कुट्नकै लागि कहलिएका मास्टरको उपस्थितिले कक्षा नै थुरुरु हुन्थ्यो। डाँडापारिबाट ‘कुटुवा शिक्षक’ आइरहेको देख्दा चौरमा भएका विद्यार्थी गुटुटु कक्षाभित्र पसेर किताब निकाल्थे।
शिक्षकको कुटाइबाट पश्चिम नवलपरासीको प्रतापपुरको एच पाठशालामा यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ। शिक्षक सन्जु चौधरीले लट्ठीले हान्दा ६ वर्षीय बालकको आँखा फुटेको खबर गत मंसिर १८ गतेको हो।
‘शिक्षकले कुट्दा कानको जाली फुट्यो’, ‘शिक्षकले कुट्दा औँला भाँचियो’, ‘शिक्षकले कुट्दा हात भाँचियो’, ‘शिक्षकले कुट्दाकुट्दै लट्ठी नै भाँचियो’, ‘शिक्षकले कुट्दा दाँत भाँचियो’, ‘शिक्षकले कुट्दा हातको पातो खुस्कियो’, ‘परीक्षामा फेल भएको भन्दै शिक्षकले कुट्दा विद्यार्थी घाइते भए’, ‘विद्यार्थी हाँसेको भन्दै शिक्षकले विद्यार्थी कुटे’, यी सबै नेपाली सरहदभित्रकै खबर हुन्। (विश्वविद्यालयतिर राजनीतिको फेर समातेर गुण्डागर्दीमा संलग्न छुल्याहा विद्यार्थीले यदाकदा मास्टर कुटेका घटना विल्कुलै अपवाद हुन्।)
यी खबरले खासगरी स्कुले शिक्षक र विद्यार्थीबीचको परम्परागत शक्ति–सम्बन्ध दर्साउँछ। शिक्षक दिनेवाला ‘दानी‘ र विद्यार्थीचाहिँ लिनेवाला ‘सेवक/दास’; यही हो प्राचीन गुरु-शिष्य सम्बन्ध। अझ शिष्यले गर्नुपर्ने गुरुको खानपानलगायत शारीरिक र भावनात्मक सेवा प्राचीन गुरुकुलको नियम हो। ‘गुरुको जिउ-खुट्टा मिचेर सेवा गरे अझै धेरै विद्या बढ्छ’ भन्ने सार बोकेका पुराना कथा हामीमध्ये कतिले सुने/पढेका होलाऊँ।
व्यक्तिले गर्ने सम्बोधन, आइ कन्ट्याक्ट (हेराइ) र व्यवहारमा शक्ति सम्बन्ध प्रतिविम्ब हुन्छन्। हाम्रो पुस्ता (लेखकको उमेर ४२) का अधिकांश स्कुले शिक्षक विद्यार्थीलाई ‘तँ’ भन्न रुचाए।
यो पनि– बच्चालाई ‘तपाईं’ भन्दा तपाईंको अहम्मा ठेस पुग्छ?
