‘चाडपर्व त सबैलाई आउँछ। त्यसो भन्दैमा हामी स्वास्थ्यकर्मीले कहाँ छुट पाइन्छ र। कोही बिरामी समस्यामा नपरोस् भनेर एक्लै भए पनि बसेर सेवा दिन्थेँ।’
काठमाडौँ— स्वास्थ्य कार्यालय पर्सामा सार्वजनिक स्वास्थ्य नर्सिङ अधिकृतका रूपमा कार्यरत मिरा यादव भारतीमा जन्मिइन र नेपाललाई कर्मथलो बनाइरहेकी छन्। भारतको बिहार राज्यको पूर्वी चम्पारणमा जन्मिएकी मिरा विवाहपश्चात् नेपाल भित्रिइन्। भाषा फरक, ठाउँ नौलो। तर पनि श्रीमान्को सल्लाहमा उनले नर्सिङ अध्ययन गरिन्। भाषागत कठिनाइबीच पढाइ पूरा गरेर लोकसेवामार्फत महोत्तरीको एकडारा स्वास्थ्य चौकीबाट अनमीका रूपमा आफ्नो करियरको शुरूआत गरिन्।
त्यहाँ गाउँघर क्लिनिक, खोप क्लिनिक, ग्रोथ मोनिटरिङ र बर्थिङ सेन्टरमा डेलिभरी सेवा प्रदान गरिन्थ्यो। उनका अनुसार टाढाका गाउँबाट स्वास्थ्य चौकीसम्म आउन सहज थिएन। सामुदायिक भवन, मुखियाको गोठ वा घरबाट स्वास्थ्य सेवा दिने प्रचलन थियो। उनी एकडारामा हुँदा उनको पहलमा महिनामा तीन/चार दिन हरेक टोलमा अनिवार्य गाउँघर क्लिनिक सञ्चालन हुन थाल्यो। उनको सरल सल्लाह र सेवाभावका कारण बिरामीहरू स्वास्थ्य संस्थामा आउने क्रम बढ्न थाल्यो। “मैले गरेको काम विशेष केही होइन, यो त मेरो कर्तव्य हो,” उनी भन्छिन्।
उनी २०६४ सालमा पर्साको पोखरिया प्राथमिक स्वास्थ्य केन्द्र (हाल पोखरिया अस्पताल) मा कार्यरत थिइन्। त्यतिबेला पर्सामा बर्थिङ सेन्टरको संख्या निकै कम थियो। कर्मचारी अभावले सिफ्ट ड्युटी गर्नुपर्थ्यो। एक साँझ खाना खान बस्न लाग्दा एउटा आपत्कालीन खबर आयो, एक गर्भवती महिलाको अवस्था नाजुक छ भन्ने। बेलुकी साढे ९ बजेको त्यो समयमा उनले खाना छोडेर दौडिइन्।
रक्तस्राव भइरहेकी ती महिलालाई हेर्दा गर्भपतनको लक्षण देखियो। उनले तुरुन्त उपचार थालिन् र महिलाको ज्यान बचाइन्। उनले पछि थाहा पाइन्– सासूले जडीबुटी खुवाएर गर्भपतन गराउन खोजेका कारण यस्तो भएको रहेछ। “अशिक्षाका कारण यस्ता घटना अहिले पनि हुन्छन्। अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन्,” उनले सुनाइन्।
चाडपर्वको समयमा पनि उनी बिरामीको सेवामा तल्लीन रहन्थिन्। “चाडपर्व त सबैलाई आउँछ। तर हामी स्वास्थ्यकर्मीले कहाँ छुट पाउँछौँ? कोही बिरामी समस्यामा नपरोस् भनेर एक्लै भए पनि बस्थेँ,” उनले भनिन्।

विवाहपछिको संघर्ष
