त्रिवि क्रिकेट मैदानमा ‘भव्य प्रतियोगिता’, तर छैनन् दर्शक

गत मंसिरमा यूएईसँगको तीन ओडीआई श्रृङ्खलाको अन्तिम खेल हेर्न दर्शक गेट तोडेरै मैदान पुगेका थिए। यसपटक क्यानले नेपाल टी२० लिग गराउँदा औँलामा गन्न सकिने दर्शक मात्र त्रिवि क्रिकेट मैदान पुग्ने गरेका छन्।

तस्वीर : क्यान

काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक फ्रेन्चाइजी लिग नेपाल टी–२० को शुरूआत भएको एक साता भयो। उद्घाटन खेलमा दुई फ्रेन्चाइजी टोली काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गरेका थिए। उक्त खेल रोमाञ्चक थियो।

काठमाडौँबाट खेलेका अफगानिस्तानका युवा अलराउन्डर अजमातुल्लाह उमरजाईले धमाकेदार ब्याटिङ गरे। उनले ४२ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै अविजित ८५ रन बनाउँदा काठमाडौँ २६ रनले विजयी भयो। 

सोही दिनको दोस्रो खेलमा श्रीलंकाका विकेटकिपर ब्याटर लाहिरू मिलन्थाले पनि फार वेस्ट युनाइटेडविरुद्ध ५० बलमा आठ चौका र एक छक्कासहित ६० रनको अर्धशतकीय इनिङ्स खेले। उक्त खेलमा लुम्बिनीले ६७ रनको रवाफिलो जित निकाल्यो। पहिलोपटक नेपाल उत्रिएर उद्घाटन खेलमै उमरजाई र मिलन्थाले अर्धशतक प्रहार गर्दाको साक्षी भने करिब १५० दर्शक मात्रै थिए।

त्यसको भोलिपल्ट आइतबार उनै मिलन्थाले विराटनगर सुपर किङ्सविरुद्ध ६३ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ८० रनको इनिङ्स खेले। उक्त खेलमा पनि लुम्बिनीले ३ रनको रोमाञ्चक जित हात पार्‍यो। सोही दिनको दोस्रो खेलमा जनकपुर रोयल्सले पोखरामाथि पाँच विकेटको जित हात पार्दा ओपनर आशिफ शेखले ३९ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाए। उनीहरूले ब्याट उठाएर ‘सेलिब्रेशन’ गर्दा भने मुस्किलले ५० जना मात्रै दर्शक मैदानमा थिए। 

क्रिकेट सुस्ताएको बेला शुरू बहुप्रतीक्षित लिग र नाम चलेका विदेशी खेलाडीको जमघट भएको नेपाल टी२० लिगमा दर्शकको बाक्लै उपस्थिति हुने अनुमान क्यान पदाधिकारीको थियो। सोही अनुमानका आधारमा आयोजक क्यान र कमर्सियल तथा स्ट्राटेजिक राइट पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले पनि कर्पोरेट बक्समा ७५ सय, भीभीआईपी बक्समा पाँच हजार, भीआईपी स्ट्यान्डमा १५ सय र सामान्य स्ट्यान्ड (मैदान प्रवेश)का लागि ३०० टिकट मूल्य तोकेको थियो। तर, लिगका १२ खेल सकिँदा पनि सेभेन थ्री स्पोर्ट्स र क्यानले चित्त बुझाउन लायक दर्शक आएका छैनन्।

“२०१८ तिर एभरेस्ट प्रिमियर लिग (ईपीएल) आयोजना होस् या नेपाली राष्ट्रिय क्रिकेट टोली मैदान उत्रिँदा प्रायः खेलमा दर्शकको बाक्लै उपस्थिति हुने गरेको थियो। तर, पछिल्लो समय नेपालमा दर्शकले हेरूम् हेरूम् लाग्ने क्रिकेट प्रतियोगिताहरू नै भएनन्”, गत बिहीबार मैदानमा भेटिएका दर्शक सुबिन देवकोटाले भने, “यो लिग पनि आयोजना हुने नहुने अन्तिम समयसम्म टुंगो थिएन। लिग विवादमा परेको समाचारहरू आए। प्रतियोगिता नै शंकाको बीच शुरू भएकोले दर्शकको उपस्थिति नबढेको जस्तो लाग्छ।” 

नेपाल टी२० लिगमा दर्शकको उपस्थिति नदेखिएपछि क्यानले मंगलबार बिहान संख्या बढाउन टिकट शुल्क सामान्यतर्फ १०० रुपैयाँमा झारेको थियो। तर, त्यसले पनि उपस्थिति नबढाएपछि बुधवार र बिहीबार निःशुल्क प्रवेशको चाँजोपाँजो मिलाइएको थियो। शुक्रबार र शनिबार भने पुन: १०० रुपैयाँकै टिकट राखिएको छ। तर, अझै मैदानमा दर्शक गन्न सकिने गरी मात्र पुगेका छन्। 

