केआईआईटीमा प्रत्येक वर्ष ३०० देखि ३५० नेपाली भर्ना हुन्छन्। कन्सल्टेन्सीबाहेक निजी क्याम्पस र त्यहीँ पढिरहेका विद्यार्थीले भर्ना सिफारिस गर्दा कमिसन पाउँछन्। कसरी पुग्छन् नेपाली विद्यार्थी केआईआईटी?
काठमाडौँ– “४० हजार बच्चे पढ्ते है यहां। सबको फ्री में खाना खिलातें है। तुमहारा कन्ट्रीका बजेट नहीं होगा इतना।”
यो अभिव्यक्ति भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका ‘क्यूसी फोर’की होस्टेल डाइरेक्टर जयन्ती नाथको हो। उक्त होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल फेब्रुअरी १६ (फागुन ४) मा मृत फेला परेपछि त्यही दिन क्याम्पस प्रशासनको विरोधमा उत्रिएका विद्यार्थीलाई हपार्दै नाथले यस्तो बताएकी थिइन्। यद्यपि, उनले पर्सीपल्ट सामाजिक सञ्जालमार्फत माफी मागेकी छन्।
केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीहरूको संख्या ठ्याक्कै यकिन नभए पनि १२ सयभन्दा बढी रहेको त्यहाँ अध्ययनरत विद्यार्थी बताउँछन्। शिक्षा मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकाल भने त्यहाँ १५ सय हाराहारीमा नेपाली विद्यार्थी हुनसक्ने बताउँछन्।
केआईआईटी पढ्न जानेमा मधेश प्रदेशका सबै जिल्लासहित काठमाडौँ, पोखरा, बनेपा, बुटवल, विराटनगर, नेपालगन्ज, इटहरी र भैरहवाका विद्यार्थी छन्। त्यहाँ अध्ययन गरिरहेका १९ जना विद्यार्थीसँग कुराकानी गर्दा उनीहरू फरक माध्यमबाट गएको पाइयो। विशेषगरी तीन तरिकाबाट विद्यार्थी त्यहाँ पुगेका छन्– कन्सल्टेन्सी, पढिरहेको कलेजको सिफारिस र साथीभाइको माध्यमबाट।
कन्सल्टेन्सीमार्फत भर्ना
केआईआईटीले आधिकारिक रूपमा नेपालको कुनै कन्सल्टेन्सीलाई ‘रेक्रुटमेन्ट पार्टनर’ बनाएको छैन। तर धेरै नेपाली विद्यार्थी काठमाडौँस्थित पुतलीसडकमा रहेका ‘एडमिज एजुकेसन कन्सलटेन्सी’बाट जाने गरेका छन्। उकालोले सम्पर्क गरेका पोखराका सुजन श्रेष्ठ, काठमाडौँकी सबिता आचार्य र भक्तपुरका रोशन दाहाल यही कन्सलटेन्सीबाट केआईआईटी गएका हुन्।
एडमिजले सस्तो शुल्कमा राम्रो शिक्षा मिल्ने जानकारी दिएपछि आफू त्यहाँ गएको सुजन बताउँछन्। “मलाई शुरूदेखि नै कम्प्युटर इन्जिनियर बन्न मन थियो। नेपालमा राम्रो पढाइ होला जस्तो लागेको थिएन, बाहिर धेरै पैसा लाग्छ कि भन्ने थियो,” उनी भन्छन्, “त्यहीबेला एडमिजबारे थाहा पाएर बुझ्न जाँदा फि तिर्नसक्ने जस्तो लागेर गएँ।”
एडमिज कन्सलटेन्सीकी ‘कन्ट्री डाइरेक्टर’ सम्झना पोखरेल पनि अन्य कन्सल्टेन्सीले भन्दा आफूहरूले धेरै विद्यार्थी पठाउने गरेको बताउँछिन्। सन् २०१७ देखि नै नेपाली विद्यार्थी केआईआईटीमा पठाउने गरेको उनले जानकारी दिइन्।
“विद्यार्थीहरू प्रायः इन्जिनियरिङ, त्यसमा पनि कम्प्युटर पढ्न जान्छन्। अफोर्डेबल प्राइसका लागि हामी केआईआईटी नै भन्छौँ,” उनी भन्छिन्, “हामी वार्षिक ४०–४५ जना विद्यार्थी त्यहाँ पठाउछौँ।”
पोखरेल पनि केआईआईटीमा अहिले १२ सयभन्दा बढी नेपाली विद्यार्थी पढिरहेको अनुमान गर्छिन्। छात्रवृत्ति पाएर गएकाहरूको संख्या १०० देखि १५० सम्म हुनसक्ने उनको भनाइ छ। भारतीय राजदूतावासले वार्षिक १५ देखि २० जनालाई छात्रवृत्ति दिएर त्यहाँ पठाउँछ। एडमिजले सन् २०१७ यता ६०८ जनालाई केआईआईटी पठाएको उनले जानकारी दिइन्।
चार वर्षे इन्जिनियरिङका लागि केआईआईटीले कुल १२ लाख २० हजार रूपैयाँ लिन्थ्यो। तर दुई साताअघि मात्रै ५ लाख ४० हजार रूपैयाँ बढाएको छ। अब त्यहाँ जाने विद्यार्थीले १७ लाख ६० हजार रूपैयाँ तिर्नुपर्छ।
गएको वर्ष विराटनगरका आशुतोष पौडेल काठमाडौँको पुतलीसडकस्थित ग्लोबल ऐज कन्सल्टेन्सीबाट केआईआईटी पुगेका थिए। उक्त कन्सलटेन्सीले कम शुल्कमा राम्रो पढाइ हुने बताएपछि उनी त्यता गएका थिए। “मैले आफैले पनि अलिअलि बुझेको थिएँ विश्वविद्यालयबारे, राम्रै देखेर गएँ,” उनी भन्छन्।
ललितपुरकी रमा पराजुली भने शान्तिनगरको पाथ्र्वी कन्सल्टेन्सीमार्फत केआईआईटी पुगेकी थिइन्। उनी भन्छिन्, “मेरो दाइले यो कन्सलटेन्सीबारे भन्नुभएको थियो, त्यहाँ गएर बुझ्दा अन्य ठाउँको तुलनामा कम फि भएको पाएँ। पढाइ पनि राम्रै छ, र्याङकिङ पनि टपमै हुँदा गएँ।”
इन्जिनियरिङ पढ्न केआईआईटी पठाउने कन्सल्टेन्सी काठमाडौँमा मात्र नभई अन्य शहरमा पनि छन्। मुख्यगरी जनकपुरको वाइडरेन्ज र भिजन पोइन्ट, वीरगन्जको अन्सटप्पेबल र तराई एजुकेसन, बुटवलको एजुकेयर र अस्क्यान तथा विराटनगरको एसीएस र रअ इन्टरनेसनल कन्सल्टेन्सीले नेपाली विद्यार्थी केआईआईटी पठाउँछन्।
बाँकी कन्सल्टेन्सीले पनि छिट्फुट पठाउने गरेका छन्। कतिपयले चाहिँ त्यहाँ जान चाहने विद्यार्थीलाई एडमिजमा पठाउने गरेका छन्, जसबाट उनीहरूले पनि केही रकम कमिसन लिन्छन्।
केआईआईटीमा अन्य विषय पढाइ भए पनि इन्जिनियरिङकै लागि जाने धेरै छन्। केही भने बीबीए, बीसीए र बीएएलएलबी पढ्न गएका छन्।
निजी क्याम्पसले पनि पठाउँछन्
केआईआईटीमा बीटेक दोस्रो वर्षमा अध्ययनरत वीरगन्जका शैलेस अग्रवाल नेपाली विद्यार्थी त्यहाँ पुग्नुको कारण नेपालकै निजी क्याम्पसहरू भएको बताउँछन्। उनका अनुसार क्याम्पसहरूले १२ कक्षाको वार्षिक परीक्षाभन्दा ५–६ महिनाअगाडि नै विद्यार्थीलाई भ्रमणमा केआईआईटी लैजान्छन्।
“वीरगन्जकै अल्पाइन क्याम्पस र नेसनल इन्फोटेकले प्रत्येक वर्ष भ्रमणमा विद्यार्थीहरू त्यहाँ लैजान्छन्। मैले नै चिनेका कतिपय त्यहाँ पुगेका छन्,” शैलेस भन्छन्, “फर्केर आएपछि बारम्बार विद्यार्थीहरूलाई त्यही विश्वविद्यालयको उदाहरण दिइन्छ। पढाइ सकिन लाग्दा नामै तोकेर सिफारिस गरिन्छ।”
२०७९ सालमा केआईआईटी भर्ना भएका वीरगन्जका अरमान हुसेन आफैले विश्वविद्यालयको वेबसाइटमा फारम भरेर त्यहाँ पुगेका थिए। तर आफ्ना कतिपय साथी क्याम्पसकै सिफारिसमा गएको उनको भनाइ छ। “मेरो तीनचार जना साथीहरू नेसनल इन्फोटेक कलेज पढेका हुन्। उनीहरू आफैले कलेज पढिरहँदा नै केआईआईटी जाने निर्णय लिएको बेलाबेला भनिरहन्छन्,” अरमान भन्छन्।
कलेजकै सिफारिसमा केआईआईटी पढ्न गएका वीरगन्जबाहिरका विद्यार्थीहरूसँग भने सम्पर्क हुन सकेन। जनकपुरका आशिष साह आफू कलेजको सिफारिसबाट नगए पनि कक्षा १२ को परीक्षा दिएर निस्किने बेला केआईआईटीको ‘प्रोस्पेक्टस’ हेर्न पाएका थिए। “ढोकैमा बाँडिरहेको थियो। झन् हाम्रै क्याम्पसको सरले आफै दिनुभयो र त्यहाँ (शुल्क) छुट गराइदिन्छु भन्नुभयो,” उनी भन्छन्, “उहाँले नै मलाई केआईआईटी पुग्न मद्दत गर्नुभयो।”
जनकपुरमा १५ वर्ष कन्सल्टेन्सीमा काम गरेर अघिल्लो वर्ष मात्रै ‘कोचिङ सेन्टर’ चलाउन थालेका दीपेश सिंहका अनुसार, नेपाली विद्यार्थी र केआईआईटीको सम्बन्ध पुरानो छ। नेपालबाट त्यहाँ योजनाबद्ध रूपमै विद्यार्थी लगिने उनको दाबी छ।
“यहाँ सबै सेटिङमा चल्छ। केआईआईटी, कन्सल्टेन्सी, क्याम्पस र शिक्षकको नेक्सस छ। नेक्ससबाटै विद्यार्थीहरू त्यहाँ पुग्छन्,” सिंह भन्छन्, “वीरगन्जका एकदुईटा कलेजले सिधै विद्यार्थी त्यहाँ पठाउँछन्। कतिपय कलेजमा पढाउने शिक्षकहरूले यो र्याकेट चलाउँछन् र प्रतिविद्यार्थी कम्तीमा पनि ५० हजार पाउँछन्।”
उनका अनुसार केआईआईटीमा प्रत्येक वर्ष ३०० देखि ३५० नेपाली विद्यार्थी भर्ना हुन्छन्। सबैभन्दा धेरै विद्यार्थी वीरगन्ज र जनकपुरका भएको उनको अनुमान छ। “केआईआईटीको एउटा विशेषता भनौँ कि खराबी, त्यहाँ सिट सीमितता नै छैन। जति जान्छन्, सबैले पढ्न पाउँछन्,” उनी भन्छन्, “अहिले हेरौँ न, विद्यार्थी ह्वारह्वारती आउन थालेपछि एकैपटक ५ लाख ४० हजार रूपैयाँ बढाइदियो।”
साथीभाइको सल्लाहमा भर्ना