भारतको बिहार राज्यको पूर्वी चम्पारण (मोतीहारी) जिल्लाको चिरैयामा जन्मिएकी हुन् मिरा। उनले चिरैयाकै एक सरकारी विद्यालयबाट कक्षा १० सम्मको पढाइ पूरा गरिसक्दा आफन्तमार्फत रौतहटका मनिन्द्रप्रसाद यादवसँग विवाहको कुरा छिनियो। २०५८ सालमा उनी बुहारी बनेर नेपाल भित्रिइन्। श्रीमान् कामको सिलसिलामा वीरगन्ज बस्दै आएका थिए। विवाहपछि उनी वीरगन्जमै बस्न थालिन्। श्रीमानको सल्लाहअनुसार उनले अनमीको पढाइ थालिन् तर भाषाका कारण पढाइमा कठिनाइ बेहोर्नुपर्यो। यद्यपि पढाइ पूरा गरेर लोकसेवामार्फत एकडाँरा स्वास्थ्य चौकीबाट अनमीका रूपमा करियर थालिन्।
यसबीच जेठी छोरीको जन्म भइसकेको थियो। नयाँ ठाउँमा डेढ वर्षीया बच्चा लिएर एक्लै बस्दा धेरै सास्ती खेप्नुपर्यो। यसबीच उनको ६ महिने परीक्षणकाल पछि पर्साको पोखरिया प्राथमिक उपचार केन्द्रमा उनको सरुवा भयो। उनले त्यहाँ डेढ वर्ष काम गरिन्। उनका अनुसार त्यहाँ बिरामीको चाप बढी थियो। सम्पन्नहरू नारायणी अस्पताल जान्थे भने स्वास्थ्य चौकीमा गरिब र विपन्न मात्रै आउने गर्थे।
“आर्थिक कमजोरीकै कारण उपचार गर्न नसकेका कैयौँ उदाहरण देखेँ। आर्थिक होस् वा अन्य सहयोग सक्दो सहयोग गर्थें,” उनी भन्छिन्। उनका अनुसार जिल्लाभरबाट उपचारका लागि पोखरिया आउने गर्दथे। डेढ वर्षमा २०० भन्दा धेरैको डेलिभरी गरेको उनको दाबी छ।
उनले कामसँगै पढाइलाई पनि निरन्तर दिइरहेकी थिइन्। उनले वीरगन्ज नर्सिङ क्याम्पसमा तीनवर्षे नर्सिङ सकेर २०६९ जेठ ३ मा पब्लिक हेल्थ नर्सिङ पाँचौँ तहको परीक्षा उत्तीर्ण गरिन्। त्यसपछि स्वास्थ्य कार्यालय चरिकोटमा उनको पब्लिक हेल्थ नर्सिङ अधिकृतका रूपमा पोस्टिङ भएको थियो।

पहाडी जिल्लामा फरक चुनौती
उनले लगभग दुई वर्षसम्म पहाडी जिल्ला दोलखाको विभिन्न स्वास्थ्य चौकीमा काम गरिन्। उनका अनुसार त्यहाँ काम गर्दा धेरै महिला पाठेघर खस्ने समस्या लिएर स्वास्थ्य संस्था आउँथे। उनले त्यहाँ पाठेघर खस्ने समस्या भएका महिलाको उपचारमा विशेष योगदान पुर्याइन्।
बाटोघाटोको समस्याले धेरै महिला स्वास्थ्य संस्थासम्म पुग्न सक्थेनन्। उनले पुरुषहरूसँग सहयोग मागेर बिरामीलाई स्वास्थ्य चौकीसम्म ल्याउने व्यवस्था मिलाइन्। विभिन्न अस्पतालसँग समन्वय गरेर निःशुल्क उपचारको प्रबन्ध गरिन्। धुलिखेल अस्पतालसहितका संस्थासँग सहकार्य गरी १० जनाभन्दा बढी महिलाको उपचार गराएको उनका सहकर्मी राजाराम कार्की सम्झिन्छन्। “उहाँको योजना बनाएपछि काम जसरी पनि गर्नुपर्छ भन्ने अठोट थियो,” कार्कीले भने।
