माहुरीसँग अन्तर्वार्ता: मान्छेको पैशाचिक बानीले चिन्तित छौँ

‘पृथ्वी सबैको साझा घर हो। घर भत्काउने र बिगार्ने कसैलाई अधिकार छैन। अरू प्राणीसँग त हामी परस्परमा द्वन्द्व र मैत्रीभावले सामञ्जस्य निर्वाह गर्छौं। तर मान्छेको अवाञ्छित गतिविधि डरलाग्दो गरी बढेको छ।’

केही दिनअगाडि मेरो गाउँको घरमा वन माहुरीहरू घार खोज्दै आए। र, अलिकति असहज स्थानमा बस्न पुगे। त्यस माहुरी टोलीकी ‘रानी’ अर्थात् ‘टोली कमान्डर’सँग मैले छोटो कुराकानी गर्ने मौका पाएँ। प्रस्तुत छ सो अन्तर्वार्ताको सम्पादित अंश। 

तपाईंंहरू यस असुरक्षित स्थानमा ‘क्याम्पिङ’ गर्न कसरी आइपुग्नुभयो?
कमान्डर: तपाईंंलाई हाम्रो आनीबानी, स्वभाव र रुचिबारे राम्रो ज्ञान रहेछ। तपाईंंले ठिकै भन्नुभयो कि अहिले यो होचो र खुल्ला पर्खालको उज्यालो भित्तो हाम्रा लागि रणनीतिक दृष्टिकोणबाट ठिक छैन, उपयुक्त छैन। यहाँ हामी लामो समयसम्म सुरक्षित रहन सम्भव छैन। त्यसैले हामीले छिट्टै यो स्थान छोड्नुपर्छ। हामी अर्कै नयाँ स्थान खोजेर जान्छौँ। नयाँ ठाउँ खोज्न अहिले हाम्रा एक दर्जनभन्दा बढी गुप्तचरहरू परिचालित छन्। 

यहाँ, उता भित्रपट्टि ठिक ठाउँ थियो। हाम्रा गुप्तचरहरूले त्यहीँ शिविर राख्ने गरी खबर लिएर आएका पनि हुन्। तर यहाँ आउँदा भित्र पस्ने स्थानको बाटो बन्द थियो। र, हामी यहीँ अस्थायी रूपले असुरक्षित बस्नुपरेको छ। यो हाम्रो बाध्यता हो। मान्छेले झ्याल खोल्नु र बन्द गर्नुले हाम्रो जीवन र गतिविधिमा कति धेरै फरक पर्छ। 

दर्जनौँ गुप्तचरहरू नयाँ ‘क्याम्पिङ’ स्थान पत्ता लगाउन खटिएको कुरा गर्नुभयो, उनीहरूले के कसरी काम गर्छन्? 
कमान्डर: दीर्घकालीन रूपले सुरक्षित रहन सकिने ठाउँहरूबारे उनीहरूले ‘रेकी’ अर्थात् प्रारम्भिक सुरक्षा सर्भे गर्छन्। हाम्रो क्याम्पिङ गर्ने स्थान वरिपरि वर्तमानमा दुस्मनहरूको उपस्थिति, उनीहरूको गतिविधिको गम्भीरताका साथै भविष्यमा त्यहाँ हुनसक्ने सम्भावित खतरा र जोखिमबारे थप कुराको सूचना हाम्रा गुप्तचरहरूले संकलन गरी यहाँ ल्याउँछन्। साथै खाना, पानी, सुरक्षा, प्रकाश र हावाको अवस्थाका बारेमा पनि सूचना ल्याउँछन् र ती सूचनाको यहाँ म विश्लेषण गर्छु। त्यसबाटै कहाँ क्याम्पिङ गर्न जाने भन्नेबारे निर्णय हुन्छ। यस्ता सूचनाहरू चारैतिर खटेका गुप्तचरहरूले ल्याइरहेका हुन्छन्। तीमध्ये जुन विकल्प उत्तम हुन्छ, त्यहीँ जाने निर्णय म गर्छु। 