किन आएनन् दर्शक?
नेपाली क्रिकेटमा दर्शकको बेवास्ता यही प्रतियोगितामा मात्रै बढेको हो। यसअघि आयोजना हुँदै आएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) होस् या अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको टिकट लिन, दर्शकको लामो लाइन लाग्थ्यो। दर्शकको भिड थामिनसक्नु भएपछि प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको इतिहास छ।

गत मंसिरमा टियु क्रिकेट मैदानमै भ्रमणकारी टोली यूएईसँगको भएको तीन एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृङ्खलाको फाइनलमा दर्शक गेट तोडेरै मैदान पुगेका थिए। त्यसक्रममा पाँच जना घाइतेसमेत भए। त्यसयता क्यानले राष्ट्रिय लिगको रूपमा अन्य फ्रेन्चाइजी लिगलाई अनुमति दिएन। बरू आफ्नै फ्रेन्चाइजी लिग नेपाल टी२० आयोजना गर्ने सुरसार गरेको थियो। अन्य फ्रेन्चाइजी लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेपछि ईपीएलका आयोजक र ६ टिमले सर्वोच्च अदालतमा हालेको रिटका कारण प्रतियोगिता मंसिर २६ मा सरेको थियो। 

तर, दोस्रो पटक निर्धारण गरेको मितिमा पनि प्रतियोगिता हुन सकेन। क्यानले पुनः पुस ८ गतेबाट प्रतियोगिता गर्ने भन्दै खेल तालिका सार्वजनिक गरेको थियो। अन्तिम समयमा प्राविधिक कारण देखाउँदै क्यानले प्रतियोगिता एक दिन पछाडि धकेल्यो।

बारम्बार प्रतियोगिता सर्दा समग्र लिगकै आकर्षण घट्न पुगेको नेपाल टी२० लिगका गभर्निङ काउन्सिल अध्यक्षसमेत रहेका क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको दाबी छ। “सुस्ताएको क्रिकेट प्रतियोगितालाई ब्युँताउन हामीले आफ्नै नेपाल टी२० लिग ल्यायौँ। तर, केही स्वार्थ बोकेका व्यक्ति र मिडियाका कारण लिग तोकिएकै समयमा गर्न सकेनौँ”, उनी भन्छन्, “बारम्बार लिग सरिरहँदा कतै नहुने त होइन भनेर दर्शकमा गलत सन्देश गयो।”

नेपाल टी२० लिगका आधाजति खेल सकिँदा दर्शक नआउनुमा क्यान पदाधिकारीकै कमजोरी रहेको क्यान बोर्ड सदस्य ऋषिराम गौतमको दाबी छ। क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवहाक सचिव मल्ललगायतको एकोहोरो जोडबलमा प्रतियोगिताको जिम्मेवारी विवादास्पद भारतीय कम्पनीलाई सुम्पिएको कारण पनि दर्शक नआएको बोर्ड सदस्य गौतम बताउँछन्।

“उहाँहरूले दर्शक किन्न सक्नुभएन। त्यसमाथि बोर्ड सदस्यहरूकै कुरा नसुनी बहुमतको आधारमा क्रिकेट मास्ने गरी भारतीय कम्पनीलाई आठ वर्षको लागि लिगको आयोजना गर्ने अधिकार दिइयो। आयोजनाको अधिकार दिएबापत पाउने रकम पनि क्यानले पाएन”, उनी भन्छन्, “त्यसमाथि प्रचारप्रसारसमेत भएन। म बोर्ड सदस्यलाई समेत त प्रतियोगिताबारे थाहा छैन भने दर्शकलाई के थाहा हुन्थ्यो र?”

कुनै पनि प्रतियोगितामा दर्शक तान्न ‘स्टार’ खेलाडी चाहिन्छ। तर, त्यस्ता खेलाडी नहुँदा दर्शक नतानिएको क्यान बोर्ड सदस्य गौतम बताउँछन्। नेपाली क्रिकेटमा कहलिएका खेलाडी पूर्वकप्तान पारस खड्का र शक्ति गौचनले सन्यास लिइसकेका छन्। विश्वका प्रायः सबै फ्रेन्चाइज लिग खेलिसकेका लेग स्पिनर सन्दीप लामिछाने बलात्कारको मुद्दामा केन्द्रीय कारागार सुन्धारमा थुनामा छन्। भएका नेपाली खेलाडीहरूले पनि राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

सर्वाधिक रन बनाउनेको सूचीमा प्रायः विदेशी खेलाडी नै अग्रस्थानमा छन्। २०४ रनसहित सूचीको पहिलो स्थानमा रहेका आसिफ सेखले श्रीलंकाका लाहिरू मिलन्थाभन्दा ४ रन मात्र धेरै बनाएका छन्। तर, आसिफले सात र मिलन्थाले पाँच खेल खेलेका छन्। त्यसपछि जमैकाका चाडविक वाल्टन, र अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई छन्। पाँचौँ स्थानमा नेपाली खेलाडी सन्दीप जोरा छन्।