शिक्षक–विद्यार्थीबीचको दासतायुक्त सम्बन्धका पीडित हुन् माथि उल्लेख गरिएका विद्यार्थी। हरेक सम्बन्ध आखिरमा आर्थिक/सामाजिक र सांस्कृतिक शक्ति–सम्बन्ध हो। हाम्रोमा विद्यार्थी र शिक्षकबीच अत्यन्त असम्मानजनक शक्ति–सम्बन्ध छ। शिक्षक र विद्यार्थीबीच साथी होइन, मालिक–दासको सम्बन्ध अझै छ। भलै, वैश्विक शिक्षा/चेतनाका कारण त्यो घट्दो नै छ। आफूलाई पढाउने शिक्षकले उहिले 'दासजन्य व्यवहार' गरेका कारण अहिलेका कतिपय शिक्षक त्यसकै सिकोलाई निरन्तरता दिन्छन्। विद्यार्थीमाथि 'इगो' राख्दै भकुर्छन्, सुम्ल्याउँछन्।
शायद त्यही मनोविज्ञानका कारण हाम्रो उमेरसमूह र त्यसअघिका धेरै विद्यार्थीले स्कुले जीवनमा सिमलीका लट्ठी भेट्टाए। कतै बाँसका सिर्कना त कतै सालका लौरा! भेगअनुसार लट्ठीका काठ फरक पर्नु स्वाभाविक हो। मास्टरका हातमा प्राय: लट्ठी नै हुन्थ्यो। मास्टरले 'नटेर्ने र पढ्न नजान्ने' विद्यार्थीलाई 'गोरुझैँ' कुट्थे। (गाईगोरुलगायत निःसहाय प्राणीलाई कष्ट दिनु र कुट्नु वीरताको काम होइन, यद्यपि गोरुको नियति कुटिने नै हो भन्ने मनोविज्ञान हाम्रोमा गहिरो गरी स्थापित छ। मान्छेको शिकारीयुगीन चेतना मेटिएको छैन। लेखक स्वयंले पहाडी-कृषि कर्ममा केही वर्ष रहँदा किशोरवयमा गोरु कुटेको छ र त्यसप्रति घोर पश्चात्ताप छ।) विद्यार्थी कुट्दाकुट्दै लट्ठी भाँचिएपछि शिक्षकले अर्को विद्यार्थीलाई अर्को लट्ठी काटेर ल्याएको स्मृति छँदैछ।
उसै त, पर्याप्त पोषण नपाएका हामी, त्यसमाथि कान समातेर उठबस गराउने, विद्यार्थीलाई 'कुखुरा' बनाउने, बेन्चमा उभ्याउने, कोठाबाहिर घाममा उभ्याउने, सिस्नुपानी लगाउने, स्कुल सफा गर्न लगाउने, औँलाका बीचमा कलम राखेर दुखाउनेलगायत शारीरिक दण्ड स्वाभाविक र स्विकारिएको थियो। कतिपयको त लुगा फुकालेर नङ्ग्याउने समेत! आश्रित, कमजोर र निःसहाय कलिला विद्यार्थीले त्यस प्रणालीसँग बगावत कसरी गरून्?
कतिसम्म भने धेरैजसो स्कुलमा कुट्नकै लागि कहलिएका मास्टर (शिक्षक) हुन्थे। तिनको उपस्थितिले नै कक्षा थुरुरु हुन्थ्यो। डाँडापारिबाट 'कुटुवा शिक्षक' आइरहेको देख्दा चौरमा भएका विद्यार्थी गुटुटु कक्षाभित्र पसेर किताब निकाल्थे। आतंकमा पुस्तकका पानामा समेत तिनै कुटुवा शिक्षकका तस्वीर देख्दा हुन् विद्यार्थी। आतंकित हुनु अनुशासित हुनु बुझिन्थ्यो।
यस्तै दृश्य कतिपय घरमा पनि हुन्थ्यो। कतिपय बाउले बालबच्चालाई कायल बनाएर राखेका हुन्थे। बाउका अगाडि त्यस्ता बालबच्चा पर्नै नसक्ने! विद्यार्थी र अभिभावकका अगाडि शिर ठाडो पार्न नसक्नुलाई अनुशासन र मर्यादा ठानिन्थ्यो। बालबालिकालाई 'तह लगाउन' (अनुशासित राख्न) पिट्नै पर्छ भन्ने विचार हामीकहाँ केवल विचारमा सीमित छैन, ‘संस्कृति’कै रूपमा स्थापित छ।
'फलानो शिक्षकको आँखामा आँखा जुधाएर कुनै विद्यार्थी कुरा गर्न सक्दैन' भन्ने विषयलाई त्यस शिक्षकको मान/गरीमा ठानियो, अझै ठानिँदै छ। त्यस्ता शिक्षकलाई स्कुल र प्रधानाध्यापकले पनि रुचाए, रुचाइएका छन्। प्राथमिक तहका तीन, चार र पाँच कक्षा पढ्दा सुगम्वर यादव नामका शिक्षकले (नुवाकोटको तारकेश्वर-५ स्थित श्री नील सरस्वती प्रावि) हाम्रो सातो खाए।
तिनले यति धेरै कुटे कि सानैदेखि गणितप्रति जीवनभर विरक्त लाग्यो। कुटाइ खाने अरूलाई पनि शायद त्यस्तै लाग्यो होला। स्कुले जीवनमा गणितमा कहिल्यै राम्रो अंक ल्याउन सकिएन। गणितका नम्बर मात्र नभएर गणित पुस्तकको कभर देख्दा नै 'सातो जाने' गर्थ्यो। गणितको पुस्तकमा कभर (जिल्दा) हालेर छोप्न पाउँदा आनन्द मिल्थ्यो। गणित पढाउने मास्टर नआएको दिन दिल चंगा हुन्थ्यो। बाल मनोविज्ञानमाथि कत्रो अत्याचार र खेलबाड! बाल्यकाल र विद्यालयका सम्झना त कोमल होऊन् न!