खासमा कस्तो ठाउँ तपाईंहरूलाई मन पर्छ?
कमान्डर:
यो स्वाभाविक हो कि आफ्नो समुदाय वा दलका सदस्यहरू सुरक्षित रहून् भन्ने विषय एउटा कमान्डरका लागि सबैभन्दा महत्त्वपूर्ण विषय हो, किनभने जीवनरक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसका लागि आफ्नो क्याम्पिङ स्थल ठिक ठाउँमा हुनुपर्छ। भित्र पस्ने मूलबाटो साँघुरो तर भित्रपट्टि भने पर्याप्त खुल्ला ठाउँ होस्। यस्तो ठाउँ दुर्गन्धित पनि नहोस्। कुराकानीबाट हलुका प्रकाश छिरोस्, ताकि दुस्मन कुनै तरिकाले क्याम्पमा पस्यो भने सहजै पत्ता लगाउन सकियोस् र त्यसलाई के कसरी तह लगाउन सकिन्छ तत्क्षण निर्णय लिन सकियोस्। त्यसका साथै, हाम्रो क्याम्पको गेटबाट टाढा–टाढासम्म देख्न सकियोस्। ‘मुभ’ हुँदा कुनै कठिनाइ भोग्नु नपरोस्। हामी बस्ने स्थल वरिपरि कमान्डर, अधिकृत र जवानहरूका लागि आवश्यक खाना पर्याप्त पाइयोस्। तपाईंलाई बताऊ–घना वन क्षेत्र, वन क्षेत्र वरिपरिका कृषि क्षेत्रजस्ता स्थानहरू हाम्रा लागि सहज हुन्छन्।  त्यहाँ फूलहरू फूलेका हुन्छन्, जसमार्फत हामी आफ्ना लागि खाना संकलन गर्न सक्छौं। 

तपाईंंले यहाँ दुस्मन भनेर पटक–पटक दोहोर्‍याउनु भयो। खासमा तपाईंंहरूका दुस्मनहरू को को हुन्?
कमान्डर : ठिक भन्नुभयो। भौतिक रूपले हानि वा क्षति पुर्‍याउँछ जोसुकै हाम्रो दुस्मन हो। दुस्मनले क्याम्पमा घुसेर वा आफ्नो तोकिएको काममा क्याम्पबाहिर खटिएका हाम्रा सदस्यहरूलाई विभिन्न तरिकाले क्षति पुर्‍याउँछन् वा हत्या नै गर्छन्। खास गरी मलसाँप्रो, जसले हाम्रो क्याम्पमै आक्रमण गरेर हाम्रो रासन सामग्री लुटिदिन्छ। हाम्रो क्याम्प तहसनहस पारिदिन्छ। माउसुली पनि हाम्रो अर्को दुस्मन हो। यसले पनि निकै समस्या पार्छ। छेपारो अर्को घातक दुस्मन हो। त्यस्तै, अरिङ्गाल पनि हाम्रो ठूलो दुस्मन हो। त्यस्तै केही प्रजातिका कमिला पनि हाम्रा दुस्मन हुन्।

क्याम्पबाहिर काममा निस्किएको बेला विभिन्न जातका चराले पनि हाम्रा कर्मठ सुरक्षाकर्मीको जिउ ज्यानको नोक्सान गरिदिन्छन्। खास गरी मुरली चरा र चिबे चराहरूबाट बच्न निकै कठिन हुन्छ। तपाईंलाई भनिहालौँ, सबैभन्दा ठूलो दुस्मन त मान्छे नै हो। मान्छेहरूले हाम्रो क्याम्पमा दुष्टतापूर्वक धावा बोल्छन्। उनीहरूमा प्रेम, मैत्री, करुणा नामको कुनै चिज हुँदैन। साथसाथै उनीहरूले हाम्रो खानेकुरामा विषादी प्रयोग गर्छन्, जसका कारण हाम्रा जवानहरू दुर्घटनामा परेर मर्छन् वा मारिन्छन्; शहीद हुन्छन्। 

दुस्मनले कहाँ कहाँबाट कसरी धावा बोल्छन् भनेर तपाईंंका गुप्तचरहरूले सूचना ल्याउन सक्तैनन्? 
कमान्डर: सूचना प्राप्त हुन्छ, तर प्रतिकार नै गर्न नसकिने मलसाँप्रो र मान्छेजस्ता दुस्मनका अगाडि हाम्रो केही लाग्दैन। चराहरूलाई काफी हदसम्म हामी झुक्क्याउने प्रयास गछौँ र सफल पनि हुन्छौँ। अरिङ्गाल र माउसुलीजस्ता क्याम्पमै पसेका दुस्मनलाई त हामी घेरेर मारिदिन्छौँ। यस क्रममा हाम्रा वीरविरङ्गना शहीद पनि बन्न पुग्छन्। 

