मोन्टी प्रशिक्षक नियुक्त भएपछि क्यान अध्यक्षको प्रतिक्रिया– ‘यसपालि टुरिस्ट कोच ल्याएका छैनौँ’

मोन्टी देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले लामो समय नेपाली क्रिकेटलाई हेर्नेगरी भारतीय प्रशिक्षक मोन्टी देसाईलाई ल्याएको बताएका छन्। क्यानलाई बारम्बार 'टुरिस्ट प्रशिक्षक' ल्याउने गरेको आरोप लागेको भन्दै यसपटक बलियो योजना बनाएरै देसाईलाई ल्याएको उनले बताएका हुन्।

करिब एक साता अगाडि नै नेपाल आएर आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको घरेलु टोलीलाई प्रशिक्षण दिइरहेका मोन्टीलाई सोमबार क्यानले दुई वर्षका लागि औपचारिक रूपमा नियुक्त गरेको छ। सोहीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले देसाईबाट बीचमै धोका नहुने आशा व्यक्त गरे।

"क्यानलाई बिगतदेखि नै प्रशिक्षक ल्याउने र उसले नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जाने गरेको आरोप लाग्दै आएको छ। यसपटक उहाँ (देसाई)लाई ल्याएका छौँ। यसपटक त्यो आरोपबाट मुक्ति पाउने छौँ", उनले भने।

नेपाली टोलीका व्यवस्थापक विनोद दासका अनुसार उनले नेपालमा रहेर वर्षको २४० दिन टोली हेर्ने छन्। त्यसपछिका १२५ दिन भने उनलाई छुट्टी दिइने छ। यो छुट्टीमा उनले अन्य कुनै टोली हेर्न नपाउनेगरी सम्झौता गरिएको दासले बताए।

"क्यानसँग सम्झौता गरेपछि बाहिर गएर अन्य टिम हेर्न पाइँदैन। उहाँ छुट्टीमा आईपीएलको टोली हेर्न जानुहुन्न। त्यो १२५ दिन उहाँलाई पर्सनल लाइफका लागि छुट्टी दिइएको हो", उनले भने।

गत माघ १४ गते नेपाल आइपुगेका देसाईले घरेलु मैदानमा फागुन २ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाबाट नेपाली टोलीमा प्रशिक्षको रूपमा डेब्यू गर्ने छन्।

देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ।