ्यो। तर, एन्फा नेतृत्वले आफ्नो मान्छे ल्याउन कसैलाई निकाल्ने र कसैलाई राख्ने गरिरहेको छ”, शाक्य भन्छन्, “हामीसँग पनि राम्रा प्रशिक्षक छन्। तर, काखापाखा बढी नै भयो।”
कटुवालले कार्यवाहक प्रशिक्षकमा कहिलेसम्म निरन्तरता पाउँछन् टुंगो छैन। किनभने एन्फाको प्राथमिकता विदेशी प्रशिक्षकमै छ। एन्फा प्रवक्ता सुरेश साह भने प्रशिक्षक नियुक्तिमा आफूहरूले कसैलाई काखापाखा नगरेको दाबी गर्छन्। हुमागाईंले नै प्रशिक्षण सम्हाल्न चासो नदिएको कारण कटुवाललाई एक खेलको लागि जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ।
“हामीले काखापाखा गरेका छैनौँ। हुमागाईंसँग एक खेलको मात्रै सम्झौता थियो, त्यसपछि सम्झौता रद्द भइसक्यो”, उनी भन्छन्, “बंगलादेशसँगको खेलपछि नेपाली टोली प्रशिक्षकविहीन रहेको उहाँलाई थाहा नै छ। तर, उहाँले फेरि नेपाली टोली सम्हाल्न चहानुभएन।”
प्रशिक्षक ल्याउने, नतिजा हरेरे निर्णय गर्ने!
फिफाले प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक मात्रै मान्य हुने प्रावधान राखेको कारण विदेशी प्रशिक्षक आफूहरूको प्राथमिकतामा रहेको एन्फा महासचिव किरण राई बताउँछन्। अहिले ४-५ जना विदेशी नेपाल आउन इच्छुक भए पनि आफ्नो प्राथमिकता युरोपेलियन प्रशिक्षकमा रहेको उनको भनाइ छ।
लामो समयसम्म नेपाली टोली हेर्ने प्रशिक्षक ल्याउने लक्ष्य भए पनि नतिजा हेरेर मात्र समय निर्धारण हुने राई बाउँछन्। उनी भन्छन्, “हाम्रो प्लानिङ लङट्रमकै छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार नतिजाको आधारमा निर्णय गरिन्छ। त्यसैले तीन वर्ष राख्छौँ या चार वर्ष राख्छौँ भनेर ग्यारेन्टी दिन सक्दैनौँ।”
नेपालजस्तो देशमा राम्रा प्रशिक्षक ल्याउन निकै खर्चिलो हुन्छ। आर्थिक भार कम गर्न एन्फाले विगतदेखि नै स्वयंसेवक प्रशिक्षकलाई मात्र ल्याउने गरेको छ। नेपालजस्तो ठूलो खर्च बहोर्न नसक्ने राष्ट्रले आफ्नै खर्चमा विश्वस्तरीय प्रशिक्षक ल्याउनु चुनौतीपूर्ण रहेको महासचिव राई बताउँछन्। फिफा र एएफसीको सहयोग भए असम्भव भने नभएको उनको भनाइ छ।
दिगो र क्षमता भएको प्रशिक्षक ल्याइदेऊ: सञ्जीव मिश्र, खेल विश्लेषक
नेपाली राष्ट्रिय टोली सम्हाल्ने काम भनेको चानचुने होइन। प्रशिक्षक बनेपछि आउने नतिजाको जिम्मेवारी लिनुपर्छ। यस्तो क्षमता जो कोहीमा हुँदैन, त्यसैले जो कोहीलाई प्रशिक्षक बनाएर ल्याउन सकिँदैन।
हाम्रो खेलाडी अहिले मात्रै होइन, पहिलादेखि नै धेरै मिहिनेती छन्। केही खेलाडी विदेश पलायन पनि भए। तर, राष्ट्रिय टोली नै सकिएको छैन। उनीहरूलाई ‘रिप्लेस’ गर्ने केही खेलाडी बेञ्चमा छन्। यता, यू–१७ र १९ बाट समेत राम्रा–राम्रा युवा खेलाडी आइरहेका छन्। अहिले उनीहरूलाई बुझेर मैदानमा खेलाउन सक्ने प्रशिक्षक चाहिएको हो। उनीहरूलाई राम्रो वातावरणमा खेलाउन सक्ने प्रशिक्षक ल्याउनुपर्छ।
एक खेलका लागि एक जना र अर्को खेलका लागि अर्को प्रशिक्षक ल्याउने संस्कार गलत हो। कम्तिमा पनि एकदुई वर्ष यहीँ बसेर फुटबलमा समय खन्याउन सक्ने प्रशिक्षक ल्याओस् भन्ने मेरो चाहना हो। लामो समय टोलीलाई हेर्ने प्रशिक्षक ल्याए खेलाडीलाई मात्रै होइन, एन्फालाई पनि आर्थिक रूपमा राम्रो गर्छ। एन्फाले सहज वातावरणमा कार्यकाल पूरा गर्ने प्रशिक्षक ल्याउनुपर्ने खाँचो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