बुझिल्याउँदा यस्तो लाग्छ–मायालु व्यवहारले तिनले पढाएको भए शायद गणित विषय नामै सुन्दा आत्तिने मनोविज्ञान बन्थेन। शिक्षक आतंकका कारण गणितजस्तो महत्त्वपूर्ण विषयमा कमजोर हुनुपरेकोमा खेद छ र खेद छ त्यस्तो शिक्षण प्रणालीप्रति।
सन् २००४ मा युनिसेफको सहयोगमा भएको एक अध्ययनले नेपालका विद्यालयमा दण्डको क्रम व्यापक रहेको देखाएको थियो। खासगरी तालिम (आधुनिक तालिम) नपाएका शिक्षकले विद्यार्थीलाई बढी कुट्ने गरेको देखियो। विद्यार्थीलाई बिरलै स्वतन्त्र देख्यो। शिक्षकप्रति रत्ती पनि शंका/प्रश्न नगर्नुको आदर्श के हो? चरम दासता। प्रश्नविहीनता र तर्कहीनता! शिक्षकलाई 'प्रभु' बनाएपछि त्यसको सांस्कृतिक निरन्तरता दासता र दण्डसिवाय अरू के हुनसक्छ?
विद्यार्थीलाई दण्ड दिएपछि स्कुलप्रति त्यस विद्यार्थीको धारणा कस्तो हुन जाला? त्यसले जीवनभर शिक्षा र शिक्षकलाई कसरी लेला?
शिक्षाको अभ्यास यो अवश्य होइन। शिक्षकलाई समभाव, समानुभुति, सहअस्तित्व, प्रेम, दया र करुणा नसिकाइनुको परिणाम हो शिक्षकले दिने दण्ड। राजा, मालिक, मुखिया र सैनिकहरूले दुनियाँलाई कजाउन र रत्ताउन जे गरे, शिक्षकलाई त्यही सिकाइयो। शिक्षकले त्यही गरे। आखिर पाठ्यक्रममा पनि तिनै निर्दयी राजा र सैनिककै बहादुरीका बखान र स्तुति पढाइयो, अझै पढाइन्छ।
जिम्मेवार हुनु र डराउनु दुई फरक विषय हो। घर होस् या विद्यालय, अनुशासित बनाउने नाममा आतंक थोपर्नु गलत हो। आत्म नियन्त्रण र आत्मसम्मान पो हो अनुशासन। अनुशासनका नाममा विद्यार्थीलाई चुइँक्क बोल्नै नदिने, प्रश्न र तर्कहरूलाई निषेध गर्ने अभ्यास गलत छ। बच्चाहरूलाई कक्षामा चुइँक्क बोल्नै नदिने, होमवर्क नगर्दा विद्यार्थीले अटेर गरेको ठानेर शिक्षकले अपमानित महसुस गर्नु गलत हो।
शिक्षक स्वयंले आफ्नो विगत नियाल्ने हो भने अहिले विद्यार्थीले गरेका सामान्य बदमासी र बिजाइँ उस/उनले गरेकै हुन्छन्। होमवर्क छुटाएका हुन्छन्। त्यसो हुँदा रिसलाई नियन्त्रण गर्दै विवेकले काम गर्नु शिक्षकको कर्तव्य हो। आखिर विद्यार्थी दासयुगीन रैती होइनन्। हाम्रा सन्तान सबै कुरा 'गोडाफाड् र सतर्क' शैलीमा सकार्ने हाम्रा दास होइनन्। शिक्षक र अभिभावक भएपछि विद्यार्थी र सन्तानका 'ट्यान्ट्रम' (रिस/आवेग) सहनै पर्छ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले २०७३–०७४ मा गरेको एक अध्ययनले विद्यालयमा शारीरिक दण्ड–सजाय दिने शिक्षकमध्ये १६ प्रतिशत महिला र ८४ प्रतिशत पुरुष शिक्षक छन्। त्यस तथ्यांकले फेरि पनि के प्रस्ट पार्छ भने यो शक्ति सम्बन्धकै उपज हो। समाजमा पुरुषबाट महिला किन प्रताडित हुन्छन् भन्नेतर्फ पनि तथ्यांकले संकेत गर्छ।
