न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

आइतबार सबैभन्दा कम तापक्रम जुम्लाको तथा बढी धरानको हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

काठमाडौँ– न्यून चापीय प्रणालीको प्रभावले आज आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र गण्डकीका पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षा तथा प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। 

यसैगरी तराईका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भागमा तापक्रम घट्दै जाने सम्भावना छ। चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत विभागले अनुरोध गरेको छ। विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस छ।

सबैभन्दा कम जुम्लाको माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै धरानको २४ दशमलव दुई  डिग्री सेल्सियस छ।