उनले बर्थिङ सेन्टरमा पाठेघर खस्ने समस्यासम्बन्धी शिविर सञ्चालन गरिन् र गर्भवती महिलाहरूका लागि पनि जनचेतनामूलक कार्यक्रम चलाइन्। “पछि आफैँ जाँच गर्न आउन थालेँ,” उनले खुशी व्यक्त गरिन्। भाषा र भूगोल फरक भए पनि उनको सेवाभाव कहिल्यै डगमगाएन।
बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मीका लागि पहल
स्वास्थ्य मन्त्रालयले हरेक स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरमा एक जना दक्ष प्रसूतिकर्मी राख्नुपर्ने व्यवस्था गरेको छ। जसअनुसार उनले हरेक स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरमा एक जना दक्ष प्रसूतिकर्मी हुनुपर्ने पहल गर्दै आएकी छिन्। जसको प्रतिफल हाल जिल्लाका सबैजसो बर्थिङ सेन्टरमा एक जना दक्ष प्रसूतिकर्मीको व्यवस्था गरिएको पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जगन्नाथ साह बताउँछन्। “मैले सुनेअनुसार पहिले यो व्यवस्था भए पनि प्रभावकारी रूपमा लागू थिएन। पछि मिराज्यूको पहलमा धेरै ठाउँमा अनिवार्य भएको छ, थप पहल पनि गरिरहनुभएको छ,” उनले भने।

सरुवा भएपछि उनले पर्सामा बर्थिङ सेन्टरको अनुगमन र अध्ययन गरिन्। त्यसपछि उनले पर्साका सबै पालिकासँग समन्वय गरेर आवश्यकता पहिचान गरी यो कार्यक्रमलाई अघि बढाउँदै आएकी छिन्। “जनशक्तिको अभाव थियो। प्रदेश मन्त्रालयदेखि संघीय मन्त्रालयसँग जनशक्ति माग गरियो। स्थानीय सरकारसँग समन्वय गरियो। बिस्तारै गर्दै दक्ष प्रसूतिकर्मी राखियो,” उनले भनिन्।
इन्ग्रिटी आइकन २०२५
उनको संघर्ष र कामप्रतिको लगावले उनलाई इन्टिग्रटी आइकन २०२५ को रूपमा चयन गराइएको छ। यो अवार्ड अकाउन्टिबिलिटी ल्याब नेपालले दिएको हो। उनीसँगै अन्य चार जना इन्टिग्रटी आइकनका रूपमा सम्मानित भएका छन्। यो संस्थाले प्रेरणा दिने गरी सरकारी क्षेत्रमा निष्ठापूर्वक काम गरिरहेका व्यक्तिलाई सम्मान स्वरूप अवार्ड दिने गरेको छ।
सर्वसाधारणले सिफारिस गरेका व्यक्तिमध्येबाट विज्ञको टोलीले उनीहरूले गरेका काम र कर्तव्यको आधारमा विभिन्न विद्यामा ‘आइकन’ छान्छन्। यो संस्थाले विगत ११ वर्षदेखि लगातार यो अवार्ड दिँदै आएको छ। अहिलेसम्म ५४ जना व्यक्ति सम्मानित भइसकेका छन्।
मिराले अवार्डले काममा थप ऊर्जा मिलेको बताइन्। उनले आगामी दिनमा पनि जिम्मेवार नागरिकको रूपमा निष्ठापूर्वक कामकर्तव्य पूरा गर्ने अठोट लिइन्। “यो अवार्डले मलाई काम गर्न थप ऊर्जा मिलेको छ। अझै राम्रो गर्नुपर्छ भन्ने महसुस भएको छ,” उनले भनिन्, “अन्य कर्मचारीलाई प्रेरणा मिलोस् र राम्रो काम गर्ने मनोबल बढोस् भन्ने कामना छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