आफूलाई परम्परागत मालिक र विद्यार्थीलाई निःशर्त आदेशपालक दासका रूपमा देख्ने परम्परागत अभ्यास र संस्कृति नत्याग्दासम्म शिक्षार्थीप्रति शिक्षकले दुर्व्यवहार गरिरहेका हुनेछन्। अर्को कुरा, आज 'शिक्षा दिने' (शिक्षक) केबल फड्के (पुल) हुन्, इनस्ट्रक्टर (सहजकर्ता/प्रशिक्षक) हुन्, तिनले कुनै कुनै छुट्टै आविष्कार विद्यार्थीलाई दिइरहेका होइनन्। तिनीहरू साध्य होइनन्। जबकि कुनै विशेष आविष्कार गरेर दिँदासमेत शिक्षकमा अहंकार हुनु गलत हो, जबकि पुरानो श्लोक कतिपय स्कुलका भित्तामा लेखिएको देखिन्छ:
'विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्।'
(विद्याले नम्रता प्रदान गर्छ, विनम्रताबाट योग्यता प्राप्त हुन्छ।)
तर हाम्रा शिक्षक विनयशील नभएर अहंकारी र 'ज्ञानका मालिक' हुने गरेका छन्। अहं (म) + कार (गर्नेवाला)बाट अहंकार शब्द बनेको छ। अहंकार वास्तवमा ज्ञान र प्रज्ञाको वाधक हो। किनभने जगत्मा अनेकौँ सामूहिक प्रयत्नबाट मात्रै धेरै कुरा सम्भव हुने गरेको छ। अहिले शिक्षकले जानेका अधिकांश विषय अरूबाट सिकेकै त हुन्।
दया, अहिंसा र करुणाको साटो अहंकार र अज्ञान ज्यादा हुँदा कतिपय शिक्षकले अहिलेका विद्यार्थी भोलि कतिसम्म ज्ञानवान् र शक्तिशाली हुन सक्छन् भनेर कल्पना पनि गरेका छैनन्। विद्यार्थी आफूभन्दा अति विशिष्ट र महत्त्वपूर्ण हो भन्ने सम्झेर 'माध्यम' बन्नुको साटो 'यी झारपातका अगाडि म बडे मालिक हुँ' भन्ने शिक्षकको अहंकारयुक्त दृष्टि र संस्कृतिले नै साना फूलजस्ता कोमल नानीबाबुहरू पीडित भइरहेका छन्।
शिक्षक साथीहरू, जिन्दगी आफै विशाल महाविद्यालय हो। स्कुल र कलेज प्रज्ञाको औपचारिक अंश मात्र हुन्। अतः शिक्षक मालिक र विद्यार्थी दास ठान्ने प्राचीन सोच भुलौँ। आजका साना नानीहरू हाम्रा भविष्यका सञ्चालक/नेतृत्वकर्ता हुन् भन्ने नबिर्सौं। तिनलाई आदरसम्मान र समभावसाथ पथप्रदर्शन गरौँ, भोलि तिनले हाम्रो हात समात्दै हामीलाई नै डोर्याउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