आशा गरिएका नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, मध्यक्रमका ब्याटर आरिफ शेखले अपेक्षाअनुसार रन बटुल्न सकेका छैन। “क्रिकेट हेर्न आउन स्टार खेलाडी या रोल मोडल पनि हुन जरुरी हुन्छ। विदेशी मात्र नभइ मन परेका नेपाली खेलाडीका कारण पनि खेल हेर्न आउने दर्शक धेरै हुन्छन्। तर, अहिले दर्शकलाई तान्ने नेपाली खेलाडीलाई अक्सन नै नगरी मनपरी तरिकाले टोलीमा भित्र्याइएको छ”, गौतमले असन्तुष्टि पोखे। सहभागी ६ टोलीमध्ये तीन वटाको कप्तानी विदेशीलाई सुम्पिएको कारण पनि नेपाली खेलाडीको मनोबल खस्किएर प्रदर्शन कमजोर भएको उनको दाबी छ।

भारतमा प्रसारणको अधिकार पाएको फ्यान कोर्डले खुल्लमखुला सट्टेबाजी गराइरहेका कारण म्याच फिक्सिङ हुने आशंका बढ्नुले खेलमा दर्शकको रूचि नभएको उनको भनाइ छ। “प्रतियोगिताको प्रसारण अधिकार पाएको प्ल्याटफर्मले खुल्लमखुला सट्टेबाजी गराउनु, प्रतियोगिता खेल्ने टोलीलाई एकै होटलमा राख्नु, बेटिङ साइटलाई मेन स्पोन्सर बनाउनु र बेटिङ पृष्ठभूमि भएको कम्पनीलाई नै आयोजनाको अधिकार सुम्पिनुले पनि दर्शक मैदान आएनन् जस्तो देखिन्छ”, उनी भन्छन्।

क्यानसँग छैन दर्शक बढाउने योजना 
क्रिकेटमा दर्शक घट्न थालेको नेपाल टी२० लिगमा मात्रै होइन। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि दर्शकको संख्या निकै कम छ। पाकिस्तानको कराँचीमा न्युजिल्यान्ड र घरेलु टोलीको टेस्ट श्रृङ्खलाको पहिलो खेलमा पनि दर्शकको खडेरी थियो। गएको बुधवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले क्यानले जस्तै दर्शकलाई खेल निःशुल्क देखाउने निर्णय गरेको छ। 

पहिलो टेस्ट कराँचीमा सकिएको छ र दोस्रो टेस्ट सोमबारबाट यही मैदानमा हुँदैछ। तर, रंगशाला ९० प्रतिशत खाली छ। त्यसैले कुनै न कुनै रूपमा रंगशालामा दर्शक ल्याउने प्रयासमा पीसीबी छ।

पीसीबीका प्रमुख नजम सेठीले डन न्यूजसँको कुराकानीमा दर्शकलाई निःशुल्क प्रवेश दिइने बताए। “हामीले दुई भीभीआईपी स्ट्यान्डमा निःशुल्क प्रवेश दिने निर्णय पनि गरेका छौँ”, उनले भनेका छन्। यी दुई स्ट्यान्ड दुई पूर्वक्रिकेटर जावेद मियाँदाद र हनिफ मोहम्मदको नाममा राखिएको छ। यहाँ बसेर क्रिकेट हेर्न प्रतिव्यक्ति ५०० रुपैयाँ (पाकिस्तानी मुद्रा) तिर्नुपर्छ।

पीसीबीले यसका अलावा विद्याथीहरूलाई स्टेडियममा ल्याउन कलेज र स्कूलसँग सम्पर्क गर्ने निर्णय पनि गरेको छ। त्यस्तै अनाथालय र वृद्धाश्रमलाई पनि क्रिकेट हेर्न इच्छुकलाई स्टेडियममा पठाउन भनिएको छ।

नेपाल टी२० लिगमा दर्शक तान्न पीसीबीको जस्तो क्यानसँग प्रस्ट योजना छैन। न त ईपीएलले जस्तै दर्शकलाई लोभ्याउन सकेको छ। ईपीएलमा गत वर्ष दर्शक तान्न पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर शाहिद अफ्रिदीलाई दुई खेल मात्र खेलाउन भए पनि काठमाडौँ ल्याइएको थियो। उनले सन्दीपको कप्तानीमा काठमाडौँ–११ बाट खेलेका थिए। 

ईपीएलले दर्शक तान्नकै लागि एक हातले बल क्याच गर्ने दर्शकलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। तर, आफूहरूसँग भने नेपाल टी२० मा दर्शक ल्याउन निःशुल्क टिकट दिनेबाहेक अरू योजना नरहेको गभर्निङ काउन्सिल अध्यक्ष मल्ल स्वीकार गर्छन्।

“समय अभावका कारण हामीले प्रचारप्रसार गर्न सकेनौँ। यसले गर्दा नै दर्शक घटेको हो। अहिले निःशुल्क प्रवेश दिन थालेपछि दर्शक आउन थालेका छैन। केही दिन निःशुल्क नै प्रवेश दिन्छौँ र आउन थालेपछि निश्चित रकम तोकेर मात्रै मैदान प्रवेश गराउँछौँ। यसबाहेक हामीले केही गर्ने अवस्था छैन”, उनी भन्छन्।