ज्ञानेन्द्रको अर्धशतकमा नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको छ।

काठमाडौँ– ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ।

युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको हो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाए। उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। सन् २०१८ नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा डेब्यू गरेका मल्लको यो छैठौँ अर्धशतक हो। उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध पहिलोपटक अर्धशतक प्रहार गरेका थिए। त्यसपछि उनले अमेरिका, ओमान, यूएई र नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

आरिफ शेखले ४१ बलमा २ चौकासहित २३ रन बनाए। १९ ओभर चलिरहँदा नेपालले दुवै ओपनर गुमाइसकेको थियो। ओपन अर्जुन साउद ४२ बलमा २ चौकासहित १८ रन बनाउँदा बोल्ड हुन पुगे। यता, अर्का ओपनर आशिफ शेख पनि २० रन बनाउँदै क्याच आउट भए।

त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल र मल्लले ८८ रनको साझेदारी गरेका थिए। रोहित १० रनमा आउट भए।

यस्तै, मध्यक्रममा उक्लिएका कुशल भुर्तेलले १३, गुलशन झाले १८ र सोमपाल कामीले १० रन बनाए।

नामिबियाका टांगेनी लुंगामेनीले १० ओभर बलिङ गर्दै ४२ रन खर्चिएर ३ विकेट लिए। कार्ल बिरकेनस्टोकले ३ ओभर बलिङ गर्दै २ विकेट लिए। गेरहार्ड इरास्मस, जेजे स्मिथ र बर्नार्ड शोल्ट्जको नाममा ११ विकेट रह्यो।