नवनियुक्त गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको मुद्दा छानबिनका लागि अधिकतम पहल गर्ने निर्णय गरेका छन्।

तस्वीर : रवि लामिछाने

काठमाडौँ– नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णय गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेले सोमबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहणपछि कञ्चनपुरकी निर्मला पन्तको मुद्दालाई छानबिन गर्न अधिकतम पहिल गर्ने निर्णय गरेका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

लामिछाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए।