दिनाभद्रीमा थिए एक बब्लु!

सिरहाको डण्डास्थित मुसहर बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो पहिलो एसएलसी उत्तीर्ण भए। तर उनी पनि भारत भासिए। अब दिनाभद्री पुस्तकालयमा पढ्न हौस्याउने कसले!

लहान (सिरहा)— चहलपहलले भरिएको लहान बजारबाट झन्डै आठ किलोमिटर दूरीमा बसेको छ— डण्डा टोल। ४० घरपरिवारको बसोवास रहेको यो टोलका २०० बासिन्दाले पछिल्ला वर्षमा गर्वले लिने एउटै नाम थियो— बब्लु सदाय।

एक त पछाडि पारिएको समुदाय। त्यसमाथि शिक्षा, रोजगारी वा अवसरका कुनै उपाय नरहेको अवस्था। आफ्नो नाममा जमिनको टुक्रोसम्म पनि कतै छैन। ऐलानी जमिनमा टहरो घर उभिएको छ। प्रायजसो बाँस/काठको टेकोबाट चोरिएको बिजुली!

गाउँभरका अधिकांस बासिन्दा आसपासका इँटाभट्टामा ज्यालादारी काम गरेर जीवन निर्वाह गर्छन्। युवावर्ग भने कि त भारतको दिल्ली–मुम्बई, पञ्जाब, कि त खाडी मुलुकमा छन्। एक प्रकारले कुनै चहलपहल नरहेको र एकरितको बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो मुसहर टोलका पहिलो एसएलसी उत्र्तीण भए। 

“तर बब्लु पनि गाउँमा बस्न सकेन,” टोलमा अगुवा बनेकी सन्जु सदा (४०)ले मैथिली लवज मिसिएको नेपालीमा सुनाइन्, “ऊ पनि काम र कमाइको खोजीमा भारतको महाराष्ट्र गैसकेको छ। अब गाउँमा ऊ जत्तिको पढालेखा कोही छैन।”

बब्लुलाई यसरी पढालेखा भएकै कारण मात्रै गाउँमा सम्झना गरिएको होइन। बरु गाउँमा रिड नेपालले संचालन गरेको मोबाइल सिकाइ केन्द्रमा अघिल्लो वर्ष बालबच्चालाई क, ख सिकाउन आउने गुरुका रूपमा सबैले आदर गर्थे। पछिल्ला वर्षमा खुलेको दिनाभद्री पुस्तकालयमा बब्लु व्यस्त हुन्थे। बालबालिकालाई पढ्न सिकाउँथे, हौसला दिन्थे।

उती भारततिर लागेपछि पुस्तकालयमा पढ्न आउने ४५ बालबच्चाको सिक्ने–पढ्ने रहरमा बाधा पुगेको छ। “विगतमा यहाँ मोबाइल लर्निङ सेन्टर थियो, त्योभन्दा पनि दिगो र राम्रो सिकाइ होला भनेर लहान नगरपालिकाको वडा नं. १३ मा दिनाभद्री सामुदायिक पुस्कालय शुरू गरेका हौँ,” स्थानीय समाजसेवी एवं २०६२ सालदेखि संचालनमा आएको सिरहा सामुदायिक पुस्तकालयका संस्थापक राजेन्द्रप्रसाद चौधरी भन्छन्, “हामी थप स्रोत, साधन र पठन सामग्री जुटाउने प्रयत्नमा लागेका छौँ।”

तीन दशकयता मुलुकमा पुस्तकालय स्थापना तथा साक्षरता प्रवर्धनमा लागीपरेको ग्रामीण शिक्षा तथा विकास (रिड)को अभियानअन्तर्गत दिनाभद्रीमा पुस्तकालय खोलिएको हो। रिडका सिनियर फिल्ड कोअर्डिनेटर लालबहादुर भण्डारीका अनुसार, विगतमा यहाँ मोबाइल लर्निङ सेन्टर थियो। तर स्थानीयले आत्मनिर्भर मोडलको पुस्तकालय स्थापना गर्न माग गरेपछि दिनाभद्री सामुदायिक पुस्तकालयमा पठनपाठन केन्द्र थपिएको हो।

समाजवादी चिन्तक प्रदीप गिरीदेखि चित्रलेखा यादव (हाल राजदूत) सम्मको नाम सिरहासँग जोडिन्छ। प्राज्ञिक व्यक्तित्व ईश्वर बरालको जन्म–कर्मस्थल पनि यहीँ पर्छ। तर बत्ती मुनिको अँध्यारो भनेझैँ डण्डा टोलको अँध्यारो कथा उस्तै छ। तर पछिल्ला वर्ष गाउँमा पुस्तकालय आइदिएर पठनपाठन र चेतनाका कुरा मात्रै होइन, आत्मनिर्भर बन्ने उपायमा पनि नयाँ सीप–शैली थपिएको छ। 

उपाय आत्मनिर्भरको
ग्रामीण शिक्षा तथा विकासको अभियानले घरपरिवारमा समुदाय सरसफाइ कार्यक्रम, उद्यमशीलता, वित्तीय साक्षरता तथा सीपमूलक अभिमुखीकरण तालिमहरू दिँदै आएको छ। फिल्ड कोअर्डिनेटर भण्डारीका अनुसार, पुस्तकालयमै सामुदायिक बैठक वा सामाजिक पर्व मनाउने चलन बसाएर सामुदायिकताको भावना बढेको छ। डण्डा टोलका बासिन्दालाई पुस्तकालयको सहयोगमा भैँसी, बाख्रा आदि वितरण गरिएको छ। 

मसला, चाम, तरकारी व्यापारका निम्ति स्थानीय बचत समूहबाट ऋण लिने र जीविकोपार्जनको उपाय देखाएपछि अहिले इँट्टाभट्टामा काम गर्न जानेको संख्या ८० प्रतिशतले कम भएको छ। “पुस्तकालयका कारण बालबालिकाको सिकाइ, सक्रियता तथा सिर्जनात्मकतामा निकै विकास भएको छ,” भण्डारी भन्छन्, “समुदायका महिलाहरूको नेतृत्व विकास भएको छ। उनीहरू बैठकमा आउने, सक्रियतापूर्वक सहभागिता जनाउने र आफ्ना कुरा खुलस्त राख्न सक्ने भएका छन्।”

एउटा सीमान्तकृत समुदायका बासिन्दाले दिनाभद्री सामुदायिक पुस्तकालय स्थापना, दर्ता तथा सञ्चालनका लागि गरेको आँटले दंगदास देखिन्थे सिरहा सामुदायिक पुस्तकालयका संस्थापक राजेन्द्रप्रसाद चौधरी। उनीहरुले जिल्ला प्रशासन कार्यालय पुगेर पुस्तकालय दर्ता गर्दा र बैंक खाता खोल्दा तीन दिनसम्म नाम लेख्न (मिल्दोजुल्दो हस्ताक्षर गर्न) प्रयास गर्दै काम सम्पन्न गरिछाडेका थिए।

दिनाभद्री पुस्तकालय अध्यक्ष राधादेवी शाह पनि घरभित्रै बस्न रुचाउने अथवा बाहिर निस्कन हुँदैन भनेर घरधन्दामै हराइरहेका महिलाहरू अहिले तालिमहरूका कारण आत्मनिर्भर बन्दै गएको बताउँछिन्। सर्वसाधारण सबैमा सचेतना बढेपछि बालविवाह, छुवाछुत र उचनिचको भावना पनि कम हुँदै गएको डण्डाटोलका स्थानीयको भनाइ छ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा करीब दुई लाख ६५ हजार मुसहर नागरिक छन्। विशेषगरी धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा मुसहरको बसोबास छ। लगभग ९९ प्रतिशत मुसहर समुदायसँग आफ्नो जमीन छैन। अधिकांश जनसंख्या कृषि र दैनिक मजदुरीमा निर्भर छन्।