जनकपुरधामका पुरुषोत्तम यादवले जनकपुरकै मोडेल मल्टिपल कलेजबाट विज्ञान संकायमा कक्षा १२ को पढाइ पूरा गरे। कक्षा १२ को पढाइ शुरू भएको पहिलो महिना नै उनले भुवनेश्वरको केआईआईटी जाने मन बनाइसकेका थिए। कारण थियो, उनका चार जना आफन्त त्यहीँ थिए। ती आफन्तले उनलाई उतै आउन हौसाइरहेका थिए।
“काकाका छोराहरू त्यहाँ पढिरहेका थिए। म उनीहरूभन्दा दुई ब्याच कान्छो थिएँ,” पुरुषोत्तम भन्छन्, “म त्यहाँ नगए पनि इन्जिनियरिङ नै पढ्थेँ, तर अन्य ठाउँमा कोही चिनेको पाउँछु÷पाउँदिन भनेरै त्यहाँ गएको हुँ। केआईआईटीबाट राम्रो कम्पनीहरूमा जब प्लेसमेन्ट छ भन्ने सुनेर पनि गएँ।”
सर्लाहीकी रञ्जना यादव पनि मामाको छोराले केआईआईटी पढ्न बोलाएपछि त्यहाँ गएको बताउँछिन्। “मामाको छोरालाई फिबारे सोधेँ, अरू ठाउँभन्दा धरै सस्तो भन्यो। कोही त आफ्नै मान्छे हुन्छ भनेर, म पनि खुशी नै भएँ,” उनी भन्छिन्, “मामाको छोरा छँदै छ, अहिले मैले नै चिनेका अन्य साथीहरू पनि पुगेका छन्।”
महोत्तरीका अभिषेक गुप्ता पनि बुबाको साथीको छोरामार्फत केआईआईटी पुगेको बताउँछन्। उनका अनुसार त्यहाँ कोही न कोही आफन्त विद्यार्थी हुँदा बसाइ सहज हुन्छ।
“यहाँ किन हाम्रो ठाउँका यति धेरै मान्छेहरू छन् भन्ने प्रश्न मेरो मनमा पनि आयो। पछि मात्रै थाहा पाएँ, केआईआईटीका लागि विद्यार्थी ल्याइदिनेले प्रति विद्यार्थी ५० हजार पाउँदो रहेछ,” अभिषेक भन्छन्, “त्यसैले शुरूमा सबैले आफन्तलाई नै तान्दा रहेछन्। कमसे कम अधिकांशले एक जना विद्यार्थी ल्याएकै हुन्छ।”
नेपाली विद्यार्थी लैजान केआईआईटीले आफ्ना धेरै प्रतिनिधि नेपालमा राख्ने गरेको उनी बताउँछन्।
सिरहाका राजन मण्डल भने भिन्न तरिकाले केआईआईटी पुगेका थिए। २०८० भदौमा कक्षा १२ को परीक्षा दिएर उनी काठमाडौँको एउटा कोचिङ सेन्टरमा पढिरहेका थिए। त्यहीबेला उनले थापाथलीमा भारतमा पढ्न चाहनेका लागि ‘स्टुडेन्ट फेयर’ हुने सूचना पाए।
त्यो फेयरमा केआईआईटीका लागि अन्तर्राष्ट्रिय विद्यार्थी विभागका अधिकारी हर्षित अग्रवाल पनि थिए। अग्रवालकै कुरा सुनेर आफूले केआईआईटी जाने निर्णय गरेको राजन बताउँछन्।
“मलाई हर्षित सरले केआईआईटीको वेबसाइटमा गएर फारम भर्न भन्नुभयो, जसको शुल्क ५० हजार तिरेँ। त्यसपछि भूवनेश्वर जान भन्नुभयो र त्यहाँको रेल्वे स्टेसनमा कलेजको गाडी लिन आउने बताउनुभयो,” राजन भन्छन्, “तर त्यहाँ कुनै गाडी नै आएन। मैले त्यहीँबाट सर (हर्षित अग्रवाल) लाई फोन गरेको थिएँ, उठेन। पछि म आफैँ पुगेँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
