गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।
काठमाडौँ- गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’का अनुसार यस वर्ष दुई सय जना कवि, कलाकारको निःशुल्क स्वास्थ्य बिमा गरिनेछ। “दीर्घरोगी, न्यून आय भएका र जीवनभर सिर्जनाकर्ममा लागेकालाई लक्ष्य गरी स्वास्थ्य बिमा कार्यक्रम ल्याएका हौँ”, उनले भने, “प्रदेशका ११ वटै जिल्लाका स्रष्टालाई यसमा समेट्छौँ।”
प्रतिष्ठानले स्वास्थ्य बिमामा आबद्ध हुन इच्छुक स्रष्टालाई आवेदनका लागि सार्वजनिक रूपमा सूचितसमेत गरेको छ। स्रष्टाको छनोट प्रतिष्ठानले बनाएको कार्यविधिअनुसार हुने कुलपति खड्काले बताए।
सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमको ढाँचा र मापदण्डअनुसार नै स्रष्टाको बिमा गर्न लागिएको हो। प्रतिष्ठानले बिमा गर्दा लाग्ने प्रतिव्यक्ति शुल्क रु तीन हजार पाँच सय स्वास्थ्य बिमा बोर्डलाई तिर्नेछ। सोबापत पाँच जनासम्मको परिवारले वार्षिक रु एक लाखसम्मको उपचार सेवा पाउनेछन्।
पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य रु सात सय थप्नुपर्ने प्रावधान छ। ठूलो परिवारले रु दुई लाखसम्मको उपचार सेवा पाउने बोर्डको भनाइ छ। बोर्डले तोकेका एक हजार एक सय सय ३३ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको जाँच तथा उपचार सेवा पनि बिमाबाट हुने गरेको छ।
प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले भाषा, साहित्य, सङ्गीत, नाट्य, चित्रकला, मूर्तिकलाजस्ता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाको स्वास्थ्य बिमा गरिने उल्लेख गरे। “बिमाको प्रक्रिया अगाडि बढिसकेको छ, आवश्यकताका आधारमा स्रष्टाले यो सुविधा पाउनुहुन्छ”, उनले भने, “यो कार्यक्रमको निरन्तरताका लागि बजेट थप्न सरकारसँग माग गरेका छौँ।”
स्रष्टाको सम्मानसँगै दुःखसुखमा साथ दिने राज्यको संस्था छ भनेर अनुभूति दिलाउन स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको उपकुलपति गुरुङले बताए। शुरूआतमा थोरै सङ्ख्यामा स्रष्टाको बिमा गरिन लागिए पनि यसबाट सकारात्मक सन्देश प्रवाह हुने प्रतिष्ठानका पदाधिकारीको बुझाइ छ।
धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले स्वास्थ्य बिमा कार्यक्रमबाट आर्थिक समस्या झेलिरहेका कवि, लेखकलाई बढी लाभ पुग्ने बताए। “जिल्ला तहमा पनि धेरैले बिमाबारे चासो लिनुभएको छ, मापदण्ड बनाएर यसलाई छिटो लागू गर्नुपर्छ”, उनले भने।
प्रतिष्ठानले ‘गण्डकी प्रतिभा उपचार कोष’को अवधारणा पनि अघि सारेको छ। उपचार पाउनबाट कोही पनि स्रष्टा, सर्जकले वञ्चित हुन नपरोस् भनेर कोष स्थापनाको योजना ल्याइएको कुलपति खड्काले बताए। गत वर्ष स्थापना भएको प्रतिष्ठान भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा क्रियाशील छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
