कम्बोडियामा विपक्षी दलका नेतालाई २७ वर्षसम्म नजरबन्दमा राख्न अदालतको आदेश

कम्बोडियाका विपक्षी दलका नेता केम सोखालाई अदालतले देशद्रोहको आरोपमा २७ वर्ष लामो नजरबन्दको सजाय सुनाएको छ।

कम्बोडियाका विपक्षी दलका प्रख्यात नेता केम सोखालाई त्यहाँको अदालतले देशद्रोहको आरोपमा २७ वर्षसम्म नजरबन्दको सजाय सुनाएको छ। हालै भंग भएको कम्बोडियन नेशनल रेस्क्यु पार्टीका नेता सोखालाई मतदान गर्न र चुनावमा उम्मेदवार हुनबाट समेत वञ्चित गरिएको छ।

विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारलाई भंग गर्न खोजेको आरोपमा उनलाई सो सजाय दिइएको बीबीसीले उल्लेख गरेको छ। आगामी जुलाईमा आम निर्वाचनको तयारी भइरहेका बेला विपक्षी दलका ६९ वर्षीय सोखालाई नजरबन्दको सजाय सुनाइएको हो। यसअघि सन् २०१३ मा सोखाले अमेरिकाका प्रजातन्त्रवादी समूहहरूको साथ पाइरहेको भनेर बोलेको भिडियो सार्वजनिक भएपछि उनलाई पहिलोपटक सन् २०१७ मा पक्राउ गरिएको थियो।

हालैको सजायबारे बोल्दै नेता सोखा र उनका वकिल अङ उदोमले आरोपको खण्डन गर्दै यसलाई निराधार भनेका छन्। यस निर्णयविरुद्ध अपिल गरिने वकिलले बताए।

सोखालाई नजरबन्दमा राख्ने निर्णयको आलोचना गर्दै कम्बोडियाका लागि अमेरिकी राजदूत डब्लु प्याट्रिक मर्फिले यस घटनालाई न्यायको पतनका रूपमा व्याख्या गरेका छन्। विभिन्न मानवअधिकारवादी समूह र पश्चिमा सरकारहरूले उनीमाथिको आरोपलाई गलत र राजनीतिक प्रतिशोधबाट निर्देशित रहेको टिप्पणी गरेका छन्। कम्बोडियाका अधिकांश अदालत पूर्णरूपमा प्रधानमन्त्री हुन सेनको नियन्त्रणमा रहेको बीबीसीले जनाएको छ।

यसअघि सोखाको पार्टीलाई सन् २०१८ को चुनावमा भाग लिनबाटै प्रतिबन्ध लगाइएको थियो। पार्टीका अधिकांश नेतालाई जेल सजाय र केहीलाई देशबाहिर जान बाध्य पारिएको थियो।

गत महिना पनि प्रधानमन्त्री सेनले आफ्ना छोराप्रति आक्रामक बनेको र सरकारको साख गिराउने प्रयास गरेको आरोप लगाउँदै कम्बोडियाको स्वतन्त्र मिडिया भोइस अफ डेमोक्रेसी बन्द गराएका थिए।

सन् १९८५ देखि शक्तिमा रहेका कम्बोडियाका प्रधानमन्त्री सेन विश्वमा सबैभन्दा लामो समय सत्तामा रहिरहने निरकुंश शासकका रूपमा चिनिन्छन्। जुलाईमा हुने चुनावमा पनि उनी नै उम्मेदवार बन्ने आकलन गरिएको छ। यद्यपि, उनले आफ्नो शक्ति जेठा छोरा हुन मनेटलाई हस्तान्तरण गर्ने पनि कतिपयको अनुमान रहेको बीबीसीले उल्लेख गरेको छ।

-एजेन्सी