तपाईंले यसअघि मान्छे आफ्नो प्रमुख दुस्मन भएको बताउनुभयो? कसरी?
मान्छेहरूले हाम्रा प्राकृतिक वासस्थानहरू नै नष्ट गरिरहेका छन्। उनीहरू जस्तासुकै रूख पनि सोचविचारबिना नै काट्ने गर्छन्। फलाम र सिमेन्ट प्रयोग गरेर घर बनाउँछन् र फूल फुल्ने मैदान र खेतहरू नास गर्छन्। त्योभन्दा पनि दुःखको कुरा, मान्छेहरूले खेतबारीमा फुलेका अन्नबाली, फलफूल र तरकारीका फूलहरूमा विषादी छरिदिन्छन्। हाम्रा गुप्तचरहरूले यसको सुइँको नपाउने होइनन्। पाउँछन्। तर हतारिएर सूचना संकलन गर्ने, सूचना संकलनमा हेलचेक्र्याइँ गर्ने, सूचना सम्प्रेषण ठिक समयमा नगर्ने र कतिपय सुरक्षाकर्मी सूचना प्राप्त हुनुअगाडि नै ‘फिल्ड’मा ‘मुभ’ गर्नाले र कतिपय अवस्थामा आदेशको अवज्ञा गर्नाले दुर्घटना भइरहेको हुन्छ। थाहा पाएसम्म खराब खानेकुरा भएका इलाकातिर तत्काल नजान म 'कासन आदेश' जारी गर्छु। 

तपाईंंहरूको कार्य विभाजन बडो व्यवस्थित हुन्छजस्तो लाग्यो। तपाईंंको क्याम्पमा ककसले के कस्तो काम कसरी गर्छन्? थाहा पाऊँ न।
कमान्डर: जुनसुकै संगठनमा वा समुदायमा रहँदा–बस्दा निश्चित अनुशासनमा अडिनु नै पर्छ। यदि त्यसो गरिएन भने आफ्नो प्रजाति/समुदाय विनाशलाई कसैले रोक्न सक्दैन। हामीसँग विशिष्ट खजाना अर्थात् मह भएको कारण हामीतिर दुनियाँका लोभी आँखाहरू लालायित भइरहेका हुन्छन्। तिनबाट जोगिनु हाम्रो प्राथमिक काम हो। 

यसका लागि कार्य विभाजन आवश्यक हुन्छ। हाम्रो मूलगेटमै सेन्ट्री (सुरक्षा) पोस्ट हुन्छ। त्यहाँ सुरक्षा दिनेहरू कमान्डो आक्रमणका लागि समेत सक्षम हुन्छन् र सतर्कतापूर्वक ड्युटी गर्छन्। क्याम्पको मूल गेटबाहिरको अवस्था के कस्तो छ भन्ने कुरा उनीहरूले निगरानी गरिरहन्छन् र सबै सूचना मलाई पठाइरहेका हुन्छन्। खिल नामका गतिला र शक्तिशाली हतियारसहित यिनीहरू आदेशअनुसार आलोपालो पहरा दिन्छन्। कुनै अस्वाभाविक गतिविधि वा दुस्मन वा कुनै खतराको संकेत पाए तुरुन्तै ‘कोड’मार्फत सूचना भित्र पठाउँछन् र आवश्यक कारबाहीका लागि म आदेश दिन्छु। 

साथै श्रमिक जवानहरू खानाको व्यवस्था गर्न टाढा–टाढासम्म पुग्छन्। ठूलो सुरक्षा खतरा मोलेर गुप्तचरहरू पनि आवश्यक सूचना संकलन गर्न भरदिन खटिरहेका हुन्छन्। 

क्याम्पभित्र कदाचित् कसैको मृत्यु भयो भने मृतकको शव बाहिर निकाल्ने अलग्गै टोली हुन्छ। कसैलाई कुनै प्रकारले चोटपटक लाग्यो भने उसलाई उपचार गर्ने अर्को टोली हुन्छ। दुस्मन क्याम्पभित्र पसेको छ भने यथासम्भव हामी उसलाई मार्ने प्रयत्न गर्छौं। मरिहाल्यो भने त्यसको लास बाहिर निकाल्ने अलग्गै टोली हुन्छ। क्याम्प सफा सुग्घर राख्ने र फोहर मैला बाहिर फाल्ने अर्को टोली हुन्छ वा कहिलेकाहीँ यिनीहरू सबै मिलेर यी काम फत्ते गर्छन्। 

मैले कतै सुनेको थिएँ कि तपाईंंका भाले साथीहरू कुनै काम गर्दैनन् र बसी बसी खान्छन्। र, पछि तिनीहरूलाई गलहत्त्याइन्छ रे। के यो कुरा सत्य हो?
कमान्डर: कसैले कुनै काम गर्दैन भन्ने कुरो शतप्रतिशत झूटो हो। यो हामीविरुद्ध फैलाइएको नियोजित हल्ला हो। हाम्रो समुदायमा भाले अफिसरहरूको अहम् दायित्व छ। ऋतुदानमार्फत समुदायको सदस्य सङ्ख्या बढाउन उनीहरूको भूमिका अनिवार्य छ। तर सत्य के पनि हो भने काम सम्पन्न भएपछि बसीबसी खाने भन्ने कुरा हाम्रो समुदायमा स्वीकार्य हुँदैन। त्यसैले उनीहरू घारबाट ‘आउट’ गरिन्छन्। मानव समुदायका लागि यो कुरा थोरै कठोर सुनिन सक्छ कि ती भाले अफिसरहरू भोकभोकै मारिन्छन्। तर हाम्रो समूहको लागि युगौँदेखि चलिआएको एउटा अनिवार्य जीवन-पद्धति हो। यसमा कुनै सम्झौता हुन सक्दैन। यो विषय हामी स्वयंमा नभई प्रकृतिको वशमा भएकाले यो टार्न सकिँदैन। क्रूर नियति भन्न स्वतन्त्र हुनुहुन्छ तपाईं यसलाई।  

अन्त्यमा छुटेका कुनै कुरा भए केही भन्नुहुन्छ कि?
कमान्डर: मूल कुरा के भने यो पृथ्वी सबैको साझा घर हो। यो घर भत्काउने र बिगार्ने कसैलाई एकलौटी अधिकार छैन। अरू प्राणीहरूसँग त हामी परस्परमा द्वन्द्व र मैत्रीभावले सामञ्जस्य निर्वाह गर्छौं। तर मान्छेको अवाञ्छित गतिविधि डरलाग्दो गरी बढेको छ। हामीले टाढा–टाढाबाट कण–कण पुष्पपराग र पुष्परस जम्मा गर्छौँ। तर त्यसमा मान्छेको लोभी नजर पर्छ। के हाम्रा ससाना बालबच्चाले खानु पर्दैन? हामीले मरिहत्ते गरेर सञ्चय वा जम्मा गरेको मह मान्छेको लागि हो र? मान्छेको निम्न कोटिको व्यवहारले हामी साँच्चै चिन्तित छौँ।

मलाई कस्तो लाग्छ भने स्वयं मान्छेलाई नै थाहा छैन ऊ के गर्दैछ। यस्तो बेहोसी जीवन मान्छेले बाँच्नु उचित होइन। मान्छेको बेसोहीको कारण अन्य वनस्पति, जीवजन्तु, कीटपतंग, चरापन्छीहरूको जीवन संकटमा परेको छ, खतरामा परेको छ। हावा, पानी, माटो र आकाश अस्वाभाविक रूपमा खराब बन्दै गएका छन्। मान्छेकै कृत्यका कारण हेर्नुहोस्, मान्छेले नै धर्तीमा श्वास लिन सकिने अवस्था छैन। हामीहरू पनि निसास्सिइसकेका छौँ। तर मान्छेले अझै पनि आफ्नो गल्ती स्विकार्न सकेको छैन। मान्छेले आफ्नो खानपान, उठबस, भोग र उपभोगलाई पुनरावलोकन गरोस् र आफ्नो पैशाचिक बानी परित्याग गरोस्।

अहिलेलाई यत्ति भनेँ। हाम्रा कुरा राख्ने मौका दिनुभएकोमा तपाईंं र तपाईंंको परिवारलाई धन्यवाद। मेरा साथीहरू अघि नै देखि मेरो सुरक्षालाई लिएर चिन्तित हुनुहुन्छ। म अस्थायी घारतर्फ लागेँ। (भुइयँ।)